धीरेन्द्र प्रेमर्षिनेपालीय मैथिली साहित्यमा हास्यव्यङ्ग्य (२)
विद्यापति र हरिमोहन झालाई सिङ्गो मैथिली साहित्यको वटवृक्ष मानुपर्ने हुन्छ, जसको शीतल छायामुनि थुप्रैले सुस्ताउने अवसर पाए, तर अन्य कुनै विरुवाले राम्ररी हुर्कने वातावरण पाएनन् ।

धीरेन्द्र प्रेमर्षि :
आधुनिक मैथिली साहित्यमा हास्यव्यङ्ग्य
आधुनिक मैथिली साहित्य भारतीय र नेपालीय मैथिली साहित्यमा विभक्त छ। मिथिलाभाषा रामायणका रचयिता चन्दा झा भारतीय हुन्। उनले प्रचुर मात्रामा साहित्य सिर्जना गरे तापनि हास्यव्यङ्ग्यमा भने कलम चलाएको पाईदैन। अथवा भनौ, उनका सिर्जनाहरूमा हास्यव्यङ्ग्यको उल्लेख गर्ने ठाउँ भेटिदैन । यस चीचमा पण्डित वैद्यनाथ मिश्र विद्यासिन्धुः कविताका साथसाथै कथामा पनि अर्थात् गद्यात्मक स्वरूपमा पनि सशक्त हास्यव्यङ्ग्य रचनाहरू लिएर पाठकसामु देखा परेका छन्। उनका कथाहरूको नामबाटै पनि कथाहरू हास्यव्यङ्ग्यले ओतप्रोत छन् भन्ने स्पष्ट हुन्छ।
गप्प-सप्पक खरिहान, धर्केट मर्कटफ खटपट, हस ओ कौआफ पञ्चैती, सभसे पैघ समाज, नोभीक नारिफेर, निनावेक फेर, दुनू भाइक खरिहान, बुद्धिआफ लाल, भूमिक दूत बेड आदि उनका हास्यव्यङ्ग्यात्मक कथाहरू हुन् । यी कथाहरू अधिकाश मिथिलामोदमा इ. १९२०-२१ तिर छापिएका छन् र यो पत्रिका मैथिली भाषाको दोस्रो पत्रिका मानिन्छ। पहिलो मैथिली पत्रिका भारको जयपुरबाट इ १९०५ मा प्रकाशित मैथिलहित साधन थियो ।
यसैगरी इ. सं.१९०६ देखि मिथिलामोद प्रकाशन हुन थालेको थियो। विद्यासिन्धुले हास्यव्यङ्ग्यलाई केवल मनोविनोदको रूपमा ग्रहण नगरी उद्देश्यपूर्ण रचना मानेका छन्। उनी पनि भारतीय मैथिली साहित्यकार हुन् । यसपछिको समयमा भारतीय मैथिल पण्डित जीवन झाले केही अंशमा हास्यविनोदलाई आफ्ना रचनाहरूमा प्रयोग गरेको पाइन्छ। हास्यव्यङ्ग्यलाई एकै पटक गतिलोसँग साहित्यमा उत्तानें व्यक्तित्वको रूपमा भने कविवर सीताराम झा देखा पर्दछन्। ई. १८९१ मा जन्मेर १९७५ मा दिवङ्गत कविवर सीतारामले आफ्ना कवितालाई आमजनताको भाषामा हास्यव्यङ्ग्यको अद्भुत सम्मिश्रणका साथ प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् ।
ई १९१३ मा प्रकाशित उनको अय पढ्वाचरित्रमा प्रखरताका साथ हास्यव्यङ्ग्य व्यक्त भएको छ। उनको लेखनको भाषा अत्यन्त प्राञ्जल एवं प्रवाहमय रहेको छ र हास्यव्यङ्ग्यको चास्नीले त्यसलाई थप मधुमय बनाइदिएको छ। यसै क्रमको टकास्तुति शीर्षक कवितामा प्रयुक्त व्यङ्ग्यलाई उनका समयको हिसाबले निकै प्रखर व्यङ्ग्य मानिएको छ:
जगतमे टका ! अहीं पर-धान ।
अहीं सुष्टिकारक ओ पालक संहारक भगवान ।
अहीं विवेक, बुद्धि, विद्या, बल, विनय, विभव विज्ञान ।
