साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य सिर्जनाका सिप र शैली (१)

उक्तिवैचित्र्यको प्रयोग गर्दै मधुवेष्ठित रूपमा हास्यलाई पनि समावेश गरी हाँस्तै गरेकालाई पनि रुवाउन सक्ने क्षमता राख्छ व्यङ्ग्यले । अभिव्यक्तिको व्यङ्ग्यात्मक र हास्यात्मक प्रस्तुति नै हास्यव्यङ्ग्य हो । लेखनका उत्कृष्ट शैलीहरूमध्येको एक हो हास्यव्यङ्ग्य । 

Nepal Telecom ad
चूडामणि वशिष्ठ :
१. हास्यव्यङ्ग्य : परिचय
हास्य के हो ?
हस् धातुमा ण्यत् (य) प्रत्यय लागेर बनेको हास्य संस्कृत शब्द हो । हास्यको प्रयोग हँसाउने खालको, हाँसउठ्तो, उपहासयोग्य आदि हुन्छ । साहित्यमा हास्यको प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको हो । पूर्वीय काव्यशास्त्रमा नौवटा रसको चर्चा छ । नौवटामध्ये त्यहाँ हास्य रसलाई विशिष्ट रूपमा लिइएको छ ।
हाँस्नु मान्छेको जन्मजात वा प्राकृतिक गुण हो, स्वभाव हो । हाँसोले मान्छेको जीवनमा सकारात्मक प्रभाव पार्दछ । हास्यले शारीरिक, मानसिक र बौद्धिक स्वस्थता प्रदान गर्दछ । हाँस्नु बलबर्धक छ त्यसैले हाँसेर आयु र हौसला बढाऊ भनेर हास्यकारहरू भन्दछन् । हास्यले दुःखकष्ट झेल्ने, चिन्ता पिर खप्ने तथा बाधा विघ्नसँग जुध्ने सामर्थ्य दिन्छ भनेर मनोवैज्ञानिकहरू भन्दछन् । श्वासप्रश्वास प्रक्रियामा र रक्त सञ्चारमा हाँसोले सकारात्मक प्रभाव पार्छ भनेर स्वास्थ्यविशेषज्ञहरू भन्दछन् । संसारमा सबैभन्दा दरिद्र कोही छ भने त्यो हो जसलाई कहिल्यै हाँसो फुर्दैन । जीवनमा एक पटक पनि फुक्का मनले उन्मुक्त हाँसो हाँस्ने मानछे कहिल्यै खराब हुन सक्तैन भनेर पश्चिमी विद्वान् कार्लाइलले ठोकुवा गरेका छन् । हाँसोले तनावबाट मुक्ति दिलाउँछ, आरोग्य गराउँछ भनेर आयुर्विज्ञानले पनि भन्छ ।
व्यङ्ग्य के हो ?
