निर्मोही व्यासखलनायक नायक हुन्छ जहाँ
छ लिलाम नियाँ र निसाफ जहाँ भन, देश उँभो अनि लाग्छ कहाँ ?

१
खलनायक नायक हुन्छ जहाँ
अधिनायक लायक हुन्छ जहाँ
जनता करिया गनिइन्छ जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?
२
जति मानिस मार्न सक्यो उति नै
पद उच्च र शान र मान हुने
ढँटुवा नटुवा अगुवा छ जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?
३
अपराध हजार हुने दिनहुँ
जुन हिंसक, त्यैसँग डाडु-पन्यू
छल लूट र झूट अपार जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?
४
छ रजाइँ जहाँ महिषासुरको
कुन पुछ्दछ आँसु बलात्कृतको ?
छ लिलाम नियाँ र निसाफ जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?
५
निलिराख्तछ साँध अजिङ्गर जो
उसकै स्तुतिगान र पाउ मल्यो
गुरुमन्त्र सुनाउँछ भाट जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?
६
लुटिँदै सब प्राकृत वैभव छन्
जन शोषित, गर्दभ पोषित छन्
कुल-धर्म र संस्कृति रुन्छ जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?
७
युव-शक्ति पलायित दूर हुने
घर बालक वृद्ध रुङेर रुने
छ परिस्थिति दारुण रुग्ण जहाँ
भन, देश उँभो अनि लाग्छ कहाँ ?
८
उठ जाग बचाउन लाज युवा !
सुतुवा बिउँझाउन लाग युवा !
अब डुब्छ कि डुब्छ कि झैँ छ डुँगा !
कृपया पतवार सम्हाल युवा !
००
अधिनायक=निरङ्कुश शासक/तानाशाह ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































