
विडम्बना !
खोला वृक्ष र अग्निमा कति जले, प्यूँदै सिसी क्ष्वेडका । चेपे न्याय इमान छेदगणले, प्यूँदै सिसी स्वेदका ॥ चर्का रक्तपिपासु कै रजगजी नाच्छन् ठुला तस्कर । मुर्दा बन्न गयौँ जनार्दन हरे ! लाग्छौँ लवालस्कर ॥

बद्रीप्रसाद दाहाल :
नापी बैँक र मालपोत अगुवा भत्के निसाफी घर ।
पैसामै सब बेच्न कस्सिन गए मार्छन् दलाली तर ॥
चर्का छन् कर व्याज औ ऋण यहाँ, खान्छन् छली रिश्वत ।
धेरैका घरबार बन्धक हुँदा, हुन्छन् लिलामी अब ॥
१
जग्गा औ घरबारहीन जनता बन्दैछ यो देशमा ।
जोगी भेष लिएर मच्छड किरा, पार्दैछ हा ! क्लेशमा ॥
सामन्ती नव आढ्य झुन्ड बलमा बेच्ने भए मानिस ।
बाँच्नै मुस्किल धान्न झन् कठिन भो ! लाग्दैन क्यै नालिस ॥
२
खोला वृक्ष र अग्निमा कति जले, प्यूँदै सिसी क्ष्वेडका ।
चेपे न्याय इमान छेदगणले, प्यूँदै सिसी स्वेदका ॥
चर्का रक्तपिपासु कै रजगजी नाच्छन् ठुला तस्कर ।
मुर्दा बन्न गयौँ जनार्दन हरे ! लाग्छौँ लवालस्कर ॥
३
हामी पूर्ण उमेर बाँच्न अहिले सङ्कष्ट धेरै पर्यो ।
आगो वृक्ष विषादि वा नदनदी हाम्रो समाधि भयो ॥
दुब्लो आर्थिक पक्ष अक्ष नहुुँदा, बढ्दैछ हत्या स्वयम् ।
‘द्रष्टा— राजनयज्ञ’ उम्रिन सके, भन्थ्यौँ अझै स्वागतम् !!
४
०००
धादिङ