नगिता लेप्चा राईप्रमुख अतिथि मुर्दावाद !
प्रमुख अतिथिको निम्ति आसनको निम्ति एकैजना साहित्यकारको नाम प्रस्ताव भएन । बुझेँ हाम्रो संस्थामा भानुभक्त चिनाउने साहित्यकार होइन मोटो रकम दिने लबरपाँड़ेहरूलाई प्रमुख अतिथिको आसनमा राख्ने लोभ लागेको रहेछ ।

नगिता लेप्चा राई :
भानुजयन्तीको सिजन लाग्यो । हामी सङ्घ संस्था गर्नेहरू अहिले भानुजयन्तीको चन्दा असुल गर्न व्यस्त छौं । कहिले नबोल्ने मानिससित पनि नमस्कार नमस्कार भनी हात जोडि़रहेछौं । एउटा नमस्कार माइनस हुनु नै भानुजयन्तीको हाम्रो बजेटमा जोड़से धक्का लाग्ने नै हो । भानुजयन्ती आयोजना गर्नु भनेको फलामको चिउरा चबाउनु जतिकै हो । कम्तिको पनि भानुजयन्तीसम्म सबैसित म्याउँ म्याउँ गर्नैपर्छ । राम्रो गतिलो मोटो रकम भेटीको आवश्यकता परेको हुन्छ यसबेला । येन केन प्रकारेण भानुजयन्ती सकिएपछि खायो भाँड़ो मिल्कायो ठाँड़ो ।
भानुजयन्ती सफल पार्न चन्दा सङ्ग्रह गर्नु झ्याउला भन्दा नि भानुजयन्ती कार्यक्रममा अतिथि छनोट गर्नुजस्तो झ्याउला केही जस्तो लाग्दैन मलाई । म परेँ गाउँकै संस्थाको महासचिव । म जन्मिनुभन्दा अघि स्थापित भएको यो संस्थाले प्रति वर्ष भानुजयन्ती भव्य र सभ्य रुपमा आयोजन गर्ने गर्दछ । भानुजयन्ती आउनु भनेको नै हाम्रो गाउँमा दसै तिहार आएकै बराबर हो । भानुजयन्तीको हावा गाउँमा चल्यो कि दाउरा-सुरुवाल, ढाका टोपी, ढाका गुन्यूँ चोली खोज्नेहरूको ताँती देखिन्छ । थोरैले सिलाउँछन्, धेरैले मागेर भानुजयन्ती कार्यक्रम टार्ने गर्दछन् । एकदिन घरमा रामायण ग्रन्थ नपल्टाउनेले गाउँमा रामायणको ग्रन्थ खोज्न हतारिन्छन् । मेरो विचारमा एक प्रति रामायण किनेर राख्नु नि । बस् भानुजयन्तीको दिन अर्कालाई मागी ल्याएको रामायण पाठ गर्दैमा भयङ्कर भानुप्रेमी भन्न मिल्दैन । अर्कालाई मागेर ल्याएको जातीय पहिरन पहिरिएर भानुजयन्ती मात्र भानुको सच्चा श्रद्धा हुन्न जस्तो लाग्छ । यो रोग हाम्रो गाउँमा मात्रै हो कि अरु अरु गाउँतिर पनि होला… म भन्नु सक्तिनँ ।
खास कुरो के भने, म परेँ हाम्रो गाउँको संस्थाको महासचिव । भानुजयन्ती कार्यक्रममा अध्यक्षको जिम्मेवारी संस्थाकै अध्यक्षलाई प्रदान गर्ने नियम रहेकोले अध्यक्ष खोज्न गाह्रो पर्ने कुरै आएन । तर खास प्रश्न के छ भने, प्रमुख अतिथि कसलाई बनाउने ? अरु तिर कस्तो परम्परा छ कोनि, हाम्रो यतातिर भने भानुभक्तबारे केही ज्ञान होस् नहोस् मतलबै छैन तर हुनेखाने, कुनै सरकारी कार्यालयका उच्च अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि बनाउने एउटा फेसनै भएको छ । यो रोगले हाम्रो संस्थालाई पनि नभेटेको होइन । प्रमुख अतिथिले मोटो रकमको माल झार्नुपर्यो । भानुजयन्तीमा हामीलाई भानुबारे प्रवचन चाहिएको होइन भानुको निहुँमा क्याँटका क्याट नोट ।
