साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मानको भुक्तमान

बोलौं त विषयमा पहूँच नाँहिँ, नबोलौं त प्रमुख अतिथि नै गतिला दुइचार शब्द बोल्न नसक्ने पिलन्धरे मार्का बेथितिका सिकार रहेछन् भनेर सभामै खरीखोटी सुन्नु पर्दाको पीडा कम नमज्जाको त पक्कै हुन्न होला !

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

यो जनवादी गलगाँडले अटसमटस बनेको पहारिलो छहारिलो घमाइलो अनि खँदिलो भरिलो स्वादिलो गाउँवेशी खप्टिएर समावेशी बनेको लोकतन्त्रमा सम्मानको भुक्तमानले तात्तातो भुतभुते बिर्साउने खेलतमासा थापिदिएको छ । अनेकन साहित्यिक, असाहित्यिक, प्रवचनआदि नाउँका कार्यक्रममा त झन कसले कतिवेर बोलाएर सम्मानको दोसल्ला ओडाउँदै प्रशंसापत्रको घाँडो भिराइदिने हो पत्तो नपाइने भएछ ! कतिबेर कसले मञ्च नामक गोठमा छिर्के दाउको परिपञ्च मिलाएर विनाबन्धन थुनुवापूर्जी बेगर बाँधा बनाएर राख्ने हो ! आहार विहारबेगर दिनभर कज्याएर खँजाहा बनाउने हो त्यो पनि अनुमानबेगर नै रहेर पत्तो नहुँदो रहेछ ।

फेरि कार्यक्रममा बोलाउने भन्ने कुरो पनि विडम्बनाको बनिदिन्छ । फलानो ठाउँमा ढिस्कानु कार्यक्रम छ भन्ने थाहा भएपछि निम्ताको मेसेज फोन केही नआए नियास्रो लाग्ने, आए पनि जाने आउने झञ्झट संझिएर फोस्रो आङ कन्याइमात्र लाग्दो रहेछ । कसैले आयोजित कार्यक्रममा बोलाएन भने पनि सबैले बिर्सिन थालेछन् भन्ने नियास्रिदो मनको हुँडलो । कसैले आऊ कविजी दोसल्ला ओडाउँछु भनेर बोलाउँदा पनि एकछिन फुरुङ्ग परेर जाँदा खासै वित्याँस त केही थिएन तर मञ्चमा महिमामण्डित माला खादाको भारिया भएर आसन जमाएपछि भने आइलाग्ने भाम्ताहरू अनगिन्ति । तारन्तार शौचालय छिर्नु पर्दा मञ्चबाट उत्ताउलो बालक झैं घरिघरि उठिरहनु पर्ने ।

टोलभरीका आवारा नरनारीका अनेकन वैध अवैध क्रियाकलापका अवशेषको डङ्गूरले भरिएको अँध्यारो शौचालयभित्र पाउ छिराउनै शास्ति, छिराइहाले पनि दुर्गन्धको मुस्लोमा नाक कान घाँटी रुमल्लिएर डामिएपछि शास धान्नै गाहारो । कोठाभित्र छिर्दै अनेकथरी दुर्गन्ध र अगति परिने खालका दृश्यको आँखा नाक मुखले सामना गर्दैका सास्ति । केहीजानी साससम्म धानिए पनि भित्रबाट आउनै लेगेको पदार्थलाई सखल्लसँग विरेचन गर्नुको महाशास्ति । बल्लतल्ल फर्किदा जुत्ता पाइण्टका फेरले फोहोरको डङ्गूर बढारेर ल्याएनन् त कतै ? घिनलाग्दो प्रश्नको सुकिलो उत्तर खोज्न जुत्तामोजा र पैण्टका फेरतिर टठिला आँखा लगाउनु पर्ने । मञ्चमा प्रत्यावर्तन गर्दै फूलफ्लेजेड आसन ग्रहण गरिसकेपछि भने खादाको भारी बोकेर मान्छेपिच्छेका भाषणको पारखी बनि दिनु पर्ने ।

