बागमती प्रदेश सञ्चार कार्यालय लामो

मैथिलीमा हास्यव्यङ्ग्य साहित्य

त्यसैले मैथिली हास्यव्यङ्ग्य साहित्य त्यतिविधि उँभो लाग्न सकेन । यस दृष्टिले भन्नुपर्दा विद्यापति र हरिमोहन झालाई मैथिली साहित्यको बटवृक्ष मान्न सकिन्छ

पूर्वकथन
मैथिली भाषा गीति भाषाका रूपमा जगत्प्रसिद्ध छ भने मैथिल जनजीवनचाहिँ हास्यविनोदपूणर् जीनवशैलीका कारण मनगनमस्त मानिन्छ । मैथिली भाषाको सरसता एवम् विभिन्न विषमताहरूका बाबजुद पनि मैथिलहरूको आनन्दपूणर् दिनचर्यालाई हृदयङ्गम गर्ने हो भने गीतको माधुर्य तथा हास्यविनोदको चटनीको संयोगले गर्दा नै यस्तो विलक्षण अवस्था देखिन सकेको हो भन्ने हामी सहजै अनुमान लगाउन सक्दछौँ । मैथिलहरूको विनोदप्रियताबारे प्रसिद्ध कवि चन्द्रनाथ मिश्र ‘अमर’ ले लेखेका पनि छन्-
जयत स्वभावहिसँ होइत छथि परम विनोदी पण्डित लोक ।
विद्यादान नियत रहि सन्तत जीवनयापन करथि कतोक ।।
चलू लेखनी ओहि भूमिके पुनि-पुनि आइ नमाबी माथ ।
अहँक ठोर आ हमर कण्ठ दूनू सङ्हि भय जाय सनाथ ।।

‘मिथिलाक गौरव’ शीर्षकको उपर्युक्त कवितामा मिथिलाको मूल गुणधर्मको कुरा गरिएको छ । यसअनुसार मैथिलहरूको जीवनको परम लक्ष्य अधिकाधिक मानिसलाई विद्यादान गर्नु रहेको हुन्छ । यस्ता मैथिलहरूको भूमि मिथिलाको यशगान- ‘ए कलम ! तिमी आफ्नो ओठले गर म चाहिँ आफ्नो गलाले गर्छु’ भन्दै कविले मैथिल पण्डितहरूको आरम्भिक परिचयमा ‘जो स्वभावले नै परम् विनोदी हुन्छन्’ भनेर लेखेका छन् । यो त मैथिल जनमानसको स्वाभाविक विशेषता हो । उसै पनि मिथिलाको माटोले युगौँदेखि साहित्य, कला र संस्कृतिको बीउ आफूभित्र साँचेर राखेको छ । अनुकूल मौसम पाउनासाथ यस्ता बीउहरू अयाची, मण्डन, वाचस्पति, उदयन, विद्यापति, गोविन्ददास, मनबोध, चन्दा झा, लाल दास, हरिमोहन झा, वैद्यनाथ मिश्र ‘यात्री’ (नागार्जुन), राजकमल चौधरी, उदितनारायण झा, डा. धीरेन्द्र आदि रूपमा अङ्कुरित भएर पुष्पित-पल्लवित हुँदै आएका छन् । त्यसैले अदौकालदेखि दर्शन एवम् कला-साहित्यको क्षेत्रमा मिथिलाको उर्बरतालाई संसारले स्वीकारेको छ । यस उर्वरताले मैथिली साहित्य-भण्डारमा हरेक विधाको बाली यथेष्ट मात्रामा उत्पादन गरी जतनपूर्वक सञ्चयसमेत गरेको छ । तर यस आलेखको अभिष्ट मैथिली साहित्यमा हास्यव्यङ्ग्यको स्थितिबारे चियोचर्चा गर्नु रहेकोले यसलाई त्यसैतर्फ केन्द्रित गर्न चाहन्छु ।

