साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक चोक्टा (उपन्यास अंश- १०)

स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । 

Nepal Telecom ad
बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक
१०

रातीको आठ मात्रै बजेको थियो । बजै बुईंगेलमा खानेकुृरो तयार पार्दै थिइन् । चमेली बजैको काम सघाएर बसिरहेकी थिई । बाहिर कुकुर भुकिरहेका थिए । बच्चाबच्ची सबै सुतिसकेका थिए । घरमा सन्नाटा छाएको थियो । चमेली आफ्नो बाबु–आमा छँदा आफूले पाएको सुखको वर्णन गर्दै थिई । बजै कुरा सुनिरहेकी थिइन् । बीच बीचमा सहि थाप्न नभुल्ने बजै एक्कासी चूप लागिन् । चमेली पनि चूप लागि । तल ढोकामा ढ्याक्‌–ढ्याक्‌को आवाज सुनिन थाल्यो । बजैले कान ठाडो पारी अलिवेर सुनिन् । चमेलीले पनि कान थापी । धेरै बेरपछि फेरि ढ्याक्‌–ढ्याक्‌को आवाज आयो । बजै फत्फताउन थालिन्‌–

“यो कस्तो आवारा, लफङ्गा बसेको ठाउँ ? आनन्दसँग बस्न सुत्न पनि नपाउनु ? सधैंको ढ्याक्‌–ढयाक्‌–ढ्याक्‌–ढयाक् ! को मोरो मोरेको हो ? जा… चमेली हप्काएर आइज !”
बजैको आदेश पाएकी चमेलीले भर्‍याङको टाउकैबाट झोक्किएर सोधी–
‘तल को हँ ? किन ढोका घच्घच्याएको ? मानिस सुतिसकेका थाह छैन ? कस्तो बानी ? जुनसुकै दिन यहि बेला ढ्याक् ढ्याक्‌–ढ्याक् ढ्याक । हान्नु पर्‍यो कि के हो ? थाप्लाँ अगुल्टोले । को हो त्यो ? किन नबोलेको ?’
ढोका बाहिर अन्धकारमा बसेको नरेले उत्तर दियो–
“खोली दिनोस्न ढोका । म बजैकै मान्छे हुँ ।”
चमेली लाल्टेन बोकी तल ओर्ली । ढोका खोल्न हिच्किचाई । न कोहि लफङ्गा पो पस्ने हो कि ? उसले धेरैबेर गौड गरी । पछि एक फक्ल्याँटो ढोका करक्क खोली । नरे लुसुक्क भित्र पस्यो । ऊ जिल्ल परी । उसलाई के देखेँ जस्तो लाग्यो अनि च्याँट्ठिएर कराई–
‘बजै… ।’
कुन चाहिँ पाहुना आयो भनी मुर्मुर्रिएर बसेकी बजैले चमेलीको आवाजै सुनिनन् । पछि चाउरी परेको गाला कुइरा आँखा, कैलो कपाल, हाड उठेको कन्चट भएको सानो नसे मानिसलाई ठिङ्ग उभ्भिएको देख्दा बजै पनि जिल्ल परिन् । पाहुना आएको रीश कता गयो कता ? आँखा चिम्लेर निक्कै विचार गरिन् । पछि सम्झिदिन पुगी नरे ।

पहिलेको पट्ठो नरे र अहिलेको बुढो नरेमा आकाश जमिनको फरक परिसकेको थियो । दुब्लो शरीर भएको बुढीलाई देख्दा एकतिरबाट दया उत्पन्न भयो त अर्कोतिरबाट खानाको प्रबन्ध मिलाइदिनु पर्ने संझनाले रीश उठ्यो । जे होस् आफ्नो जवानीमा उसले लगाएको गुण हेर्दा रीश भन्दा दयानै बढी उत्पन्न भयो । उसको मरन्च्याँसे अनुहारलाई नियालेर एक थोपा आँसु चुहाई दिइन् पनि । बजैको मायाँ देखि उसको आँखाबाट पनि आँसुको मूल नफुटी छोडेन । पिल्पिलाउँदो अनुहार लिएर अगाडि बडी बजैको खुट्टामा आफ्नो दुःखी टाउको धेरै बेरसम्म तेर्साएपछि उठेर अलि टाढा बस्यो ।