व्यङ्ग्य पनि संस्कृत शब्द नै हो । यसको अर्थ बाङ्गो किसिमले व्यक्त वा प्रकट गर्ने भन्ने हो । उक्तिलाई बङ्ग्याउने क्रिया वा प्रक्रिया, टेढो, बाङ्गो, डेउडो बनाउने सिप व्यङ्ग्य हो । शब्दको व्यञ्जना शक्तिबाट सोझो अर्थ भन्दा भिन्न गहिरो अर्थ दिने, एउटा कुरा गरेजस्तो गरेर अर्कैतिर छेडको क्षेप्यास्त्र हान्ने, साङ्केतिक र व्यञ्जनात्मक अर्थ प्रदान गर्ने छेडखानी नै व्यङ्ग्य हो । नौलो छनक दिने, घुमाउरो किसिमले भनिएको कथन व्यङ्ग्य हो । व्यङ्ग्य पनि हास्यको एउटा उपकरण हो भने हास्य तितो व्यङ्ग्य निल्ने सितन हो ।
उल्टासुल्टा कुरा गरेर विसङ्गति, विकृति, विरोधाभास, बिब्ल्याँटा, टेढा, डेउडा कुरालाई सोझै होइन घुमाउरो किसिमले असङ्गति, दुष्प्रवृत्ति, वैयक्तिक कमी कमजोरीप्रति घोचपेच र प्रहार व्यङ्ग्यले गर्छ । उक्तिवैचित्र्यको प्रयोग गर्दै मधुवेष्ठित रूपमा हास्यलाई पनि समावेश गरी हाँस्तै गरेकालाई पनि रुवाउन सक्ने क्षमता राख्छ व्यङ्ग्यले । अभिव्यक्तिको व्यङ्ग्यात्मक र हास्यात्मक प्रस्तुति नै हास्यव्यङ्ग्य हो । लेखनका उत्कृष्ट शैलीहरूमध्येको एक हो हास्यव्यङ्ग्य ।
साहित्यले आनन्द प्रदान गर्नुपर्छ भनेर पूर्वीय आचार्यहरू भन्छन् । साहित्यमा सत्यम् शिवम् सुन्दरम् हुनुपर्छ भन्ने निष्कर्षमा उनीहरू पुगेका छन् । यसै गरी साहित्यको प्रयोजनको निचोडमा पश्चिमी विद्वान्‌हरू पनि Truth, good, besutiful भनेर सत्यम् शिवम् सुन्दरम्‌को नजिक नजिकमा पुगेका छन् । यही सुन्दरताले मानिसलाई आनन्दित र प्रफुल्लित तुल्याउँछ । साहित्यमा यही आनन्द र सुन्दरता थप्ने क्रममा हास्यव्यङ्ग्यले प्रवेश पाएको हो ।
२. हास्य उत्पत्तिको कारण
प्राचीन आचार्यहरूले हास्य उत्पत्तिको कारण रागलाई मानेका छन् । पश्चिमी सेलीले हास्यलाई मनोविकारको संज्ञा दिएका छन् । आधुनिक मनोवैज्ञानिकहरूले द्वेषको कारण हास्यको उत्पत्ति बताएका छन् । आचार्य भरतले शृङ्गार वा यौन क्रियाकलाप र फ्रायडले दमित काम वासनाको कारणबाट हास्य उत्पत्ति हुने ठहर्‍याएका छन् । भारतीय विद्वान् नरसिंह चिन्तामणिले हास्यलाई रसराज भनेर प्रमाणित गरेका छन् ।
वास्तवमा रूप, आकार, बोली, पहिरन विभिन्न कार्य र तिनका कमजोरी, विकृति, विसङ्गति, शृङ्गार आदि कारणले हास्य उत्पन्न हुन्छ । हास्यको उत्पत्ति दुई प्रकारबाट हुन्छ : आत्मस्थ र परस्थ । हास्य विषयवस्तुलाई देखेर आफैंमा हास्य उत्पन्न भयो भने त्यो आत्मस्थ हो र अरूमा भएको हाँसो देखेर उत्पन्न हुने हाँसो परस्थ हो ।