नजानेको विषयमा कुर्लिने जानेको विषयमा ओठ कमाउने र बोल्न धकाउने अनेकखाले वक्तावर्गको अनपेक्षित बुहार्तन सहनु पर्ने । लामा कविता पढेर कानका जर्बुटामा काउसो लगाइदिने कविवर आइदिन्छन् कति । यस्तो बेला मनमा चलिरहने दौरा मुटुतिर बसाइँ स¥यो भने के हाल होला ? हाल जस्तै रहे पनि खवर चैं राम्रो जाने छैन । मनमा अरुलाई मन परोस् नपरोस् आफ्नो रचना जवर्जस्ती सुनाएर बोर गर्दा पनि हलचल गर्न नपाइने कस्तो बज्रासन हो त त्यो ? कतिपय ठाउँमा त विनारसदपानी दिनभरी फलाकेको सुन्दैमा प्रौढ परानीको हैरानी । बल्लतल्ल कार्यक्रम सकेर घर फर्कदा दिइने प्रशंसाका अक्षरले महिमामण्डित बनेको प्रमाणपत्रे भाँडो नै बोक्नु न टोक्नुको घाँडो भइदिएपछि परेन फसाद ? कसैलाई दिउँ भने पनि बाटोका केटाकटी स्म्याके र मगन्तेले पनि त्यो जिनीस स्वीकार गर्ने होइन !

यसो कहिले त केही सुधार होला यो महामारीबाट अनि राहत पाइएला भन्दा पनि कतै लक्षणै पो देखिन्न । विभिन्नथरी उत्सव समारोहदेखि मसानघाटका यात्रासम्म सम्मानको भुक्तमानी राग वैराग लाग्दोगरी कायमै देखिन्छ ।

पहिलेको खलनायकले अहिले महानायक बनेर जिब्रो टोक्दै फुस्रा आँखा लगायो र हतारमै मास छर्न गयो भने उसले राजकीय सम्मान पाउनै पर्ने ? कसैले घिटीघिटी गर्दै अक्सिजनका सिलिन्डर रित्याएर सास फेर्न पनि बिर्सिदियो भने पनि लेखाजोखा राख्ने वहिदार त उनै यमराज बाबा मात्रै बाँकी रहे । अरु लोक, यमलोक मार्गका यात्रुका एउटै पारा एउटै बाटो । तर यहाँनिर विडम्वनाको कुराचाहिँ के भैदियो भने जानेले नै बस्नेको काँधमाथि भुक्तमानीको भारी बोकाएर वनेलु कन्या हिडिम्वालाई समेत तर्साउने विडम्वनाको धोजे बोकाउँदा भया । त्यसैले त जानेले राजकीय सम्मान पाउनु पर्छ । किन त उनीहरू कुनै समुद्री सार्कदेखि भीमकाय जम्बो जेट याने कि वाइड बडीसम्म पनि ठाडै निलेर तेर्सै पचाइदिन सक्ने बहादुर जो रहेका छन् । यसभन्दा अझ ठूलो औकातमा भन्सारका दुइ नम्वरी करछली गर्ने सम्पत्ति लुकाउने र भ्याट प्रपंचका खाँटी नायक साहू महाजनका प्रियपात्र परे भने राजकीय सम्मान तिनले अवस्य पाउनुपर्छ । जनतामारा वर्गको माग यस्तै भैराछ हिजोआज ।

राजा नचाहिने आफू मर्दा सम्मान चै राजकिय चाहिने यो देशका खलनायकको अन्त कतै नपाइने विशेषता रही आएको छ । कालो कर्तूतले भरिएका रातो फित्ता बाँधिएका हजारौं फायल एकै पटकमा मझेरीमा चपाएर काला साहू महाजनलाई सेता बनाइ दिने सामथ्र्य जो कोहीमा जैलेतैले कहाँ पाउनु ? त्यसै क्रिया काष्ठा गर्न नपर्ने सेता वस्त्रमा शोक प्रकट गर्नु नपर्ने परम्परा तोड्ने नाउमा क्रिया पुत्रीले जथाभावी गर्न मिल्ने तर जनतालाई फलानो तिलानु धर्मको आडम्वर ओडाएर भ्रममा राख्न मजा आउने के सारो जनवादी सोच हो त यो ?