चमेलीले उसको अनौठा अनुहार देखेर एक पल्ट खिस्स हाँसी । उसले केहि बोल्न सकेन । खाली घुँडामुनि टाउको राखेर आँसु काड्दै बसी मात्रै रह्यो ।
बजैले निक्कै सम्झाइन् । पुराण सुर्नान् । गफले आकाश पाताल जोडिदिइन् । केहि गर्दा पनि उसले टाउको उठाएन । आँखाबाट झरेको आँसुले बसेको सत्रन्जा भिजिसक्दा पनि न बोल्छ, नत टाउको उठाउँछ नै । आएको घण्टौँ भैसक्यो । केहि कुरै झिक्दैन । बजै जिल्ल परिन् ।
कुनै कुरा नभै त्यसै बस्नु पर्दा चमेलीले ठेकीबाट तेल तर्‍याएर बजैको खुट्टा मल्न थालिन् । धेरै बेरपछि बजैले खुट्टा थुत्त तानेर भनिन्‌–
“भैगो, आज नमले पनि हुन्छ ।”
दिनको चार घण्टा खुट्टा मल्दा पनि भो नभन्ने बजैले एक घण्टा नहुँदै भैगो भनेकीले चमेलीले सोधी–
“किन र बजै ? झन् आज पशुपति पाल्नु भएको, कत्ति थकाई लागेको होला ? यस्ता नरम गोडा कत्ती दुखेका होलान् । नमलेर होला र ?”
चमेलीका चिप्ला कुरा सुनेर बजैले झन् चिप्लिंदै भनिन्‌–
“मोरी निक्कै मायाँ भएको नक्कल गर्छेस् । आज मान्छे आएको देखि तेल नलगाई दिई भएन । अरु कुनै बेला लगाई दिन्थिस् र भैगो भोलि लगाई देलिस् ।”
“त्यस्तो आज्ञा हुन्छ भने भैगो त भोलि नै लगाई दिउँली ।”
“चमेली, इनलाई तैंले चिन्हेकी छेस् ?”
“छैन, को हुन् बजै यी बुढा ?”

“यी मेरा पुराना मानिस हन् । सबै मेरा छोराछोरी यिनकै हातबाट हुर्केका हुन् । सबै छोराछोरी यिनकै हुन् भने पनि हुन्छ । बाजेको के भर थियो र कहिले कहाँ पुग्नु हुन्थ्यो, कहिले कहाँ ? घरको हेरचाह, राखनधरन सबै इनकै हातबाट हुन्थ्यो । आज काल पो एक छिन् मात्रै ढिलो भयो भने पनि काँप्दै आउनु हुन्छ । पहिले जवानीमा कहाँ हेर्नुहुन्थ्यो र मलाई ? मैले जे काम पनि इनैबाट लिन्थेँ बुझिस् । पछि यिनी कता लागे कता ? त्यसबखत मलाई कत्रो दुःख पर्‍यो । पाँच छ वर्षपछि सुनेँ– स्वास्नी ल्याएका छन् र अति आराममा परेका छन् रे इत्यादि । अँस्ति अचानक सुने– स्वास्नी मरी, छोरो जेल पर्‍यो, छोरी भागी । नरेले निकै दुःख पाएको छ भन्ने । मलाई पनि साह्रै दुःख लाग्यो । आज देख्दै छु यस्तो गतिमा । भगवानले पनि बिल्लीबाट पार्न कत्ति जानेका । बिचराको एक वर्षको नाती छ क्यारे । एक टुक्रा पनि जग्गा छैन । घर सरकार लाग्यो भन्ने सुनेथेँ । साह्रै दुःख पाए बराले ।”

बजैको कुरा सुनेको नरेले उँधो मुन्टोबाटै भन्यो–
हो बजै, मैले साह्रै दुःख पाएँ । बजैसँग मात्रै बसेको भए पनि यस्तो दुःख पाउने थिइनँ । के गर्नु ? अल्लारे बुद्धि । तरुनी केटी देख्दा दिल थाम्न सकिनँ । साथै ज्युँने साथै मर्ने प्रतिज्ञा गरेर खेल बट्टाइमा लागेँ । छोराछोरी जन्मिन केहि बेरै लागेन । छोरा–छोरी भएपछि भ्रुणहत्यामा परिहाँले । पछि सबै लाखा पाखा लागे । अहिले यो बुढेसकालमा खानसम्म पनि नपाएर बिभिण्डीरहनु परेको छ ।
“बजै, यी बाको घर कहाँ नि ?”
“कुन्नी !”

