निर्मोही व्यास‘गरौँ हल्ला’
जुम्रा मारी भनौँ ‘मारेँ बाघ इः हतियार छ’ ‘हो’ मा ‘हो’ गर्न साथैमा नियुक्त मतियार छ, भाषामा पनि वर्चस्व विज्ञ मूर्खाधिराजको छ, पत्रकारिता उस्तै कब्जामा फुइँबाजको, क्षेत्र प्राज्ञिक या शिक्षा, हाल सिङ्गो समाजकै राजनीति त झन् पेवा हल्ला-हुल्लडबाजकै ।

हल्ला गरौँ, गरौँ हल्ला, हल्लाकै त बजार छ
रोजगारी खुलेको छ जो-जो बेरोजगार छ
जुम्रा मारी भनौँ ‘मारेँ बाघ इः हतियार छ’
‘हो’ मा ‘हो’ गर्न साथैमा नियुक्त मतियार छ
बिक्छ साहित्यमा हल्ला, थोरै असल पुस्तक
पुरस्कार छ हल्लामै, हल्लामै छ समीक्षक
नपढी पुस्तकै उच्च प्रशंसा भरमार छ
हल्लाकै भरमा सक्तो उचाल र पछार छ
प्रकाशित हुनै बाँकी कृतिको गुणगान छ
पुरस्कार र सम्मान आदान र प्रदान छ
फस्टाएको छ व्यापार कोदोको, लुप्त धान छ
स्वाभिमान भयो निर्धो बलियो अभिमान छ
भाषामा पनि वर्चस्व विज्ञ मूर्खाधिराजको
छ पत्रकारिता उस्तै कब्जामा फुइँबाजको
क्षेत्र प्राज्ञिक या शिक्षा, हाल सिङ्गो समाजकै
राजनीति त झन् पेवा हल्ला-हुल्लडबाजकै
उहिल्यै कवितामा नै यै, भूपी दाजुले पनि
भनेथे स्पष्ट ‘यो हल्लै-हल्लाको देश हो’ भनी
दिनानुदिन बढ्दै छन् हल्लाका स्तुतिगायक
खलनायकलाई नै बनाईकन नायक
हल्लादेखि रही टाढा साधनामा छ मग्न जो
कर्मयोगी, बजाउन्न डम्फु आत्म-प्रचारको
उर्लन्छन् खहरे सुक्छन् छिनमा नै उसैगरी
बगिराख्छन् सदानीरा अविराम सधैँभरि
हल्ला बजारमा हुन्छ हुन्छ मन्दिरमा पनि
हुन्छ मेला र जात्रामा र विद्यालयमा पनि
ती स्वाभाविक हल्ला हुन्, सुनिन्छ मधुर ध्वनि
अस्वाभाविक हल्लाको किन्तु जात छ बैगुनी ।
००
सदानीरा : सधैँ पानी भइराख्ने नदी ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































