चूडामणि वशिष्ठगर्नुहुन्छ, भन्नु हुँदैन
कुन मन्त्रीले फुत्काउँछ, भ्रष्टाचारको पैसाले काठमाडौँमा घर ठड्याएको कुरा । उसले किन भन्छ ? पद बन्धकी राखेर स्वार्थ पूर्ति गरेको कुरा कुन वकिलले भन्छ ? पैसाको बलले ज्यानमारा अपराधीलाई जिताइयो भनेर ।

चूडामणि वशिष्ट :
बाठो हुन कहिल्यै जानिएन, लाटो भएरै सोझो कुरा गरेरै जुनी बित्ने भो । नराम्रो कुरा गर्न हुँदैन, बरु झ्वाँक चलेकोे बेलामा भन्नुसम्म हुन्छ । तातो पानीले घर डढ्दैन भन्ने बुझिराखेकोे मान्छे । तँलाई लाखेस्, मार्छु, पख्, भन्नुसम्म हुन्छ गर्नु चाँहि केही हुँदैन भन्ने बुझेका मान्छे । तर जमानाले पल्टा खाइसकेछ । अहिले आएर कपाल फुल्न, दाँत हल्लिन, आँत छिन्न थालेपछि बल्ल बुद्धिको बिर्को चट्पटाउन थालेछ कि क्या हो ? वास्तवमा यहाँ गर्नु जे पनि हुँदो रहेछ, भन्नु केही पनि हुँदो रहेनछ । हामीले बोल्नलाई ल्याएको प्रजातन्त्र भन्नुहोला तर म भन्छु प्रजातन्त्रमा सबभन्दा खतरा बोल्नु हो । बोलेपछि बात लाग्छ । फस्र्याउन गाह्रो हुन्छ, गर्न तपाईं जे गर्नुहोस्, सब छुट छ । प्रजातन्त्र भनेको बोल्न होइन गर्न ल्याएको हो, यति कुरा सबैले बुझी राखे फरक पर्दैन ।
चामल सकिएपछि भोकै काममा हिँड्नुहुन्छ तर भोकै छु भन्नु हुँदैन । च्यातिएको सर्टलाई सुइटरले, उध्रिएको मोजालाई जुत्ताले, गनाउने जुम्रे कट्टुलाई सुरुवालले, टाउकाका लिखालाई ह्याटले छोपेर हिँड्नुहुन्छ भन्नुहँदैन, इज्जत जान्छ । गर्धनको मयललाई मफलरले, फ्युज गएको आँखालाई गगल्सले, मुजा परेको अनुहारलाई क्रिम पाउडरले, कलेटी परेका ओठलाई लिपिस्टिकले मजाले छोप्नुहुन्छ तर खबरदार कुरो चुहिएला !
अन्याय, अत्याचार, दुराचार, स्वेच्छाचार, व्यभिचार जे गर्न मन छ आरामले गर्नुहोस् तर चूपचाप । मान्छे मार्नु पनि हुन्छ तर मार्छु भनेर चाँहि भन्नु हुँदैन । बड कानुन लाग्छ । टेपेरेकर्डले बोली पक्रिन्छ अनि सजाय भोग्नुपर्ला । निमुखा जनता अड्डा, अदालतमा काम गर्न आउँदा सक्तो घाँटी रेट्नुहोस् । तर सावधान ! निर्दोष देखिन चूपचाप रहनु होला । बालबालिकहरूलाई कारखानामा काम लाउनुहुन्छ, मानवअधिकारको नाउँमा मान्छे मार्नु पनि हुन्छ, परोपकारी संस्थाले परपीडा गर्नुहुन्छ । अँध्यारोमा मात्र किन ? यहाँ दिउँसै सबथोक गर्नुहुन्छ हल्ला नगरी । सारसौँदो मान्छेलाई दसजनाले बिरामी भयो भने त्यसै त्यसै ज्वरो फुट्छ, सज्जन मान्छेलाई हल्लैहल्लाले फटाहा मान्छेका रूपमा दर्ता गरिन्छ, कुनै पुङ्माङ्लाई विद्वान् भनिदियो भने ऊ विद्वान् नै ठहरिन्छ । त्यसकारण विचार पुर्याएर मात्र बोल्नुपर्छ । व्यभिचार पनि विचारका साथ गर्नुपर्छ यो आजको यथार्थवादी सिद्धान्त हो ।