यताका कुरा अझ अर्कै रहेछन् । सोझा साधुले के जान्नु र त्यस्ता गुह्ये कुरा ? भी आइ पीको राजकीय सम्मानले गर्दा देशमा बन्दूकहरू थप हर्कतमा आएर आआफ्नो बुता बर्कत प्रदर्शन गरिरहेका छन् । कालापानी लिम्पियाधुरादेखि सुस्तासम्मको देशको भूभाग वर्षौंदेखि अर्कैले हडपे पनि नो पर्वाह ! अगुवा नै भगुवा लापर्वाह बनिदिँदा यो देशका बन्दूक शान्त मौन छन् तर जो कोही छिमेकीलाई भने गोरखाली बहादुरका हातबाट अभैm बन्दूक पड्किन सक्छन् भन्ने पनि होस रहेछ । टुँडिखेलको परेडमा चरा तर्साउनमात्र सीमित रहेनन् ती अब । आर्यघाट र वनकालीवरपर बाँदर तर्साएर उखपात गर्न पनि सक्छन् ती बन्दूक ।

शायद यही शानदार सन्देश प्रवाहित गर्न पनि राजकीय सम्मानको विशेष महत्व रहेको बुभ्mन सकिन्छ । त विदेशीले देशको साँध सीमाना मिच्दा आनन्दले निदाउने तर रासन भत्ता पोशाक असबाब भने इमान्दारीसाथ बुुझ्ने पचाउने बन्दूकहरू पुर्खाले नाँसो भनेर सुम्पिएका यो देशका गहना भने पक्कै हुन । राजमार्गको नामै सुन्न नसकेर लोकमार्ग नामाकरण गर्ने तर राजकीय सम्मान चाहिँ सबैखाले देशका यो त्यो खुराफातीले मेलैसँग ओड्नु पर्ने कस्तोखाले गणतन्त्र हो यो ? बार नाघेर छिमेकीका काँक्रा चोर्ने र रातमा भाङ्ग्रो ओडेर गाउँका छोरीबुहारीको समेत लाज नमानी गौंडो ढुक्ने र अनेकथरी आसनको व्यसनमा फसेका मनुवाहरू पनि राजकीय सम्मानको भागीदार बन्न लायकमा दरिएपछि भएन त रमिता ? त्यस्तै कालो कर्तूतले भरिएको फायल खोल्दैमा खैरो हेरोइनको नसाले लठ्ठ पारेपछि विचरा के लाग्दो रैछ नायकको पनि ? सबै काम कारोवार बैध भन्ने सिद्धान्तका प्रणेता बन्न पुग्ने रहेछन् अगुवा त !

स्वदेशी युवावर्गलाई सकेसम्म देशबाहिर लखट्ने अनि बाहिरी आगन्तुकलाई जे जसरी भए पनि नागरिक बनाएर देशभित्र समेट्ने नीति नियम बनेपछि कालापानी भट्याएर गाला फुलाउने दिन पनि अब गए भन्दा हुन्छ कि ?