विसङ्गति, अस्वाभाविक, विरोधाभासी, बिब्ल्याँटा, उभिन्डा वस्तु वा दृश्य देखेपछि हाँसो उठ्छ । यो पनि परिस्थितिजन्य हुन्छ । बाबु र सानो छोरो बाटामा हिँड्दै गर्दा बाबु चिप्लिएर लड्यो भने छोरो मज्जले हाँस्छ, किन भने बाबु मभन्दा ठुलो, बलियो, होसियार, बुद्धिमान् छ भन्ठान्ने छोराको मस्तिष्कमा एक्कासी पहिरो जान्छ । छोरो लड्यो भने बाबु हाँस्तैन, संवेदनशील  बन्छ । लड्नु क्रिया एउटै हो तर परिस्थिति फरक छ । त्यस्तै कृष्णले गोपिनीहरूको चीरहरण गर्दा हामी हाँस्छौं किन भने उनीहरू बेपर्वाह थिए तर द्रौपदीको चीरहरणमा हामी हाँस्तैनौं बरु क्रुद्ध बन्छौं । उनी होसियार हुँदाहुँदै बलात्कृत थिइन् । अझ दुःशासनले द्रौपदीका साथै उसका बलिया पाँच पतिहरूलाई पनि नङ्ग्याइरहेको थियो ।
मान्छेका मनभित्रका ईर्ष्या, द्वेष, रिसराग, कलुषित भाव, दम्भले उसलाई अस्वस्थ बनाउँछ । हाँसोले यी कुराको शमन गरी मनोरञ्जनका माध्यमबाट सन्तुष्टि प्रदान गर्दछ र मनभित्रको फोहर, कल्मष पखालेर स्वस्थ बनाउँछ ।  आलम्बन, उद्दीपन, अनुभाव, सञ्चारीभाव हास्य रसका सामग्री हुन् यसबाट स्थायीभाव हास्यको उदय हुन्छ । यस हाँसोले दर्शकलाई आनन्द प्रदान गरी प्रफुल्ल बनाउँछ । मानिसभित्र रहेको यो स्थायीभाव ब्युँझाउन आउने विविध सामग्रीहरू नै हास्य उत्पत्तिका कारण हुन् । यस्ता सामग्री जीवनका अनेक परिस्थितिमा आउने गर्दछन् । जे होस्, हास्यव्यङ्ग्यको मूल स्रोताको कारण विसङ्गति विकृति नै हो । मान्छेका जीवनमा जब जब नमिल्दा कुरा आउन थाल्छन् अनि हास्य र व्यङ्ग्यको पनि सिर्जना हुन थाल्छ ।
हिमालचुली पल्लोपट्टि रुपीले कपाल कोर्‍यो 
फट्याङ्ग्राले हलो जोत्यो झिँगाले डल्ला फोर्‍यो (लोकगीत)
यहाँ विसङ्गति भएकाले नै हास्य सिर्जना भएको हो । विसङ्गतिले हास्यको मात्रै होइन व्यङ्ग्यको पनि सिर्जना गर्छ :
पतिव्रता हेला हुन्छे पत्रु चाहिँ पुजिन्छे
आमा जस्ती उही पो बन्छे शिक्षा अर्ती दिन्छे 
उल्टो खोला बग्छ यहाँ बोका दाइँ गर्छन्‌
खुकुरीभन्दा कर्द लाग्ने जगत जिल्ल पर्छन्‌
कोदो बरु महँगो होला मार्सी चामल सस्तो छ
मामा, यहाँको माटै यस्तो छ ।
(भीमनिधि तिवारी, अजब नेपाल)
यहाँ विसङ्गति हास्य र व्यङ्ग्य दुवैको उत्पत्तिको कारण बनेको छ ।
सदा मोटरयायित्वं सदा बोतलधारिता
अहम् मन्त्री मुखे नित्यम् चरमम् मन्त्री लक्षणम् (दाताराम शर्मा)
यहाँ मन्त्रीका लक्षणहरूमा विसङ्गतिभन्दा ज्यादा विकृति छ । यहाँ मन्त्रीमा उत्पन्न विकृति र भाषिक विकृतिद्वारा व्यङ्ग्य गरिएको छ । विसङ्गति विकृतिबाहेक नग्नता पनि हास्यव्यङ्ग्य उत्पत्तिको कारण हो । हामी मान्छेको त्यस स्थितिमा हाँस्छौं जुन स्थितिमा आफैं भए लज्ज्ति हुन्थ्यौं ।
एक दिन शङ्कर पार्वती हिमगिरीमा राज भयाको थियो
दर्शन् गर्न गरुड्महाँ चढि हरि ताहाँ सवारी भयो
नाग्‌को कन्दनीलाई डर भइ खस्यो निर्वाण भयाका पति
देख्ता लाज नदीमा डुब्याकि जननी मङ्गल गरुन् पार्वती (राजीवलोचन)
यहाँ शारीरिक नग्नताद्वारा हाँसो सिर्जना गरिएको छ । यस्तै चारित्रिक नग्नताबाट पनि हास्यव्यङ्ग्यको सिर्जना हुन्छ ।
घरमा होलिन् बुढी सासू अन्तै डेरा खोज
आमाभन्दा जोई प्यारी हो कि होइन जोख
के नाप्छिन् आमैले हामी एउटै भए
घरधन्दा गर्नेमा तिनलाई लगाइदिउँला (???)