रक्सीको भट्टी, वेश्याको कोठी, तस्करको अड्डा, जहाँ गएर जे गर्नुहोस् केही आपत्ति छैन । अवचेतनाको पशुलाई चेतनाले, राजनीतिक कुचक्रलाई भाषण र लामा लुगाले, धार्मिक पाखण्डलाई चन्दनले छोपेझैँ आफूले गरेको कार्यलाई छोपिराख्नु व्यक्त नगर्नू नत्र पतन हुन बेर छैन । त्यसैले गर्ने कुरामा पछि नपर्नू बोल्नुपर्ने कुरामा अघि नसर्नू । यही हो, आजको मूलमन्त्र ।
मुलुकमा कत्राकत्रा घटना-दुर्घटना घट्छन् तर रहस्य कसैले भन्दैन । ठूला मान्छेहरू बाठा हुन्छन्, उनीहरू कसैलाई भन्दैनन् । घटना घटाउँछन्, रहस्यलाई अँध्यारामा राखेर चूप बस्छन् । हामी भारेभुरे गर्न केही सक्तैनौँ, बौल्छौँ मात्र । टिङ्करमा खिल पल्टिँदा, टनकपुर टनटनाउँदा, मेची टट्टाउँदा, महेशपुर छट्पटाउँदा, मानेभन्ज्याङ र पशुपतिनगर निचोरिँदा बुद्धि हुने ठूला मान्छेहरू चूप बसे । बुद्धि नहुनेहरूले हल्ला गरेर झन्डै बिताए । कति सम्झाउनु बोल्नुहुँदैन भनेर ।
बोल्नुको सट्टा काम गर्नु नि ! सचिव, नेता, मन्त्री, जी.एम.को चाकरीमा जानु, जागिर माग्नु, सरकार गरीब छ, खान पुग्ने तलब दिन सक्तैन, जानेकै छ । तलब बढाउन सरकारलाई करकर गर्नुभन्दा यसो जनताबाट दर्तादेखि चलानीसम्मका प्रत्येक टेबुलमा सौ-पचास माग्नु भैहाल्छ नि । सौ-पचास तिरेर आफ्नो काम गर्न गाह्रो मान्ने कोही जिराहा आयो भने ‘भोलि’ भन्दिनू, पर्सि भन्दिनू, यता मिलेन उता मिलेन भन्दिनू । त्यति गर्दा पनि थाकेन भने फायलै गायब गर्दिनू, अनि सौ-पचासको ठाउँमा पाँच सौ-पचास माग्नु पैसा ननिकालेर सुख ? जाओस् न अर्जी गर्न न्याय माग्न । झन् त्यहाँ कति तिर्नुपर्दोरहेछ अनि थाहा पाउँछ त्यस मुलेले ! अनि त चेतबाबा काशी, खुरुखुरु निकाल्छ पैसा ।
आखिर फाँटमा बसेर निर्लज्जसँग हात पसार्नु भनेको अलिखित नियम नै बनिसकेको छ । डराउनु पर्ने, हिच्किचाउनु पर्ने, इज्जतमा खोट लाग्ला कि भनेर हच्किनु पर्ने अवस्थै छैन । केही कर्मचारी भएर पनि यत्ति कुरा थाह छैन भने जानुहोस् सरकारी अड्डामा प्रशिक्षण लिन । मालमोत, नापी, भूमिसुधार, कर, भन्सार जहाँ गए पनि हुन्छ । अरू कर्मचारीका स्वास्नीहरूले के के खाउ, कस्ता कस्ता लाए हाम्रा चाहिँ नामर्दै हुन् भनेर स्वास्नीको गाली खानुभन्दा मान्छेका अगाडि यसो दाँत ङिच्याउनु, हात पसार्नु, कहाँ हो कहाँ सजिलो । यो त भयो अलिक साना कर्मचारीको कुरो । हाकिमहरू त सबै तालिमप्राप्त नै छन्, “टोपीको कुनै नगरौँ” ।
