हरिशंकर परसाईंकेही लघु व्यङ्ग्य रचनाहरू
"के छ बाबू, तिम्रो सहानुभूति कुन राजनीतिक पार्टीसँग छ त ? तिम्रो विचारमा कुन पार्टी राम्राे छ ?" "मेराे सहानुभूति त कम्युनिस्ट पार्टीसँग नै बढी छ नि !" "किन ?" "किनभने मैले कम्युनिस्टहरूमाथि सुराकी गरेकाे पैसा पाउँछु नि त !"

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
१. सुधार
एउटा जनहित संस्थामा एकपटक केही सदस्यहरूले आवाज उठाए -” संस्थाकाे काम असन्ताेषजनक चल्दै छ । यसमा सुधार हुनुपर्छ । संस्था बरबाद हुँदै छ । यसलाई डुब्नुबाट बचाउनुपर्छ । कि त यसलाई सुधार्नुपर्छ कि भङ्ग गरिदिनुपर्छ ।”
संस्थाका अध्यक्षले साेधे -” कुन कुन सदस्यलाई असन्ताेष छ ?”
१० जना सदस्यहरूले असन्ताेष व्यक्त गरे ।
अध्यक्षले भने – “हामीलाई सबैकाे सहयोग चाहिन्छ । हामी सबैलाई सन्ताेष हुने गरी काम गर्न चाहन्छौं । तपाईं दस जना सज्जनहरू के सुधार हाेस् भन्ने चाहनुहुन्छ ? कृपया भन्नुहाेस् ।” अनि ती दशजना सदस्यहरूले पहिले नै साेचेर आएका सुधारहरू प्रस्तुत गरे जुन यस्ता थिए –
“संस्थामा ४ जना सभापति, ३ जना उपसभापति र अरू ३ जना मन्त्री हुनुपर्छ -”
दस सदस्यहरूलाई संस्थाकाे काममा असन्ताेष थियाे ।
२. प्रतिष्ठा
उनी हाम्रा अफिसर थिए । उनी सरुवा भएर आएका १५-२० दिन भएका थिए । नयाँ ठाउँ थियोे । मेरै टाेलमा बस्थे, अझ छिमेकी नै थिए । न मैले उनलाई चिन्थेँ न उनी मलाई चिन्थे ।
एक दिन म उनकाे घरमा गएँ । उनी भित्र थिए । बाहिर आए, बडाे प्रेमले भेटे अनि आदरपूर्वक कुर्सीमा बसाले ।
मैले भनेँ, ” म तपाईंको छिमेकी नै हुँ । यहाँबाट तेस्राे घरमा बस्छु । तपाईं नयाँ आउनुभएको छ । तपाईंलाई भेट्ने मन भयाे । कुनै अप्ठ्यारो त छैन तपाईंलाई ?”
उनी आदरपूर्वक निहुरिएर बाेले, “सबै तपाईंहरूकै कृपा हाे । तपाईंहरूका बिचमा आएर बसेकाे छु । तपाईंको कृपाले कुनै अप्ठ्यारो पनि छैन । भेट्दै गर्नुहाेला ।”
अनि उनले पान मगाए ।
यसपछि मात्र मैले आफू पनि त्यसै कार्यालयकाे कर्मचारी भएकाे खुलाएँ जसका उनी निरीक्षण अधिकारी थिए ।
बस्, यति सुन्नासाथ उनकाे अनुहारकाे मुस्कान हरायाे अनि कठाेर गम्भीरता उपस्थित भयाे । उनले आरामकुर्सीमा दुवै खुट्टा पसारे । चुराेट झिकेर सल्काए अनि मेरा कुराकाे उत्तरमा केवल “अम् !” गर्न थाले ।
म दस मिनेटसम्म यस्तै अवस्थामा बसिरहेँ ।
उनले एक्कासि भने, “हुन्छ त, मलाई यसाे बाहिर जानु छ ।” अनि उठि पनि हाले ।
म पनि उठेर हिँडेँ । म छिमेकी सज्जनकाे तहबाट खस्केर नाेकरकाे तहमा आइसकेको थिएँ ।
३. सहानुभूति
“के छ बाबू, तिम्रो सहानुभूति कुन राजनीतिक पार्टीसँग छ त ? तिम्रो विचारमा कुन पार्टी राम्राे छ ?”
“मेराे सहानुभूति त कम्युनिस्ट पार्टीसँग नै बढी छ नि !”
“किन ?”
“किनभने मैले कम्युनिस्टहरूमाथि सुराकी गरेकाे पैसा पाउँछु नि त !”
४. नयाँ धारा (नयी धारा)
त्यस दिन कथाकार भेटिए । भन्न थाले, “एकदमै नयाँ कथा लेखेकाे छु । एकदमै नयाँ शैली, नयाँ विचार र नयाँ धारा ।”
मैले भनेँ, “शीर्षक के हाे ?”
उनले भने, “जून-तारा-अजिङ्-गर-सर्प-बिच्छी-ताल !”
०००
परसाईं रचनावली -२ का लघुकथा खण्डबाट
Subscribe
Login
0 Comments
Oldest







































