बी.डी. त्यागीएक चोक्टा (उपन्यास अंश- १२)
हिंजो मलाई यत्ति जोस चलेको थियो के भनौ ? मारेर जेल जान नपर्ने भएको भए बाहुन र जोगीलाई एक एक गरी मूला काटे झैं काटी दिन्थेँ । के गर्नु ? कानूनले रोकेको छ ।

बी. डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक
१२
पानी परिरहेको जाडो दिन भएकोले दोलैंमा गुटुमुटु भै जयबहादुर तमाखु ट्वार ट्वार तान्दै थिए । उनको मनमा विभिन्न कुरा खेलिरहेको थियो । छिन छिनमा दाह्रा कट्कटाउँथे । आँखा सामु पण्डित र जोगी नाचिरहेका थिए । कानमा पुराण र प्रवचन गुञ्जिरहेको थियो । रीशले आँखा, लाल–लाल भएका थिए । बीच–बीचमा जरह छुट्थ्यो । अनायस कराउँथे पनि–
‘पाजी पण्डित, देख्लास् । सुँगुरको मासु पनि पक्कु लगाइस् होइन ? रक्सीको सीसी पनि फोरिस् होइन ?? रण्डीको काखमा पनि सुतिस् होइन ??? हेर त तँलाई म के के गर्दो रहेछु । तँ जोगी मन्त्री बन्ने ? तँ फकिर चोरी गर्ने ?? तँ डाँगो मोज गर्ने ??? गर्लास् पाजी मोज । तिमी गधाहरूलाई एक एक टुक्रा नपारी छोड्दिन बुझ्यौ ।’
जयको आँखा सामु रक्सीको सिसी नाचिरहेको थियो । सुँगुरको मासु चोक्टाका चोक्टा बन्दै झरिरहेको थियो । रण्डी आफ्नो गालामा म्वाई खुवाएर आनन्द लिइरहेकी थिई । पण्डित काउकुती लगाउने, गाला निचर्ने काममा व्यस्त भइरहेको थियो । त्यस घिनलाग्दो दृश्य, त्यो दुर्गन्धले भरिएको कोठा, त्यो झिङ्गा भन्किरहेको टेविल, ती अघोरी जँड्याहा, ती अश्लील शब्दले भरिएका कुरा अङ्ग प्रत्यङ्गमा घुसिरहेको थियो । मन घोडेजात्राको घोडा दौडे झैं बेतोडले दौडिरहेको थियो । कहिले होसमा आउँथे त कहिले बेहोसमा पर्थे । कहिले रीशले आँखा देख्दैनथे त कहिले दयाले आँसु झार्थे । छिनैमा भर्सेला परोस, पाएसम्मको मोजमज्जा कसले गर्दैन भनी चूप रहन्थे, छिनैमा यी कहाँ पातकीहरूलाई नमारी छोड्दिन भनी बम्कन्थे । तमाखु सकिई धुँवा आउन छोडेको उनलाई केहि पत्तो थिएन । छिन छिनमा ट्वार ट्वार आवाजसम्म निक्लिन्थ्यो । मन कहाँ पुगेको थियो । उनी कुन लोकको भ्रमण गर्दै थे ? केहि पत्तै थिएन ।
घण्टौं घण्टा ढोका नखुलेकोले शर्मिला डराई तल ओर्लिन् । ट्वार ट्वार हुक्काको आवाज शिवाय केहि आएन । ढोका घुरुक्क खोली भित्र पसिन् । जयले केहि वास्तै गेरनन् । उनको एकोहोरो चाल देखि शर्मिलालाई डर लाग्यो । एक पल्ट च्याँठ्ठएिर कराइन्– ‘के भो हजुरलाई ?’
अकस्मात शब्द कानमा पर्दा जयबहादुरले पुलुक्क हेरे । शर्मिलालाई देखि झसङ्ग झस्की सोधे–
‘शर्मिला ! तिमी यहाँ ? यो मसानमा ??’
अकस्मात मसान शब्द कानमा पर्दा उनी जिल्ल परिन् । खुट्टा थरथर काँपे । घरलाई मसान देख्न पुगिन् । कुरा के हो ? के हो ?? केहि बुझ्न सकिनन् । झम्म छोपेको जस्तो भयो । अत्ताल्लिएर जयलाई काखी च्याप्न पुगिन् । उसलाई केहि होस आयो । आँखा चारैतिर घुमाएर एक पल्ट हेर्यो । आफ्नै घरदेखि सर्मायो । काखी च्यापी बसेकी आफ्नी शर्मिलालाई पाई वाल्ल पर्दै सोध्यो–
‘शर्मिले, के भो ? किन डरायौ ??’