हास्यव्यङ्ग्यको जगमा ठडिएको साहित्येतिहास
मैथिल लोकजीवनका विविध पक्षहरूमा हास्यव्यङ्ग्यले प्रचूर स्थान पाएको छ । मैथिलीका लोककथा, लोकगाथा, उखान-टुक्का तथा गाउँखाने कथाहरूका साथै पछिल्लो चरणको मनोरञ्जनात्मक क्रियाकलाप छोकडबाजी नाच वा अन्यान्य नाचका बिपटा, हरिबोलबा तथा सामाजिक गफास्टकहरूसमेत हास्यव्यङ्ग्यको प्रमुख स्रोत एवम् माध्यमका रूपमा पाइने गर्दछन् । तर विधिवत् रूपले सिलसिलाबद्ध लेखनमा मैथिली साहित्यको हास्यव्यङ्ग्य फाँटमा अपेक्षाकृत कमै मात्र फसल उब्जेको पाएको छ । खासगरी मैथिल लोकजीवनमा प्रचलित ‘बाडीक पटआ तीत’, ‘छुछुन्नरिक माथपर चमेलीके तेल’, ‘एक तँ विदेशी तैपर तोतराह’, ‘माएके नाम सागपात बेटाके नाम परोड’, ‘तीन तिरहुतिया तेरह पाक’, ‘लङ्कामे जे सबसँ छोट सेहो उचास हाथक’, ‘नौआ देखने काँखी बढंलनि’, ‘कोढिंया चाहए ह’, ‘इर्खे नाङडि कटाबी तँ छओ मास व्यथे मरी’, ‘एक तँ हुनकर मुहे सुन्नर दोसर भरिमुह पिआजु’, ‘वर-कनियाँके भेटे नइ ओठोङ्गरलए मारि’, ‘भोज ने भात हड-हड गीत’ जस्ता उखानहरूले मैथिली भाषाभाषीको व्यङ्ग्यप्रियताको नमूना सहजै प्रस्तुत गरिरहेको हुन्छ ।

लिखित साहित्यको इतिहास कोट्याउने हो भने हालसम्म प्राप्त प्रमाणहरूका अनुसार मैथिलीमा चौधौँ शताब्दीअघि नै हास्यव्यङ्ग्यमा मार्गदर्शक प्रकृतिको गतिलो काम भएको छ । कणर्ाटवंशीय मैथिल राजदरबारका सभापण्डित कविशेखराचार्य ज्योतिरीश्वर ठाकुरद्वारा रचित ‘धूत्र्तसमागम’ प्रहसनलाई मैथिलीको पहिलो हास्यव्यङ्ग्य कृति मान्ने गरिएको छ । अनङ्गसेना नामक एक वेश्याका लागि विश्वनगर नामक सन्यासी र स्नातक नामक उनका शिष्यबीच भएको हानथापलाई ‘धूत्र्तसमागम’को मूलविषय बनाइएको छ । गुरुचेलामा कसले अनङ्गसेनाको भोग गर्ने भन्ने टुङ्गो नलागेपछि उनीहरू पञ्चायत गर्न असज्जति मिश्र नामक ब्राह्मणकहाँ अनङ्गसेनालाई समेत लिएर जान्छन् । तर त्यहाँ असज्जति स्वयम् अनङ्गसेनाप्रति मोहित हुन्छन् र उनीमाथि पहिलो हक आफ्नै लाग्ने कुरा बताउँछन् । यसरी बूढा ब्राह्मणले बाजी मार्न थालेको देखेर उनका शिष्य बन्धुवञ्चक त्यस्ता बूढासँग के लाग्छौ भनेर अनङ्गसेनालाई फकाउन थाल्छन् । यत्तिकैमा मूलनाशक नामक हजाम त्यहाँ आइपुग्छ र आफूले हजामत गरेको ज्यालाका रूपमा अनङ्गसेनामाथि आफ्नो दावेदारी पेश गर्छ । एवम् प्रकारले प्रहसनमा धूर्तै-धूर्तको अद्भूत जुटान गराइएको छ । त्यसै आधारमा प्रहसनको शीर्षक ‘धूत्र्तसमागम’लाई सार्थक बनाइएको छ । यदि अनङ्गसेनालाई राजकीय सत्ता मानिदिइने हो भने हाम्रो देशमा लेखाइको सात सय वर्षपछि पनि ज्योतिरीश्वरको ‘धूत्र्तसमागम’ पूणर्तः सार्थक भइरहेको छ ।

यस प्रहसनका सर्जक कवि शेखराचार्य ज्योतिरीश्वर ठाकुरको समय चौधौँ शताब्दीको आरम्भ मानिन्छ । बङ्गाल अभियानबाट फर्कंदा गयासुद्दीन तुगलकले ईस्वी सन् १३२४ मा तिरहुत (मिथिला) को राजधानी सिमरौनगढमा आक्रमण गरेका थिए । हरिसिंहदेवले त्यस आक्रमणको प्रतिकार गरे, तर असफल भएपछि उनी सवन्धुवान्धव नेपाल उपत्यका पसे । सिमरौनगढमै हरिसिंहदेवको दरबारका मन्त्री रहेका चण्डेश्वर ठाकुरले नेपालमाथि विजय प्राप्त गरी आफ्नो राज्य स्थापना गरिसकेका थिए । एक किसिमले चण्डेश्वरद्धारा सञ्चालित राज्य सिमरौनगढ राजधानी भएको मिथिलाराज्यकै अधीन थियो र हरिसिंहदेवले चण्डेश्वरलाई आफ्नो समकक्षीझैँ मान्यता दिएका थिए । यवन आक्रमणबाट पराजयपश्चात् हरिसिंहदेव र उनका भारदारहरू नेपाल आए । भनिन्छ- ‘धूत्र्तसमागम’ नेपाल आइसकेपछि नै ज्योतिरीश्वरद्वारा रचिएको हो ।

