लक्ष्मण नेवटियादशैं कहिले आयो-कहिले गयो- थाहै भएन
यतै फक्रेको फूलको, उतै छ सुगन्ध कतै छ कि मनको बह पोख्ने प्रबन्ध इमान्दार सोचको परेर खडेरी विश्वासको खेतमा केही उम्रेन यसपाली मेरो गाउँमा दशैं कहिले आयो-कहिले गयो थाहै भएन ?

लक्ष्मण नेवटिया :
यसपाली मेरो गाउँमा दशैं
कहिले आयो-कहिले गयो थाहै भएन ?
कतै मालश्री धुन बजेन
कता कुन्नि के भएको, केही बुझिएन ?
कसरी मनाउँ दशैं, सन्तति हुँदा विदेश
खोज्न कता जाउँ, हराएको त्यो परिवेश ।
हुन नपाएपछि कतै जागिरे
बन्नु पर्यो छोरालाई लाहुरे
हो देशमा रेमिट्यान्सको खोला बग्यो खहरे
तर कहिल्यै सोचिएन यस्तै हुँदा के होला भरे !!
आश, टीका लाउन आउनेको, कतै रहेन
यसपाली मेरो गाउँमा दशैं
कहिले आयो- कहिले गयो थाहै भएन ?
अभावको उछितो काढ्न
पैसा कमाउन विदेश नगए के गर्ने ?
भोकको बाजबाट झम्टिनबाट जोगिन
मिठा सपना बोकी उतै जानु नै पर्ने ।
हो ! पठायो छोराले पैसा खाताभरी
तर दुख्यो उनी बिना मुटु खाटापरी
दशैं मनाउने रहर मनमै – बसेन ।
धत् लिंगे पिङ उभ्याउने त मतलबै रहेन ।
यसपाली मेरो गाउँमा दशैं
कहिले आयो-कहिले गयो थाहै भएन ?
सबैथोक पुर्याइ दियौ स्याबास छ
तर छोरा नहुँदा आँगनीमा मन उदास छ ।
यतै फक्रेको फूलको, उतै छ सुगन्ध
कतै छ कि मनको बह पोख्ने प्रबन्ध
इमान्दार सोचको परेर खडेरी
विश्वासको खेतमा केही उम्रेन
यसपाली मेरो गाउँमा दशैं
कहिले आयो-कहिले गयो थाहै भएन ?
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































