साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौका यहि हो

अस्ति गँड्खरे साँइलीले एउटा त्यस्तै बोत्तल कागज भन्दै आउनेलाई पल्लो घरको पुरानो दलको नेतो कवाडी भाछ, त्यही लैजाउ भनेकी रे । कवाडी लिन आउनेले हामी त यस्तो कवाडी नेता झोले लिन आको होइन भनेछ ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

बाटोभन्दा अल्लि भित्रपटी रहेछ एउटा पसल । यो पसल कोदोको तेल बेच्ने पसल हो । जसको जिब्रोदेखि आन्द्रासम्म कोदोको तेल घस्नुपर्ने हुन्छ त्यो त्यही पसलमा जान्छ । पसलमा बिहान दिउँसो अल्लि कमै ग्राहक आउँछन् । जब साँझ र बेलुकापख हुन्छ तब धेरैले धाउँछन् । कसैले नगदै तिर्छन् कसैले उधारो चलाउँछन् । लर्बरिएका स्वरहरुका खल्याङबल्याङ चर्कै सुनिन्छ । गाउँको कुनै रामझुपडीका दुखी प्राणिहरूदेखि देशविदेशका अनेक आकाश पाताल गफ चल्छ ।

आज पनि साँझपख यस्तै क्रम शुरु भयो । एउटाले भन्यो- ओइ सुन्न ! हामी पनि एउटा दल खोलौँ न । अर्कोले भन्यो- दलको दलदलमा फस्नुभन्दा त जाँडको बादलमा हराउनु धेरै बेश । अझ अर्कोले थप्यो- दल खोल्नेले घुस खान्छन्, कमिसन खान्छन, सत्तोसराप खान्छन् । त्यस्ता कुरा खान के दल खोल्नु ? बरू बोत्तलको बिर्को खोल्नु राम्रो । अझै अर्को अघि सर्‍यो- आफूचाहिँ कत्ति न कहिल्यै सराप नखाको जस्तो । मूला दुनियाँले थुक्क भनेको जाँडमा गाडिएर ठूलाठूला कुरा गर्छ ।

शुरुमा बोल्नेले बोल्यो- हेर है जाँडका घ्याम्पाहरू ! अरूबेलामा जे भएपनी जस्तो भए पनि त्यो भदौरे आन्दोलनपछि हामीजस्ताले नयाँ दल खोल्न एकदम राम्रो वातावरण बनेको छ । झन् यो असोज कात्तिकमा त नयाँ दलको बाढी नै आउन लाग्या छ । फेरि हामी जँड्याहा धेकाहालाई सबैभन्दा राम्रो भनेकै दल हो क्या । तिमीहरूलाई थाहै छ, पहिलेका चुनावका बेलामा तिमीहरूलाई जसले दुई गिलास रक्सी दियो त्यसैलाई भोट हाल्यौ । अरूले पनि त्यस्तै गरे ।

हामी त झन कहिँ नखोलिएको राष्ट्रिय जँड्याहा दलको आजीवन सदस्य । अनि के गाह्रो छ त । हाम्रो देशमा जुन दल भएपनी न जनताको लागि केही हुन्छ न देशको लागि । जे जति हुन्छ सब झोले झाम्टे नेता कर्मचारी ठेकेदार दलाल जासूस चम्चे धुपौरे भुस्तिघ्रे गुण्डा अपराधी यस्तैका लागि हुने हो । फेरि झल्लुराम, टिल्लबहादुर , कोदेकान्त, कुकुर्झोले, होलिवाइने जो जो भए पनि ती भन्दा कति चाहिँ गतिला हौँ र ?

अर्को बोल्यो- हुन त मैले पनि अस्ति राती नालिमा दोब्रिरहेको बेलामा बाटो हिँड्नेले भनेको सुनेको, यतिखेर त लाम्खुट्टे भुसुना गड्यौँला साङ्ला झिङ्गा उपियाँ उडुस छेपारो लोखर्के भ्यागुतो सर्प चितुवा स्याल ब्वाँसो सबैले राजनीतिक दल खोल्दैछन् रे । दल खोलेर राजनीति गर्‍यो भने यसरी दिनभरि धूलै मैलै भएर दुख नगरी देश र जनता लुटेर फलामको सुरक्षा घेराभित्र सलाम खाँदै जाँड रक्सी ऐला छोइला पोइला ढोइला रोइला सोइला सबैको अनुभव गर्न पाइन्छ रे । दल खोलेका वा दलमा लागेका झोले झाम्टे जुम्रे जगल्टेको नारा नै छ रे- विदेशीसँग लम्पसार, स्वदेशीसँग घ्याम्पा सार ।

अर्को कुनै बोल्यो- त्यसो भए साथी हो ! आजको लागि जाँड बैठक यहिँ समाप्त हुन्छ । अब एक दुई दिन राम्रोसँग सोचेर यहिँ भेला हुने, यसरी नै सल्लाह छलफल गर्ने अनि उपयुक्त लागे राष्ट्रिय जँड्याहा दल वा होलिवाइन महासङ्घ वा खुङ्खार झल्लु दल वा कुकुरतुर्के महान दल यस्तै कुनै नाम राखेर अहिलेको देशको माहोलको सदुपयोग गर्ने । किनभने देशका पुराना थोत्रा खुइलेका डढेका सडेका हात्ती दलहरू अहिले आफ्नो नाम जोगाउन दन्त्यकथाका स्यालहरूले जस्तै पुच्छरहरूको गाँठो बाँधेर हिँड्न शुरु गरेका छन् । तिनीहरु त बोत्तल कागज टिना फलाम बेच्नुस् भन्दै आउनेले पनि नलाने भएका छन् ।

अस्ति गँड्खरे साँइलीले एउटा त्यस्तै बोत्तल कागज भन्दै आउनेलाई पल्लो घरको पुरानो दलको नेतो कवाडी भाछ, त्यही लैजाउ भनेकी रे । कवाडी लिन आउनेले हामी त यस्तो कवाडी नेता झोले लिन आको होइन, यी भन्दा महाकवाडी त हुजुर त्यो हाम्रै दिल्लीतिर दरबार भरी छन्, ओ त हामी लाँदैन हुजुर भनेछ । यस्तो भएपछि राम्रोसँग बेलैमा बिचार गर है साथी हो । माथि पुग्नुछ भने मौका यहि हो ।

०००
२०८२ कार्तिक २७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x