साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निहत्था शहीद

यसपटक पनि मैले थाहै नपाई ठूलो गल्ति गरेको छु सँधै सँधै उन्मुक्तिको घोडा चढेर आउने सत्ता, खालि सत्ताको निम्ति फेरि पनि म यो देशको निहत्था शहीद भएको छु ।

Nepal Telecom ad
तिमीलाई मुक्ति दिन्छु भन्नेहरू
तिमीलाई स्वतन्त्रता दिन्छु भन्नेहरू
युग प्रतियुग कति आए कति गए
तर अहिलेसम्म तिम्रो काखमा
आफ्नै सन्तानका बर्बादीका लासहरू बाहेक केही छैनन्
सुदुर हेर्नको लागि तिम्रो आँखामा भविष्य छैन
प्रसस्त रूनलाई आँसु छैन
अब त मेरा कविता जस्ता आँसुहरू पनि नबुझ्ने भएछौ
अब त मेरा आँसु जस्ता गीतहरू पनि नसुन्ने भएछौ
परिवर्तन !
सुनिसक्दा झर्कने
आमा ! तिमी त म भन्दा बढी विक्षिप्त रहेछौ !
यी हेर त आमा !
आज फेरि आफ्नै शिर बोकेर हातमा
म तिम्रो सामु रून्चेहात फर्किएको छु
आमा! यता हेर न आमा !
मुक्तिको निम्ति निस्किएको म
आफैमा वेवारिसे लास भएको छु ।
आमा !
कसैले आएर मेरो लाशमाथि
ओढाएर उभिए झण्डा जस्तो देखिने स्वार्थको कात्रो
गाए मेरो नाममा विरक्त लाग्दो वलिदानीको गीत
हेरेर गद्गगद् भए उज्यालो निभेको पुरै निष्पट्ट मेरो शरिर
भित्रभित्रै मुस्कुराए फुल्न लागेको सत्ताको संभावना
र खसाए केही थोपा निर्मम आँसुहरू कुटिल ओठहरू माथि ।
देख्यौ त आमा !
तिम्रो निम्ति पो झरेको फूल हुँ म
कसैको निम्ति फुलिरहेको !
तिम्रो निम्ति पो खसेको तारा हुँ म
कसैको निम्ति चम्किरहेको !
आमा !
जिउँदो हुँदा त म हेपिएको थिएँ नै
मरेपछि पनि म यसरी अपमानित भएको छु
आज म मरेको मात्र छैन
सक्त घाइते पनि भएको छु
आमा ! ए आमा !
मेरो दाजु झैं म फेरि एकपटक
यो देशको निहत्था सहिद भएको छु !
बाँचिन्जेल त मैले यो कहिल्यै बुझिन
र त सहजै तयार भएँ मर्न
तर मरेपछि भने धेरै कुरा बुझ्दै आएको छु
हो आमा !
बाँच्दा नदेखेको कुरा मरेपछि देख्दै आएको छु
मेरो लासको सिंढी भएर
कति कति अत्याचारीहरू
हिंस्रक नरभक्षीहरू
सिंहदरबारको उच्च आसनमा पुगे
हो, मरेपछि यो देखेको छु मैले
जस्लाई सुनेर बलिदान भएँ म यो देशको निम्ति भनेर
जस्लाई सुनेर युद्दमा होमिएँ म मुक्तिको निम्ति उन्मुक्त बनेर
तर आमा ! आज फेरि म –
कसैको निम्ति सिंहदरबारको सिंढी भएको छु
हो,सिर्फ कसैको सत्ताको निम्ति कौडी भएको छु
आमा! म साह्रै नै वित्थाको मृत्यु मरेको छु ।
म खटिरा निस्केर मरेको होइन आमा
निमोनिया भएर मरेको होइन
सडक दुर्घटनामा पनि परेको होइन
आमा ! म त शहीद भएको छु
शहीद
यो देशमा सबैभन्दा बढी विक्ने
एकमात्र उच्च ब्रान्डको लास – शहीद
तिमीलाई थाहै छ –
वर्तमानको मेरो बजार मूल्य दशलाख हो
अर्थात्
बाँच्नेहरूको नजरमा म मूर्दा कम
र दशलाख बढी हुँ ।
आमा !