हाम्रो सुरक्षाको अभिभावकत्व प्राप्त गरीआएका बन्दूक सधैंजसो सत्याग्रही सन्त महन्त भएर गुफा पस्न रुचाउछन् । रसवरी दूधमलाइले पेट भरेर उग्राउछन । यदाकदा त्यस्तै राष्ट्रिय पर्व आइपुग्दा टँुडिखेलमा बडाइँ गर्न पुग्छन् र बाँकी यिनको कामधाम सधैं राजकीय सम्मान अर्पण गर्ने बेलामा आर्य घाटमा शोकधून गाएर हल्ला फिजाउँछन् अनि त्यतिमात्र होइन त्यहाँ वरपरका बाँदरलाई पनि निद्राबाट तर्साउछन् । आफ्नो सीमा मिचेर पराइले बनाएका बाटा पोल,पिलर मास्न किमार्थ सोच्दैनन् बरु सिउपुरीको जङ्गलमा लुकी छिपी तित्रा भँगेरा कालीज मार्ने बहादुरी गर्दछन् । आफ्नो साँध सीमानाभित्रको कालापानीमा छिमेकी पेलाहाले पाउ जमाउँदा पनि नालापानीकै गौरव गीत गाएर गला फुलाउँछन् । रसभरी मलाइको स्वादमा रमाएर घुर्दै आनन्दी शैयामा सुकला गर्ने बन्दूक साँच्चै तुलसी दलबाट तयार भएका हुुनुपर्छ । नभए पनि रुद्राक्ष, श्रीखण्ड र समीवृक्षले सुशोभित यस मृत्तिकामा भित्रिनेबित्तिकै अन्तका बन्दूक पनि ऊध्र्वगामी शान्ति कामी र दुग्ध मधुप्रिय बन्दा रहेछन् ।

मधुपानदेखि मेघमालाको जाममा लठ्ठ परेर निदाउन घुर्न कुना पस्ने र सारनाथ बोधगयाको सपना सजाउने बन्दूक यहाँ देखिने लौकिक वैंसालू रहर र शासनसत्ताले पियाउने कहर झगडा अशान्तिको सख्त विरोधी रहिआएका छन् । त्यसैले शान्ति क्षेत्रको लाहाछाप लागिसकेका बन्दूक पड्किन भन्दा सलामी गारत अर्पणमा जीवन समर्पण गरेर हावामा कावा खाँदै बेलामौका टुँडिखेलमा गएर खेल तमासा देखाउन सिपाहीका बाहुली सजाएर खुला हावामा सयर गर्न मन पराउछन् । वाग्मती किनारमा गएर परमधाम भएका मृतात्मालाई शान्ति समृद्धिको विगूल सुनाउँछन् र तिनीहरूका सन्तानलाई आडम्वरको नसा सुघाउँछन् ।

अर्काथरी जाइफलमार्का सम्मानले पनि दिनु दुःख दिएका छन् । कुनै कार्यक्रममा अर्थशास्त्रीलाई प्रमुख अतिथि बनाएर धार्मिक प्रवचन गर्न लगाउँदै आयोजकले हुर्मत हडप्ने खुराफात गरिलिन्छन् । नपढेको कितावबारे बोल्न लगाउने अर्को जमात करामत देखाउन जमजमाइ रहन्छ । नपडीकन पड्या ढाचा देखाएर फोस्रो विदवत्ता छाँट्नेको अर्को भाषण फुरिदिन्छ कतै । वाणिज्यशास्त्रीलाई प्राचीन काव्य शास्त्रमा उल्लिखित अभिधा व्यञ्जना छन्द रस, अलङ्कारआदि तत्वबारे खोतल्न उधिन्न लगाएर राता कान बनाइदिन्छन् कुनै आयोजक ।

बोलौं त विषयमा पहूँच नाँहिँ, नबोलौं त प्रमुख अतिथि नै गतिला दुइचार शब्द बोल्न नसक्ने पिलन्धरे मार्का बेथितिका सिकार रहेछन् भनेर सभामै खरीखोटी सुन्नु पर्दाको पीडा कम न मज्जाको त पक्कै हुन्न होला ! त्यतिवेर जुलूम मायाले ओडाइदिएको दामी खालको दोसल्ला पनि घाँडो बनिदिँदो रहेछ ।

०००
नयाँबानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x