
लाचारी
हाँस्दै छिमेकी हतियार धस्ने हौँ हुस्सु हामी अझ तेल घस्ने । पाली बस्यौँ नाग विषालु डस्ने आमा चिथोर्दा पनि मौन बस्ने ।।

पुर्खा थिए वीर तथा विजेता
जन्मिन्न कोही किन राजनेता ।
यो देशको गर्न भनी लिलामी
बन्दै गयौँ उद्यत आज हामी ।।
हाँस्दै छिमेकी हतियार धस्ने
हौँ हुस्सु हामी अझ तेल घस्ने ।
पाली बस्यौँ नाग विषालु डस्ने
आमा चिथोर्दा पनि मौन बस्ने ।।
गाड्दै नयाँ पिल्लर सार्छ सीमा
आँखा लगायो अब लुम्बिनीमा ।
चाहे कराओस् लिपुलेक सुस्ता
सुन्दैन हाम्रो अब सात पुस्ता ।।
छाडी गए पूर्वज देश राम्रो
जोगाउने तागत छैन हाम्रो ।
देखी भयौँ उद्यत पर्न पासो
सुन्दै नसुन्ने लिपुको गुनासो ।।
मान्छे भुली सालिक पो सिँगाऱ्यौँ
श्रीखण्डलाई नचिनी बिगाऱ्यौँ ।
मोती, मुगा पत्थरसाथ साट्यौँ
रोजेर उल्टो पथ हिँड्न आँट्यौँ ।।
सुर्खेत