डा.हरिप्रसाद सिलवालसोझो कुरा नगरौँ !
हो, चिन्नेलाई श्रीखण्ड : नचिन्नेलाई खुर्पाको बिँड सुख पाउने भए हाम्रो समयअनुसार हिँड !

यो बाङ्गो समय हो
सोझो कुरा नगरौँ !
यो नाङ्गो नग्नता हो
लाचारीहरू प्रदर्शन गरौँ !!
सत्ताको समय चस्माले हरियो देख्नु
असत्ताको समय लेन्सले त्यसैलाई रातो देखिनु
चिज उही भएर पनि रङ फेरिनु
काम त्यही भएर पनि ढङ्ग बदलिनु !
हो, चिन्नेलाई श्रीखण्ड : नचिन्नेलाई खुर्पाको बिँड
सुख पाउने भए हाम्रो समयअनुसार हिँड !
कता कता सुने जस्तो चिने जस्तो
ए त्यो गायक कि नायक हो !
पशुपति शर्मालाई पाता कसौँ
प्रकाश सपुतलाई सत्तोसराप गरौँ
हामीलाई नसोधी गीत किन गाएको ?
हामीलाई मन नपर्ने नाच किन नाचेको ?
हामीलाई मन पर्छ परोइन ?
हाम्रो अवस्थामाथि ‘जेपिटी’ साहित्य !
के तिनले हामीलाई चिनेनन् ?
देवताको पनि देवता सृष्टि गर्ने
मानवभन्दा ठुलो मानव बन्न सक्ने
हामीलाई नसोधी गीत लेख्नेलाई
हामीभन्दा पनि आफ्नो गीत ठूलो देख्नेलाई
गालीको वर्षा बर्साउनु पर्छ
साम दाम दण्ड भेदले तर्साउनु पर्छ
यो बाङ्गो समय हो
सोझो गीत नलेखौँ !
यो नाङ्गो समयतन्त्र हो
हस्तक्षेपको प्रदर्शन गरौँ !!
यहाँ मुसाहरू पनि बिराला बनेका छन्
बिरालाहरू चितुवा झैँ लम्केका छन्
चितुवाहरू सिंहको चालमा हिँडेका छन्
के यिनले पनि हामीलाई हेपेको हो ?
हामी त बिरालालाई मुसा बनाउन सक्छौँ
हामी त चितुवालाई बिरालो मात्रै देख्छौँ
सिंहलाई चितुवा बनाइदिन्छौँ
सर्वश्रेष्ठताको आकाङ्क्षा त हामीले राख्ने हो
जङ्गली फलकन्दहार त हामीले चाख्ने हो
हामी सबैलाई घटुवा गरिदिन सक्छौँ
हामी हाम्रो कदभन्दा अग्ला सबैलाई
क्षणभरमै होचा बनाइदिन सक्छौँ
कसैले ख्याल ख्यालमा बनाएको
चुच्चे नक्सालाई पनि परिआएमा
बुच्चे बनाइदिन सक्छौँ
कोही दानी र महाज्ञानी बनेको ठान्लान्
तिनलाई हामीले चाहेमा
सर्वश्रेष्ठ लुच्चा बनाइदिन सक्छौँ
हामी त आफैलाई संसारभरको
उच्चतम छुच्चामा स्वघोषणा गर्न सक्छौँ
यो सोझो समय हैन
बाङ्गा कुरा गरौँ !
भद्रभलाद्मीका हैन
लुच्चा र छुच्चाका पो भर परौँ !
राजेन्द्र सुवेदीले त व्यङ्ग्य निबन्ध
खाली सिसी ः पुराना कागज लेखे
उनको वक्र नयनले त्यति मात्रै देखे
हामीले त धेरै सिसीहरू देखेका छौँ
भरिएकाहरू रित्तिएका पनि देखेका छौँ
रित्तिएका महानुभावहरू डुक्रिएका पनि देखेका छौँ
पापी कोरोनाले उनलाई चुँडेर लग्यो
नत्र उनले एमसिसी पनि देख्थे र लेख्थे
तर एमसिसी त हामीले भन्दा धेरै कसले देख्यो ?
हामीले त यसलाई खोकुलीमा राख्यौँ
हाम्रो तमाम मामधारी बाहुलीमा राखौँ
एमसिसीका सिसीहरूलाई ह्याकुलामा राखौँ
मौनतामा राख्यौँ एमसिसी
शत्रु् पनि बनायौँ यसलाई
मित्र पनि बनायौँ त्यसलाई
हामी जे गर्न पनि सक्ने
हामी जे भन्न र भनाउन पनि सक्ने
उल्टा र सुल्टा, समर्थन र विरोध
समयलाई तौलन सक्ने तौल छ हामीसित
समयलाई थुन्न सक्ने संयन्त्र छ हामीसित !
हामीलाई नजरअन्दाज गर्नेहरूको नजिर राम्रो छैन
हामीलाई हेप्नेहरूको औकात बलियो छैन
हामीभन्दा माथिल्ला कुरा गर्नेहरू हो
तिमीहरू अज्ञानका अरिङ्गाल हौ
तिमीहरू समय नचिन्ने कीरोहरू हौ !
यो त नयाँ समय हो
यो त नितान्त हाम्रो समय हो
कसैलाई समय चाहिएमा
हामीसित कपीराइट माग्नु पर्छ
यो समयको मालिक त हामी हौँ
यो समयको व्याख्याता नै हामी हौँ !
हाम्रो व्याख्यात्मक टिप्पणी नबुझ्नेहरू
तिमीहरूको ज्ञानको तुजुक त धिक्कार नै छ !
यहाँ त कता कता आवाजहरू सुनिन्छन्-
यो अवसरको अचार खाने बेला हो
थोत्रा सिद्धान्तको रटान बन्द गर !
सत्ताको सातु पिँध्ने घट्ट बनाउने बेला
आदर्श इमानको इँजार कस्ने काम नगर !
हामीले चाहे यहाँ जे तन्त्र पनि आउँछ
हामीले नचाहे जसको हुङ्कार पनि बिलाउँछ
हाम्रा पाहुनाहरूले जस्तो स्वागत पनि पाउँछन्
हाम्रा शत्रुहरूले जस्तो आघात पनि पाउलान्
मान्छे चिन्नु खसी किन्नु भने जस्तै
हामीलाई चिन्नु जीवन सपार्नू
नत्र यहाँ जे पनि हुन्छ
आजको हामीलाई कसले छुन्छ ?
दिनलाई रात पारिदिन्छौँ
घामलाई पनि तीन बित्ता पर सारिदिन्छौँ
हामी आफू सकिएर भए पनि
चाहेका सबैलाई सकाइदिन तयार छौँ
हामी समयलाई एक छिन
टक्क रोकाइदिन पनि तयार छौँ
यो बाङ्गो समय हो
सोझो कुरा नगरौँ !
यो नाङ्गो नग्नता हो
लाचारीहरू प्रदर्शन गरौँ !!
धादिङ, हाल कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest









