अहीं तात जननी हित सोदर, पुत्र कलत्र प्रमान ।
यस प्रकार अहिलेको समयमा रुपैयाँले जुन स्थान पाएको छ, त्यसको बडो सजीव चित्रण उनले त्यति बेलै गरेको देखिन्छ। मैथिलीका विभिन्न उखान-टुक्काहरूलाई पनि उत्कृष्ट शब्द-सयोजनका साथ कवितामा प्रयोग गरेर उनले गजबको हास्यव्यङ्ग्य उपस्थित गरेका छन् ।
भारतीय मैथिली हास्यव्यङ्ग्य
आधुनिक मैथिली साहित्य स्रष्टा हरिमोहन झा (ई. १९०८-१९८४) भारतीय हुन् । उनलाई मैथिली हास्यव्यङ्ग्य साहित्यको पर्याय भन्दा पनि फरक परोइन। उसो त हास्यव्यङ्ग्य मात्र के कुरा, आधुनिक मैथिली साहित्यको समयमा कुरा गर्ने हो भने पनि सिङ्गो मैथिली साहित्यलाई नै विशेष दिशा र उंचाइ प्रदान गर्ने साहित्य-सृष्टाको रूपमा हरिमोहन झालाई लिन सकिन्छ ।
हरिमोहन काले कथा, कविता, उपन्यास, नाटक, निबन्ध आदि सबैजसो विधामा पर्याप्त कलम चलाए। तर जे-जति लेखे, जुनजुन विधामा लेखे, सबैको शैली हास्यव्यङ्ग्यात्मक रह्यो। हरिमोहन झाका रचनाहरू जुनसुकै विधाका भए पनि त्यसमा पाठक वा भावकले मुख्य रूपमा हास्यव्यङ्ग्यकै आनन्द पाउने गर्दछन् । भनौं, उनका रचनाहरूको केन्द्रीय भाव नै हास्यव्यङ्ग्य हुन्छ । यदि लोकप्रियताको कसीमा राखेर हेर्ने हो भने चौधौं शताब्दीमा महाकवि विद्यापतिले साडा गरेको लोकप्रियताको शिखरकै हाराहारीमा पुनः मैथिलीलाई पुऱ्याउने आँट उनैले गरे र त्यसमा धेरै हदसम्म उनी सफल पनि भए। नेपाल र भारत दुई बेग्लाबेग्लै स्वतन्त्र राष्ट्रमा बाडिएपछि मैथिली भाषा, साहित्य, सस्कृतिको समुचित उत्थान हुन सकेन।
लोकजीवनबाट विस्थापित झै भइसकेको मैथिली भाषा-साहित्यलाई हास्यव्यङ्ग्यको सुमधुर चास्नीमा डुबाइएको आफ्नो सशक्त लेखनीद्वारा पुनः आमजनताको मन-मनमा प्रतिष्ठापित गर्ने साहित्यकार हरिमोहन झा नै भए। अक्षरसम्म चिन्न सक्ने सामान्य व्यक्तिदेखि लिएर साहित्यमा विभिन्न रस, भाव, बिम्ब, प्रतीक, कथ्य एव दर्शनको अपेक्षा एवं अनुसन्धान गर्ने साहित्यअध्येता तथा आलोचकहरूले समेत उनका सिर्जनाहरूलाई समान रूपमा रसास्वादन गर्न लायक ठाने। हरिमोहन झाको साहित्यिक लोकप्रियताको उत्कर्ष कुन कुराबाट पनि ठम्याउन सकिन्छ भने दिदी-बहिनी वा नन्दभाउजुबीच आदान-प्रदान गरिने कोसेलीको रूपमा पनि उनका कृक्तिहरू व्यापक मात्रामा प्रयुक्त भए ।
मैथिली, हिन्दी र अङ्ग्रेजी भापामा गरी दर्जनौ ग्रन्थका रचयिता हरिमोहन झा पेशाले दर्शनशास्त्रका प्राध्यापक थिए। आफ्नो दार्शनिक चिन्तनलाई समेत बडो सहजताका साथ उनले आफ्ना कृतिहरूमार्फत् आम जनतासम्म पुऱ्याएका छन् । खट्टर ककाक तरङ्ग, एकादशी, प्रणम्य देवता, चर्चरी, रङ्गशाला, कन्यादान, द्विरागमन आदि कृतिहरूबारे नपढेको वा त्यसभित्रका रचनाहरूको कुनै न कुनै रूपमा रसास्वादन नगरेको मान्छे कमै होला। अत्यन्तै व्यङ्ग्यविनोदी व्यक्तित्वका रूपमा सुपरिचित हरिमोहन झाद्वारा सिर्जित खट्टर काका, भोल बाबा जस्ता पात्रहरू जनजीवनमा मिथकको रूपमा समेत स्थापित भइसकेका छन् ।
