साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक चोक्टा (उपन्यास अंश– ६)

पण्डितहरूको बहस चल्न थाल्यो– नारा के लगाउने ? पण्डित बाजेले प्रस्ताव राखे– ‘इन क्लब जिन्दावाद ! पण्डित पण्डित एक हौँ ।’ ‘एक रुपैयाँ भन्दा कम्ती गोदान लिँदैनौँ ।’ ‘खीर खान नपाइने श्राद्धमा जाँदैनौँ ।ं’ ‘विना सिधाको तर्पण गर्दैनौँ ।’ ‘काट्टो लिन छोड्दैनौँ ।’ ‘हाम्रो माग पूरा होस् ।’

Nepal Telecom ad

बी.डी. त्यागी :

समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक

६.

बैठकको ढोकामा थोत्रो पर्दा हल्लिरहेको थियो । बीच बैठकमा एउटा खुट्टा खस्न आँटेको खाट जसमाथि मुसाले काटेको चारपाटेबाट पराल झुण्डिरहेको टक्रक्क अडिरहेको थियो । खाटमुनि ४/५ गोटा फुटेका घैँटा, कुनैमा गुईंठाको खरानी, कुनैमा जिम्बु, नुन, बेसार हालेका थोत्रा कागजका पोका भएको जिर्ण सन्दुस रहेको थियो । सन्दुसमाथि एउटा फलामे डाडु तेर्सिरहेको बैठकको एउटा कुनामा भाँडाको थुप्रो; अर्को कुनामा २/४ गोटा लपेश राखिएको थोत्रो डालो उल्टिरहेको थियो । बीचमा कपाल मुण्डन गरेका बीरु थाप्लोमा हात राखी घोत्लिरहेका थिए । चारैतिर सन्नाटा छाएको थियो ।

एक्कासी सुइय सास फेरेर उसले गुन्गुनाउन थाल्यो– सानु, तिमीले छोडी गएको पनि भोलि पूरा वर्ष दिन हुन्छ हगि ? यस्तै होला भन्ने तिमी हामीलाई लागेको थियो त ? तिमी हाम्रो जिन्दगी के रहेछ र खोई ? कर्कलोको पानी जस्तो रहेन छ त ? तिमी कत्ति फुर्ति गर्थ्यौ हगि ? म त मर्दै मर्दिनँ । म पनि त फुर्ति गर्थें नि; तिमी मर्‍यौ भने यो संसारमा एक छिन पनि बस्दिनँ । बसिरहेछु । मानिसको घरमा आज कत्ति हर्षोल्लास भैरहेको छ । मेरो भने घुँगुरिएको कपाल समेत तिम्रो संझनामा उखेलिए । धन्य खप्पर । कत्रो संकष्टमा फंसेको छस् ?’

“बा, आमाको श्राद्ध भोलि होइन ?”
“होला ।”
“खै त, आजसम्म केहि पनि ल्याउनु भएको छैन, भुँड्को चामल पनि मुसाले खाएको हो कि ? एक गेडा छैन ।”
“के गर्ने त वा, मसँग एक पैसा छैन !”
“कसैसँग मागेर ल्याउनोस् न !”
“कसले दिन्छ र ?”
“कान्छ बुबासँग माग्नोस् न !”
“छ कि छैन, दिन्छ कि दिँदैन !”
“दिनु होला नि !”
“तिमी नै गएर ल्याऊ न त !”
“नार्इं, म जान्न । त्यहाँ मेरी आमाले झगडा गर्नु भाथ्यो ।”

