धीरेन्द्र प्रेमर्षिनेपालीय मैथिली साहित्यमा हास्यव्यङ्ग्य (१)
विद्यापतिको साहित्यको प्रभाव तथा ज्योतिरीश्वरले नेपाल उपत्यकामा छरेको मैथिली साहित्यको बीउ मौलाउँदै गएर मल्ल राजाहरूबाट अनेकौं महत्त्वपूर्ण कृतिहरूको रचना गर्दा-गराउँदासम्म पनि नेपालीय मैथिली हास्यव्यङ्ग्य साहित्य ओझेलमै परिरह्यो ।

धीरेन्द्र प्रेमर्षि :
पूर्वकथन
मैथिली भाषा गीतको भाषाका रूपमा प्रसिद्ध छ भने मैथिल जनजीवन पाहि हास्यविनोदपूर्ण जीवनशैलीका कारण मगन-मस्त मानिन्छ। मैथिली भाषाको सरसता एवं विभिन्न विषमताहरूका वावजूद मैथिलहरूको आनन्दपूर्ण दिनचर्यालाई हृदयङ्गम गर्ने हो भने गीतको माधुर्य तथा हास्यविनोदको चटनीका संयोगले गर्दा नै यस्तो अवस्था देखिन सकेको हो। प्राचीन मिथिलाभूमि आज एउटै देशमा नरहेर दुई पृथक राष्ट्रमा परेको छ। इतिहासको एउटा विशिष्ट चरणमा यसरी दुई राष्ट्रमा परेको हुँदा मैथिली भाषाको प्रयोग क्षेत्र अर्थात् भाषिक भूगोल पनि दुई देशमा पर्न गएको छ। त्यति भएर पनि मैथिली भाषा-साहित्य, कला-संस्कृतिका परम्पराहरू भने अझै पनि प्राचीन मिथिलाको संस्कारमा एउटै झै हुर्किरहेको छ ।
मैथिली संस्कृक्तिले साँचेर हुर्काएको यस परम्परामा अयाची, मण्डन, वाचस्पति, उदयन, विद्यापति, गोविन्ददास, मनबोध, चन्दा झा, लाल दास, हरिमोहन का, वैद्यनाथ मिथ ‘यात्री’ (नागार्जुन), राजकमल चौधरी, डा. धीरेन्द्र, उदितनारायण झा आदि प्रतिभाहरू अकुरित भएर पुष्पित र पल्लवित हुँदै आएका छन् । आदिकालदेखि दर्शन एवं कला-साहित्यको क्षेत्रमा मिथिलाको उर्वरतालाई ससारले स्वीकारेको छ। यस उर्बरताले मैथिली साहित्य-भण्डारमा हरेक विधालाई जतनपूर्वक सञ्चय समेत गरेको छ। तर यस आलेखको अभीष्ट मैथिली साहित्यमा हास्यव्यङ्ग्यको स्थितिबारे सामान्य विवेचना गर्नु रहेकोले यसलाई त्यसैतर्फ केन्द्रित गर्न चाहन्छु।
हास्यव्यङ्ग्यको जगमा ठडिएको साहित्येतिहास
मैथिल लोकजीवनका विविध पक्षहरूमा हास्यव्यङ्ग्यले प्रचुर स्थान पाएको छ। मैथिलीका लोककथा, लोकगाथा, उखान टुक्का तथा गाउँखाने कथाहरूका साथै पछिल्लो चरणको मनोरन्जनात्मक क्रियाकलाप छोकडबाजी नाच वा अन्यान्य नाचका विपंटा, हरिबोलवा तथा सामाजिक गफास्टकहरू समेत हास्यव्यङ्ग्यको प्रमुख स्रोत एवं माध्यमका रूपमा पाइने गर्दछन् । तर विधिवत् रूपले सिलसिलाबद्ध लेखनमा मैथिली साहित्यले हास्यव्यङ्ग्य फौटमा कमै मात्र कृतिहरू पाएको छ। खास गरी मैथिल लोकजीवनमा प्रचलित बाडीक पट् तीत छछन्नरिक माथपर चमेली के तेल, एक त विदेशी तैपर तोतराह, माएके नाम सागपात बेटाके नाम परोड़, तीन तिरहुतिया तेरह पाक, लङ्कामे जे सबसे छोट सेहो उन्बास हाथक, नौआ देखने कांखी बढ़लनि, कोड़िया चाहए ह, इर्षे नाङडि कटाबी तं छओ मास व्यथे मरी, एक तं हुनकर मुहे सुन्नर दोसर भरिमुह पिआजु, वर-कनियाँके भेटे नइ अठोङ्गरलए मारि, भोज ने भात हड़-हड़ गीत जस्ता उखानहरूले मैथिली भाषाभाषीको व्यङ्ग्यप्रियताको नमूना सहजै प्रस्तुत गरिरहेका छन् ।