उसो त मैथिली साहित्यमा ज्योतिरीश्वर आफ्नो ‘वणर्रत्नाकर’ नामक ग्रन्थका लागि विशेष चर्चित छन् । उक्त ग्रन्थमा ज्योतिरीश्वरले कथ्यहरूको विवेचना बडो सरल एव विनोदपूणर् ढङ्गबाट गरेका छन् भन्ने समीक्षकहरूको भनाइ छ । मैथिली भाषामा लिखित वणर्रत्नाकार गद्य स्वरूपमा लेखिएको छ । त्यसैले उक्त कृति समस्त भारतीय मूल भाषाहरूमध्ये नै पहिलो गद्यग्रन्थका रूपमा समेत परिचित छ । त्यसैगरी उनले संस्कृतमा ‘पञ्चसायक’ र ‘रङ्गशेखर’ नामक कामशास्त्रविषयक दुई ग्रन्थको पनि रचना गरेका छन् । यसमध्ये ‘रङ्गशेखर’को चर्चा र उद्धहरणहरू त उपलब्ध छन्, तर ग्रन्थ भने हाल अनुपलब्ध छ ।

मैथिली हास्यव्यङ्ग्य साहित्यको सन्दर्भमा धूत्र्तसमागमको अत्यन्तै महत्वपूर्ण स्थान रहेको छ । यसको प्रस्तावनामा यसलाई शृङ्गार रसप्रधान भनिए तापनि यसको बनोट तथा संवाद आदिबाट यो कृति हास्यरस हो भन्ने स्पष्ट हुन्छ । यसका केही प्रसङ्गले त हास्यरसभन्दा अझ बढी शृङ्गारको नाममा अश्लीलताले समेत यसमा पर्याप्त स्थान पाएको पनि देखिन्छ । तर वस्तुतः मिथिलाराज्य विशृङ्खलित भएपछि जनजीवनको विविध पक्षमा देखिएका विकृति, विसङ्गति, भ्रष्टाचार, अनाचार आदिलाई यस कृतिमा प्रतिबिम्वित गर्ने चेष्टा गरिएको छ । ‘धूत्र्तसमागम’का एकजना पात्र मृताङ्गार ठाकुरले राष्ट्रभगको कुरा गरेका छन् । यी समस्त पक्षहरूलाई दृष्टिगत गर्दा मिथिलाको राजनीतिक अस्थिरताजन्य ऐतिहासिक तथ्यलाई धूत्र्तसमागमले प्रष्ट्याउन खोजेको भान हुन्छ ।

तर मैथिलीको पहिलो गद्यग्रन्थकार ज्योतिरीश्वरद्वारा लेखिएको भए तापनि यस प्रहसनको मुख्य संवाद भने मैथिलीमा नभएर संस्कृत भाषामै रहेको छ । तथापि यसलाई मैथिली भाषाकै साहित्य मान्नुपर्ने मुख्य आधार भने यसमा प्रयुक्त ज्योतिरीश्वरकै बाह्रवटा मैथिली गीतलाई मान्न सकिन्छ । यतिमात्र नभई संवादको ठाउँमा पनि मैथिली र संस्कृत दुवैको मिश्रत रूप दिइएको छ । संस्कृतमै बोल्नुपर्ने संवादहरूका लािग ‘संस्कृतमाश्रित्य’ भनी निर्देश दिइएबाट पनि ‘धूत्र्तसमागम’ मैथिली प्रहसन भएको कुराले बढी बल प्राप्त गरेको छ । अधिकांश विद्वान्हरू मैथिली प्रहसन नै भन्नुपर्ने पक्षमा रहेका ‘धूत्र्तसागम’मा प्रयुक्त गीत पनि मात्र गीतका रूपमा नभएर प्रहसनकै अभिन्न अङ्गको रूपमा रहेको छ । जस्तो कि असज्जति मिश्रले अनङ्गसेनामाथि आफ्नो दावेदारी पेश गरेपछि मूलनाशक हजामका साथै स्नातक पनि जुकोलाई जुकोले टोक्दैन भनेर बाहिर निस्कन्छन् । यस प्रसङ्गलाई निम्न गीतद्वारा अभिव्यक्ति दिइएको छ-

