साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकासे नालीबेली

सरकार बनाउनु विकास हो भत्काउनु पनि विकास हो । चुनाब गराउनु पनि विकास हो । हाम्रो देशमा जे जति भएका छन् ती सबै विकासका निम्ति भएका छन् ।

Nepal Telecom ad

मरुभूमि नारायण :

मान्छेहरूले कुरै नबुझी विकास भएर भनेर कालो मुख सेतो बनाउँछन् । खुम्चेको मुख तन्काउँछन् । अँधेरो मुख उज्यालो बनाउँछन् । कतै पनि विकास भएन भनेर मान्छेहरूले निरासाको दियो बाल्छन् तर त्यसो होइन साँच्चै भन्ने हो भने यहाँ हर चिजमा विकास भएको छ । विकास भनेको घर ठड्याउनु मात्र होइन आफ्‌नो भुँडीको बृहत्तर बढोत्तरी गर्नु पनि विकास हो । अरुलाई लात हानेर आफू जोगिनु पनि त विकासै हो । अरुलाई मारेर आफू बाँच्नु पनि त विकास हो । विकास भनेको एउटै खालको हुँदैन । विकास धेरै किसिमका हुन्छन् । सुकेको मान्छे मोटो हुनु पनि विकास हो । मोटो मान्छे पातलो हुनु पनि शारीरिक विकास हो । यहाँ बाटो खन्नु मात्रै पनि विकास होइन खनेको बाटो भत्काउनु पनि विकास हो । साइकल हिंडेको मान्छे खाली खुट्टा हिंड्नु पनि विकास हो, यो स्वास्थ्य विकास अन्तरगत पर्छ । हर चिजलाई प्रगतिको अन्धो आँखाले हेर्नुपर्छ विकास भएको सहजै देखिन्छ । लाग्छ अब यहाँ भन्दा अरु विकास के हुन पर्छ र ?

आँखा नभएको मान्छेले चश्मा लगाएको छ । मुख नहुने मान्छेले भात खाएको छ । कानै नहुने मान्छेले खासखुस बोलेको सुनेकै छ । नाक नहुनेले वास्ना चाखेको छ । दाँतै नहुनेले मकै चपाएको छ । गिंजा नहुनेले आलु खाएको छ । कपाल नहुनेले काइँयो बोकेको छ । तालु नहुनेले तेल लगाएको छ । हात नहुनेले दाउरा चिरेको छ । खुट्टा नहुनेले भारी बोकेको छ । हिंड्न नसक्ने दगुरेको छ । सुत्न नसक्ने उठेको छ । सद्ये मान्छे बिरामी भएको छ के यो पनि विकास होइन र ? साँझपख भट्टीमा धाउनु, टुच्च लाउनु पनि विकास हो । टुच्च लगाउनाले शरीरलाई दरिलो उर्जा दिन्छ । उर्जाले शरीरका पाटपुर्जा तन्दुरुस्त बनाउँछ । टुच्च लगाएर चुस्त हुनु पनि एकप्रकारको शारीरिक विकास हो । हरकुरालाई विकासको आँखाले हेर्नुपर्छ विनासको आँखाले होइन । फुत्त नजन्मेको मान्छे ठुलो हुँदै गयो । हिजो आठ कक्षामा पढेको मान्छे आज सात कक्षामा पढ्ने भयो ।

