अमर अधिकारीभगवान कसम
धार्मिकस्थल मनकामनामा गरिएको विहे र समयसमयमा एकअर्कासँग वार्ता गर्दा भनिने शब्द “भगवान कसम” बोलीमा मात्र सीमित रह्यो।

अमर अधिकारी :
सपना र शिशिर सीमा जोडिएका दुई जिल्लाका विद्यार्थी हुन्। काठमाडौँको नाम चलेको एक क्याम्पसमा स्नातक तहमा अध्ययनरत दुबैजनाको एकदिन क्याम्पसको क्यान्टिनमा भेट हुँदा शिशिरले सपनालाई भने- “तपाईँलाई कताकता देखे जस्तो लाग्यो, तपाईँको घर कहाँ होला ?”
सपनाले आफ्नो जिल्लाको नाम भनेपछि शिशिरले भने- “ए हाम्रो छिमेकी जिल्लाको पो हुनुहुँदोरहेछ, बस्नुस् चिया पिऔँ !”
चिया समयले जुराएको पहिलो परिचयले दुबैजनाको एकअर्काप्रति विस्तारै आकर्षित हुने कुराको शुरुआती भयो। त्यसपछि क्याम्पस आउँदा समय निश्चित गरेर दुबैजना दोबाटोमा भेट भएर सँगै क्याम्पस आउने गर्नथाले। पिरियड खाली भएको समयमा सपना र शिशिर कहिले क्याम्पसको क्यान्टिनमा सँगै चिया पिइरहेको र मुस्कान सहितका वार्तालाप भएको अवस्थामा देखिनथाले त कहिले बास्केटबल ग्राउण्डको किनारातिर बसेर मधुसंवाद गरिरहेका हुन्थे।
विदाको एक दिन सिनेमा हेर्न जाने निधो भएपछि दुबैजना सिनेमा हल पुगे। सिनेमा हेर्दैगरेको अवस्थामा सिनेमाको कथा बुझ्नेतिर ध्यान नदिई दुबैले “हाम्रो भविष्यको जीवनकथा कस्तो बन्ला ?” भन्दै भावी जीवनको कल्पना गरिरहेका थिए। पार्कमा गएको बखत होस् वा कुनै क्याफेको एक कुनामा कफी वा चियाको चुस्कीमा बिताएको समय होस् उनी दुबैले एकअर्कालाई आश्वस्त पार्न “भगवान कसम” पनि भन्ने गर्थे।
स्नातकको अध्ययन सकिएपछि शिशिरले एक बीमा कम्पनीमा जागिर पाए। शिशिरले एकदिन सपनासँग भने- “सपना अब हामी विहे गरौँ, हाम्रो जात फरक भएकोले घरपरिवारले स्वीकार्ने अवस्था छैन, हामी छिट्टै बैवाहिक बन्धनमा बाँधिनुपर्छ। दुबैजनाले मनकामना मन्दिरमा गएर विहे गर्ने योजना बनाए। लामो समयसम्मको प्रेम सम्बन्धलाई बैवाहिक जीवनमा रुपान्तरण गर्न मनकामना पुगेर आआफ्नो इच्छा पूरा गरे।
बिहे भएको छ महिनापछि शिशिर अफिसकै कामका लागि पोखरा गएर फर्किँदा आफू चढेको मोटरसाइकलले ट्रकलाई साइड दिँदा असन्तुलित भई उनी त्रिशुलीतिर हुत्तिए र उनले ऐया भन्ने समय समेत पाएनन्। उनको शव त्रिशुलीले बगाएर पचास मीटर तल छालमा रहेको दुई ढुंगाको बीचमा अड्काएको थियो र भोलिपल्ट शब उठाएर महाराजगंज शिक्षण अस्पतालमा आफन्तहरुको रोहबर र सहमतिमा पोस्टमार्टम गरियो। मरेर पनि सुख नपाएको मान्छेलाई तोडफोड गराइएको शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो। धार्मिकस्थल मनकामनामा गरिएको विहे र समयसमयमा एकअर्कासँग वार्ता गर्दा भनिने शब्द “भगवान कसम” बोलीमा मात्र सीमित रह्यो।
चार महिनाकी गर्भवति सपनालाई लामो समयसम्म अन्योलताले छायो। नव दम्पत्तिले विहे अघिदेखि नै पुकार्दैआएका भगवान सपनाको पीडा कम गर्न सधैभरीका लागि अनुपस्थित रहे।
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest









