त्यो मूर्दा आन्दोलन फेरि पनि आउनसक्छ
त्यसले मलाई जस्तै मुक्तिको सपना देखाएर
फकाएर लैजान सक्छ मझेरीका ताराहरू
भाँचेर लैजान सक्छ आँगनका गुलाफहरू
रछ्यानमा बम रोपेर जानसक्छ त्यो
एकदमै चनाखो रहन सक्नुपर्छ आमा !
गट्टी भनेर बटुल्दा
नानीहरूले गोली बटुल्न सक्छन्
घिरौंला भनेर टिप्दा
केटाकेटीहरूले ग्रिनेट टिप्न सक्छन्
मकैका घोगाहरूमा कालिपोके भएर बारूद फल्न सक्छ
धानका प्रत्येक दानाहरू लाजा जस्तै पड्कन सक्छन्
खेतको सिरान भएर बग्न सक्छ रगतको पैनी
जुनसुकै दिशा भएर हावा दुर्गन्ध बोकेर बहन सक्छ
दुध खान नपाएर अर्थात् भोकाएर होइन
बरू बन्दुकको आवाजले तर्सिएर कराएको हुनसक्छ
गोठको बाछी ।
हो आमा ! परिवर्तनको नाममा
फेरि पनि त्यो मूर्दा आन्दोलन आयो भने,
तिम्रा अनगिन्ति सन्तानहरू
आज म जस्तै आ-आफ्नो लाश बोकेर घर फर्कनेछन्
तिमी भित्र फेरि अर्को औंसी जन्मनेछ आजको झैं
तर त्यही मौकामा –
कसैले दिपावली गरिरहेको हुनेछ
यो देशको राजधानीमा आफैलाई कुल्चिएर गइरहेका बादशाहहरू देखेर
त्यो रमितामा पनि रोइरहेका हुनेछन् फेरी
यो देशका मजस्तै विभत्स लासहरू
हो, फेरि पनि कसैले आएर ओढाउने छ
स्वार्थै स्वार्थको झण्डा जस्तो कात्रो
र शहीद भनेर अपमान गर्नेछन्
कयौं मजस्ता निहत्था मृत्युहरूलाई ।
आमा! ए आमा !
आज जसरी शहीद भएर
दश लाखको थैली बोकेर
तिम्रा आँसुहरू पुछ्न म तिमी सामु उभिएको छु
त्यो मूर्दा आन्दोलन फेरि आयो भने
त्यसरी नै उभिनेछ मेरो भाइ
त्यसरी नै उभिनेछे मेरी बैनी ।
आज आफ्नै निहत्था मृत्युप्रति
मलाई सक्त अफसोस छ
ए आमा! खालि अर्कैतिर फर्केर भक्कानिंदै
तिमी मात्र किन एकोहोरो रोइरहन्छौ ?
किन पखाल्दिनौ मेरो छातीको रगत ?
किन बन्द गर्दिनौ मैले रोक्न नसकेका
मेरा बर्बराई रहेका यीं ओठहरू ?
किन पुछ्दिनौ मेरा पश्चातापका आँशुहरू ?
आमा !
आज म मरेको मात्र छैन –
अति नै अपमानित पनि भएको छु
साह्रै विक्षिप्त र घायल बनेको छु
हो आमा !
यसपटक पनि मैले थाहै नपाई
ठूलो गल्ति गरेको छु
सँधै सँधै उन्मुक्तिको घोडा चढेर आउने
सत्ता, खालि सत्ताको निम्ति
फेरि पनि म यो देशको
निहत्था शहीद भएको छु ।
भर्जिनिया
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x