भावकेशर बरालअसार पन्ध्र
तर, यतिबेला के गर्दै होलान् खाडीतिर नौजवानहरू ? शरीरबाट तरतरी बगाएर मोतीजस्ता पसिना कि सिँच्दै होलान् मरूभूमिको वाफिलो माटो !

आज असार पन्ध्र
अविराम बर्सिरहेछ झरी
र, भेलसित मिसिएर बग्दै छ समय ।
हतार छ गाउँलाई
हतार छ सहरलाई
केही हल गोरू नारिएका छन् खेतमा
केही थान डोजर तयार छन् सडकमा
तम्तयार छन् कही जोर औँलाहरू
अखबारमा असारे विकासका चित्र कोर्न
आइपुगेकै छैन मुखियाको हुल
तर, तयार छन् दृश्यलाई कैद गर्न
चम्किला आँखाजस्ता क्यामेराका लेन्स ।
मगमगाइरहेछ भान्सामा भोजनको सुगन्ध
आलमारीमा मानौँ फूलझैँ सजिएका छन्
विदेशी ब्रान्डका थरी थरीका ह्विस्की
हो, उत्सव सुरू हुँदै छ गाउँमा
महोत्सव चलिरहेको छ सहरमा
किनकि आज असार पन्ध्र
आजै गर्नु छ धानदिवसको समुदघाटन
र, आजै सक्नु छ राजमार्गमा कालोपत्रे ।
गाउँका टारीहरू बाँझै छन्
बाँझिदै छन् बारी र समथर फाँटहरू
सुनसान छ मानव बस्ती
सहरतिर रोबोटजस्ता मानिसहरू
मेसिनजस्ता मन बोकेर दौडिरहन्छन्
उनीहरू नै योजना गर्दै छन्
सेमिनार कक्षमा कृषिक्रान्तिको वैचारिक विमर्श
र, उनीहरूले नै आयोजना गरेका छन्
टुँडिखेलतिर धानदिवसको विशेष समारोह
आज असार पन्ध्र
प्रत्येक बैठकमा चलिरहेछ दहीचिउराको भोज ।
तर, यतिबेला के गर्दै होलान् खाडीतिर नौजवानहरू ?
शरीरबाट तरतरी बगाएर मोतीजस्ता पसिना
कि सिँच्दै होलान् मरूभूमिको वाफिलो माटो !
कि भिजाएर सूर्यको डल्लोजस्तो रापिलो शरीर
छर्दै होलान् नुनिलो र अमिलो पसिनाको सुवास !
आज असार पन्ध्र
तिनै नौजवान सम्झिएर रोइरहेझैँ लाग्छ गाउँ
तिनै नौजवान पर्खिएर झोक्राएझैँ लाग्छ सहर ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