“हर्ष जङ्गको सत्तलमा बसेको थिएँ बजै । आज त त्यहिँबाट पनि निक्ली भनी घोर्क्याई दियो । अब कहाँ जाउँ भनि गौड गरी रहेको थिएँ, झट्ट सम्झें ‘बजै’ र लर्खरिएँ यतै । एउटा छिंडी त खाली होला होइन बजै ?”
“खै बाबै, एउटा छिंडीमा गाई पालेको छु, अर्को छिंडीमा पराल राखेको छु । बाँकी एउटा छ । कहिलेकाहिं पाहुना पाछा आउँदा राख्नै पर्‍यो । के छ भनौँ र खोई ? एक दुई दिनलाई बस्छौ भने बस । धेरैलाई त छैन । पहिलेकै जस्ता जमामर्द भैदिएका भए पनि काम देलाउ कि त बस भन्नु अव त्यो पनि छैन ।”

“एक महिनालाई दिनोस्न त बजै, त्यसै बीच कहिं पाइहाल्छु कि ?”
“एक ! एक !! महिना बस्न त बहाल दिनु पर्छ नि । कत्ति छन् पैसा गोजीमा !”
“पैसा भाको भा किन आउँथ ेनि दुःख दिन बजैकाँ । छैन बजै एउटा फुट्या कौडी पनि ।”
“अहिले त खाएरै आएका हौला ? भोलि बिहान के खान्छौ त ? फुट्या कौडी पनि नभए ।”
“बजैकहाँ आइपुगेर पनि भोकै मरौंला र ?”
“मलाई आफ्नो सम्पत्ति सुम्पेका थियौ र नमर्ने ? कोही नभएपछि मर्न पनि के बेर ?”
“हो बजै, कौडी नभएपछि मर्न पनि के बेर ? त्यतिन्जेलको लागि बास त पाएँ होइन ?”
“कसले दिएको छ र ? बासै पनि ।”
“एउटा छिंडी छ भन्नु भएको होइन र ?”
“आज एक रातको लागि चिसो छिंडी छ नाई, भोलिदेखि विना पैसाको डेरा कहाँ पाउलाऊ ।”
“एक महिनाको लागि पनि पाउँदिन ?”
“यो घर बनाउँदा तिमीले आफ्नो पैसा लगाएका थियौ र पाउने ।”
बजैको त्यो कठोर बचन सुनेर चमेलीले भनी–
“छि : बजैले के भन्नु भा ? बिचराले कत्रो आश गरेर आएका होलान् ?”
“नकरा बिचमा, यस्ता लफङ्गा कत्ति आउँछन् सबैलाई बास दिन सकिन्छ र ?”
“हो बजै ! ठिक भन्नुभो । म जस्ता गरीब कत्ति आउँछन् ? कत्ति जान्छन् । सबैलाई बास दिएर गृहस्थाश्रम अड्ला र ?”

“त्यैत, खान र लगाउन पाएसम्म कोहिले कसैलाई सम्झन्छन् र ? जब पैसा सकिन्छ । क–कस्को छिंडी खाली होला भन्दै लाग्छन् बाटो खोज्न । तिमीनै भनन ! के पैसा भएको भए यहाँ आउँथ्यौ त ?”
“ठीक भन्नु भो बजै, अव डेरा पाइन होइन त ?”
“कसरी पायौ त ?”
सोझो बुढोले डेरासम्म पनि नपाउने बुझेर चमेलीले भनी–
“बजै दुःख कसलाई पर्र्दैन र ? आज इनलाई पर्‍यो । भोलि न हामीलाई नै पर्ने हो कि ? दैवको लीला के जानी सक्नु छ र ? आफूले सक्ने काम गरिदिई हाल्छन् । दिनोस्न त एउटा छिंडी ।”
“तँलाई कसले अर्ति दिनु भन्यो ? मैले पनि जानेकी छु । छैनन् डेडा–सेडा । यस्ता बुढा खाडाबाट चाहिएको छैन मलाई काम साम ।”
“आज किन निष्ठुरी हुनु भा बजै ? बिनसित्तीमा गएको चीसो छिंडीमा बस्न दिएर के विग्रन्छ र ? आखिर पुरानै मानिस रहेछन् त ।”
“तँलाई कुखुरे बैंसले छोएको छ । कसैसँग नपाए बुढैसँग भए पनि मिस्सिउँ भन्दी होस्, म त यस्ता बुढा खाडालाई देखि पनि सहन्न बुझिस् ।”