उनान्सय कविहरू प्रेम वियोगीका रोगी छन्‌
देउतीर्थ जाने हेर जोगीभन्दा भोगी छन्‌
नाइन्टीनाइन पर्सेन्ट मोटरमा युवती सेन्ट छर्छिन्‌
टुकुचामा बच्चा रुँदा डिल्लीबजारमा फेन्ट पर्छिन् (रामकुमार पाँडे)
यस प्रकार विसङ्गति, विकृति, नग्नता र शृङ्गारिकता नै हास्यव्यङ्ग्य उत्पत्तिका मुख्य कारण हुन् ।
३. हास्य र व्यङ्ग्यमा फरक
हास्यव्यङ्ग्य साहित्यको विधा होइन, त्यसका हरेक विधालाई रोचक तथा आनन्ददायक बनाउने क्रममा यो आउने गर्छ । यसले जुनसुकै विधामा उपस्थित भएर रचना सिर्जनामा मौजीमसला थप्ने, आकर्षक पठनीय उत्कृष्ट बनाउने गर्छ । हास्यव्यङ्ग्यको स्वरूप अन्तर्विधात्मक हुन्छ ।
हास्य र व्यङ्ग्य स्वयम्‌मा पनि अलग अलग कुरा हुन् । हास्य एउटा कुरा हो, व्यङ्ग्य अर्कै । हास्यभित्र व्यङ्ग्य हुनै पर्ने र व्यङ्ग्यमा हास्य हुनै पर्ने भन्ने जरुरी छैन तर पनि हास्यविनाको व्यङ्ग्य र व्यङ्ग्यविनाको हास्य कता कता अधुरो, अपूर्ण झैं लाग्छ ।
व्यङ्ग्यविनाको हास्य हलुका उपहास मात्रै हुन्छ र हास्यविनाको व्यङ्ग्य तितो रुखो हुन्छ । त्यसैले यी दुवै सँगसँगै देखा पर्छन् । हास्य नवरसमध्येका एउटा हो भने व्यङ्ग्य भनेको शब्दको व्यञ्जना शक्ति हो । व्यङ्ग्य वाच्यार्थभन्दा भिन्न अर्थ बुझाउने तत्त्व हो ।
हास्यव्यङ्ग्यलाई एकै ठाउँमा हेर्नखोज्नु एउटा परम्परा मात्रै हो । हास्यविनाको व्यङ्ग्य र व्यङ्ग्यविनाको हास्य हामी प्रशस्तै पाउँछौं । व्यङ्ग्य भनेको विशिष्ट किसिमले गरिएको घोचपेच छेडपेच हो जसमा सुधारको उद्देश्यले मानवीय दुर्बलताको आलोचना गरिन्छ र मानवीय कमजोरीको उद्घाटन गरिन्छ । हास्यबाट बीभत्स र व्यङ्ग्यबाट विद्रोह जन्मन्छ । हास्य र व्यङ्ग्यमा निम्न किसिमका फरक औंल्याउन सकिन्छ :
० हास्यले उपहास गरेर उडाउँछ भने व्यङ्ग्यले चेतावनी र दण्ड दिन्छ ।
० हास्यले मनोरञ्जन गराउँछ भने व्यङ्ग्यले सुधारको सङ्केत गर्छ ।
० हास्य हार्दिक हुन्छ भने व्यङ्ग्य बौद्धिक हुन्छ ।
० हास्य साहित्यका नौ रसमध्येको एक हो भने व्यङ्ग्य व्यञ्जना शक्तिसँगै विद्रोह पनि हो ।
० हास्यले विसङ्गति विकृतिको वर्णन मात्र गर्दछ भने व्यङ्ग्यले त्यसको भत्र्सना समेत गर्दछ ।
० हास्य उदार हुन्छ, व्यङ्ग्य निर्मम र कठोर हुन्छ ।