आफ्ना विविध विशेषताहरूका कारण हरिमोहन झालाई सिङ्गो मैथिली साहित्यका व्यङ्ग्यसम्राट् पनि भनिन्छ। मैथिलीमा कुनै पनि लेखकको साहित्यिक कृक्तिको अनेकौं संस्करण प्रकाशित भएको सन्दर्भमा पनि उनकै कृतिहरूको नाम अग्रस्थानमा आउँछ। खास गरी सामाजिक विकृक्तिहरूलाई लेखनको विषयवस्तु बनाएर उनले सजीव एवं सटीक प्रहारका साथ आधुनिक र समुन्नत समाजको निर्माणतर्फ आफ्ना रचनाहरूलाई अग्रसर गराएका छन्। उनको खट्टर काका नेपालीसहित अनेकौं भाषामा अनूदित भइसकेको छ।
मैथिली हास्यव्यङ्ग्यमा भारतीय मिथिना क्षेत्रमा हरिमोहन झापछि कविचडामणि काशीकान्त मिश्र ‘मधूप’ आचार्य मन्द्र झा ‘सुमन’, प्रा. तन्त्रनाय झा चन्द्रनाथ मिश्र ‘अमर’, सोमदेव, हसराज, लल्सन ठाकर, अर्जन कविराज, सियाराम का ‘सरस’, जयप्रकाश चौधरी ‘जनका उदयचन्द्र झा ‘विनोद’, मन्त्रेश्वर मा उमाकान्त, डा अरविन्द ‘अक्का मार्कण्डेय प्रवासी, विक्ति आनन्द, रमेश, डा. तारानन्द वियोगी कुणाल आदिले पनि कलम चलाउने प्रयास गरे । तर, हरिमोहन झाका हास्यव्यङ्ग्यरूपी सूर्यका अगाडि बाँकी सारा सष्टा धिपधिपे दकी प्रमाणित भए । यस्तै विख्यात जनवादी कवि वैद्यनाथ मिश्र ‘यात्री’ (नागार्जुन। ले पनि मौका पाएसम्म आफूलाई हास्यव्यङ्ग्य लेखनबाट टाढा राखेका छैनन् । वा भनौं, उनका कविताहरूमा सहज रूपले बडो प्रभावकारी ढङ्गबाट हास्यव्यङ्ग्यको प्रयोग भएको छ। राजनीतिमा व्याप्त भाइभतिजावादतर्फ इङ्गित गर्दै कवि नागार्जुन भन्दछन् :
भाय-भतीजा साबुक सार लेल । अपनहि चढ़िके तोड़धि वेल । धन्य भाग जे चानि ने छन्हि उघाड़। नहि तं कोना पचवितथि सौस पहाड ।
वस्तुतः मैथिली साहित्यको सन्दर्भमा महाकवि विद्यापति र व्यङ्ग्यसम्राट हरिमोहन झा दुई जना आआफ्नो विधाका यस्ता व्यक्तित्व भए, जसले एकातिर त मैथिली साहित्यलाई पर्याप्त उच्चता प्रदान गरे, तर अर्कातर्फ उनीहरूको सगरमाथा उचाइका अगाडि के पो उभिन सकिएला भन्ने हीनताबोधले कतिपय सम्भावनाहरू समेत फक्रन सकेनन्। यस दृष्टिले भन्नुपर्दा विद्यापति र हरिमोहन झालाई सिङ्गो मैथिली साहित्यको वटवृक्ष मानुपर्ने हुन्छ, जसको शीतल छायामुनि थुप्रैले सुस्ताउने अवसर पाए, तर अन्य कुनै विरुवाले राम्ररी हुर्कने वातावरण पाएनन् ।
क्रमश:
०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































