साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म अज्ञात शहीद आएको छु !

म त तिम्रो मतदातासूचीबाट एकाएक हराएको आफ्नो नाम सच्याउन आएको छु ! मृत्यु दिवसको यो मिति मेटिएको क्यालेण्डरमा म मेरो हराएको नागरिकता खोज्न आएको छु ! मेरो रगत पिएर निदाएको शान्त बन्दुकसित म फेरि जिन्दगी लिएर जुहारी खेल्न आएको छु !

Nepal Telecom ad

(सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली !)

सुनको मस्तिष्क
र हीराका हातले लेखिएको
इतिहासको पुरानो किताबले सुनोस् !

मेरो गीतको भाषा फरक छ—
तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब !
तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो !
तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि
पस्नेछ अब रगतको बाढी !
र यो देशको आत्मा
फेरि एक पटक
मध्यरातमा बिउँझेर रुनेछ !

आऊ, गिरफ्तार गर !
हातमा बन्दुक हुनेहरू !
मलाई गिरफ्तार गर— म फेरि आएको छु !
कर्फ्यु लगाएर विचारको भग्न सडकमा
मेरो चेतनामा अन्तिम पटक छापा मार !
र मलाई जङ्गलमा लगेर फेरि बेपत्ता बनाऊ !
हातहरू गिँड, आँखा झिक र जिब्रो काटिदेऊ !

हिजो पनि इतिहासमा थाहै नपाई
पटक पटक यसरी नै मारिएको थिएँ
म अब फेरि मर्नका लागि बाँचेर आएको छु !

मेरो चिहान खोइ कहाँनिर पर्छ ?
चिहानमा राखिएका नम्बर प्लेटहरू झिक !
मेरो लासमाथि लास जस्तै ओढाइएका
ती रक्तिम झन्डाहरू झिक !
र झिक तिम्रा लाटा शब्दकोशहरूबाट
यो ‘अज्ञात शहीद’ भनिने शब्द !
म आज तिमीले सुन्ने गरी गीत गाउँदै
एउटा अनागरिक इलाकाको
अप्रिय कोलाहल आएको छु !
म फेरि मर्नका लागि बाँचेर आएको छु !

मेरो सडक खोइ कतातिर पर्छ ?
भन ए !
कुन म्युजियममा राखिएको छ
मेरो शिर काट्ने पुरानो तरबार ?

झम झम पानी परेको यो साँझमा
म देशसँग बास माग्न आएको छु !
तर देश
उसको आँगनीमा पाइला टेक्न नपाउँदै
कुक्कुर भुकाएर लखेटिरहेछ मलाई !
मेरी आमा !
अब साँझमा जोरबत्ती नबाल
म निभेको अँगार बनेर आएको छु !

कम से कम
रगत सकिएको मुटुको दियोमा
मायाको मधुरो बत्ती बालेर
जिन्दगीको एक्लो किनारामा उभिइरहेकी
मेरी प्रेयशीले त थाहा पाउनुपर्छ—
म विगत इतिहासमा मारिएको छु भनेर !

कम से कम
तिहारमा सयपत्रीको माला बोकेर
माथि रित्तो आकाशतिर एकोहोरो हेरिरहेकी
मेरी अबोध बहिनीले त थाहा पाउनुपर्छ—
विगत युद्धहरूमा मैले जिन्दगी हारेको छु भनेर !

म स्वयंले थाहा पाउनुपर्छ मेरो मृत्यु !

ए ! म फेरि बाँचेर आएको छु
समयका स्ट्रेचरहरूमा आफ्नै लासलाई सुताएर
जिन्दगीको पोस्टमार्टम गराउन आएको छु !
म तिम्रो कविताको हेड लाइन
आज तिम्रै कलमको निबबाट बगिरहेको
फाल्सा-फाल्सा रगतको गीत गाउन आएको छु !
म आफ्नै लासलाई सिरानी हालेर
केही क्षण चुपचाप निदाउन आएको छु !

म त्रिवेणीको अक्करमा तोक्मा अड्याएर
चामलको ढाकर बिसाउनै लाग्दा
सप्तकोशीमा खसेको तिम्रो भरिया कान्छो
अहिले श्रमको ज्याला माग्न आएको होइनँ !
म मुग्लानको जङ्गलभित्र आरा काट्न जाँदा
जङ्गलमै हराएको तिम्रो सौतेलो भाइ
आफ्नो अंशको लालपूर्जा माग्न आएको होइनँ !
म भाक्सुको भिर र किमाथाङ्काका पहराहरुमा
नूनको ढाकरले थिचिएर नून जस्तै बिलाएको
नरबहादुरको पनाति
अहिले तिम्रो विरुद्धमा
उम्मेदवारी दिन आएको होइनँ !
म त तिम्रो मतदातासूचीबाट
एकाएक हराएको
आफ्नो नाम सच्याउन आएको छु !
मृत्यु दिवसको यो मिति मेटिएको क्यालेण्डरमा
म मेरो हराएको नागरिकता खोज्न आएको छु !
मेरो रगत पिएर निदाएको शान्त बन्दुकसित
म फेरि जिन्दगी लिएर
जुहारी खेल्न आएको छु !

आऊ, गिरफ्तार गर !
र फेरि कुनै निर्जन जङ्गलमा लगेर
मेरो विचारको उज्यालो खोस
मलाई रित्तो बनाऊ
र मेरो आवाजको हत्या गर !

यी मानचित्रका बिखण्डित धर्साहरूभित्र
मेरो देश खोइ कहाँनेर पर्छ ?
म देशबाट निस्किएर
देश खोज्न आएको छु !
यो भित्तेपात्रोको सुनसान जङ्गलभित्र
म अनाम समय खोइ कहाँनेर पर्छु ?
दिवाल घडीका निर्जीव टङ्कारहरूभित्र
म मेरो वर्तमान खोज्न आएको छु !

सुनको मस्तिष्क
र हीराका हातहरूले लेखिएको
तिम्रो इतिहासको अन्तिम डिलमा उभिएर
म यो देशको एउटा अज्ञात शहीद
फेरि यही देशमा
आफ्नो रगतको मूल्य हराउन आएको छु !
पेट्रोल सकियो भने रगत बाल !
म बेहिसाब रगत बिक्री गर्न आएको छु !!

काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x