० हास्यले आनन्द प्रदान गर्छ भने व्यङ्ग्यले चोट पुर्‍याउँछ ।
० हास्यले मानसिकतालाई स्वच्छ बनाउँछ भने व्यङ्ग्यले विकृति र फोहोरलाई सफा गरिदिन्छ ।
० हास्य स्थूल र सतही हुन्छ, व्यङ्ग्य सूक्ष्म र दुर्बोध्य हुन्छ ।
० हास्ले मनोरञ्जन गराएर तनावबाट मुक्त गर्छ व्यङ्ग्यले विसङ्गतिबोध गराएर सुधारको बाटो देखाउँछ ।
० गिल्याउनु,, उपहास गर्नु, उल्लीबिल्ली पार्नु हास्यको धर्म हो भने दुष्प्रवृत्तिलाई तारो, मट्याङ्ग्रो, गुलेली, घुयेँत्रो, बन्चरो हान्नु व्यङ्ग्यको चरित्र हो ।
० हास्यले मनोरञ्जन गराउन सक्नुपर्छ, व्यङ्ग्यले सुधार र न्याय दिन सक्नुपर्छ ।
४. हास्यको वर्गीकरण
पूर्वीय दृष्टिकोण
साहित्यदर्पणकार आचार्य विश्वनाथले हास्यको स्वरूपलाई तीन प्रकारमा राखेका छन् : ज्येष्ठ, मध्यम र नीच । उनले ज्येष्ठ्य हास्यलाई स्मित र हसित, मध्यमलाई उपहसित र विहसित अनि नीचलाई अपहसित र अतिहसित भनेका छन् । यसरी पूर्वीय वर्गीकरणमा हास्यका छवटा भेद देखिन्छन् ।
क) स्मित : मनलाई द्वेष, ईर्ष्या, घृणारहित अत्यन्तै प्रसन्न बनाउने एउटा पारङ्गत ऋषिको मर्यादित मन्दमुस्कान जस्तो हास्य स्मित हो । यो उच्च स्तरीय अत्यन्त बौद्धिक तथा कूटनीतिक हाँसो हो । आफैंभित्रको मुस्कुराहट हो ।
ख) हसित : आफ्नो शिशुको तोते बोलिले प्रसन्न भएकी आमाको जस्तो अलिकति दाँत देखाएर, सानो आवाज निकालेर, मर्यादा नतोडी, शिष्टता भङ्ग नगरी हाँसिने हाँसो हसित हो । स्मितभन्दा हसितमा हास्य अलिक बढी अभिव्यक्त हुन्छ ।
ग) उपहसित : नाक फुल्ने, टाउको काँध हल्लिने, आवाज निस्किने आदि जस्ता शारीरिक चेष्टा देखाएर केही अमर्यादितका साथ आक्षेपका अभिव्यक्ति समेत व्यक्त गर्दै हासिने कुटिल हाँसो यसभित्र पर्दछ ।
घ) विहसित : निन्दा, अपमान, खिसी आदि अभिव्यक्तिका निम्ति खित्का छोडेर, आँखा सन्काएर, शरीर हल्लाएर झन्डै मर्यादा भङ्ग हुने गरी हाँसिने हाँसो विहसित हो ।
ङ) अपहसित : अमर्यादित किसिमले हाँसिने यस हाँसोमा आँसु आउने, बोली लट्पटिने, शारीरिक अङ्गमा विकृति देखिने गर्छ । यस हाँसोले घृणा, निन्दा, आक्षेपलाई स्पष्ट रूपमा व्यक्त गर्छ । कुर्सीमा बसेर उङ्दै गरेको मान्छे पुर्लुक्कै ढल्नु, थाहै नदिई कसैलाई पुच्छर झुन्ड्याउनु यस कोटिको हास्य हो ।