लिखित साहित्यको इतिहास कोट्याउने हो भने हालसम्म प्राप्त प्रमाणहरूका अनुसार अविभाजित मैथिलीमा अर्थात् चौधौं शताब्दीअघिदेखि हास्यव्यङ्ग्यको साहित्य फाँटमा मार्गदर्शक प्रक्तिको गतिलो काम भएको छ। कर्णाटवंशीय मैथिल राजदरबारका सभापण्डितः कविशेखराचायं ज्योतिरीश्वर ठाकुर (इ. १२८८) द्वारा रचित धूर्त्तसमागम प्रहसनलाई नै मैथिलीको पहिलो हास्यव्यङ्ग्य कृति मान्ने गरिएको छ। अनङ्गसेना नामक एक वेश्याका लागि विश्वनगर नामक सन्यासी र स्नातक नामक उनका शिष्यबीच भएको हानथापलाई धूर्तसमागमको मूल विषय बनाइएको छ। गुरुचेलामा कसले अनङ्गसेनाको भोग गर्ने भन्ने टुङ्गो नलागेपछि उनीहरू पञ्चायत गर्न असज्जाति मिश्र नामक ब्राह्मणकहाँ अनइसेनालाई समेत लिएर जान्छन् । तर त्यहाँ असज्जाति स्वयं अनङ्गसेनाप्रति मोहित हुन्छन् र उनीमाथि पहिलो हक आफ्नै लाग्ने कुरा बताउँछन् ।
यसरी बूढा ब्राह्मणले बाजी मार्न थालेको देखेर उनका शिष्य बन्धुवञ्चक त्यस्ता बूढासँग के लाग्छौ भनेर अनङ्गसेनालाई फकाउन थाल्छन् । यत्तिकैमा मूलनाशक नामक हजाम त्यहां आइपुग्छ र आफूले हजामत गरेको ज्यालाका रूपमा अनङ्गसेनामाथि आफ्नो दावेदारी पेस गर्छ। एवं प्रकारले प्रहसनमा धूर्ते-धूर्तको अदभुत जुटान गराइएको छ र त्यसै आधारमा प्रहसनको शीर्षक धूर्तसमागमलाई सार्थक बनाइएको छ।
यस प्रहसनका सर्जक कविशेखराचार्य ज्योतिरीश्वर ठाकुरको समय चौधौं शताब्दीको आरम्भ मानिन्छ। बङ्गाल अभियानबाट फर्कंदा गयासुद्दीन तुगलकले इसवी सन् १३२४ मा तिरहुत (मिथिला) को राजधानी सिमरौनगढमा आक्रमण गरेका थिए। हरिसिंहदेवले त्यस आक्रमणको प्रतिकार गरे, तर प्रतिकारमा असफल भएपछि उनी सवन्धु-बान्धव नेपाल उपत्यका पसे। सिमरौनगढमै हरिसिंहदेवको दरबारका मन्त्री रहेका चण्डेश्वर ठाकुरले नेपालमाथि विजय प्राप्त गरी आफ्नो राज्य स्थापना गरिसकेका थिए। एक किसिमले चण्डेश्वरद्वारा सञ्चालित राज्य सिमरौनगढ राजधानी भएको मिथिला राज्यकै अधीन थियो र हरिसिंहदेवले चण्डेश्वरलाई आफ्नो समकक्षी झै मान्यता दिएका थिए। यवन आक्रमणबाट पराजयपश्चात् हरिसिंहदेव र उनका भरदारहरू नेपाल आए। भनिन्छ- धूर्त्तसमागम नेपाल आइसकेपछि नै ज्योतिरीश्वरद्वारा रचिएको हो।
