हरिशंकर परसाईंक्रान्ति भयो
मानिसहरू निष्क्रिय भए । सबै पहिलेजस्तै चलिरह्यो । राजा उही, मन्त्री उही, कर्मचारीतन्त्र उही । उही अन्याय, उही शोषण, तर मानिसहरू शान्त ! उनीहरूले पनि स्वीकार गरे कि क्रान्ति सम्पन्न भयो ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
कुनै समयमा कुनै देशमा चारैतिर क्रान्तिको आह्वान गुन्जिन थाल्यो ।
अन्यायपीडित, शोषित वर्गका अधिकारीहरूको माग एकदम तीव्र भयो ।
सर्वत्र एउटै माग गुन्जिरहेको थियो – ‘क्रान्ति ! क्रान्ति ! क्रान्ति !’
कारखानाका श्रमिकहरू अवकाशको समयमा फोहर कपडामा बाँधेका सुक्खा रोटीहरू झिकेर तिनलाई पानीको सहायताले घाँटीमुनि घचेट्दै एउटै कुरा गर्थे – ‘अब क्रान्ति हुनैपर्छ ।’
शिक्षक पढाइरहेको समयमा अनि किसानले हलो जोतिरहँदा क्रान्तिकै कुरा सोच्थे ।
होटलमा, बजारमा, बसहरूमा, रेलहरूमा, चौबाटामा अनि चौताराहरूमा एउटै आवाज उठ्थ्यो –‘क्रान्ति चाहियो ! क्रान्ति चाहियो !’
कविहरूले आफ्ना गीतहरूमा क्रान्तिको आह्वान गर्थे ।
लेखक युवाहरूको तातो रगतको कसम खुवाएर क्रान्तिका लागि जोस्याउँथे ।
एउटै आवाज थियो जसले धर्तीबाट उठेर आकाशलाई छिचोलिरहेको थियो – ‘क्रान्ति ! क्रान्ति ! क्रान्ति !’
राज्यसत्ता क्रान्तिको यस आह्वानबाट डरायो । राजाको मुुटु काँप्यो । मन्त्रीहरू हत्पताए । कर्मचारीतन्त्र अल्मलियो । सत्ता, वैभव, ऐश्वर्य यी सबै कुरा उनीहरूका हातबाट फुत्किरहेको देखियो ।
राजाले मन्त्रीहरूलाई बोलाएर उनीहरूसित सल्लाह गरे । उनीहरूले एउटा उपाय निकाले ।
तीन दिनपछि देशका थुप्रै अखबारहरूका पहिलो पृष्ठमा ठुल्ठुला अक्षरहरूमा एउटा ठुला व्यापारीको यस्तो वक्तव्य छापियो – ‘क्रान्ति हुनैपर्छ । मानिसले मानिसको अधिकार पाउनैपर्छ । राज्यसत्तालाई उल्टाउनैपर्छ । जनताको वास्तविक सरकार बन्नुपर्छ ।’
त्यस राज्यमा ठुलाठुला व्यापारीहरूका चिल्ला पन्ना भएका र राम्रा आवरण भएका अनेक राम्रा देखिने अखबारहरू निस्किन्थे । सबैले उसको भनाइलाई प्रमुखताका साथ छापे । त्यो ठुलो व्यापारी थियो । उसलाई सबैले चिन्थे । उसको नाम पनि सबैले सुनेका थिए । मानिसहरूले भने –‘कस्तो निर्भीक रहेछ !’
बस, ऊ बिहान व्यापारी थियो, साँझ नेता भयो ।
यता अनेक देशभक्त, क्रान्तिवीर तथा किसान तथा मजदुरहरूमा क्रान्तिको तयारी चल्दै थियो ।
केही दिनपछि त्यस व्यापारीले भएभरिका व्यापारीहरूलाई समेटेर ‘क्रान्तिकारी दल’को स्थापना पनि गर्यो ।
अनि एक दिन देशका सबैजसो अखबारहरूमा त्यस व्यापारीका विभिन्न तस्वीरहरूका साथमा छापियो – ‘क्रान्ति भयो ! राज्यसत्ता उल्टियो ! राजालाई गद्दीबाट ओरालियो ! क्रान्तिकारी दलले सरकारलाई किन्यो । अब जनताका वास्तविक प्रतिनिधि क्रान्तिकारी दलको राज्य हुनेछ ।’
अखबारहरूमा छापिएपछि यो कुरो चारैतिर फैलियो – ‘क्रान्ति भयो ! क्रान्ति भयो !’
अनि मानिसहरूले विचार गरे – अब गर्नुपर्ने नै के पो रह्यो र ? क्रान्ति भयो ।’ अनि सबैतिर मसानघाटको जस्तो मुर्दा शान्ति छायो । मानिसहरू निष्क्रिय भए । सबै पहिलेजस्तै चलिरह्यो । राजा उही, मन्त्री उही, कर्मचारीतन्त्र उही । उही अन्याय, उही शोषण, तर मानिसहरू शान्त ! उनीहरूले पनि स्वीकार गरे कि क्रान्ति सम्पन्न भयो ।
अनि यता क्रान्ति गर्ने वीरहरूले विचार गर्न थाले – ‘गर्दै नगरी यो क्रान्ति कसरी भयो ?’
०००
परसाईको ‘परसाई रचनावली’– २ को लघुकथाएँ खण्डको ‘क्रान्ति हो गयी’ शीर्षकबाट अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest






































