साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट बिक्रीमा छ

तिमीले तिरेको भोटको मूल्यले दुई दिन परिवारको छाक टार्नुपर्नेछ मैले र, कम्तीमा छ महिना तिम्रै चुनावचिह्नको कमिज पहिरिएर लाज ढाक्नुपर्नेछ ।

Nepal Telecom ad

मैले भोट बिक्रीमा राखेको छु
नेताजी ! आऊ मलाई खरिद गर ।

र, आफ्नो स्वार्थको दुन्दुभि बजाऊ
मलाई थाहा छ
मेरो भोट पुनः बिक्रीयोग्य नहुँदासम्म
म तिम्रा अगाडि अछूत जस्तो बनेर
दुई गोली सिटामोलका लागि गिडगिडाइरहनेछु
तिमी मेरै भोटको सङ्गीतले लट्ठिएका
आफ्ना नशालु आँखाले मलाई डामेपछि
मेरा लाजका गहना फिँजाएर परचक्रीसामु
आफ्नो विशालकाय भीखको थैलो भर्नेछौ
र, खरिद गर्नेछौ भोगविलासका असीमित प्रशाधन ।

रहर त थियो
यसपटक भोटको मूल्यले
कम्तीमा एउटा कोट किन्न सकूँ
ताकि अर्को चुनावी सभामा
म पनि तिमीजस्तै सुकिलो देखिन सकूँ
तर, विवश छु
तिमीले तिरेको भोटको मूल्यले
दुई दिन परिवारको छाक टार्नुपर्नेछ मैले
र, कम्तीमा छ महिना
तिम्रै चुनावचिह्नको कमिज पहिरिएर लाज ढाक्नुपर्नेछ ।

रहर त थियो
यसपटक भोटको मूल्यले
कम्तीमा स्वास्नीलाई एउटा फरिया किन्न सकूँ
ताकि अर्को चुनावी सभामा
ऊ पनि तिम्री स्वास्नीसित मञ्चमा बस्न नधकाओस्
तर, विवश छु
तिमीले तिरेको भोटको मूल्यले
छोराछोरीका लागि जाँगे र घाँगर किन्नु छ मैले
र, कम्तीमा छ महिना
साहुलाई ठेकी कोसेली बुझाएर बन्धकी थाम्नुपर्नेछ ।

रहर त थियो
यसपटक भोटको मूल्यले
हटियामा गएर अलिकति समृध्दि किन्न सकूँ
ताकि अर्को चुनावी सभामा
हामीमाझ तिमीले पुनः समृद्धिको गीत गुन्गुनाउन नपरोस्
तर, विवश छु
तिमीले तिरेको भोटको मूल्यले
मैले पुनः अभावसित पौँठेजोरी खेल्ने साहस किन्नुपर्नेछ
र, अर्को चुनावसम्म
तिमीलाई नै भगवान् सम्झिएर दयाको भीख माग्नुपर्नेछ ।

तर, विवश छु
मैले भोट बिक्रीमा राखेको छु
र, मनमनै प्रार्थना गर्दैछु
ईश्वर यो गरिबको दैलामा चुनाव बारम्बार आओस्
ताकि भोट बेचेर अझै केही छाक टार्नु छ मैले
नेताजी ! आऊ मलाई खरिद गर ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x