म आफू सामान्य साहित्य लेख्ने भएकोले भानुभक्तबारे जान्ने र बुझ्ने उत्कट इच्छा छ । कारण विद्वान प्रमुख अतिथिले आफ्नो सम्भाषणमा हिङ नभए पनि हिङको टालोकै रुपमा भए पनि भानुबारे मैले नजानेका, नसुनेका एक दुइवटा नयाँ कुरा सुनाउलान् भन्ने लोभमा भनुँ या स्वार्थमा मैले हाम्रो यस भानुजयन्ती कार्यक्रममा नेपाली साहित्यका धुरन्धर विद्वान विषक्रोबा अधिकारी सरलाई प्रमुख अतिथिको आसन प्रदान गर्ने प्रस्ताव राखेँ । हाम्रो यस संस्थामा मेरो प्रस्ताव पन्ध्र आनाले समर्थन गरे पनि रहल एक आनाले विरोध गर्दा रहेछन् भने त्यस दिन बुझेँ जुन दिन विषक्रोब्रा सरको प्रस्ताव खारिज भयो ।
मलाई अरु बोल्न नदिइकनै हरिहर सापकोटाले विरोध गरे । छक्क परेँ म । विषक्रोब्रा सरलाई किन प्रमुख अतिथि नराख्ने भनी प्रश्न गरेँ ।
हरिहर प्याच्चै बोले, विषक्रोबा सरले भानुभक्तमाथि रामायण नै भन्छन् त्यो राम्ररी थाहा भएकै कुरो हो । तर ती मान्छेलाई मनै पर्दैन ।
एकजनाले भने, तिमीलाई कोही पनि मन पर्दैन भनेर उनलाई भानुजयन्तीमा बोलाउँदै नबोलाउनु ?
फेरि उनको जवाब, होइन मैले त्यसो भन्या होइन बा । विषक्रोबा सरले एक पैसा निकाल्नु मान्दैन । त्यस्तो मान्छेलाई प्रमुख अतिथिको आसनमा राखेर के फायदा भनेको ।
पचहत्तर हिउँद खाइसकेका बोधविक्रम काका जसले साहित्यका ठूल ठूला पुस्तकहरू पढ़ेका छन् । यिनी साहित्यकार त होइनन् तर साहित्यका एकजना इमान्दार पाठक हुन्, संस्कृति प्रेमी हुन् । काका बोले, हामीले भानुजयन्ती पैसाको लागि आयोजना गरेको कि भानुलाई श्रद्धा गर्न ? हामी कति जनाले भानु बुझेका छौं ? कति जनाले भानु चिनेका छौं ? अहिले एकजना विद्यार्थीलाई भानु को हुन् भनी सोधे के भन्लान् ? भानुजयन्ती आयोजन गर्नु भनेको रामायण पाठ गर्नु, नाच्नु र गाउनु मात्रै होइन बाबुज्ञ दीप प्रज्वलन, माला पहिरायो अनि अतिथिगणको छातीमा यत्रो ठूलो ब्याज खिलिदियो । बस त्यतिमा मात्रै भानु जयन्ती सीमित ? एउटा सयपत्री फूलको मालाको ३० रुपियाँ, छातीमा ब्याजको ३५ रुपियाँ अतिथिलाई पहिराएको फूलको माला अतिथिगणले घरमा लाने हुन् ?
सञ्चमाया काकी बोलिन् – काँ लान्छन् । यतै कतै भूइँतिर मिल्काइ राख्छन् ।
बोधबिक्रम काकाले थपे – पैसाको नाश होइन ? अब कुनै पनि कार्यक्रममा अतिथिगणलाई फूलको माला पहिराउनु हुन्न ।
भाइ बोल्यो – त्यसो भनेर काँ हुन्छ बा । फूलको माला वा खदा पहिराएन भने अतिथिको अपमान होइन र ?