नेपाली जनता कहाँ त्यत्ति गरीब छन् र ? केही नभए पनि एकहल गोरु एउटा बुलाकी त हुन्छ नि ! त्यसलाई बेचेर ठाउँमा पुर्याउन सके यसो पाले, पियन, चौकिदारदेखि प्रा.वि.सम्मको मास्टरी आदिको जागिर पाउन सकिन्छ । आखिर सरकारी स्कुलमा पढाउनु पर्ने होइन । पार्टीको पुच्छर समायो भने जत्रोसुकै वैतणर्ी पनि तर्न सकिन्छ । पछि मास्टरबाट पिल्सिङ खाने बेलामा नेता भइहालिन्छ क्यारे । नेपालै न हो । तालुमा आलु फल्यो भने शिक्षामन्त्री भएर तिनै मास्टर साथीहरूका भकुन्डो खेल्न पाइन्छ । त्यसो गर्न मन नलागे यस मुलुकमा अवैध समानलाई वैध गर्न सक्ने, अरूले राति गर्न नसकेको काम दिउँसै गरिदिन सक्ने ठूला-ठूला व्यापारीहरू छन् । तिनीहरूसँग यसो सम्बन्ध जोडेर एउटा काम सम्हालिदिए न खेती खन्नु परोस् न जगिरमा जाकिनुपरोस् । पैसै त हो । ठूलै जागिरले पनि भ्याउँदैन । यो त मैले खुसुक्क भनेको, फेरि हल्ला गर्दै हिँड्नुहोला ? खुरुखुरु आफ्नो काम थाल्नुहोस् ।
लाटो भएर यस मुलुकमा बँचिन्छ ? अब त यसो ठूलाबडाले गरेको हेरेर पनि जान्नुपर्छ । कुन हाकिमले भन्छ र तँलाई डोटी पुर्याउँछु, जागिरै खाइदिन्छु भनेर । नभनीकनै काम तमाम गर्छ । कुन सांसदले भन्छ तेरो सरकारलाई अविश्वास गर्छु भनेर । नभनीकनै सरकार लडाएर देखाइदिन्छ । कुन व्यापारीले भन्छ र गाँजा हेरोइन आदिको तस्करी गर्छु भनेर । ऊ आफ्नो काममा लागिरहन्छ । कुन मन्त्रीले फुत्काउँछ, भ्रष्टाचारको पैसाले काठमाडौँमा घर ठड्याएको कुरा । उसले किन भन्छ ? पद बन्धकी राखेर स्वार्थ पूर्ति गरेको कुरा कुन वकिलले भन्छ ? पैसाको बलले ज्यानमारा अपराधीलाई जिताइयो भनेर ।
त्यसैले भन्नु केही हुँदैन, गर्नु जे पनि हुन्छ । यहाँ केही गर्नलाई कहिले कसले पो रोकेको छ र ? पिउन सरले स्कुलमा पढाउन, अहेव डाक्टरले अस्पतालमा एभर्सन गर्न, सुब्बा हाकिमले कार्यालयमा सही गर्न भएपछि मास्टर माछा मार्न, हाकिम हलो जोत्न, सचिव शिकार खेल्न, मन्त्री मात्न हिँडे गज्जबले हुन्छ । लाटो स्वास्थ्य मन्त्रालय हल्ला गरी गरी अझै पनि परिवार नियोजन गरेको गर्यै छ । दुई सन्तान भएपछि तालै लगाइदिन्छ । बाठो मन्त्रालय शिशु स्याहाँर, चिचिभुँडी गुहुमुत, रुवाबासी, छ्यालब्याल, र्यालप्याल किन बेहोर्ने भनेर चूपचाप उमेर पुगेका विदेशी मानिसलाई समेत नागरिकता बाँडेर परिवार आयोजन गरी जातीयतालाई समेत टेवा दिइरहेको छ । यसो आफ्नो गिदी हल्लाएर विचार गर्नुहोस् त ! गर्नु किन हुँदैन ? हुन्छ तर चूपचाप ।
म पनि भन्दिनँ किन लेख्छु भनेर । सम्पादकले लेख बापत कति पारिश्रमिक दिए त्यो त झन् भन्दिनँ । मलाई थाहा छ, यहाँ लेखेर के हुन्छ । यो कसले पढ्छ ? पढेर के हुन्छ ? खुरुखुरु आफ्नो काम नभनीकनै गर्छु सम्पादकलाई पनि भन्न के खाँचो यो पत्रिका किन छापेको भनेर । यहाँ पनि मात्र पाइन्छ । भन्न सख्त मनाही । यो नेपाली प्रजातन्त्र हो नेपाली संस्कार हो ।
०००
‘कुरा यिनै हुन् कसो पो गर्ने र !’ (२०६१)
Subscribe
Login
0 Comments
Oldest






































