सुलसुलेगजल उत्सवको पाँचौ शृङ्खला भव्य रुपमा सम्पन्न
कार्यक्रममा दोस्रो चरणमा अमेरिकाको विभिन्न राज्यहरू तथा कोलोराडोमा रहनुभएका २२ जना गजलकारहरू प्रत्येकले दुई दुई वटा गजल वाचन गर्नुभएको थियो ।

कोलोराडो, २०८० असार २० । एएनए डेनभर सम्मेलन २०२३ मा गजल यात्रा र अनेसास, कोलोराडोद्वारा संयुक्त रुपमा आयोजित गजल उत्सव- ५ भव्य रुपमा सम्पन्न भएको छ ।
एएनए सम्मेलनको दोस्रो दिन जुलाई २ तारिख आइतवार दिउँसो २ बजेबाट शुरु गरिएको कार्यक्रम करिब ४ घण्टासम्म चलेको थियो । कार्यक्रमको शुरुवात गजल गायनबाट भएको थियो जसमा महेश्वर पन्तले दुई र अंकित न्यौपानेले तीन गजल गाउनुभएको थियो । महेश्वर पन्तले आफ्नै रचना गाउनुभएको थियो भने अंकित न्यौपानेले आचार्य प्रभा र भुपेन्द्र महतद्वारा रचित तथा मनोजराज शिवाकोटीद्वारा सङ्गीत गरिएका दुई गजल र बहुचर्चित ‘ऊ जितेर गई या हारेर गई’ भन्ने बोलको गजल गाएर उपस्थित दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।
गजल गायनको निमित्त वाद्यवादन गर्नुहुनेहरूमा हार्मोनियममा मनोजराज शिवाकोटी, तवलामा सुरेन्द्र महर्जन, गितारमा मनोज तुलाधर, र म्यान्डलिनमा सुरेश प्रधान हुनुहुन्थ्यो ।
कार्यक्रममा दोस्रो चरणमा अमेरिकाको विभिन्न राज्यहरू तथा कोलोराडोमा रहनुभएका २२ जना गजलकारहरू प्रत्येकले दुई दुई वटा गजल वाचन गर्नुभएको थियो । यसरी गजल वाचन गर्नुहुने गजलकारहरूमा क्यालिफोर्नियाबाट खिम केसी र प्रमोद अमात्य; कोलोराडोबाट पदम विश्वकर्मा, भुपेन्द्र महत, डा. खगेन्द्रप्रसाद दाहाल, केशव आचार्य, आचार्य प्रभा, मिलन कोइराला, मनोजराज शिवाकोटी, सन्तोष पाण्डे ‘हिलियम’ र पार्वती शर्मा; मेरिल्याण्डबाट रोहित राना; म्यासाचुसेटबाट गोवर्द्धन पूजा; नेब्रास्काबाट डा. खगेन्द्र दाहाल; न्युयोर्कबाट बिष्णुहरी भण्डारी; पेन्सेलभिनियाबाट सुशील ताम्राकार; टेक्सासबाट सतीश त्रिपाठी, बासु पौडेल, बासु पुष्पा अधिकारी, पवन लामिछाने, रोशन श्रेष्ठ; भर्जिनियाबाट राज क्षेत्री ‘राहुल’ र प्रकाश आचार्य हुनुहुन्थ्यो ।
फरक शैलीमा प्रस्तुत गरिएको गजल वाचन र गायनको उक्त कार्यक्रमलाई उपस्थित दर्शक श्रोताहरुले अत्याधिक मन पराएका थिए । कार्यक्रमको अन्त्यमा ए.एन.ए.का अध्यक्ष विजयराज भट्टराई, गजल यात्राका संयोजक पवन लामिछाने तथा अनेसास, कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले उत्सवमा भागलिने गायकहरू र वाद्यवादकहरू, गजलकारहरू, पत्रकारहरू र स्वयमंसेवकहरूलाई प्रसंशापत्र प्रदान गरेका थिए ।
२०१८ मा पहिलो पटक टेक्ससको डालसबाट शुरु गरिएको गजल उत्सवको दोस्रो संस्करण गजल उत्सव-२ पनि टेक्ससको डालसमै २०१९ मा सम्पन्न भएको थियो । यसै गरी गजल उत्सव- ३ ओहायोको सिनसिनाटीमा २०१९ मा, गजल उत्सव- ४ टेक्ससको ह्युस्टनमा २०२१ सम्पन्न भएको थियो ।
एएनए डेन्भर सम्मेलनमा आयोजना गजल उत्सव- ५ मा यसको छैटौँ संस्करण गजल उत्सव- ६ बस्टन म्यासाचुसेटमा गर्ने घोषणा गरिएको छ ।
०००
– स्रोत : बिआरटी नेपाल / तस्विर : प्रमोद अमात्य
Subscribe
Login
0 Comments
Oldest












