बोधबिक्रम काकाको सन्तोषजनक जवाफ – के को अपमान ? कसको अपमान ? खै अन्य जातिको कार्यक्रममा सभाध्यक्ष, अतिथिहरूलाई खादा माला पहिराउँदैन त । तिनीहरूको कार्यक्रम मज्जाले भइराख्या छ । स्वाङ पार्नुपर्ने चै हामीलाई नै ।
सबैले आफ्नै लबीका मान्छेलाई अतिथिको आसनमा राख्ने दाउमा आफ्नै मान्छेको नाम फलाक्न थाले । त्यसदिनको सभामा अतिथिको कुनै छिनाफाना नभई नै सभा विसर्जन गरियो ।
निकै राती घर पसेँ । बेलुकीको भोजनपछि सबै काम ठामठिम पारेर ओछ्यानमा ढल्केँ । बेलुकी सुत्ने बेलामा ढल्किएर मोबाइल कोट्याउने बानी छ । मोबाइल कोट्याउँदै थिएँ । म्यासेञ्जरको घण्टी बज्यो । रमेश प्याकुरेल दादा रहेछन् । उनीसित भर्खर भर्खर परिचय भएको । साहित्यिक । तर साहित्यमा त्यति नाम छैन । फेसबुक वालमा आक्कल झुक्कल कविता पोष्ट गरेका बाहेक अन्यत्र उनका रचनाहरू कतै छापिएको देखेकी छैन मैले । प्याकुरेल दादाले लेखेका रहेछन् म्यासेञ्जरमा – बुनू यसपाली पनि तिमीहरूको संस्थामा भानुजयन्ती कार्यक्रम हुँदैछ होइन ?
मेरो उत्तर – हजूर हुन्छ नि दा । हामी वर्षैपिच्छे भानुजयन्ती, देवकोटा जयन्ती, कटुवाल जयन्ती, मोती जयन्ती आयोजन गर्छौ नि ।
उनको जिज्ञासा – यसपाली बुनूको गाउँमा हुने भानुजयन्तीमा म पनि आउँ भन्या ।
खुसी भएर लेखिपठाएँ – त्यो त हाम्रो संस्थाको सौभाग्य हो । आउनोस् न ।
उनको सोधाइ- के छ त्यहाँ ?
– मतलब ?
– किन बुझ्नुभएन मेरो भनाइको ?
– बुझिनँ नि दा । क्लियर भन्नु न ।
– होइन यसो प्रमुख अतिथि वा विशिष्ट अतिथि वा त्यति पनि नभए यसो म़ञ्चमा बस्नु पाइन्छ कि भनेको नि ।
यी मान्छे पनि मञ्चमै बस्ने दाउमा रहेछन् भन्ने कुरो स्पष्टै बुझेँ । एक किसिमको ग्लानी भएर आयो । किन हाम्रा साहित्यकारहरू अतिथि नै भएर बस्न चाहन्छन् ? एकातिर पैसावाल र ओहोदावाललाई प्रमुख अतिथि बनाउने होड़ अर्कोतिर आफ्नै खेमाका मान्छेलाई प्रमुख अतिथिको आसनमा राख्ने जल्पना । कोही चाहिँ साहित्यमा बामे सर्दै गर्नेहरू अतिथिको आसनमा विराजमान हुने कल्पना । वाह !
मेलै अबेर गरी जवाब दिँदा उनले तीनवटा प्रश्न चिन्ह ??? पठाए । मैले रेसपोन्स नै गरिनँ । मोबाइलमा भिडियो हेर्दै थिएँ, म्यासेञ्जरमा उनै प्याकुरेल दाको कल आयो । सात-आठपल्ट कल गर्दा पनि रिसिभ गरिनँ । एकक्षण पछि भिडियो कल । वाक्कै लगाए । रात विरातमा कसैको भिडियो कल किन रिसिभ गर्ने ?
कति बेला निदाएछु थाहै भएन । बिहान उठेर यसो मोबाइल कोट्याउँन थालेँ । म्यासेञ्जरमा प्याकुरेल दालाई शुभ प्रभात पठाउँ भनेर हेरेको त उनले मलाई राती नै ब्लक गरेछन् । हे भगवान् । सानु हाँस उठेन । टपर्टुइँय्ये साहित्यकारको चालामाला देखेर हुनसम्मको कुरीकुरी लागेर आयो । के गर्ने ? हाम्रो गाउँमा मात्र होइन जताततै यस्तै परम्परा रहेछ भनी आफैलाई सान्त्वना दिएँ ।
अड्डाबाट आउँदैथिएँ । मूर्ख अड्डाका सभापति अनि हाम्रो गाउँका गिद्दे बड़ाले बोलाए । अरु बेला हेर्दा पनि नहेर्ने, बोल्नु त परै जावोस्, गिद्दे काकाले छोरी के साह्रो बिजी तिमी हँ ? भने ।
स्कूटी गिद्दे काकाको अघि घ्याच्चै रोकी नमस्कार गरेँ । थाहा छ गिद्दे काकाले मलाई मन पराउँदैनन् । रात विरात भिडियो कल गर्छन् । रात विरातमा कसैको कल रिसिभ गर्छु होला । त्यसैले उनी मसित रिसाएका हुनन् । भनेँ, भन्नु न काका ।
– होइन छोरी । तिमीहरूले त ग्राण्ड पाराले भानुजयन्ती गर्दैछौ भन्ने सुनेको थिएँ ।
– अन्त आउनोस् ल काका ।
– नबोलाई निम्तो नदिई त मरिगए आउँदिनँ । मेरो पनि गाउँमा प्रेष्टिज छ नि हौ ।
– हो नि गिद्दे काकाको सम्मान कति छ त्यो मलाई थाहा छ नि काका ।
– होइन कुरा यस्तो कि छोरी…यो संस्थाको कतिपय थोत्रे केटाहरूलाई मनै पर्दैन…र म नआएको । तिनीहरूको अनुहारै हेर्नु मन पर्दैन ।
– होइन काका….तपाईं भानुलाई श्रद्धा निवेदन गर्न आउनुहुन्छ कि बिचारा भाइहरूको अनुहार हेर्न ?