मैथिली साहित्यमा ज्योतिरीश्वर आफ्नो वर्णरत्नाकर नामक ग्रन्यका लागि पनि चर्चित छन् । उक्त ग्रन्थमा ज्योतिरीश्वरले कथ्यहरूको विवेचना पनि बडो सरल एवं विनोदपूर्ण ढङ्गबाट गरेका छन् । गद्य स्वरूपमा लेखिएको उक्त कृति समस्त भारतीय मलका भाषाहरूमध्ये नै पहिलो गद्यग्रन्थका रूपमा समेत परिचित छ र त्यसका सष्टा ज्योतिरीश्वर नेपाली थिए भन्ने कुरामा हामीले गर्व गर्नुपर्छ । उनले सस्कृतमा पञ्चसायक र रडशेखर नामक कामशास्त्र विषयक दई ग्रन्थको पनि रचना गरेका छन् ।
मैथिली हास्यव्यङ्ग्य साहित्यको सन्दर्भमा धूर्त्तसमागमको अत्यन्तै महत्त्वपूर्ण स्थान रहेको छ। यसको प्रस्तावनामा यसलाई शृङ्गार-रसप्रधान भनिए तापनि यसको बनोट तथा संवाद आदिबाट भने यो कृति हास्यरसको हो भन्ने स्पष्ट हुन्छ। यसका केही प्रसङ्गले त हास्यरसभन्दा अझ बढी शृङ्गारको नाममा अश्लीलताले समेत यसमा पर्याप्त स्थान पाएको पनि देखिन्छ। यस प्रहसनको मुख्य संवाद भने मैथिलीमा नभएर सस्कृत भाषामै रहेको छ। तथापि यसलाई मैथिली भाषाकै साहित्य मान्नुपर्ने मुख्य आधार भने यसमा प्रयुक्त ज्योतिरीश्वरकै बाह्र वटा मैथिली गीतलाई मानेको पाइन्छ । यति मात्र नभई संवादको ठाउँमा पनि मैथिली र संस्कृत दुवैको मिश्रित रूप दिइएको छ। संस्कृतमै बोल्नुपर्ने संवादहरूका लागि ‘संस्कृतमाश्रित्य’ भनी निर्देश दिइएबाट पनि पुर्तसमागम मैथिली प्रहसन भएको कुराले बढी बल प्राप्त गरेको छ। अधिकांश विद्वान्हरू मैथिली प्रहसन नै भन्नुपर्ने पक्षमा रहेको धूर्त्तसमागममा प्रयुक्त गीत पनि मात्र गीतका रूपमा नभएर प्रहसनकै अभिन्न अङ्गको रूपमा रहेको छ।
यस प्रकार मैथिली साहित्यमा विधिवत् रूपले चौधौं शताब्दीको आरम्भमै हास्यव्यङ्ग्यको प्रवेश भइसके तापनि त्यसपछिको लामो समयसम्म साहित्यमा यो पक्ष ओझेलमा परिरह्यो । यद्यपि माथि उल्लेख गरिएबमोजिम मैथिल जनजीवनमा भने हास्यव्यङ्ग्यले सदा नै गहिरो जरो गाडिरह्यो। गोनू झा जस्ता ऐतिहासिक पात्रहरू लोककथाका नायकका रूपमा उपस्थित भएर मैथिल जनमानसलाई हास्यव्यङ्ग्यको चास्नीमा डुबाउन सफल भइरहे । अनेकानेक लोकगाथा, लोककथा आदिमा हास्यव्यङ्ग्य जीवन्त रहिरह्यो, तर ज्योतिरीश्वरभन्दा केही पछि मात्र विश्वकविका रूपमा उदाएका महाकवि विद्यापतिको साहित्यमा भने हास्यव्यङ्ग्य साहित्यको उल्लेख्य उपस्थिति कतै पाइँदैन। त्यसै गरी विद्यापतिको साहित्यको प्रभाव तथा ज्योतिरीश्वरले नेपाल उपत्यकामा छरेको मैथिली साहित्यको बीउ मौलाउँदै गएर मल्ल राजाहरूबाट अनेकौं महत्त्वपूर्ण कृतिहरूको रचना गर्दा-गराउँदासम्म पनि नेपालीय मैथिली हास्यव्यङ्ग्य साहित्य ओझेलमै परिरह्यो ।
क्रमश:
०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































