साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सूर्ति र म

धेरै समय भयो सूर्ति खान छोडेको छु । कसैको मन राखिदिन अलिकति खाए झैँ गरेछु भने पनि किनेरै खाने छैन । यो मेरो प्रण हो । सूर्ति सेवन स्वास्थ्यको लागि हानिकारक छ ।

Nepal Telecom ad

कमल भैरवेली :

पटकपटक म सूर्तिको लतमा परेको मान्छे हुँ । इन्टररमिडिएट पढ्दाताका एक रुमपाट्र्नर साथीले सूर्ति खान्थे, अझै पनि खान्छन् । छोड्नै सकेनन् तिनले । उनले त्यसरी सूर्ति खाँदा त्यसले मलाई पनि तुलबुली जगायो । सुटुक्क उनले सूर्ति कहा राख्छन् चियो गरेर उनले थाहा नपाउने गरी झिकेर खान थालेँ । उनले थाहा नपाउने गरी । पछि मागेरै खान थालेँ । समयक्रममा किनेरै खान थालेँ । पोकाका पोका सूर्ति भित्र्याउन थालेँ । अलि धेरै पैसा हातमा परेको बेला ।

सूर्ति मिचीमिची खान मलाई कसैको डर थिएन रुममा । बाहिर भने म अरुले देख्ने गरी कहिल्यै त्यसरी मिचेर खाइनँ । कम्तीमा मैले सूर्ति खान सिके पनि खुल्ला रूपमा सूर्ति खान एकप्रकारको सङ्कोच लाग्थ्यो । गतिलो चिज खाइरहेको छैन भन्ने मलाई हेक्का थियो । यद्यपि म अल्लारे नै थिएँ । करिब ६ महिना सूर्तिको गुलाम भैसकेपछि भने अचानक चटक्कै त्यागिदिएँ सूर्तिको लत ।

त्यसपछि भने म सूर्ति सेवन स्वास्थ्यको लागि हानिकारक छ भन्ने मूलमन्त्रलाई धारण गर्दै चटक्क त्यागिदिएको थिएँ । विवाह भयो । छोराछोरी जन्मे । शिक्षक पेशामा रहँदा त्यतातर्फ सोच्दा पनि सोंचिन । मेरो केस पाक्यो । अहँ, सूर्ति लामो समयसम्म मेरो अम्मल बनेन । पछि मेरो पेशा बद्लियो । कृषि पेशामा लागेँ । उक्त पेशामा रहँदा मेरो सम्पर्क ज्यादा कामदारहरूसँग हुन थाल्यो । उनीहरू प्रायः सबैले सूर्ति मिचेको देख्थेँ । त्यसले फेरि मलाई तुलबुली जगायो । थोरै मागेर खान थालेँ । बिस्तारै आफै किनेर खान थालेँ । घरपरिवार कसैलाई थाहा नदिई सूर्तिको बुजो हाल्न थालेँ । सूर्तिको डिब्बा नै किनेँ । कतै कुनामा सूर्तिको डिब्बा लुकाउने गर्थें । छोरछोरी, श्रीमतीले थाहा पाउछन् कि भन्ने अज्ञात भय पनि थियो । एकदिन बिर्सेर बिस्तरामा सूर्तिको डिब्बा छोडेंछु । त्यो थाहा पाएर श्रीमतीले चाला त ठिक छैन नि भनेर शब्दवाण प्रहार गरिहालिन् । संयोगले त्यो दिन साथी आएको थियो । मैले साथीले बिर्सेर गएछ भनेर श्रीमतीलाई राम्रैसङ्ग झुक्याएँ त्यस दिन ।

एकपटक सूर्तिको लतमा परेपछि त्यति सजिलै कहाँ छोड्न सकिन्थ्यो र ! मैले अलि परको पसलबाट सूर्ति किन्दै मुखमा राखेर बुज्याउने क्रमलाई निरन्तरता दिएँ । सूर्ति बिना दिनचर्या सुरु गर्नै नसक्ने भएँ । मैले सूर्तिको डिब्बा घरको कुना काप्चामा लुकाउदै गएँ । जहाँ राखे पनि सूर्तिको डिब्बा श्रीमतीले भेट्ट्याइ हाल्थिन् । अन्तमा हार खाइ एकदिन श्रीमतीलाई भनेँ के गर्ने बुढी सारै तनाव हुँदा यसो मुखमा राख्ने गर्छु । माइन्ड नगर ।

आफू सूर्तिको लतमा परे पनि मैले श्रीमती छोराछोरीको अघिल्तिर कहिल्यै सूर्ति माडिनँ । माड्ने पनि छैन । तर पनि सूर्तिको डिब्बा भने श्रीमतीले भेटाइ नै रहिन् । कहिले ट्वाइलेटमा, कहिले खल्तीमा, कहिले बिस्तरामुनि, कहिले सोफाको पछाडि, कहिले टिभीको पछाडि, कहिले खोपामा कहिले कहाँ त कहिले कहाँ । अब उनी पनि मेरो आदत पूर्ण रुपले बुझिसकेकी हुँदा गनगन गर्न छोडिन् ।

