साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालका आतङ्ककारीहरू

पश्चिम दिशातिरका अर्थात् म्लेच्छेका मुलुकमा पनि त्रास फैलन थालेको छ रे ! उहाँले सृष्टि गरिबक्सेका आतङ्ककारीहरूले जिउँदै पत्रकार जलाए रे ! अझ केके गरे गरे वर्णन गरी साध्य छैन ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

नेपालमा आतङ्ककारीहरूको जन्म कहिलेदेखि भयो थाहा छैन तर पछिल्लो राजनीति घटनाक्रम अर्थात् श्री ३ जङ्गबहादुर राणाका पालादेखि देखिएका केही आतङ्ककारीहरूका कथा हामीलाई भर्खरै सुनेजस्तो लाग्छ । थापाहरूका लागि बस्नेत र बस्नेतका लागि थापाहरू आतङ्ककारी भए । जङ्गबहादुरका लागि लखन थापा पहिलो सिङजुरो भएको डरलाग्दो आतङ्ककारीको जन्म भयो । १९०३ देखिका राजाहरूका लागि राणाहरू र राणाहरूका लागि राजाहरू आतङ्ककारी बने । राणाहरूकै लागि १९८८ मा जन्मिएको नेपालको पहिलो संस्थागत प्रचण्ड गोर्खा नामक संस्था नै आतङ्ककारी भयो ।

१९९३ देखि नेपाल प्रजापरिषदका संस्थापक टङ्कप्रसाद आचार्य नामुद आतङ्ककारी भए । दशरथ चन्द, धर्मभक्त, गङ्गालाल, शुक्रराजलगायतका दर्जनौँ अनाम आतङ्ककारीका रूपमा देखिए । २००३ सालदेखि भारतीय विचारबाट प्रभावित तोडिएका मोडिएका जोडिएका विविध गुट उपगुटका काङ्ग्रेसका ससाना समूहहरू पहिचानसहित विस्तारित आतङ्ककारी बने । त्यस्स्तै २००६ सालमा रसियन, चाइनिज, फ्रान्सेली आतङ्ककारी मार्क्सहरूका विचार बोकेर जन्मिएका पुष्पलाललगायत सयौँ कम्निस्टहरू आतङ्ककारी भेषमा जन्मिए । राणाहरूका लागि यिनै आतङ्ककारी थिए ।

अब २००७ सालदेखि पुनः सक्रिय राजसंस्थाका लागि विभिन्न दलीय आततायीहरू आतङ्ककारी भए । २०११ सालपश्चात् महेन्द्रका लागि नेपाल प्रजा परिषद आचार्य गुट, नेपाल प्रजा परिषद मिश्र गुट, नेपाल राष्ट्रिय गोर्खा परिषद, संयुक्त प्रजातन्त्र पार्टीलगायत एक दर्जनजति दलहरू आतङ्कका पनि महाआतङ्ककारीको पहाड नै भएकाले सबलाई २०१७ सालमा सफाया पाएका थिए । विपी आतङ्ककारीहरूका कलङ्कित ग्याङलिडर थिए । जसको कारणले महेन्द्रले कहिलै शान्ति र चयन पाएनन् रे । २०२८ सालपछि वीरेन्द्रका लागि आतङ्ककारीका सङ्ख्या अझै थपिए । आतङ्ककारीहरूका झन् आत्मबल बढ्यो र २०३६-३७ मा वीरेन्द्रको निजी एकदलीय पञ्चायती व्यवस्था र आतङ्ककारीहरूको बहुदलीय नामक व्यवस्थाबिच घमासान झडप भयो । झटपका क्रममा आतङ्ककारीहरूको बहुदलीय नामक व्यवस्था पञ्चायतीको सुदर्शन चक्रको प्रभावले भुइँमा खुट्टो टेक्न नपाउँदै फुस्सै उडेर बिलायो । कता उड्यो उड्यो ।