हिजो समाजमा दमदार भएको मान्छे आज बाटोमा लम्पसार भयो, यो पनि त एउटा विकासको पाटो हो । बिहे गर्नु पनि एक प्रकारको मानवीय विकास हो । मान्छे विकसित नभइकन बिहे गर्न लायक हुँदैन । बिहे गरेर आफ्‌नी श्रीमतीलाई ब्याउनी बनाउनु त झन् उच्च विकास भइहाल्यो । बच्चा जन्माउनु पनि विकास हो । बच्चा बोल्नु पनि विकास हो । एउटा बच्चा पाउने ठाउँमा दुइटा बच्चा पाउनु, दुइटा बच्चा पाउने ठाउँमा चारवटा बच्चा पाउने शुभ कार्यलाई वैज्ञानिक भाषामा चाहिं तीब्र विकास भएको भनिन्छ । यो चाहिं उच्च मानवीय विकास अन्तरगत पर्दछ । हिजो मन्दिर बनाउनेले आज भत्काउन थाल्यो । हिजो भात खानेले आज सुकेको घाँस खान थाल्यो । बोल्ने मान्छे मौन बस्यो । सिंगै राँको खाने मान्छेले अचानक गोब्रेसाग खान थाल्यो, के यो पनि विकास होइन र ?

मान्छेले विकास भनेको भौतिक संरचना बनाउनु हो, गाउँ बस्तीमा डोजर चलाउनु हो मात्रै भन्ठान्छन् तर त्यसो होइन । फुश्रो ओठमा लाली लगाउनु, गालामा माला नलगाइकन गलामा लगाउनु, हातमा चुरिफुरीका साथ चुरा लगाउनु, औंलामा औंठी लगाउनु, गलामा सुनको सांलो झुन्ड्याउनु, नाडीमा साडी होइन घडी लगाउनु पनि त विकास हो । मान्छेले यस्तो क्षुष्म विकास नै देख्दैनन्, खालि माथि आकासमा जहाज गुडेको मात्रै देख्छन् । देशको सम्पत्तिमा आँखा लगाउनु, भरष्टचार गर्नु, मान्छेलाई अमेरिका पुर्याइदिन्छु भनेर अनामनगर पुर्याइदिनु, आँखामा दिनदहाडै छारो हाल्नु यी सबै विकासका उदाहरणीय कामहरू हुन् । मान्छेले ललिपप खाएर बाटोमा झुत्ला फाल्नु, सुर्ती खाएर फुर्तीका साथ खोसेल्टो हुँइक्याउनु, चुरोट खाएर ठुटो आफ्‌नै पुठो पछाडि फाल्नु, चुइगम खाएर पर्चा फाल्नु चाउचाउ खाएर चटपटे फाल्नु यी सबै विकास हुन् । आखिर विकास त भएकै हो नि फोहोरको विकास भए पनि सभ्यताको विकास भए पनि होइन र ?

पहिले फिल्म हेर्न हलमा पुग्नु पर्थ्यो यद्यपि अहिले पनि पर्छ तर फिल्म बुढो भएपछि त ओछ्यानमै बसेर हातमा मोबाइल लिएर उत्तानो परेर हेर्न पाइन्छ यो प्रविधिको विकास हो । विकास धेरै किसिमका छन्, जस्तै भौगोलिक विकास, मानवीय विकास, वातावरणीय विकास, भरष्टचारीय विकास, तस्करीय विकास, चुनाबी विकास आदि । मान्छेले मासु खाएर दाँत कोट्याउनु पनि विकास हो । विकास नभएको भए मान्छेले मासु खान पाउने थिएन । आफ्‌नो घरमा श्रीमती हुँदाहुँदै अरुको नक्कली श्रीमतीलाई कर्के नजर हेर्नु पनि विकास नै हो । आप्‌mनो स्वास्नी अरुलाई जिम्मा लगाएर श्रीमान विदेशमा पैसाको खोलो बगाउन जानु पनि विकास हो ।

