प्रेम राई ‘परीक्षित’बालुवाको ट्याङ्की
पानी कहिल्यै भरिएन, त्यो बालुवाको ट्याङ्की पानी खान्छ र हावा पठाउँछ अनि सपना चुहिन्छ तपतप टुटीबाट रित्ता गाग्रीहरूको पिँधमा कहिल्यै नअघाउने त्यो पानी ट्याङ्की अझ पनि पानी भर्न मलाई आदेश दिइरहन्छ ।

एक सय चार वर्ष
मेरा जिजुले बालुवामा पानी हाले
दुई सय तीस बर्ष
मेरा बाजे र बाले फेरि बालुवामा पानी हाले
तर बालुवाको ट्याङ्की कहिल्यै भरिएन
जति हाले पनि नभरिने
जति दिए पनि नपुग्ने
त्यो बालुवाको ट्याङ्की !
म अहिले मेरा जिजु र बाजे र बाको
बिरासत थाम्दै
फेरि बालुवामा पानी हालिरहेको छु
अबको तीस वर्ष मेरा सन्तानले
फेरि बालुवामा पानी खन्याउने छन्
र पनि भरिने छैन
त्यो बालुवाको ट्याङ्की !
मेरा जिजुले भन्थे
त्यो बालुवी ट्याङ्की हाम्रो सपना हो
अनि भाग्य र भविष्य हो
बुढेसकालको सहारा हो
पानी खन्याइरहनु
पानी चढाइरहनु
पानी भरिरहनु
दिनरात अनि साँझ बिहान
तर जिजुको सपनाको ट्याङ्कीमा
पानी कहिल्यै अडिएन,
पानी कहिल्यै भरिएन,
त्यो बालुवाको ट्याङ्की पानी खान्छ
र हावा पठाउँछ
अनि सपना चुहिन्छ तपतप टुटीबाट
रित्ता गाग्रीहरूको पिँधमा
कहिल्यै नअघाउने त्यो पानी ट्याङ्की
अझ पनि पानी भर्न मलाई आदेश दिइरहन्छ
जिजु…! सोच्दैछु
जति भरे पनि कहिल्यै नभरिने
जति खन्याए पनि
कहिल्यै धारा नआउने
त्यो खिया लागेको
पुरानो छिद्रित बालुवाको ट्याङ्की
फेर्नुछ आजै अनि अहिल्यै
र जडान गर्नुछ
हाइटेक र हिल्टेकका पानी ट्याङ्कीहरू
म अहिले त्यसकै खोजिमा बजार निस्किएको छु…. ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































