हरिशंकर परसाईंदुई लघुव्यङ्ग्य रचना
साँझ छाेराे पनि गाडीमा आयाे तर काेठामा पस्दा के देखियाे भने अनंगजी मज्जाले कविता सुनाइरहेका छन् र छेवैमा उनका मित्र मरेर ढलेका छन् ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. दवाई (दवा)
कवि “अनंग” जीकाे अन्तिम क्षण आइसकेकाे थियाे ।
डाक्टरहरूले बढीमा एक घण्टाका पाहुना हुन् भनेर भनिसकेका थिए । अनंगजीकी पत्नीले साँझसम्म छाेराे आइपुग्ने हुँदा कुनै यस्ताे औषधि दिएर भए पनि उनी पाँचछ घण्टा जीवित राखिदिन अनुराेध गरिन् जसबाट पितापुत्रकाे भेट हुन सकाेस् ।
डाक्टरहरूले कुनै पनि औषधिले उहाँलाई एक घण्टाभन्दा बढी बचाएर राख्न नसक्ने लाचारी प्रकट गरे ।
त्यसै वेला अनंगजीका मित्र आए । उनले भने, “म यिनलाई कैयौं घण्टासम्म मज्जाले जीवित राख्न सक्छु ।”
डाक्टरहरूले हाँसेर भने, “याे असम्भव छ ।”
मित्रले भने, ” जे हाेस्, मलाई काेसिस त गर्न दिनुस् र तपाईंहरू सबै बाहिर जानुस् ।”
सबै बाहिर गए । मित्रले अनंगजीकाे छेउमा बसेर भने, “अनंगजी, अब त तपाईं सधैंका लागि जाँदै हुनुहुन्छ । तपाईंको याे सुरिलाे गला अब कहाँ सुन्न पाइएला र ? जाँदै नै हुनुहुन्छ भने केही त सुनाएर जानुस् ।”
याे सुन्नासाथ अनंगजी उठेर बसे र भने, “मन त छैन तर यहाँको अनुराेधलाई लत्याउन पनि सक्दिनँ । ऊ त्याे दराजबाट मेराे कपी झिकेर ल्याइदिनुस् त !”
मित्रले कपी ल्याएर हातमा दिए अनि अनंगजीले कवितापाठ गर्न थाले । घण्टापछि घण्टा हुँदै कैयौं घण्टा बित्दै गए । साँझ छाेराे पनि गाडीमा आयाे तर काेठामा पस्दा के देखियाे भने अनंगजी मज्जाले कविता सुनाइरहेका छन् र छेवैमा उनका मित्र मरेर ढलेका छन् ।
२. हुने लक्षण (हाेनहार)
एउटी महिलाले आफ्नाे छाेरालाई एउटा ज्याेतिषीकहाँ लगेर भनिन्, “पण्डितजी, यस केटाकाे भविष्य भनिदिनुस् न ! पछि गएर याे के बन्ला ?”
ज्याेतिषीले भने, “आमा, यसका केही लक्षण भन्नुस् त ! तपाईंले यसमा कुनै विशेष कुराे पाउनुभएकाे छ ?”
महिलाले भनिन् ,”याे रातिमा एक्कासि चिच्याउँदै भन्छ, “जाग ! जाग ! अघि बढ ! अघि बढ !”
ज्याेतिषीले साेधे, “ए, अनि जतिवेला याे कराइरहेकाे हुन्छ त्यति वेला यसले केही गरिरहेकाे हुन्छ कि नाइँ ?”
महिलाले भनिन्, ” याे त ढुङ्गाे बनेर सुतिरहेकाे हुन्छ र निँदमा कराउँछ ।”
ज्याेतिषीले अलिकति गमेर भने, “आमा, तपाईंको छाेराकाे भविष्य उज्ज्वल छ ।”
“के बन्छ पण्डितजी याे !”
“याे कुनै प्रजातन्त्रको नेता बन्नेछ ।”
०००
परसाईंकाे “परसाई रचनावली भाग २” अन्तर्गत “लघु कथाएँ” खण्डबाट अनुवाद गरिएकाे हाे ।
Subscribe
Login
0 Comments
Oldest







