छोरीको कुराले बीरुको आँखाबाट तरक्क आँसु झर्‍यो । वाक्य फुटेन । जुरुक्क उठेर बाटो लाग्यो । मनमा विभिन्न तर्कण्ना उठ्दै थियो । उठ्दाउठ्दै पुरेतको घरमुनि आई पुगिसकेको उसलाई केहि होसै भएन । झ्यालमा पुरेत्नी बज्यैलाई देखेपछि संझना आयो । टक्क अडिएर बोलाए–
“पुरेत बाजे, ए ! पुरेत बाजे !”
“को हँ ?”
“म, पुरेत बाजे !”
“बीरु, तिमीले कपाल मुण्डन त गरेर आएछौ, तर मैले यस्तो निर्घिणी टपरे काम छोडिसकेँ ।”
“किन र ? पुरेत बाजे !”
“भोलिदेखि पाइन्ट–टाई लगाएर शहर–शहर चाहार्ने निर्णय गरिसकेको छु ।”
“भोलिको निर्णयलाई पर्सि सार्नोस् न !”
“म आउन सक्दिन, अरुनै पुरेत खोज !”
“पुरेत बाजे, किन मसँग अरुको रीश पोख्नु हुन्छ ? होमे र डोमे नफेर्नु भन्ने शास्त्र छ !”
“नकराऊ ! नकराऊ !! मैले जुन निर्णय गरेँ, त्यो कहिल्यै बदर हँुदैन । जाऊ अर्कै पुरेत खोज ।”
“अलि समालिएर भन्नोस् न पुरेत बाजे, तपाईंलाई के भयो ?”

“यो टपरे काम पण्डितहरूको बेइज्जत मात्रै हो । सबै कामदारको ज्याला भाउवेसामा निर्भर हुन्छ । हामी टपरेको गोदान भने चार आनामा कहिल्यै बढ्दैन । निदार भरी केशरी लोपरेर घोक्रो फुलायो । टापनटुपन पैसाले एउटा सिनेमा हेर्न पुग्दैन । यस्तो टपरे काम पनि गर्नु ?”
“नगरे र के गर्नु हुन्छ त ?”
“भोलिनै सबै पण्डितहरू भेला गराएर सत्याग्रह गर्छु, अनि लौ त एक रुपैयाँ भन्दा घटी गोदान गरून् ?”
“पण्डित बाजे, जे भो सो भो भोलिको मेरो काम सकिदिनोस् । एक वर्ष यता छोरै पाए पनि खबर दिन्न अब त पाल्नु होला ?”
“बोकाको कान निमोठ्ने, मासुको झोलमा लुटुपुटिने बेलामा किन खबर दिन्थ्यौ त ? चार आनाको दुनो तान्ने, बाबुको नाममा पिण्ड लडाउने, कात्रो ओड्ने बेलामा पो हात जोर्न आउँछौ । म आउँदिन ! आउँदिन !! केको कर ?”
“तिमी जस्ता पण्डित बाटोमा कुकुर लुखुर्क्या झैँ लुखुर्की रहेका प्रसस्त पाइन्छन् बुझ्यौ ? तिमी विना मेरी श्रीमतीको श्राद्ध रोकिंँदैन बाजे, म गएँ ।”
“जा…. जा…. तँ निफुल्केर केहि नेट्दैन । तँ जत्तिका जजमान बनाउँ भने जत्ती पनि पाउँछु ।”

पुरेत सँग झगडा गरेर भाइकहाँ पस्यो । ऊ सुट लगाएर बाहिर निस्कन लागेको देखेर बोल्न सकेन । भाइले एकै शब्द नबोली बाटो लियो । बीरु लुखुर लुखुर घर फर्क्यो ।
दिनको चार बजिसकेको थियो । खाटमा बसेर गुनगुनाउन थाल्यो–
धन्य पैसा ! तँ मेरो खल्तीमा झम झमाएर बसिदिएको भए न मैले पुरेतसँगै झगडा गरेर आउनु पर्थ्यो न त भाइकहाँ नै पुग्नु पर्थ्यो । तँ मेरो साथमा भई दिइनस् । पुरेतसँग पनि झगडा पर्‍यो । भाइले पनि कुनै वास्ता गरेन । भोलिको श्राद्ध त्यसै रोकिने भो ।
“बा, पैसा ल्याउनु भो ? पुरेत आउने भए ??”
“नानी, अर्कै दिन गरौँला श्राद्ध !”
“नाईं, भोलि नै गर्नु पर्छ ।”
“के गरेर गर्ने ? मसँग एक पैसा छैन : तेरो कान्छा बुबाले केही वास्तै गरेन !”

