आर.आर. चौलागाईंउसलाई कमरेड शब्द असाध्य मन पर्न थालेको छ
हिजो हामीजस्ताहरूले हाम्रो घर भरिएको थियो त्यसैले कमरेड शब्दलाई ऊ असाध्य घृणा गर्थ्यो तर आज ऊजस्ताहरूले हाम्रो घर भरिँदै छ ।

जतिबेला हामी बन्जर भूमि जोतिरहेका हुन्थ्यौँ
ऊ हाम्रो कुटो कोदालो खोस्न आइपुग्थ्यो
जतिबेला हामी कुवा खनिरहेका हुन्थ्यौँ
ऊ हामीलाई बिथोल्न आइपुग्थ्यो
जतिबेला हामी खेतबारीमा अन्न लगाइरहेका हुन्थ्यौँ
ऊ हामीलाई कोर्रा हान्न आइपुग्थ्यो
जतिबेला हामी बाटो बनाइरहेका हुन्थ्यौँ
ऊ हामीलाई आक्रमण गर्न आइपुग्थ्यो
त्यतिबेला कमरेड शब्दलाई ऊ असाध्य घृणा गर्थ्यो ।
जतिबेला हामी सुन्दर संसार सृजना गर्न
कविता, कथा, निबन्ध र गजल लेखिरहेका हुन्थ्यौँ
ऊ हाम्रा कलमहरू भाँच्न आइपुग्थ्यो
जतिबेला हामी दाजुभाइ र दिदीबहिनीहरूलाई एक जुट हुन भनिरहेका हुन्थ्यौँ
ऊ हाम्रा दाजुभाइ र दिदीबहिनीहरूलाई रक्ताम्य हुने गरी कुट्न आइपुग्थ्यो
हामी देशलाई माया गर्थ्यौँ
ऊ हामीलाई अराष्ट्रिय तत्व भन्थ्यो
हामी जनतालाई सम्मान गर्थ्यौँ
ऊ जनतालाई दास र कमाराको व्यवहार गर्थ्यो
त्यतिबेला कमरेड शब्दलाई ऊ असाध्य घृणा गर्थ्यो ।
जतिबेला हामी अँध्यारोका विरुद्ध
आवाज उठाइरहेका हुन्थ्यौँ
ऊ हामीलाई तितरबितर पार्न
कठबाँस र बन्दूकले निशाना ताकिरहेको हुन्थ्यो
जतिबेला हामी स्वतन्त्रताको गीत गाइरहेका हुन्थ्यौँ
ऊ हाम्रा बाजाहरू फुटाउन बाँदर, स्याल र हुँडारहरूको जत्थासहित आइपुग्थ्यो ।
हिजो
हामीजस्ताहरूले हाम्रो घर भरिएको थियो
त्यसैले कमरेड शब्दलाई ऊ असाध्य घृणा गर्थ्यो
तर आज
ऊजस्ताहरूले हाम्रो घर भरिँदै छ
त्यसैले उसलाई कमरेड शब्द असाध्य मन पर्न थालेको छ
अर्थात्
उनीहरू हाम्रो घरमा टनाटन हुने गरी भरिँदै छन्
अनि हामीचाहिँ हाम्रो घरबाट धमाधम खेदिँदै छौँ ।
२०७९ असार २१
Subscribe
Login
0 Comments
Oldest








