नरेले बजैको कुरा सुनेर कान थुन्दै भन्यो –
“राम ! राम !! राम !!! कस्तो पाप चिताउनु भो बजै तपाईंले ? यसको फलिफाप त हुँदैन होइ तपाईंलाई ।”
“फलिफाप सलिफाप होइन, यहिं थाप भन्ने होस् तँ बुढो, मैले नचिन्हेकी हुँ र ?”
“हरे राम ! यो बुढेस कालमा के सुन्नु परि रहेछ मैले ? म कहाँ आई पुगेँ ? नर्कमा हो कि ? पातालमा ?”
“डेरा खोज्न आएको छस् मकहाँ । अन्त कहाँ हुन्थ्यो ?”
रीशले मुमुर्रिएकी चमेलीले सान्त हुँदै भनी–
“मरेकोलाई फेरि किन मार्नुहुन्छ बजै ? डेरा छैन भन्दिनोस् न भैहाल्यो नि ?”
“दिन्न त भनी हालें नि, छैन नै भन्नु पर्छ र ?”
“बजै कत्रो आश लिएर आएको थिएँ, निराश मात्रै होइन, त्राश पनि दिनु भो । भलो त हुने छैन ।”
“भलो होस् कि कुभलो होस् । तँलाई के वास्ता ? तैंले आएर मलाई डर देखाउने ? तँ जस्ता बुढालाई अगुल्टोले हानेर पठाउन सक्छु बुझिस् ?”
“म बुढोलाई के गर्न सक्नुहुन्न र ? फेरि ईश्वरले पनि तपाईलाई के गर्न सक्छन् र ? भुल गरेँ । क्षमा गर्नोस् ।”
“नगर बक् बक् । मलाई केहि सुन्न मन छैन । राती आएको थियो, अँध्यारो छलोस् भन्ने सोची चूपै थिएँ । अव रातभर मात्रै बस्न पायो भने के के उछित्तो गर्ने हो ?”
“बजै, रातभर बस भने पनि बस्न सक्तिनँ । पुग्यो तपाईंको बचनले अघाइसकें ।”
“चमेली, मालिक्नीलाई के के भनीसक्दा पनि के चुप लागेर बसेकी ? हान्न अगुल्टोले थाप्लोमा ।”
“के भन्नु भा बजै यस्तो ? विचरा बाले के विराएका छन् र ? ”
“भैगो नानी नकराऊ । आफै निस्कन्छु । पेटी त होला नि खाली ?”
“जाडोमा के भन्नुभा पेटी ? छँदै छ नि मेरो झुप्रो ।”
“लैजा, लैजा । च्याप्पिएर सुत ।”
“बजै तिम्रो जय होस् । यस्तो चाउरी परेको बुढोउपर त्यत्रो अपराध चिताउन सक्यौ ।”
“पाप न साप सोजो गरी थाप भन्ने तैंजस्ता बुढा हुन् बुझिस् ।”
“कस्ती पातकी बाहुनी ? लाजसरम नभएकी । यस्ती पातकीको नोकरी गरी बस्नुभन्दा भोकै मरिदिनु बेस । जा… चाहिएन तेरो नोकरी । बस् । राँड, घिच् गुहु खाए झैं तेरो बाबुको पिण्ड ।”
बजै मुमुर्रिइन् । उनको निदारमा चीट् चीट् पसीना उम्य्रो । रीशले चुर हुँदै उठेर चमेलीको मुख च्यात्न पुगिन् । नरे डरले बस्न सकेन । आफूले ल्याएको कालो कुटुरो काखी च्यापी थुरथुर काँप्दै बाहिर निस्क्यो । बजै जोडले कराउन थालिन्‌–
‘कहाँ जालिस राँड ? मेरो चुल्ठो उखेलेकी होइनस् तैंले । देख्लिस् भोलि बिहान के के हुनेछ । जुन थालमा खायो तेही थालमा हग्ने तँ राँडलाई नमारी छोडौंली र ?’