शर्मिलाले कानको टप फुकालेर भनी –
“बा, यो मेरो आमाको टप हो । आमाकै श्राद्धमा लगाई दिनोस् ।”
बीरुको आँखाबाट आँसुको मुल फुट्यो । छोरीलाई टाउकोमा सुमसुमाएर ३/४ पल्ट म्वाई खायो । स्वास्नीको चिनो त्यस टपलाई वल्टाई पल्टाई चार पाँच पल्ट हेर्‍यो । त्यो टप लगाउँदाको आफ्नी श्रीमतीको उज्यालो मुहार, उसले गरेको कुरा सबै सम्झ्यो । मुटुमा भक्कानो फुटेर आयो । आँखा राता–राता भए । एक पल्ट खप्परमा मुक्कीले हान्यो र फटाफट हिँड्यो ।
“बाँडा दाइ, सुनको भाउ के छ हँ ?”
“तीन सय पन्ध्र रुपैयाँ तोला ।”
“यो कति होला हेर त ?”
“आधी तोला ।”
“यो राख्छु, सय रुपैयाँ देऊ न । म फेरि निखन्न आउँछु ।”
“लैजानोस् न ।”
“जय होस् बाँडा दाइ तिम्रो । म गएँ निखन्न आउँछु है ।”
“हुन्छ, जानोस् ।”

सय रुपैयाँ लिई बीरु किनमेलतिर लाग्यो । बाबुले सधंै चामल किन्ने गरेको पसलमा गई बस्यो । साहु तमाखु तान्दै थियो । बीरुले एक छिन पुरानो कुरा गर्‍यो । बाबुको परिचय दिलायो । अनि एक मुठी चामल लिएर भाउ सोध्यो–
“हैन साहुबा, यो चामलको के भाउ छ ?”
“एक रुपैयाँ पच्चीस पैसा मानो ।”
“यसको नि ?”
“एक रुपैयाँ !”
“पञ्चान्नब्बे पैसा मानो भो, दिनोस् न चार पाथी ।”
“हुँदैन, एक रुपैयाँमा एक पैसा पनि घट्दैन ।”
“त्यसो नभन्नोस् न साहुजी । तपाईं आफ्नो बाबु बाजेको इष्टकहाँ आएपछि २/४ पैसा सस्तो पाइएला भनेर पो तपाईंकहाँ आएँ, एकै रुपैयाँ तिर्न परे किन इष्ट भनेर आउनु पर्‍यो र ?”
“म के को इष्ट ? म त पसले । २/४ पैसा होला भनेरनै पसल थापेर बसेको छु । तिमीलाई चार पैसा, अर्कोलाई चार पैसा छोड्न लागे त पसलै नथापे भैहाल्यो नि ।”
“दिनु हुन्न त ?”
“दिन्न, जा…”
“साले दोबाटे, अस्तीसम्म कतारोमा आगो राखेर भट्मास बेच्दैथ्यो । आज चामल बेच्ने भएर तँ तँ र म म गर्दै जा भन्दो रे छ । पाजी दोबाटे तैंले जा… भन्नु पर्छ ? गधा दोबाटे । आफ्नो खल्तीमा पैसा भए तँ चोरकहाँ भन्दा मीठो, सस्तो राम्रो अन्तै पाइन्छ बुझिस् ।”