– हाम्रा जातीय कवि भानुलाई मान्छु र त मलाई पनि यसपाली तिमीहरूको भानुजयन्तीमा आउँ भनेको । फेरि खासै कुरो…यसपाली तिम्रो अगुवाइमा भानुजयन्ती हुँदैछ । हुनसम्मको खुसी लागेको छ ।
– काकाहरूको उत्साह, मायाले त हो । आउनोस् न ल काका। निम्तो पत्र प्रेसबाट आको छैन कि काका…आएपछि मै लिएर हजूरको घरमै आउँछु नि ।
चारैतिर पालाक् पुलुक् हेरी उनले मेरो कानैमा गुटखा खाएको दङ-दङ्ती गन्हाउने मुख गाड़ेर भने – (म भने घिनले मरिगएँ) होइन कि छोरी कुरो चैं मलाई प्रमुख अतिथि बनायौ भने मेरो वक्त्व्यको समयमा दस चै ओपन घोषणा गर्छु । किनभने जीवनमा म कहिल्यै पनि प्रमुख अतिथिको आसनमा बसेको छैन ।
-गिद्दे काकाको कुरा सुनेर बिलखवन्द परेँ म ।
फेरि सभा बस्यो । विषय उही प्रमुख अतिथि । म सोझी मान्छे…गिद्दे काकाको प्रस्ताव राखेँ । कोषाध्यक्ष भाइ डरलाग्दो पाराले अग्निशर्मा भए । आँखा राता राता पार्दे गर्जे- त्यो गिद्देलाई प्रमुख अतिथि ? त्यसले त एक लाख दियो भने पनि त्यसलाई प्रमुख अतिथि हुनु दिन्नँ… एक दिन्नँ, दुइ दिन्नँ, तीन दिन्नँ ।
कोषाध्यक्ष भाइको कुरा सुनेर छक्कै परेँ । लाज लाज पनि लाग्यो । एकजनाले थपे, हो त्यो गिद्दे बूढ़ो खतम छ । गाउँमा जोसित मन मिल्दैन नि त्यसको खोइरो खन्छ ।
कोषाध्यक्षको गर्जाइ- त्यो गिद्देले नि हाम्रो राशिन कार्ड अफिसमा च्यातेर फ्याँकेको छ । यस्तो मान्छेले समाजको भलाइ गर्छ ?
गिद्दे काकाके व्यर्थै कुरा निकालेछु जस्तो लाग्यो । जसो तसो प्रसङ्ग बदलिएर प्रमुख अतिथि लु कसलाई राख्ने भन्ने प्रश्न गरे सभामा ।
प्रमुख अतिथिको निम्ति आसनको निम्ति एकैजना साहित्यकारको नाम प्रस्ताव भएन । बुझेँ हाम्रो संस्थामा भानुभक्त चिनाउने साहित्यकार होइन मोटो रकम दिने लबरपाँड़ेहरूलाई प्रमुख अतिथिको आसनमा राख्ने लोभ लागेको रहेछ । भानुभक्त चिनाउनलाई साहित्य बुझ्नु नपर्ने रहेछ…. क्याँटका क्याँट नोटको बिटा भेटीस्वरुप चढ़ाउनुपर्ने रहेछ । सबैको मर्म बुझेपछि मनले नमान्दा नमान्दै पनि मैले उनीहरूकै प्रस्ताव स्वीकारी लिएँ ।
भानुजयन्ती जिन्दावाद !
प्रमुख अतिथि मुर्दावाद !!
०००
जलपाईगुड़ी, भारत
Subscribe
Login
0 Comments
Oldest







