जवाफ केहि नपाई पूरा हेर्यो । शर्मिला निली भैसकेकी थिइन् । तकियामा टाउको राखी दिएर पानी ल्याई मुखमा छरिदियो । कागती नाँकमा सुँघाई दियो । धेरै वेरपछि आँखा खोलिन् । मुखबाट शब्द निस्क्यो– ‘पानी’
जयले पानी पियाई दिएपछि । स्वाँ….. सास फेरिन् । उसले फेरि सोध्यो–
“के भो ? किन डरायौ ??”
“मसान भनिबक्सेको होइन ?”
“भने क्यारे त भो के ?”
“मलाई मसानको शब्द मात्रै सुन्दा पनि डर लागेर आउँछ । जहाँ मैले आफ्ना आमा–बाबुलाई कहिल्यै फिर्ता नआउने गरी छोडी आएकी छु । त्यो डरलाग्दो चिहान, ती हुइय.. हुइय…गर्ने श्यालको बथान, त्यस कुकुरका उराठ लाग्दा रुवाई सबैले मलाई त्राश दिन्छन् । म यस मसानमा एक छिन पनि बस्न सक्दिन । मलाई अन्तै कहिं लिई गइबक्स्योस् अन्तै ।”
कुरा सुन्दासुन्दै जयबहादुर अन्तै पुगिसकेको थियो । कोठामा खरो धुँवा आइरहेको थियो । चिलिम घोप्टिएर सत्रन्जा डढीसकेको कसैलाई वास्ता थिएन । पीरो धँुवाले नाक खस्खसाई रहेको भए पनि जयलाई केहि वास्तै थिएन । उसले शर्मिलालाई समेत भुलिसकेको थियो । छिनमा दाह्रा किट्दै नारी निमोठ्दै कराउँथ्यो–
“यहाँका सबै ब्राम्हण राक्षस हुन् । सुँगुर र रक्सीको बोतलले भरिएको यस मसानमा रण्डीको नाचले सोभा दिइरहेको छ । हेर ! हेर !! त्यस रण्डीले के के देखाई सकी । खै, त्यसको धोती ? खै, त्यसको छाती छोप्ने लुगा ?? लौ… लौ… देख्दादेख्दै नाङ्गी भैसकी । ऊ …लौ, कट्टु पनि फ्याँकी । छिः छिः मोरी लाज पनि लाग्दैन । आउँछेस् यता ! ल.. ल… काखैमा बसी दिई । किन बसेकी मोरी ? मेरो काखमा । दिउँ दनक् । तँलाई कसले भन्यो ? मेरो काखमा बस्न । तँलाई मोज चाहिएको छ भने जा न । ती ठाडो घाँटी लगाइरहेका पण्डित कहाँ । तुरुन्त मरेको सुँगुरलाई रक्सीले सेचन गरेर ज्युँताई त्यसैमा चढाएर तँलाई नर्क पठाई दिन्छ । जा… जा…. मेरो काख छोडी हाल । मन्त्राणी हुन मन छ भने जा… त्यस कनफट्टाको काखमा बस् ।”
शर्मिलाले ठूलो आँखा पारी चारैतिर हेरिन् । आफ्नै घर आफ्नै झुण्डी रहेको तस्वीर अनि आफैले ल्याएको साडी जताततै देख्न पुगिन् । किन डराएँ ? कुन मसानको संझना गरेँ । किन होस गुम भयो ? निक्कै विचारिन् । पछि फत्फताई रहेका जयबहादुर कहाँ आँखा पुग्यो । च्याप्प समातेर सोधिन्–
“हैन, हजुरलाई के भो ? किन कराई बक्सेको ?? यहाँ कुन छे रण्डी कहाँ छन् मरेको सँुगुरलाई ज्यूँत्याई स्वर्ग पठाई दिने बाहुन् ??? आफू आफ्नै कोठामा बसीबक्सेको छ । यो सत्रन्जा किन पोली बक्सेको नि ।”
जयबहादुर झसङ्ग झस्के । नाहकमा फत्फताई रहेको आफू । आफू बस्दाबस्दै डढेको सत्रन्जा, आफूलाई गाली गर्दै वसिरहेकी शर्मिला, होसहवास गुम भै गँजडी बनेको स्वयंलाई सोची एक पल्ट त्यसै मुस्कुराए । पागल समानमा उनलाई देखि शर्मिलाले जिल्ल पर्दै सोधिन्–
“हैन, के भो ? हजुरलाई आज ।”
“के भो ? के भो ?? खोई । हिंजो सुँगुरको मासु र रक्सीले मात्तीएको पण्डितलाई देखि आएथेँ । तर्कणा त्यतैतिर गएछ क्यारे के के गरेँ ? के के भने हँ ??”