२०३७ सालमा अचानक हराएको त्यो बहुदलीय नामक आतङ्ककारीले आकाशमा अन्नै नखाई चन्द्रमामा अलिअलि भएको अक्सिजन तानेर १० वर्षसम्म सास फेर्न भ्याएछ र अक्सिजन सकिएपछि फेरि अन्नपानी खान फुत्त भुइँमा खसेछ । यतिबेला मधु र कैटभजस्ता डरलाग्दा बाह्र-बाह्र हाते सिङजुरो भएका, कुम्भकर्ण र धौलागिरि पहाडका जस्ता ग्रिङ्ग्रिङ्ग परेका धारे दाह्रा भएका, चारकोसे झाडीजस्तो ठाठाडा रौँले जिउ ढाकेको काङ्ग्रेस र कम्निस्ट नामक आतङ्ककारीहरू २००७ साले २०१७ सालेको भन्दा अलग्गै अनुहार लिएर आएछ । बाबै ती आतङ्ककारी राक्षसहरू जमिनमा हिँड्दा दुरुङ दुरुङ गर्थ्यो । धुलोले अकासै कुहिरिमण्डल हुन्थ्यो । तिनले भुइँमा टेक्दैखेरि मचक्कै जमिन भासिएर सगरमाथाको उचाइ नै ८४ से.मी. अग्लिएछ । मानौँ, हाम्रा सारा शाशास्त्रमा उल्लेख भएका राक्षसहरूभन्दा कयौँगुना हिंस्रक थिए ती । तिनको जिब्राको बयान गरेर साध्यै थिएन । एकपटक ल्याप्प चाट्दा मात्रै तराई फाँटभरिका धान त स्वात्तै मुखमा पसाउन सक्थे । ती अजिङ्गररूपी काङ्ग्रेस र कम्निस्ट नामक राक्षसहरूले वीरेन्द्रलाई अगाडिपछाडि दुवैतिरबाट निलूँ निलूँ जसरी स्वाँ स्वाँ सासले तान्न थाले । वीरेन्द्र आत्तिएर दक्षिणतिर फर्केर कराए, गुहारे । पशुपतिनाथले रक्षा गर्न नसकेपछि बनारसतिरका विश्वनाथ बाबाले फुमन्तर लाएर दुईचार गेडा चामलको अक्षताले हान्नु र बाटेको धुप सल्काएर पन्छाउनु भनेपछि अलि शान्त भएछ ।

बाबै त्यस्ता भयानक आतङ्की राक्षसहरू सितिमिति अन्नले के अघाउँथे । पहाडदेखि तराईसम्मको अन्न त एकै छाकमा ग्वाम्मै पार्थे । वीरेन्द्र नामक भगवान पालनकर्ता विष्णु औतारीलाई यस्ता भयानक राक्षसहरूलाई टन्न खानलाउन दिन नसक्ने भएपछि चिटचिट पसिना आउन थाल्यो । फेरि अचम्म त यी दुवै भयानक आतङ्की राक्षसहरूका छोराछोरी पनि जन्मे । च्याहाँच्याहाँ र चुहुँचुहुँ बाउआमालाई नै निलुँला झैँ गर्न लागे । बाबै, दाजु काङ्ग्रेसको भन्दा भाइ कम्निस्टेका त बर्सेनी जुम्ल्याहा तिम्ल्याहा जन्मन थालेपछि झन् कोकोहोलो मच्चिन थाल्यो । तिनीहरूको चिच्याहटले पूर्वउत्तर बेइजिङदेखि दक्षिणपश्चिमको भूभाग दिल्लीसम्मका मान्छेहरू ठाठाडा कान लाएर सुन्न थाले ।

दक्षिणपश्चिमतिरकाले त कतै ती आतङ्ककारी स्याउँकटहरू यतातिर पसे भने बित्यास पार्छ भनेर बाटामा तार जाली लाउन थाले । धेरै स्याउँकट नजन्माउने दाजुचहिँ आतङ्की यसो यतातिर आइहालेछ भने एकमुठी अक्षताले मन्छिदिए पुगिहाल्छ भन्ठानेर डराएनन् । दाजुचाहिँ आतङ्ककारी राक्षस पातलो-पातलो सिकुटे-सिकुटे नाक चुच्चे, तालुखुइले सुकेको बाँसजस्तै अग्लो भएकाले उनीहरू त्यति डराएनन् । भाइचाहिँ अलि भुँडे घ्याम्पे घ्याम्पे थियो उसका भान्टाङभुन्टुङहरू लोटे, अम्खरे, गिलाँसे, चम्चे जस्ता भए पनि बग्रेल्ती थिए । यति धेरैलाई दिएर साध्य नलाग्ने भएपछि बाटा बाटामा काँडै लायो उसले ।

