चन्द्रप्रसाद न्याैपानेहेर साँढेहरू यी
डुक्रेका छन् वरपर यतै क्रूर साँढेहरू यी किर्नाजस्तै टसमस अझै कर्मछाडा अरू ती बाटाे छेकी ढसमस बनी हेर उग्राउँदै छन् लाऊँ पाखा किन सहरमा धेर झाेक्राउँदै छन् ।
चन्द्रप्रसाद न्याैपाने :
अन्यायीकाे घर सहरमा देखिने शासकीय
निम्जा फस्छन् दलदलविषे उठ्दछन् राजकीय
भुङ्ग्रामा छन् गरिब जनता आलु जस्तै बिराेली
ताछी नाङ्गाे गरिकन यिनै टाेक्दछन् ताक हेरी
अत्याचारी दलबलहरू स्वार्थ सङ्कीर्णतामा
ढाँट्ने छल्ने र नियम मिची भन्किँदै छन् गरामा
हैजा सार्दै सकल दुनियाँ दिक्क पार्दै छ वाक्क
कुच्याई द्यूँ कि मुख अब भाे घुच्चुले प्वाक्क प्वाक्क
धस्तै धस्तै सिङ अनि जुराे डुक्रिएकाे कमाने
काले माले चहुरबिचमा हक्रुवाँ झन् जमाने
बाली मासे कति त यिनले बार सीमा ढलाए
खाए माडे वरिपरि अहाे ! सागबारी सकाए
सत्ताधारी तुजुक बलका नारिदैनन् म नारूँ !
लाई डन्डी अब त यिनमा गाेरु भन्दै झपारूँ !
जाेहाे गर्दै अझ नचुँडिने ड्याम्म दाम्ला किलाकाे
बाँधी लाऊँ तह कि सजिलै मासु झार्दै फिलाकाे
डुक्रेका छन् वरपर यतै क्रूर साँढेहरू यी
किर्नाजस्तै टसमस अझै कर्मछाडा अरू ती
बाटाे छेकी ढसमस बनी हेर उग्राउँदै छन्
लाऊँ पाखा किन सहरमा धेर झाेक्राउँदै छन् ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