“बौलाहा बनी बक्स्यो, मसान, रण्डी, ब्राम्हण भनिबक्स्यो अरु के हुन्थ्यो ?”
“गजब भएछ । हगि ? मानिसले उपद्रो देखेर आएपछि आफ्नै पनि उपद्रो गर्दा रहेछन् । हिजो स्वाँठ पण्डित र बज्रस्वाँठ जोगीको उपद्रो देखे, सुनेर आएथें, आज आफै बज्र स्वाँठ बनेछु ।”
बुझ्यौ शर्मिला ! अब म कुनै बाहुनलाई फुट्या कौडी छिराउँदिन । जोगीलाई फालिएको कनिका पनि भिडाउँदिन । किन भनन ?
“किन र ?”
“तिमीले अँस्ति सज्जन पण्डित भनेर भोजन गराएको थियौ नि । हो, तेहि पाजी पण्डितले रक्सी र सँुगुरको मासुखाई रण्डीसँग मोज मज्जा गरी भट्टीमा लडी रहेको थियो । एक महीना अघि हामी यसरी यहिं बसिरहेको बेलामा एउटा दाह्रीवाल जोगी आएकोले तिमी उठी भण्डारमा गई सिधा ल्याएर दिएकी थियौ नि, त्यसै जोगीले बेलवटम् पेन्ट लगाएकी तरुनीलाई काखी च्यापी सिनेमा हलभित्र पस्यो । अब भन त, तिमी हामीले धर्म गरेर के गर्ने ? त्यस्ता पातकीको मुखमा यस्तो पवित्र अन्न पर्न जान्छ । अन्नले हामीलाई सराप नगरी छोड्ला ? बरु धर्मै गर्छु भनौ भने तीर्थ गर, ब्रत गर । दान गरेर कुनै पुण्य मिल्दैन । बरु पाप आइलाग्न बेर छैन । हिंजो मलाई यत्ति जोस चलेको थियो के भनौ ? मारेर जेल जान नपर्ने भएको भए बाहुन र जोगीलाई एक एक गरी मूला काटे झैं काटी दिन्थेँ । के गर्नु ? कानूनले रोकेको छ ।”
कुरा हुँदै थियो । तल ‘अलक… बम् बम्’ को आवाज आयो । जयबहादुर कुन चाहिं पातकी रक्सीको मोल झिक्न आयो, यस बजियालाई लात चखाएर आउँछु भन्दै जुरुक्क उठे । शर्मिलाले खुट्टा समाउँदै भनिन्–
“के गर्न उठी बक्सेको ? हुँदैन गाली गर्न, सराप दिए भने ।”
“त्यस्ता पातकीको सरापले के नेट्छ ? दिन्छु लात ।”
“चूप लागी बक्स्योस् । म एक मुठी चामल लगेर दिन्छु ।”
“तिमीलाई कुकुरलाई पुराण सुनाए जस्तो छ । उतिभाँती कुरा गरेँ तल्ला घरकी बुढी ज्युँदै भने झैं तिमी चामल दिन तम्सिन्छेऊ ।”
कुरा गर्दागर्दै शर्मिला भण्डारभित्र पसि एक मुठी चामल लिएर तल ओर्लिन् । जयबहादुर कराउँदै पछि लागे–कुकुरलाई जत्ती खीर खुवाए पनि गुहुमा मुख नगाडी छोड्दैन भने जस्तै तिमी बन्यौ । मैले घण्टौं लगाएर पुराण सुनाएँ अब रण्डीलाई नपोसी नछोड्ने भयौ होइन ? फ्याँकी देऊ चामल भूईमा चरा चुरुङ्गीले खान्छन् । यी स्वाँठहरूलाई चामल दिएर कुनै फाइदा छैन । रण्डीको संख्या मात्रै बढ्छ । फ्याँकी देऊ भूईंमा । फ्याँक्दिनौ ? तिमीलाई समेत फ्याँकीदिनु पर्यो ?”
“छि : हजूरले के भनिबक्सेको ? यस्ता बुढा वावालाई एक मुठी चामल पनि नदिए हामीलाई ईश्वरले कहाँबाट देलान् ?”