यता भाइचाहिँ आतङ्ककारीका सन्तान धेरै भएपछि बाउचाहिँले पाल्नै सकेन । पेटभरि खान दिन सक्ने कुरो पनि भएन । केटाकेटी आआफै चिथोरचाथर पार्न थाले । समाल्नै गारो भयो । २०५२ साल फागुनतिरको कुरो हो, भाइ आतङ्ककारीका छाउराछाउरीमध्ये एउटो पुन्टुरे नाउँको आतङ्ककारीले पेटभरि खान नपाएपछि यी सबै राक्षसका खलक र विष्णुऔतारीका खलक सबैलाई खर्लप्पै निलिदिन्छु भनेर अभिमन्युको जत्रो सानो शरीर बढाउँदै बढाउँदै घटोत्कच जत्रो बनेर के जङ्गल, के मैदान, के पहाड के तराई, के आकाश के पाताल सारा फन्को मार्न थाल्यो । उसले एक फड्को मार्दा पोखराबाट रोल्पा र रोल्पाबाट दार्चुलै कट्थ्यो । मेरी बाबै, कत्रा गोडा त्यो राक्षसको । डरलाग्दो भयानक रूपको राक्षस बन्यो त्यो । विष्णुऔतारी भगवान् थरथर हुन पुगिबक्सियो ।

विष्णुऔतारी भगवान् थरथर भएको मौका पारेर विष्णुकै अंशीयार हो वा अर्को कोही इन्द्र महाराज अरुण बरुण को हो राम्ररी ठम्याउन सकिएन उसले आएर विष्णुऔतारीको शाखासन्तानकै रगत एकै घुट्कोमा पिइदिएछ । बाबै कति भयावह स्थितिको सिर्जना भयो त्यतिबेला । एकातिर देउतादेउताबिचको लडाइँमा देउताको वंशै नास भयो अर्कातिर राक्षसराक्षसबिचको लडाइँ । थेगेर थेगिसक्नु थिएन ।

एकपल्ट सायद ०५६-५८ सालतिर हुनुपर्छ खानै नपुगेर त्यो दाजुचाहिँ राक्षसको शरीर छुट्टिएर दुई भाग भएको थियो । धामीझाँक्रीको मन्त्रले फेरि पछि के गरी जोडियो जोडियो । कृष्णले जरासन्धको शरीर छुटाउँदा पुनः जोडिएजस्तै जोडियो । यता पुन्टुरे नामको आतङ्ककारी आतङ्ककारीहरूका पनि महाआतङ्ककारी बन्यो । आकासपाताल ढाक्ने घटोत्कचको भन्दा ठुलो शरीर बन्यो । खान नपुगेर हनुमान्ले जसरी आँ गर्दैमा सूर्य, चन्द्र तारा सबै निल्छु जस्तो गर्न लाग्यो । उता विष्णु भगवान्को खलकमध्ये एउटाको वंश नष्ट भए पनि उनै भगवानका अर्को सन्तानले रामराज्य चलाइरहेका थिए । यामानको घटोत्कच नाउँको राक्षसरूपी आतङ्ककारी आकाशमा फनफनी घुम्न थालेपछि डरले होसहवासै उडेछ भगवान्को पनि । मार्नका लागि वरुणास्त्रदेखि ब्रह्मास्त्रसम्मका भएजत्ति अस्त्र प्रयोग गर्दा पनि आकाशबाट डेग चल्दै चलेन त्यो भयानक आतङ्ककारी राक्षस । आखिरी भगवान्समेत डरले भागेर जङ्गलतिर लुक्न गइबक्सियो । अहिलेसम्म उहाँ भगवान जङ्गलको बुटाबुटीको अन्तरकुन्तरबाट त्यो भयानक आततायी राक्षस कुन दिशातिर छ भनेर यसो चियाउँदै लुक्दै चियाउँदै लुक्दै गरिबक्सँदै छ ।

यता २०६२/०६३ तिर एकापसमा झैझगडामा उत्रिएका राक्षसका भाइभाइका खलक फेरि मिले । सायद दशैँको भोज खान भनेर जुटेका होलान् । राँगा, खसी, बोका, सुङ्गुर, बङ्गुर, हाँस, कुखुरा, भेडा, च्याङ्ग्रा कति कति कुरा गरेर साध्य छैन । ती राक्षसहरूले शाकाहारीलाई शाकाहारी मांसाहरीलाई मांसाहारी जे भन्यो त्यही खान मिल्ने गरी २०६४ सालमा एउटा नियम बनाए । कता कता केके मिलेन ०७२ सालमा फेरि साफी गरेर अझ राम्ररी मिलाएका रे ! पहिले कागले छेरेको जस्तो अक्षर थियो रे ! पछिको छापाको रिमिक्क परेका अक्षरको एउटा किताबै बन्यो रे खाने नियमको । भोजभतेरमा जाँडरक्सी त कति खाए खाए लेखाजोखा राख्न विश्वको पहिलो शासकीय सभ्यता बोकेको बेलायती रक्सी कम्पनीले त सकेन रे ! अरू देशले पो कसरी सकोस् ?

