युगल बसेलइम्बोस्ड नम्बर प्लेट : फाइदा अनेक
यसरी नम्बर प्लेटबाट देवनागरीका अक्षर हुत्याएर सुन्दर अङ्ग्रेजी अक्षर कुँदाएपछि अंग्रेजीभाषीको अगाध अनुग्रह मुलुकलाई प्राप्त हुन्छ र त्यस अनुग्रहले हाम्रो नेपाली भाषाको तिलस्मी ढंगबाट पुनरुत्थान गराइदिन्छ ।

युगल बसेल :
अहिले सरकारले सवारी साधनमा जबरजस्ती इम्बोस्ड नम्बर प्लेट लाद्न खोज्यो भनेर अनेक क्षेत्रबाट नासामझहरुले चौतर्फी विरोध गरिरहेका छन् । मजत्तिको समझदार भएको भए तिनीहरुले सरकारको जयजयकार गर्ने थिए, विरुदावली पाठ गर्ने थिए, भजन गाउने थिए ।
कुरो के हो भने हाम्रो प्यारो मुलुक अगाडि नबढी पछाडि पर्नुको मुख्य कारण गाडीमा यही नेपाली अक्षरको सादा नम्बर प्लेट रहनु नै हो भन्ने कुरो गहन अनुसन्धानपछि पत्ता लागेको हुनाले सरकार यो कदम उठाउन खुर्मुरिएर जुर्मुराएको हो । नत्र यो आदेश जारी गर्न उसलाई के बहुलाहा कुकुरले टोकेको थियो र ?
इम्बोस्ड नम्बर प्लेट यातायातका साधनमा टाँसेपछि देश छलाङ मार्दै एकैपटक युरोपेली मापदण्डमा पुग्छ भन्ने रहस्यमय कडी अनुसन्धाताले फेला पारेका रहेछन् । अमेरिका, युरोप र ओसानियाका मुलुकहरू पनि उहिले बबुरो नेपालजस्तै पिछडिएका थिए । तिनीहरूले सवारी साधनका पहिलेका नम्बर प्लेट पल्टी गरेर यसखालको नम्बर प्लेट जडान गरेपछि ती सबै मुलुकहरूको धुरन्धर उन्नति भएको थियो भन्ने कुरा इतिहासमा सुनका अक्षरले लेखिएको रहेछ। ती ऐतिहासिक सुनका अक्षर कि सरकारले पढेको छ कि यी पंक्ति लेख्ने जन्डोले मात्रै पढेको छ ।
मुलुकमा चरम बेरोजगारी भएर युवा विदेशिनु , कलकारखाना धराशयी हुनु , कृषि उपज घट्दै जानु , महङ्गी चुलिनु , कालाबजारी बढ्नु, कृत्रिम अभाव सिर्जना हुनु, सेयर बजारमा पहिरो जानु , खाद्यान्नमा परनिर्भरता बढ्दै जानु, सुखी नेपाली र समृद्ध नेपालको नारा बेसहारा बन्नुको एउटै मात्रै जड हाम्रो परम्परागत मौलिक नम्बर प्लेट हो भन्ने चेतन मन भएकाहरूले बुझिसके । त्यसैले यी सबै कमजोरी हटाउन सरकार कुर्कुच्चादेखि पैतालासम्मको बल लगाएर अघि बढेको छ र उसले ´कुकुर भुके हजार हात्ती लम्के बजार` भन्ने उखानलाई उखानेहरूको मुखबाट गुनञ्जायमान गराइरहेको छ ।
मुलुकमा कृषि क्रान्ति ल्याउन, ऊर्जा क्षेत्रमा चकाचौँध तरिकाले उत्पादन बढाएर कुलमानलाई हिस्याउन, राजनैतिक स्थायित्व ल्याउन, तमाम विकृति मेटाएर शुद्धीकरण वा भनौ परिष्करण बहाल गर्न इम्बोस्ड नम्बर प्लेट लागू नगरी नहुने भएको छ । अरु विकल्प नभएकाले सरकार लाचार भएर यो विचार अपनाउन बाध्य भएको हो भन्ने मर्म कसले बुझिदिने ?
राज्य व्यवस्थामा सुशासन कायम गर्न पनि इम्बोस्ड नम्बर प्लेट अपरिहार्य भएको छ। किनकि यो प्रणाली लागू गर्दा अकुत लाभ व्यवस्थापकहरूलाई मिल्ने भएकाले राज्य व्यवस्थापनका सहयोगीहरू अन्य क्षेत्रको घुस कमिसनमा अलमलिइरहनुपर्ने आवश्यकता रहँदैन । यसो भएपछि सुशासनलाई कसैले नत्थी लगाई डोर्यारएर यहाँ ल्याउनै पर्दैन, त्यो आफै आइहाल्छ नि हैन र ?
यसरी नम्बर प्लेटबाट देवनागरीका अक्षर हुत्याएर सुन्दर अङ्ग्रेजी अक्षर कुँदाएपछि अंग्रेजीभाषीको अगाध अनुग्रह मुलुकलाई प्राप्त हुन्छ र त्यस अनुग्रहले हाम्रो नेपाली भाषाको तिलस्मी ढंगबाट पुनरुत्थान गराइदिन्छ । त्यसैले इम्बोस्ड नम्बर प्लेटलाई दुत्कार्दै नेपाली भाषाप्रेमको रोइलो गुञ्जाउनु किमार्थ वञ्छित छैन । आखिर हाम्रो उन्नति र प्रगति भनेको हाम्रो पौरखले र सामर्थ्यले भइहाल्ने कुरा होइन, अरुकै अनुग्रहले हुने हो भन्ने कुरा त घामजत्तिकै छर्लङ्ग छैन र ? अकबरी सुनलाई कसी लाउन नपरेजस्तै यस दलिललाई कसी लगाएर परीक्षण गर्न जरुरी छैन भन्ने मेरो दाबी छ । छिटो र तीव्र उन्नति / प्रगति गर्न यदि हामी इच्छुक छौँ भने हाम्रा टोल, गापा / नपा र जिल्लाको नाम पनि अंग्रेजीमै लेख्न अनिवार्य गरौँ । देशलाई अरु देशसरह पार्नका लागि अरु देशकै जस्तो नाम राखिदिनु पनि आवश्यक पर्न सक्छ । नेपाललाई अमुक विकसित मुलुकजस्तो बनाउने हो भने यसको नाम फेरेर अमुक मुलुककै नाम राखिदिने अवस्था आउन सक्छ । त्यसैले रोइलो नगाउँ, सरकारबाट सर्वदा बडो मेहनतका साथ सम्पादन भइरहने सत्कार्यहरूको आँखा चिम्लेर समर्थन गरौँ भन्ने मेरो जोडदार आव्हान छ ।
०००
सन्धिखर्क (हाल चन्द्रागिरी -११, काठमाडाैं)
Subscribe
Login
0 Comments
Oldest








