च) अतिहसित : अनुशासन र मर्यादालाई पूरै उल्लङ्घन गरेर अशिष्ट ढङ्गले पेट मिचीमिची, भुइँमा लट्पटिएर, तिघ्रा ठटाएर खिल्ली, गाली, उल्लीबिल्ली आदिको अभिव्यक्ति गर्ने हाँसो अतिहसित हो ।
यस प्रकार पूर्वीय हास्य वर्गीकरण हेर्दा हास्यको स्वरूप शारीरिक वा दैहिक देखिन्छ ।
पाश्चात्य दृष्टिकोण 
पूर्वीय आचार्यहरू हास्यलाई शारीरिक वा दैहिक आधारमा वर्गीकरण गर्दछन् भने पश्चिमी विद्वान्‌हरूले मन वा मानसिक रूपमा हास्य व्यङ्ग्यको विभाजन गरेको पाइन्छ । पूर्वीय भन्दा पश्चिमी वर्गीकरण केही गम्भीर, व्यापक र सूक्ष्म देखिन्छ ।
क) ह्युमर (Humor) ह्युमरको अर्थ हास्य हो । दया, प्रेम, आत्मीयता, श्रद्धा, करुणा, वात्सल्य, सहानुभूति जस्ता भावनालाई नछोडी शिष्ट र अनुशासित हास्यलाई ह्युमर भनिएको छ । यो उच्च बौद्धिक हाँसो हो । यो पवित्र स्नेहयुक्त हुन्छ । यसलाई हास्यको सर्वोत्तम स्वरूप मानिन्छ । मुखभरि मखन दलिएको बालक कृष्ण आमासँग भन्छन् : “मै नहीँ माखन खायो ।”
ख) सटायर (Satire) यसको अर्थ व्यङ्ग्य हो । सटायर शब्दले झन्डै झन्डै सम्पूर्ण व्यङ्ग्यको अर्थ धानेको छ । विनोदी भाषामा सुधारको उद्देश्य राखेर जीवन जगत्‌का असङ्गति, विकृति, कमी कमजोरीलाई हाँसोमा उडाउँदै रोष, घृणा जगाउनु यसको लक्ष्य हो । विसङ्गतितर्फ आक्रामक ढङ्गले व्यङ्ग्य गर्दै निराकरणको बाटो देखाउने यस सटायरमा व्यञ्जना शक्तिले काम गरेको हुन्छ ।
ग) विट (Wit) : यसलाई वाग्वैदग्ध्य वा वाक्चातुर्य भनिन्छ । विचित्र किसिमको प्रस्तुति वा भनाइ, आश्चर्यको सञ्चार, आक्षेप निन्दा आदि भाव प्रकट गर्ने कुरो नै विट अथवा वाक्चातुर्य हो । विचित्रता वा अनौठोपना नै यसको लक्षण हो । यो हास्यभन्दा कठोर र व्यङ्ग्यभन्दा नरम हुन्छ । यसमा सूक्ष्म बौद्धिक अभिव्यक्ति थोरै भाषामा गरिन्छ ।
घ) आइरोनी (Ironi) : यसलाई व्यङ्ग्योक्ति वा वक्रोक्तिका रूपमा बुझिन्छ । बाङ्गो भनाइबाट तिखो वाण हान्नु आइरोनी हो । यसमा लेखक शब्द संयोजनमा अत्यन्तै चतुरो हुनुपर्छ । हास्यको जलप मात्र भएको यसमा हास्यास्पद विषयमा सिधै प्रहार नगरी स्वादिलो चिप्लो भनाइबाट मर्मभेदन गरिन्छ ।
