सुरज पराजुलीघोषणा पत्र
यसरी पार्टीहरूको घोषणा पत्र पढिरहँदा लाग्छ कुनै दिन मेरा सन्तानले भेटाउने छैनन् यो देश र शहीदको रगतले कोरिएको यो देशको मानचित्र ।

देशलाई आत्मनिर्भर बनाउन
खोलिनेछ ठुला-ठुला कल-कारखाना
जहाँ उत्पादन हुनेछ
बिभिन्न पार्टीका झोला र झोला बोक्ने काँधहहरू
खाद्यान्न परिपूर्तिका लागि
अत्याधुनिक प्रविधिद्वारा गफ जोतेर
उब्जाइनेछ,
पाँच वर्षसम्म खान पुग्ने
स्वादिला आश्वासन
कृषि क्रान्ति अन्तर्गत
किसानहरूको खेतमै पुग्नेछ (सपिङ) मल
जहाँ किन्न सकिनेछ
बिभिन्न ब्राण्डका अन्न
कुहिनोबाट निस्किने विद्युतीय तरङ्गलाई
उपभोग गरी
हात-हातमा स्थापना हुनेछ
हातविद्युत आयोजना
खाल्डो परेको अर्थतन्त्रमा
बनेको छ तपाईंहरूकै रगत पसिनाको सागर
त्यसमा चलाइनेछ
पानीजहाजको गौरवपूणर् कार्यालय
जनता सबै साक्षर बनाउन
पढाइनेछ/लेखाइनेछ/घोकाइनेछ
पार्टीको पर्चा र घोषणा पत्र
पक्षको जिन्दावाद र विपक्षको मुर्दावाद
स्वास्थ्यका लागि
चुनाव सुरु नहुँदै पिलाइनेछ
विदेशी ब्रान्डका अमृत
र
फाइलहरूमा खडा गरिनेछ
भव्य अस्पताल
चोरी-डकैती/हत्या-हिंसा
हुने छैनन् कुनै अपराध
किन कि
देश खाली गरेर
बेचिनेछ सबैलाई, अर्काको देशमा
फ्रि भिषा फ्रि टिकटमा
सुशासन त नारा नै हो
छोडिने छैन भ्रष्टाचारीलाई
मारिनेछ, (ग्वाम्मै अँगालो)
यसरी पार्टीहरूको घोषणा पत्र पढिरहँदा लाग्छ
कुनै दिन मेरा सन्तानले भेटाउने छैनन्
यो देश
र
शहीदको रगतले कोरिएको
यो देशको मानचित्र ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































