साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक लाखको इनाम

यदि पक्षपातै भइहालेछ भने पनि के पो गलत होला र ? कसैले आफ्नो थैलीबाट इनाम पनि दिनुपर्ने अनि तिमीले फलानालाई देऊ भनेको पनि मान्नुपर्ने ? के त्यो कुनै सार्वजनिक चन्दाको पैसा त हैन नि !

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

प्रिय बन्धु, संसारको आकाश र भारतको साहित्याकाश, दुबैमा एकैचोटि हलचल मच्चियो । उता क्रिसमस द्वीपमा बमविस्फोट भयो; यता दिल्लीमा एक लाखको इनामको घोषणा भयो । दुबै विस्फोट सँगसँगै भए । कसले कससित समय जुधायो भन्ने थाहा भएन । भारतीय लेखकको हालत अनौठो भएको छ । तुच्छभन्दा तुच्छ लेखकको अनुहारमा म एक लाखको चेक देख्दै छु ।

ठुलै हलचल छ । मानिसहरू पुरस्कारको पक्षमा र विपक्षमा बोल्दै र लेख्दै छन् । ‘जय’ तथा ‘धिक्‌’को नाराले आकाश यति व्याप्त भएको छ कि प्रेमीहरूले सिलोन रेडियोबाट गीत सुन्न पाएका छैनन् । मसँग मानिसहरू तिमी यस विषयमा किन बोल्दैनौ भनेर प्रश्न गर्दै छन् । म भन्छु, म मौन छु । म मौन छु किनभने मलाई इनाम चाहिएको छ । जसलाई इनाम चाहिएको हुन्छ ऊ मौन बस्छ । जसले इनामको आलोचना गर्दै छन् उनीहरू आफ्नो भविष्य बिगार्दै छन् । उनीहरूले इनाम पाउँदैनन् । जसले ‘जय’ भनिरहेका छन् उनीहरूले पनि इनाम पाउँदैनन् किनभने इनामदातालाई थाहा छ कि उनीहरू ‘चिट्ठा’ र ‘वर्गपहेली’को पनि यसै गरी ‘जय जय’ गर्छन् । इनाम उनीहरूले पाउँछन् जो मौन छन् । शीतयुद्धमा तटस्थ बस्ने देशहरूलाई फाइदा हुन्छ ; स्याबासी र सहयोग दुबै हातमा आउँछन् । त्यसैले हामी मौन छौँ । हामीले त्यो इनाम पाउनैपर्छ ।

तर मेरा सामु त्यो इनाम कसरी पाइएला भन्ने प्रश्नको तगारो तेर्सिएको छ । जब घोषणालाई ध्यान दिएर पढेँ अनि मेरा आँखा एउटा कुरामा परे र त्यो थियो, ‘कलाको दृष्टिले’ । यही योजनाको जरो हो । विशुद्ध कलाको दृष्टिले जुन ग्रन्थ सर्वश्रेष्ठ ठहरिन्छ त्यसैले इनाम पाउँछ । तर तपाईंलाई त थाहै छ नि कि हरेक कला विकसित हुँदाहुँदै ‘कलाबाजी’ बन्न पुग्छ । त्यसैले जसले अघिको हेर्छ वा जसले भविष्यद्रष्टा हो, उसले कलालाई छाडेर कलाबाजीमा ध्यान दिन्छ । जुन व्यक्तिहरू इनामका पक्ष र विपक्षमा बोल्दै छन् उनीहरू ‘कला’लाई नै दृष्टिमा राखेर सोच्दै छन् । उनीहरूले साहित्यरचना कलाको सीमाभन्दा अगाडि बढेर ‘कलाबाजी’सम्म पुगिसक्यो भन्ने बिर्सेका छन् । जो ‘कला’ मै झुन्डिइरहन्छन् तिनको भविष्य बिग्रिन्छ ।

जब म स्कुलमा पढ्थेँ, त्यति वेला हरेक वर्ष कुनै केटालाई सर्वोत्तम आचरणको पुरस्कार दिइन्थ्यो । पुरस्कारको निर्णय हेडमास्टरसाहेबले ड्रिलमास्टरको सहयोगले गर्थे । स्कुलमा केटाहरूको आचरण हेर्ने दायित्व सधैँ ड्रिलमास्टरको हुन्छ भन्ने कुरो त सर्वविदितै छ । जुन केटाहरूलाई पुरस्कार चाहिएको हुन्थ्यो उनीहरू यिनै दुई जनाको दृष्टिमा अनुशासित बन्ने प्रयत्न गर्थे । उनीहरू दिनमा दशपटक हेडमास्टरलाई ‘नमस्ते सर !’ भन्थे । जहीँ तहीँ हेडमास्टरलाई देखे कि निहुरिएर ‘नमस्ते सर !’, सानो विदामा, ठुलो विदामा, स्कुल बन्द हुँदा, खेलको मैदानमा जहिले पनि ‘नमस्ते सर !’ भन्थे । यसै गरी ड्रिलमास्टरलाई पनि खुसी पार्थे । मनैदेखि अदब गर्थे र उनको हरेक काम गर्न तयार हुन्थे, उनका लागि नजिकैको बगैँचाबाट अम्बा टिपेर ल्याइदिन्थे । अनि जब वार्षिकोत्सवमा अनुशासित केटाको इनामको घोषणा हुन्थ्यो उसैको नाम आउँथ्यो ।