अरे रे सनातक तोरहि कुमान्ति ।
अनङ्गसेना हरि लेल असजाति ।।

कतए विचार कराओल आनि ।
जन्हिक चरित मूलनाशक जानि ।।

हेरितहि हरि धन लए गेल चोर ।
हाथक रतन हरायल मोर ।।

क के होएबह हरि अनुरागे ।
जोँकक आग गोतल न लागे ।।

कविशेषर जोतिक एहु गाव ।
राए हरसिंह बुझए रस भाव ।।

यस प्रकार मैथिली साहित्यमा विधिवत रूपले चौधौँ शताब्दीको आरम्भमै हास्यव्यङ्ग्यको प्रवेश भइसके तापनि त्यसपछिको लामो समयसम्म साहित्यमा यो पक्ष ओझेलमा परिरह्यो । यद्यपि माथि उल्लेख गरिएबमोजिम मैथिल जनजीवनमा भने हास्यव्यङ्ग्यले सदा नै गहिरो जरो गाडिरह्यो । गोनू झाजस्ता ऐतिहासिक पात्रहरू लोककथाका नायकका रूपमा उपस्थित भएर मैथिल जनमानसलाई हास्यव्यङ्ग्यको चास्नीमा डुबाउन सफल भइरहे । अनेकानेक लोकगाथा, लोककथा आदिमा हास्यव्यङ्ग्य जीवन्त रहिरह्यो, तर ज्योतिरीश्वरभन्दा केही पछिमात्र विश्वकविका रूपमा उदाएका महाकवि विद्यापतिका साहित्यमा भने हास्यव्यङ्ग्य साहित्यको उल्लेख्य उपस्थिति पाइँदैन ।

त्यसैगरी विद्यापतिको साहित्यको प्रभाव तथा ज्योतिरीश्वरले नेपाल उपत्यकामा छरेको मैथिली साहित्यको बीउ मौलाउँदै गएर मल्ल राजाहरूबाट अनेकौँ महत्वपूणर् कृतिहरूको रचना गर्दा गराउँदासम्म हास्यव्यङ्ग्य साहित्य ओझेलमै परिरह्यो । यस दृष्टिले विशद अध्ययन नगरिएका कारण पनि ज्योतिरीश्वरपछिको समय हास्यव्यङ्ग्य सिर्जनाको दृष्टिले मैथिलीमा शून्य जस्तो देखिएको हुन सक्दछ । तर, खोजिपस्ने हो भने जहाँका पण्डितहरू विनोदी स्वभावका हुन्छन्, जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि जहाँका मानिसले हाँस्न छोड्दैनन्, जहाँ गोनू झाजस्ता चतुर-चलाख ऐतिहासिक पात्र हास्यावतारका रूपमा जनमनमा व्याप्त छन्, जुन गानू झाका कथाहरू जन-जनको जिब्रोमा झुण्डिरह्यो, जस्तोसुकै खडेरीमा पनि जहाँको माटोले साहित्य उब्जाउन छाडेन, जहाँ डाकका हास्यव्यङ्ग्यात्मक प्रकृतिका समेत अन्य विभिन्न उक्तिहरू जीवन-सारिणीका रूपमा लोकजीवनमा व्याप्त रहे, त्यहाँ हास्यव्यङ्ग्यको सिर्जना हुँदै भएन होला भनेर पत्याउन गाह्रो पर्छ ।

वस्तुतः मैथिली साहित्यको सन्दर्भमा महाकवि विद्यापति र व्यङ्ग्यसम्राट् हरिमोहन झा दुईजना यस्ता व्यक्तित्व भए, जसले एकातिर त मैथिली साहित्यलाई पर्याप्त उच्चता प्रदान गरे, तर अर्कातर्फ उनीहरूको सगरमाथा उचाइका अगाडि के पो उभिन सकिएला भन्ने हीनताबोधले कतिपय सम्भावनाहरूसमेत फक्रन सकेनन् । वा भनौँ, आफूमा पूर्ण क्षमतावान् भएर पनि तत्-तत् विधाका कतिपय साहित्यकारहरू यी दुई महान् हस्तीका अगाडि वामपुड्के नै देखिए । त्यसैले मैथिली हास्यव्यङ्ग्य साहित्य त्यतिविधि उँभो लाग्न सकेन । यस दृष्टिले भन्नुपर्दा विद्यापति र हरिमोहन झालाई मैथिली साहित्यको बटवृक्ष मान्न सकिन्छ जसको शीतल छायामुनि थुप्रैले सुस्ताउने अवसर त पाए, तर अन्य विरुवाले त्यहाँ राम्ररी हुर्कने वातावरण पाएनन् ।

बागमती प्रदेश सञ्चार कार्यालय लामो
यतिमात्र के भनेथेँ

यतिमात्र के भनेथेँ

धीरेन्द्र प्रेमर्षि
गणतन्त्र-गान

गणतन्त्र-गान

धीरेन्द्र प्रेमर्षि