विकास भनेको विनास हो र विनास भनेको विकास हो । जहाँ विकास हुन्छ त्यहाँ विनास हुन्छ, जहाँ विनास हुन्छ त्यहाँ विकास हुन्छ कुरो यत्ति हो । आफ्‌नो घरबारी बाँझो राखेर छिमेकी देशको खेतबारी हराभरा बनाउन जानु पनि अन्तर्रदेशीय विकास हो । आफ्‌नो घरको आँचनमा झार उम्रेर, घाँस फलेर के भयो र आखिर विदेशको भूमि हराभरा भएकै छ । विदेशीकै आँगन सफा भएको छ । आफ्‌नो घर भत्केर के भयो र विदेशीको घर त ठडिएकै छ । आफ्‌नो देशको घरमा विकास नभए पनि विदेशीको घरमा विकास भएकै छ, जसरी नि हामीलाई विकास चाहिएको त छ नि । यहाँ भन्दा विकास के हुनुपर्छ ? आफ्‌ना छोराछोरी रुवाएर अरुका छोराछोरी हसाउनु पर्याछ । आफ्‌नो श्रीमतीलाई छोडेर अर्काको श्रीमती समात्नु पर्याछ । आफ्‌नो आँगन छोडेर पराइको आँगन टेक्नु पर्याछ । आफ्‌नो देश छोडेर विदेश जानु पर्याछ । यो चाहिं स्थानान्तर विकास हो । हामीले नदेखेर मात्रै हो यहाँ धेरै विकास भएको छ । यहाँ अरुका लागि भन्दा आफ्‌नै लागि विकास भएको छ ।

खाली खुट्टा हिंड्नेले चप्पल लगाउन सिक्यो । चप्पल लगाउनेले साइकल चलाउन थाल्यो । साइकल चलाउनेले गाडी चलाउन थाल्यो । गाडी चलाउनेले जहाज उडाउन थाल्यो । जहाज उडाउँनेले सिल्टीमुर खायो । खुला आकासमा बस्नेले टिनको छानो हाल्यो । जग्गा किन्यो र आकाशचुम्बी घर खडा गर्यो । यो त झन् स्पष्ट देखिने भौतिक विकास नै भयो तर यसलाई स्वविकास भनिन्छ । स्वविकास भनेको आफ्‌नै लागि मात्र गरिने विकास हो । यो विकास हाम्रो देशमा उधुमै फस्टाउँदै गएको छ । हाम्रो देशमा स्वविकास फस्टाउँदै गयो र पर विकास पर पर हुँदै गयो । हामी अहिले विकासको नाउँमा विदेशीएका छौं । हामी युवालाई पर विकासको निमित्त बेचिएको छ । युवती र ननयुवतीलाई पनि बेचिएको छ । हामी विकासको नाउँमा निर्धक्कसँग माग्ने भएका छौं । हामीलाई हाम्रा प्यारा हुनहार मालिकहरूले माग्ने बनाएका छन्, यो खुसीको कुरा हो । हामीले हाम्रो बालबच्चा पालन पोषण गर्नको लागि विदेशमा माग्न जानु परेको छ । समग्रमा भन्नु पर्दा मेरो स्वभिमानी देश नै मगन्ते विकासमा बढोत्तरी भएको छ । देश नै विदेशीसँग हरियो घाँस मागेर चलेको छ भने यहाँ भन्दा ठूलो विकास अरु के हुन पर्यो र ?

अरु कुरा छोडौं, हाम्रो देशमा भएको हात्तीको कुरा गरौं । नेपालमा हात्तीको जनसंख्या ह्वात्तै बढेको हुनाले मेरो विकसित देशले गरीब देश कतारलाई हात्ती कोसेली दिएर अन्तर्राटीय विकासमा टेवा पुर्यायो । यसो सोच्ने हो भने मेरो देश मागेर होइन अरु गरीब देशलाई अनुदान दिएर चलेको छ । अनुदान पनि त देखावटी विकास नै हो । यसरी देखावटी र लुकावटी हिसाबले हेर्ने हो भने हाम्रो देश विकासमा धेरै अगाडि छ । यहाँ सुक्ष्म विकास झन् धेरै भएको छ । यहाँ मान्छे अपहरण गर्नु पनि विकास हो । फिरौती माग्नु पनि विकास नै हो । सरकार बनाउनु विकास हो भत्काउनु पनि विकास हो । चुनाब गराउनु पनि विकास हो । हाम्रो देशमा जे जति भएका छन् ती सबै विकासका निम्ति भएका छन् ।

०००
तनहुँ रानीगाउँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x