धनकुटे कान्छाअसार १५ र धान दिवश
गाउँमा पहिरोले असार १५ थिचिरहेछ गाउँमा बाढीले असार १५ बगाइरहेछ शोक पसेको अनुहार भुलेर बिचरो किसान आशा रोपिरहेछ ।

१.
समयले
ह्याङ्गरमा झुण्डाएर
ऊ बाहिर गयो
र
पसिनाको गीत
जीवनका लागि
नबिर्सने उपहार भएको छ ।
ओ पसिनाका नदीहरू
आऊ मलाई भिजाएर
कहिल्यै नसुक्ने
नुनको पहाड बनाऊ
र
चाटेर अघाउन भोकहरू ।
२.
बाँझी भएर पनि आमा
ममता उमार्न कहाँ छाडेकी छन् र ?
हेर पृथ्वी गर्भिणी छिन्
बाउसेहरू काठका बाकसमा फर्किएका छन्
रोपाहारहरू चुरा फुटाएर सपना रोपिरहेछन् ।।
यही समय अभावका बिऊ छरेर
मेरो शासक समयलाई कोर्रा बर्साइरहेछ
अर्थात् यसो भनौँ बेसुरा बेठी नाचिरहेछ
र, भनिरहेछ अब गमलामा यो देश रोप्ने
र, कङ्क्रिटको छतमाथि बसेर असार फलाउने ।
टेलिभिजनको काँचमा ङिच्च अनुहार रोप्नु
र, सिँहदरबारको रातो किताबमा
लहलह बेइमानीका खेती लहराउनु ।
शासकहरूले भोकलाई भद्धा गीत बनाएर
भोकाहरूलाई भोलिको समाजवादको गीत सुनाउनु ।।
गाउँमा पहिरोले असार १५ थिचिरहेछ
गाउँमा बाढीले असार १५ बगाइरहेछ
शोक पसेको अनुहार भुलेर
बिचरो किसान आशा रोपिरहेछ
ऊ अन्नदाता हो सारा सृष्टिको
ऊ भगवान हो पेट र आन्द्राहरूको
मानो खाएर मुरी फलाउन
ऊ सदा सहनशील धर्ती भएको छ ।
यता मेरो देशको शासक
भद्धा समाजवादको धङ्धङे पिएर
आज असार १५ मनाइरहेछ ।
धनकुटा
Subscribe
Login
0 Comments
Oldest









