“तिमीले धर्म गर्यौ भने म पाप गर्छु । दुबै जनाले धर्म गरेर मोक्ष हुने मलाई इच्छा छैन । म स्वर्गमा जान चाहन्छु बुझ्यौ । तिमीले यस्ता पातकीलाई भीक्षा दिएर धर्म गर । म यस्तोको भिक्षा खोसेर पाप गर्छु । यस्ता कर्मचण्डाल जोगीलाई दिने चामल बेचेर सिनेमा हेर्छु बुझ्यौ ।”
“चूप लागी बक्स्योस् । एक मुठी चामल दान गरेर गरीव होइँदैन ।”
जयबहादुर चूप लागे । शर्मिलाले चामल दिइन् । जोगीले आशिष दियो– “कल्याण हो देवी तुम्को ।”
शर्मिला चामल दिई फर्कंदा जयबहादुर थिएनन् । कोठाको ढोका पनि लागेको थिएन । कहिल्यै नछोड्ने कोट जहाँको तहिं झुण्डिएको थियो । सोचिन्– ‘दिशा सवारी भैबक्स्यो होला’ र लागिन् भान्छा सरजाम जोड्न बुईंगेलतिर ।
जयबहादुर धेरै बेरसम्ममा पनि फर्केनन् । शर्मिलाको मनमा विभिन्न कुरा खेल्न थाल्यो–
“न कतै जोगीकै पछि लागी बक्स्यो कि ? रीश जागिरहेको थियो । न मारी दिई बक्सने पो हो कि ? विन सित्तीमा भीक्षा दिएँ । नदेऊ ! नदेऊ !! भनी बक्सँदै थियो । पतिको बचन उल्लङ्घन गरेँ, न केहि फसाद पो आइलाग्ने हो कि ? यो कलियुगमा धर्म गर्दा पाप आइलाग्छ भन्छन् । जोगी पनि अहिल्यै आइपुग्यो उहाँ नहोइस्या बेलामा आएको भए पनि त हुन्थ्यो नि । जोगी महात्मा जस्तै थिए । न टाढा गएर सराप पो दिए कि ? न कुस्ताकुस्ती पो परिरहेको छ ? विनसित्तीमा किन दिएँ होली भीक्षा ?
शर्मिलाको मनमा विभिन्न तर्कणा उठ्दै थियो । जयबहादुर हल्लदै दाह्री जुङ्गा, खप्पर र थैलो बोकी भित्र पसे । रीशले आँखा नदेखेका उनले दाह्रा किट्दै फत्फताउन थाले–
एउटा जोगीको त्यो दूर्दशा पारेँ । अब कत्तिको पार्ने हुँ ? डाँका मोरो कस्तोसम्म नक्कल गर्न जानेको ? कल्याण हो देवी तुम्को । पाजीले कत्तिको अकल्याण गरिसकेको हुँदो हो । ठीक गरेँ मैले । यस्ता जुल्फे बाललाई त्यसै छोडी दियो भने कत्तिको बदमासी बढ्छ । अब सम्झ्यो होला–
“कस्तो कहाँ भीक्षा माग्न गएछु ।”
पाजी तेरो रगत पिउनु पर्ने । आजलाई बचिस् । फेरि पनि आइस् भने देख्लास् । आफ्नो मोरीलाई कत्ति कराएँ–
ए ! यस्ता पातकीलाई भीक्षा नदे । किन सुन्थी ? एक मुठी चामल जिद्दी गरेर सुम्पी हाली । धर्म गर्ने भएकी मोरी । यस्ता चण्डाललाई सुम्पेर मोक्ष हुने, भै मोक्ष । यस मोरीलाई पनि लात कस्नु पर्ने । त्यत्ति सम्झाँउदा–सम्झाँउदै पनि कुस्ती खेलेर नदिई छोडिन । अब निक्कै धर्म बटुली ।
जोगीलाई भने दुर्दशा पारेँ अब बाहुन पाजीलाई घोक्र्याउन बाँकी छ । सुँगुरको सपेटा, रक्सीको बोतलमा मस्त परेर रण्डीको सेवा गर्ने ती स्वाँठ बाहुनहरूको एक दिन पूजा गरेपछि दिल ठण्डा हुन्छ । जयबहादुर बाँचेछ भने एक न एक दिन पूजा नगरी छोड्दैन ।
शर्मिलाले कुरा सुनिरहेकी थिइन् । मनमा नकाम गरिछु जस्तो लागिरहेको थियो । त्यसैले कुरा खेलिरहेका थिए–
‘धर्म नगरे मोक्ष छैन । हरेक योनीको चक्करमा फँसिरहनु पर्छ । दुःख कष्ट झेलिरहनु पर्छ भनी पुराण भन्छ । गृहस्थी भएर एक गेडा पनि अन्न दान नगरे मरेपछि खान पनि नपाएर आफ्नो शरीर खानु पर्छ रे । अति दुःखको यातना खप्नु पर्छ रे । तैंले मानिस छँदा एक गेडा अन्न पनि दान गरिनस् त्यसको बदला तैंले खान नपाएर दुःख गर्नु परेको हो भनी यमदुतहरूले भन्छन् रे ? दान गरौं । यस्ता पातकीको हातमा पर्न जान्छ । सँधै घरमा कलह मच्चिन्छ के गर्नु ? कस्तो समय आयो । यस्तै कुरा खेल्दाखेल्दै साँझ पर्न आँटिसकेको थियो । रीश समथर हुन लागेको जयबहादुरले करायो ।
“शर्मिला ।”
“के भनिस्या ?”