सूर्ति मुखमा हालेपछि प्रायः म अलि अलग्गै बस्ने गर्थें । कहिले घरको छतमा गएर सूर्ति मुखमा हालेर गीत गुनगनाउथेँ । कहिले सूर्ति च्यापेरै किताब पढ्थेँ, गीत कविता कोर्थें । कहिले करेसाबारीमा काम गर्थें त कहिले अर्को कुनै काम गर्थें । म सूर्ति प्रेमी बन्दै गएँ । म सूर्ति भक्त बन्दै थिएँ । तर अब सूर्तिको लत छोड्नु प¥यो भन्ने निष्कर्षमा पनि पुग्थेँ र अचानक सूर्तिको डिब्बा मिल्काइदिन्थें । भोलिपल्ट मलाई सूर्तिको तुलबुली जाग्थ्यो । पुनः सूर्ति किन्न पसलमा जान्थेँ । सूर्ति भने अलि कम गर्दै गएँ । एकदिन मैले सूर्ति चटक्कै त्यागें । जीवनको एउटा अर्को अनिश्चित कालखण्डसम्मको लागि ।

लामो समय म सूर्ति छोइनँ, खाइनँ । म पुनः चङ्गा भएँ । सूर्ति खानेहरूप्रति सहानुभूति जाग्न थाल्यो । यिनीहरूले पनि नखाए त हुन्थ्यो भन्ने लाग्न थाल्यो । सरकारले सूर्तिको कारोबार पूर्ण रुपले निषेध गरे त हुन्थ्यो भन्ने लाग्न थाल्यो ।

मेरा एकजना अति पृय आफ्न्त हुनुहुनुहुन्छ । आफन्तको रुपमा मात्र नभएर उहाँसँग मेरो आत्मीय सम्बन्ध पनि उत्तिकै छ । म भन्दा केही बढी उमेरका उहाँ सूर्ति खाने गर्नुहुन्छ । उहाँले आफ्नो परिवार होस्, वा अरुको सामु निसङ्कोच सूर्ति माडेर खाने गर्नुहुन्छ । सबैको आँखा छलेर सुटुक्क मेरो हातमा राखिदिनुहुन्छ थोरै । मैले पनि सबैको आँखा छलेर सुटुक्क मुखमा राख्ने गर्छु । किन कि उहासँगको आत्मीय सम्बन्धले पहिले पनि उहाँको मन राखिदिन सूर्तिको प्रस्तावलाई स्वीकार गरेको थिएँ । झन् थुप्रैको आँखा छलेर सुटुक्क सूर्ति मुखमा च्याप्दा आफूलाई चलाख स्याल झैं गर्व अनुभूत हुन्थ्यो । सूर्तिको निरन्तरता त्यागिसकेको थिएँ । त्यस्तै उहाँसँगको भेटघाटमा मात्र कहिलेकसो मुखमा च्याप्ने गर्छु ।

एक वर्ष अघि आमा अत्यन्त बिरामी पर्नु भो । वहाँको जटिल रोगले मेरो मनमा थप नैरास्यता छायो । मन चिन्ताले छट्पटयाउन थाल्यो । सूर्तिलाई पुनः साथी बनाएँ । सूर्ति मुखमा च्यापेर अस्पतालमा आमाको सेवा गर्न थालें । सूर्तिको अम्मल त्यतिबेलासम्म कायम रह्यो । जब आमा परलोक हुनुभयो । त्यसपछिका शोकपूर्ण काजकृयाका दिनहरूमा सूर्ति छुने कुरै भएन ।

एकदिन एकजना अति मिल्ने साथी सूर्ति माड्दै आइरहेका थिए । फेरि अचानक थोरै सुर्ती मुखमा राखि हालौँ भन्ने सनक चढ्यो । थोरै मागेर मुखमा च्यापें । केही समय उक्त साथीसँगको भेट्घाट्ले निरन्तरता पायो । सूर्ति च्याप्ने क्रमले निरन्तरता पायो । पछि उनी पनि अर्को कुनै काममा व्यस्त भएपछि भेटघाट पातलिदै गयो । सूर्ति मुखमा च्यापेर दिउँसै रङ्गीन सपना देख्ने शिलशिला बन्द भयो ।

धेरै समय भयो सूर्ति खान छोडेको छु । कसैको मन राखिदिन अलिकति खाए झैँ गरेछु भने पनि किनेरै खाने छैन । यो मेरो प्रण हो । सूर्ति सेवन स्वास्थ्यको लागि हानिकारक छ ।

०००
भैरहवा, रूपन्देही
२०८० श्रावण २१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x