ङ) फार्स (Farce) : यो विदूषण हास्य वा प्रहसन हो । कसैलाई लक्ष्यित नगरी मुखमा मुखुन्डो, अङ्ग प्रत्यङ्गमा कृत्रिमताद्वारा हँसाउने काम फार्समा गरिन्छ । मनको थकाइ तनावलाई पखालेर हलुको बनाउनु यसको लक्ष्य हो । यसमा हँस्सीदिल्लगी, ठट्टामजाकको प्रधानता रहन्छ । यसमा व्यङ्ग्यको उपस्थिति नहुन पनि सक्छ । सामाजिक वैयक्तिक अर्घेल्याइँप्रति उपहास गर्नु, खिल्ली उडाउँदै सचेत गराउन प्रेरित गर्नु, पाठक दर्शकलाई हँसाएर स्वस्थ बनाउने चेष्टा गर्नु फार्सको धर्म हो ।
च) कमिक (Comic) : यसलाई उपहास भन्न सकिन्छ । यसले विसङ्गतिप्रति तिरस्कार, निन्दा, दुर्भाव, भत्र्सना गर्ने क्रममा उपहास सिर्जना गरिन्छ । कमी कमजोरीलाई उल्लीबिल्ली पार्दै उपहास गरिन्छ । विनोदी भाषामा खिल्ली उडाउनु र सुधारको सङ्केत गर्नु कमिक वा उपहास हो ।
छ) प्यारोडी वा क्यारिकेचर (Parody or Caricature) : यसलाई विद्रूप वा परिहास भनेर बुझ्न सकिन्छ । कुनै भइसकेको कामको, कसैको बोली र आनीबानीको, कुनै कृतिको अभिव्यक्तिमा केही विद्रूपता थपेर गिल्ला गर्दै अनुकरण गर्नु प्यारोडी हो । यसमा व्यक्तिप्रति होइन, प्रवृत्तिप्रति व्यङ्ग्य गरिन्छ । आकार, भाव, शब्द, स्वरमा समानता ल्याएर मूल कुराको सम्झना गराउनु यसको उद्देश्य हो । व्यक्तिको मर्यादामा हीनता नउब्जाई हास्य उत्पन्न गर्नु यसको लक्षण हो ।
ए कान्छा मलाई तिम्रो दाह्रो चिन्न देउ न
यो दाह्रो मात्रै होइन बङ्गारो झारिदिउँला (लोक गीत)
यी बाहेक पनि पाश्चात्य जगतमा जोक, कार्टुन, ल्याम्पुन लगायतका विनोदप्रधान हस्यौली ठट्यौली, छेडपेच गर्ने कुराहरू पाइन्छन् । यिनको पनि हास्य व्यङ्ग्य साहित्यसँग कुनै न कुनै सम्बन्ध रही आएको छ ।
क्रमशः
०००
अवकाशप्राप्त सहप्राध्यापक, मेची बहुमुखी क्याम्पस, भद्रपुर
(मेची बहुमुखी क्याम्पस, अनुसन्धान व्यवस्थापन कक्ष (RMC) द्वारा आयोजित मिति २०८०।८।२३ गते मेची बहुमुखी क्याम्पसमा आयोजित एक दिने हास्यव्यङ्ग्य सम्बन्धी गोष्ठीमा प्रस्तुत गोष्ठीपत्रकाे पहिलाे भाग ।)
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गर्ने–गराउने उनै हुन् !

गर्ने–गराउने उनै हुन् !

शरच्चन्द्र वस्ती
सञ्जालको जञ्जाल

सञ्जालको जञ्जाल

पुन्य कार्की
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
धमिरा

धमिरा

दिप मंग्राती
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
0
Would love your thoughts, please comment.x
()
x