कहिलेकाहीँ के हुन्थ्यो भने जसले आफूलाई सबैभन्दा असल सावित गरेको हुन्थ्यो, इनाम उसले नपाएर अर्कैले पाउँथ्यो किनभने ऊ विद्यालय व्यवस्थापन समितिको कुनै पदाधिकारीको केही नाता पर्ने हुन्थ्यो । तर एउटा कुरो भने अचम्मको हुन्थ्यो, जसले असल केटाको इनाम पाउँथ्यो त्यो अन्य केटाहरूमा सबैभन्दा फटाहा र बदमास मानिन्थ्यो । वर्षभरि इनाम पाउने प्रयासमा उसले यस्तो ‘कलाबाजी’ देखाउँथ्यो तब हामीलाई लाग्थ्यो हामीमध्येको सबैभन्दा बेकम्मा, दब्बु अनि व्यक्तित्वहीन केटाको छनोट भएको छ । फेरि पनि प्रयास त गरिन्थ्यो नै, किनभने इनाम त ठुलै कुरो हो नि त !

बन्धु, स्कुलमा सिकेका कुरा जीवनमा काम लाग्छन् । इनाम पाउने यस तरिकाको उपयोग गर्ने अवसर आएको छ । हेडमास्टरलाई ‘नमस्ते सर !’ को क्रम चलाउँछु । ड्रिलमास्टरलाई खुसी पार्ने प्रयत्न पनि गर्नेछु । घोषणापछि मानिसहरूले जेजस्तो वातावरण बनाइदिएका छन् कैयौँ मानिसहरू त यसमा प्रयास गर्न पनि सङ्कोच मान्नेछन् । तर जसले साहस गरेर काम गर्छ उसैले इनाम पाउँछ ।
बन्धु, फलानाले पाउँछ, यस्तो प्रकारको साहित्यले पाउँछ, फलानो विचारधारा हुनेले पाउँछ भनेर विभिन्न अड्कलबाजीहरू चल्न थालेका छन् । उताबाट भने निष्पक्ष निर्णयको उत्तर आउँछ । मलाई लाग्छ, यस विषयमा हामीले नाईको शिक्षा ग्रहण गर्नुपर्छ । ‘नाई भाइ नाई ! मेरो टाउकामा कतिवटा रौँ छन् ?’ अनि नाई पनि पुरै गम्भीरतापूर्वक भन्छ, ‘एकछिनमा अगाडि झरिहाल्छन् नि !’ पहिलो इनाम वर्षभरिमा कसैले पाइहाल्छ अनि त्यसैबाट थाहा पाइहालिन्छ । यदि पक्षपातै भइहालेछ भने पनि के पो गलत होला र ? कसैले आफ्नो थैलीबाट इनाम पनि दिनुपर्ने अनि तिमीले फलानालाई देऊ भनेको पनि मान्नुपर्ने ? के त्यो कुनै सार्वजनिक चन्दाको पैसा त हैन नि !

बन्धु, भारतीय लेखक र खास गरी हिन्दी लेखक अचम्मको हुन्छ । उसले टाउकामा कात्रो बेरेको हुन्छ । यसलाई पैसा दिएनौ भने लेखकलाई केही दिएनौ भनेर गुनासो गर्छ । अनि पैसा दिन खोज्दा पर भाग्छ । पैसाको मूल्य नै बुझ्दैन । यसै अबुझपनलाई बुझाउँदै घोषणापत्रमा के बुझाइएको छ भने ‘हे लेखक तँलाई पाठक पाउँदा त्यति खुसी लाग्दैन जति इनाम पाउँदा लाग्छ ।’ यति स्पष्ट शब्दमा सम्झाउँदा पनि कसैले सम्झिन्न भने त त्यो अभागी नै हो । बाबै, आफूले त हेडमास्टरलाई ‘नमस्ते सर !’ भनिन्छ ।

०००
हरिशंर परसाईको ‘परसाई रचनावली’ ३ मा सङ्कलित ‘पत्र निबन्ध’भित्रको ‘एक लाख का इनाम’बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुस्तकहरूको समर्पण

पुस्तकहरूको समर्पण

हरिशंकर परसाईं
क्रान्ति भयो

क्रान्ति भयो

हरिशंकर परसाईं
दुई लघुव्यङ्ग्य रचना

दुई लघुव्यङ्ग्य रचना

हरिशंकर परसाईं
प्रथम स्मगलर

प्रथम स्मगलर

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x