आमामा… यी दाजुभाइ आतङ्ककारीका खलकको के कुरा गर्नु र बाबै ! भाइचाहिँका भान्टाङभुन्टुङ बढेर यामानका तिघ्रे भएका छन् । एउटा मात्रै हो र स्याउँस्याउँती नि ! एउटा राक्षसको बच्चो बडो अहंकारी मूल्याहा आतङ्ककारी जन्मेछ । एकैदिनमा २०-३० जना बच्चा त सुलुक्कै निल्ने । कुम्भकर्णले लङ्कामा बाँदरका फौज निलेजस्तो । अर्को आतङ्ककारीको जुँगाको मोटाइ मात्रै सुमेरु पर्वतको गोलाइभन्दा मोटो छ । एउटै जुँगो उखेलेर बजारे पनि हजार जना त ठाउँको ठाउँमै ढल्ने । अरू हतियार किन चाहियो र ? कोही अजिङ्गर जत्रा, कोही हात्ती जत्रा, कोही बोका जत्रा, कोही कुखुराको भाले जत्रा, कोही भँगेराको खुट्टी जस्ता । अनेक अनेक रूपका आतङ्ककारीसँगै अरू भारेभुरे आततायी राक्षसहरू पनि झल्याक्झुलुक् झुल्कँदै पल्याक्पुलुक् हेर्दै छिचिमिराजस्तै उड्दै झर्दै उड्दै झर्दै गरिरहेको दृश्य देख्न पाइन्छ ।

आतङ्ककारीहरूका बिगबिगीका कुरा नगरौँ । यिनको इतिहास पढ्दै पनि डरले थर्थरी काम छुट्छ । यी आततायी आतङ्ककारीहरूका सबै कथा अहिले समेटिन । पछिल्लो चरण अर्थात् २०८१ तिर विष्णु भगवानका अंशले पनि ब्रह्माले कानेगुजीबाट राक्षसहरू जन्माएजस्तै यामानका आततायी राक्षसहरू सृष्टि गर्न थालिबक्सेछ । पालनकर्ता विष्णुका सन्तानले सृष्टिकर्ता ब्रह्माको काम खोसेपछि के फलिफाप हुन्थो र ! विष्णु भगवान्को अंशको यस्तो चाला देखेर तीन लोक चौधै भुवनका देउदेउता रिसाएका छन् रे ! पश्चिम दिशातिरका अर्थात् म्लेच्छेका मुलुकमा पनि त्रास फैलन थालेको छ रे ! उहाँले सृष्टि गरिबक्सेका आतङ्ककारीहरूले जिउँदै पत्रकार जलाए रे ! अझ केके गरे गरे वर्णन गरी साध्य छैन ।

अचेल पनि आतङ्ककारी आतङ्ककारीका छाउराछाउरीबिच भयानक द्वन्द्व चलिरहेको छ । एउटा भन्छ तेरो बाउ आतङ्ककारीले १७ हजार मनुवा खायो । अर्को भगवान् नामधारी आतङ्ककारीको छाउराछाउरी भन्छन्- अँ हुन्छ तेरो बाउ आतङ्ककारीले १७ हजार मनुवा खाएको भनेर यदुवंशले आआफै झगडा गरेर सिद्धिएझैँ सिद्धिने योजना बनाइरहेका बेला अहिले २०८२ सालमा झन् डरलाग्दा डरलाग्दा थप आतङ्ककारी, देशभित्रैका भ्रामक भयानक आततायी आतङ्ककारी राक्षस र देशबाहिरबाट भित्रिएका छद्म आतङ्ककारी समूहै छ रे भन्ने सुन्छु । आँ मुख गर्दा मात्रै निस्केको ज्वालाले एकै दिनमा हजारौँ दरबारहरू, घरहरू, झुप्राहरू बालेर खारानी पार्नसक्ने नयाँ आतङ्ककारी राक्षस जन्मेको छ रे ! त्यसले अब केके उपद्रो मच्चाउने हो थाहै छैन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x