किनमेल सकी बीरु पाठशालाका पण्डितको घरमुनि आएर कराउन थाले–
“पण्डित बाजे ! ए, पाठशालाका पण्डित बाजे ??”
“को हँ ?”
“म ।”
“कहाँबाट आउनु भएको ? के भन्नु छ पण्डित बाजेलाई ?”
“यहाँ को हुनुहुन्छ ? पण्डित बाजेको ??”
“म अर्धाङ्गिनी ।”
“लौ त, पण्डितनी बज्यै, भोलि पण्डित बाजेलाई मेरो घरमा श्राद्ध गर्न पठाई दिनु होला ।”
“खै, भन्न त भनिदिउँला, पाल्नु त हुन्न कि क्या ?”
“किन र ?”
“भोलि जुलुस् जाने रे ! भन्थे पण्डितहरू ।”
“लौ जसरी भए पनि यहाँले पठाई दिनु पर्ला, दक्षिणा पाँच रुपैयाँ छुट्याएको छुँ ।”
“दक्षिणा कति रे ?”
“पाँच रुपैयाँ ।”
“लौ, त्यसो भए पाल्नु हुन्छ ।”
“लौ त है बज्यै, धोका नपरोस् म गएँ ।”

बीरु हिँडेको केहि छिनपछि पण्डित बाजे नेता बनी घर आइपुगे । लगाएका माला पालीमा सिउरेर चकटीमा ठाँटसँग बसे । बजै बाजेको समाचार सुनाउन पलेँटी कसेर बसिन् । दक्षिणा पाँच रुपैयाँको कुरा सन्दा साथ बाजेले ठूलो आँखा पारेर भने–
“एक त पाएसले पेट भर्न पाउने, दोस्रो दक्षिणा पाँच के भनि दिइस् त ?”
“पाल्नु हुन्छ भनिदिएको छु ।”
“ठीक गरिस् । विहान निस्केर सम्मेलनमा भेला हुन्छु । दिउँसो पेट फोर्न लम्कन्छु । बरु मोटक भने बाट्न लगाई दिनु ।”
“मनै बाटिदिन्छु हुँदैन र ?”
“हुन्छ, किन नहुनु ? तँ पनि त बाहुनी नै होस् ”
गफ हुँदाहुँदै चार पाँच जना चन्दने पण्डितहरू आइपुगे । बज्यै भान्छातिर लागिन् । पण्डितहरूको बहस चल्न थाल्यो– नारा के लगाउने ? पण्डित बाजेले प्रस्ताव राखे–
‘इन क्लब जिन्दावाद ! पण्डित पण्डित एक हौँ ।’
‘एक रुपैयाँ भन्दा कम्ती गोदान लिँदैनौँ ।’
‘खीर खान नपाइने श्राद्धमा जाँदैनौँ ।ं’
‘विना सिधाको तर्पण गर्दैनौँ ।’
‘काट्टो लिन छोड्दैनौँ ।’
‘हाम्रो माग पूरा होस् ।’

भेला भएका सबैले ताली बजाए । नारा पुरा भयो । अर्का पण्डितले झण्डाको बनावट र रंग कस्तो गर्ने ? भन्ने बिषयमा प्रस्ताव राखे । सबैको सम्मतीबाट पटासीको एक टुक्रा तीन चुच्चा पारी राख्ने र माथि सुर्के चन्दनको चिन्हो राखिने भयो । पण्डितहरू उठी आ–आफ्नो बाटो लागे । प्रस्ताव छिनैमा पारित भयो । जुलुस गोकर्णबाट सुरु भई पशुपतिमा पुगी आमसभा हुने र भएभरका पण्डितहरू मिली सभा बिसर्जन भएपछि आ–आफ्ना जजमानकहाँ गई जानकारी दिलाउने टुङ्गो भयो ।

साध्वीका श्रीमान पण्डित बाजे टोयोटामा बसी आएर सोही पण्डितको घर अगाडि अडे । सभा बिसर्जन भैसकेको अनुमान गरी फिर्ता भए । झमक्क साँझ पर्‍यो ।

०००
चार थुम्का (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x