डिल्लीप्रसाद मूलतिहुनबाह्रभाइ बा (अध्याय– ९)
बाबु दुर्मुखा काम यो गर भ्रष्ट बन्नु है एक नम्बर जेसुकै कुरा दामले भयो नाम भ्रष्टकै अग्लिँदै गयो । काट फेदमै वृक्ष सत्यको मास्नुपर्छ बा राख्नुहुन्न त्यो भन्नुहुन्छ बा बाबु दुर्मुखा यी सबै कुरा झट्ट सिक्नजा ।

डिल्लीप्रसाद मूलतिहुन :
भन्नुहुन्छ बा दुष्ट पुज्न जा
अर्थ आउला त्यो सलक्क खा
चेपचाप जा हातमा समा
केछ जेबमा झट्ट झिक्न ला ।६१।
भन्नुहुन्छ बा बाबु दुर्मुखा
जानुपर्छ है चोर मार्ग जा
जोड गर्नु बा टाप्पटिप्ममा
छुट्नु हुन्न है लाप्पलिप्पमा ।६२।
दामवाल हो या त रिक्त त्यो
चिन्नुपर्छ त्यो बल्ल काम भो
चारतर्फ नै घेर्न थाल्नु है
नाग पासले बेर्न थाल्नु है ।६३।
सत्यतथ्य जो बोल्नु हुन्न है
गोप्य योजना खोल्नु जुन्न है
भित्रभित्र नै खेल खेल्नु है
चेपचापमा डाक्नु पेल्नु है ।६४।
राजनीतिको बोटमा चढी
थाल्नुपर्छ बा गर्न चाकडी
राज्यभित्रका मुख्य अङ्गमा
खेल्नुपर्छ है गुप्त ढङ्गमा ।६५।
लाग उच्चको सेकतापमा
निम्न भेटिए हाल रापमा
ठाउँ ठाउँका राज्यकोषका
स्वस्थ देखिए चुड्नु ती नसा ।६६।
छिद्रछिद्रमा न्याय भित्रका
दर्बिला नसा मास मित्रका
लाग भ्रष्टको पक्षमा अति
सिक्नु पर्छ बा चोरको मति ।६७।
मान्न छोड बा पापको डर
थाल मार्गमा राख्न पत्थर
त्यो इमानको कर्म नास्नुछ
हो सुकर्मका वृक्ष भाँच्नुछ ।६८।
बाबु दुर्मुखा काम यो गर
भ्रष्ट बन्नु है एक नम्बर
जेसुकै कुरा दामले भयो
नाम भ्रष्टकै अग्लिँदै गयो ।६९।
काट फेदमै वृक्ष सत्यको
मास्नुपर्छ बा राख्नुहुन्न त्यो
भन्नुहुन्छ बा बाबु दुर्मुखा
यी सबै कुरा झट्ट सिक्नजा ।७०।
०००
ओखलढुङ्गा, हाल– चाँगुनारायण, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