“देख्यौ ? तिमीलाई स्वर्ग पुर्याउने महात्माको चाल ।”
“के भो र ?”
“के भयो अब ? महात्मा छडी काटेको गुण्डो भयो । लैजाऊ तिमीले दिएको चामल । बनाऊ भात । बुझ्यौ शर्मिले ? बनाए पाजी गुण्डोलाई खसी । कस्तो पाखण्डी मोरो ? निक्कै टाढा त जानु पर्छ । त्यहिं पुगेर झोलाबाट ऐना झिकी दाह्री मिलाएर खिस्स हाँस्दो । पाजीलाई मर्काएँ । दिएँ जुत्ता । घमण्ड पनि गर्दो ‘देखा जायगा ! रे ।’ के गर्छ त्यस पाजीले ? ठोकेँ दुई चार मुक्का पनि । टाउको नफुट्या भए अझ कत्ति ठोक्थेँ ।”
“इवी फेर्यो भने ? कुनै बेला ।”
“त्यसले इवी फेर्ने ? पाजीलाई चटक्क छिनाई दिन्छु के चिन्हेकी छेऊ मलाई ?”
शर्मिला कुरा सुनी रहिन् । अनलाई आफूमा गर्व भएर आयो । मेरो श्रीमान यस्तो तगडा होइबक्सन्छ । मैले कोसँग झुक्नु पर्ला ? म साँच्चीकी भाग्यमानी हुँ । त्यस पाजीको नक्कली दाह्री, सज्जनलाई मारेर ल्याएको चामल कसरी खोसी बक्स्यो होला ? कत्ति लडी बक्स्यो होला ? साँच्चीकै बहादुर भैबक्सन्छ । मैले नचाहिंदो लिंडेढिप्पी गरी भीक्षा दिएकीमा पनि केहि भनिबक्सेन । साँच्चीकै माया गरी बक्सन्छ । अब मैले कसैसँग डर्नु पर्दैन । म वीर स्त्री हुँ । यो स्वाँठ जोगीहरूले सिधासाधा पतिब्रता कति नारीहरूलाई छकाए होलान् । कत्तिको सतीत्व भ्रष्ट गरे होलान् । यस्तालाई टुक्रा टुक्रा पार्नै पर्छ । ती चोर जोगीहरूलाई अब मेरो हातबाट एक गेडा चामल झर्दैन । यी पातकी हुन्, महाँ पातकी ।
रातो–रातो गाला पारी ओंठ हल्लाइरहेकी शर्मिलालाई देखि जयबहादुर मुस्कुराए । उनको फिंजिएको झाँक्रो मस्किएको शरीर र मनमोहक आँखा देखी जय जुरुक्क उठेर च्याप्प कम्मर समात्न पुगे । मुखमा मुख मिलाई सननन्न म्वाई खान पुगे । छाती समातेर गाला टोक्न पुगे । शर्मिला खित्का छोडी हाँसिन् । उनको एउटा हात जयको भुँडीमा काउकुती लगाउन पुग्यो । अर्को हात कम्मरमा । दुबै चले, मस्तसँग चले । रात पर्यो । दुबै लिप्सिएर सुते । निद्रादेवीले आफ्नो तातो काख थापी दिइन् ।
क्रमश:
०००
चार थुम्का (२०७६)
Subscribe
Login
0 Comments
Oldest





