केही बेरपछि चमेली टाउकोबाट रगत चुहाउँदै हातमा जगल्टा बोकी बाहिर निक्ली । रीश पटक्कै मरेको थिएन । छिन छिनमा जोडले कराउँथी ।
‘बाहिर त निस्की । तेरो रगत चुस्ती रहिछु कि चुस्ती रहिन छु । यस्ती सर्किनी बाहुनीलाई मारे पनि पाप लाग्ने होइन, मलाई के को डर ?’
नरे उसलाई देखि डरले काँपी रहेको थियो । छिन छिनमा सुइय सास फेर्नु शिवाय अरु बोल्ने उसको हुती थिएन । टोहलिएर ऊ मन मनमा यहि सोची रहेको थियो–
यो राती म किन यस ठाउँमा आइपुगेँ ? मैले देखेको यो सबै के विपना नै होला ? हैन, यस्तो पनि विपना होला र ? न बजैले जाँड पो पिएर आएकी थिइन कि ? बाहुनीले कसरी जाँडै पिई होलिन् र ? न यिनलाई पनि प्रजातन्त्र लागेछ कि ? प्रजातन्त्र नै लागेर पिएर आइन् भनौ भने पनि बिहान मात्रै पशुपति गएर आएकी आफ्नै आँखाले देखेर आएको हुँ । कसरी पिई होलिन् र ठाडै जाँड । हैन, यो सबै मैले जे देखेँ स्वपना नै हुनु पर्छ । न मैले नै केहि नभन्नु पर्ने भने कि ? गरीबीको पीरले गर्दा मबाट नै कुनै भूल हुन गएछ कि ? साँच्चै यो झगडा कसरी उत्पन्न हुन गयो ? मेरो जिन्दगीमा पिटामार देखेकै यो पहिलो हो कि ? यस भन्दा अघि कहिले देखें होला र ? हैन, फुत्त बाहिर पहिले नै निस्की सकेको थिएँ नि फेरि किन दैलोमा टुसुक्क बसेँ । लौ तागत नपुगेर बसेँ भनौ । त्यो विचरी चमेलीले किन मेरो पक्ष लिएर लड्न पुगी ? न म उसको बाबु नै हुँ न काका । चुटाई पनि निक्कै खाई बौरीले । भोलिदेखि भात कसरी खाली ? बजैले राख्नै छैनन् त । हैन, कुन दशाले यतातिर घचेट्टिएँ । लौ, मलाई त ठुलै दशाले यतातिर घचेटेछ भनौ । बिचरी चमेलीलाई कुन दशाले लर्खरायो ? किन यत्रो मारापिटमा परी ?

त्यस्तै विभिन्न तर्कणाले एकोहोरिएको नरेको नजिकै चमेली ठिङ्ग्रिङ्ग के उभ्भिएकी थिई । ऊ झसङ्ग झस्किन पुग्यो । चमेली जिल्ल परी । उसलाई मर्ने बेलाको बुढो डरले तर्सिएको देख्दा मायाँ लागेर आयो । बिस्तारै अगाडि सरेर सोधी–
“बा, किन त्यसै झस्किनु भएको ? डर लाग्यो ? जाउँ हिंड्नोस् छाप्रोमा ।”
“कुन छाप्रो छ र मेरो ? कहाँ जाऊँ ? आज जसरी भए पनि रात काटी हाल्छु । भोलि धनेरावात । बरु जाऊ नानी राम्ररी सुत । मेरो लागि साह्रै दुःख पायौ । भगवानले तिम्रो कल्याण गर्ने छन् । दुई घडी रात यहिं कहिं लर्खरिन्छु ।”
“आम्मै, बाले के भन्नु भा ? यो जाडोमा कहिं लर्खर्रिन्छु । हिंड्नोस मेरो छाप्रोमा । तपाईं सुत्नु होला, म आगो तापेर बसौंली । यस्तो बुढो मान्छेले कहाँ त्यसै लर्खर्रिने ?”
“नानी, के को दुःख गर्छेऊ ? मलाई लिएर गएपछि बाबुआमालाई समेत दुःख पर्ला । किन दुःख दिउँ सबैलाई ?”

आमा बाबुको शब्द कानमा पर्नासाथ चमेलीको आँखाबाट आँसुको मूल फुट्न थाल्यो । बोली एकै पल्ट बन्द भयो । उसको मुख देखेर नरेलाई कस्तो कस्तो लाग्यो । दुःखको मुहान खुलेको अनुमान गरी ऊ एक छिन अक्क न पक्क परी बस्यो । उसका खोपिल्टा आँखाबाट झरेको पानी गालामा ठक्कर खाएर तपक्क भूईंमा झर्‍यो । एकले अर्कालाई हेरी टोलाइरहे । रात बित्यो । बिहानको कुखुरा बासेपछि दुबै एकै शब्द नबोली अलग अलग लागे ।

क्रमशः

०००
चार थुम्का (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x