सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लागेको, लगाइएका र जिम्मा लिइएका दागहरू

न्यायिक निर्णयद्वारा निरुपित गरी सजाय तोकी पठाइएका दोषी र दागीहरूको जिम्मा सरकारले लिएर कार्वाही गर्नुको सट्टा रातो गलैँचा ओछ्याएर दाग मेटाएर औँसीको रातलाई पूर्णिमामा बदल्ने दुस्साहसले समाजको गति कता जान्छ ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

मानिस चिज वस्तुमा झट्ट हेर्दा देखिने खत अर्थात दाग । फलफूल वा तरकारीमा किराहरूले रस चुस्दा बन्ने टाटो । मानिसका अङ्गमा चोटपटक लाग्दा वा घाउ खटिरा निस्केर निको भएपछि बन्ने फरक खालको आकार प्रकार । सङ्ग्लो शरीरमा देखिने छुट्टै चिन्ह । अरुले देख्दा हेर्दा नराम्रो देखिने गरी बनेको दाग । यस्ता दागहरू विभिन्न किसिमबाट बन्न सक्छन् । हिँड्दा हिँड्दै लडेर, उछिट्टिएर, ठेस लागेर, रुखबाट वा भिरबाट लडेर बन्न सक्छन् । घरभित्रै पनि कहिलेकाहिँ नजानिँदो पाराले ठोक्किएर बन्न सक्छन् । स्नान गृहमा शौचालयमा लडेर खुट्टा भाँचिएको गम्भीर चोट लागेको पनि त सुनिन्छ, देखिन्छ, भोगिन्छ र दाग बन्छ ।

दाग कसलाई पो राम्रो लाग्छ र ! दागरहित हुन, राम्रो हुन कसलाई मन हुदैन संसारमा । सुन्दरताको बखान कसले गर्दैन ? को चाहन्न सुन्दर हुन ? यो सुन्दरतामा कति ग्रन्थहरू रचिएका छन् । कति कथा, कविता, निबन्ध र आख्यानहरू लेखिएका छन् । तिनै सुन्दरताको बखानमा खर्चिएर लेखिएका रचनाहरू पढेर जाँच पास गर्नु पर्छ मानिसहरूले । विश्वविद्यालयका पुस्तकालयहरू भरिएका हुन्छन् यस्ता रचनाका चाङ्ले । बुककेसहरूमा खप्टिएर बस्नु पर्छ यी रचानहरू । पुस्तकका दोकान र मानिसका मस्तिष्कमा भरिन नपर्ने भए त किन लेखिन्थे र ? सुन्दरताको बखान गर्दै यी पुस्तकाकारहरू । धेरेले धेरै खर्चेका छन् मसी । अनगिन्ती कलमका निभहरू बुच्चिएका छन् । प्रसस्त कापीका पानाहरू खपत भएका छन् र किताबमा परिणत भएका छन् यो सुन्दरताको लालित्यमा । टाइपराइटर, कम्युटर र छापाखानाहरूले काम पाएका छन् । मानिसहरूका दिमाग तनक्क तन्क्याउनलाई पनि त खुराक भएका छन् लेखिएका अनगिन्ती समाग्रीहरू ।

भौतिक दागहरू चाहेर हुने कहाँ हुन् र ? यिनीहरू त अकस्मात् आइलाग्छन् । हो, कतिपय जन्मजात पनि हुन् सक्छन् । भौतिक दागहरू निष्कलंक हुन्छन् । भौतिक दागहरूको उपचार पनि सम्भव छ । मलमले काम गर्छ । ओखती लाग्छ । घर आगन खेतपाखा, बारी र वनजंगलतिरका घरस्पति, वनस्पति, जडिबुटीहरूको सहायताले निको भएका थुप्र प्रमाणहरू छन् । खाएर, लगाएर निको भएनन् भने विज्ञानले सर्जरीको व्यवस्था पनि गरिदिएकै छ । विद्वान विज्ञ डाक्टरहरूले मस्तिष्क र ज्ञानको प्रयोगले अस्पतालका अपरेशन गृहमा भौतिक औजारहरूको सहायताले यी भौतिक दागहरू निमिट्यान्न पारेकै छन् र पार्छन् । राम्रो हुन प्लाष्टिक सर्जरीको पनि व्यवस्था भइसकेको छ । निको हुने दाग अर्थात भौतिक दाग । कसैको नबिगार्ने दाग । रोक्न नसकिने दाग । आफ्नो हातमा नभएका दाग । आफ्नो कारणले नहुने दाग । आफु कर्ता नभएको दाग । प्राकृतिक वा अकस्मात् परिस्थितले बन्ने दाग । कसको के बिगार्छन् र यस्ता दागले । केवल सुन्दरतामा थोरै असर गर्छन् । के फरक पर्छ र त्यो बाहिरी खोल नराम्रो हुँदा पनि ।

भित्री दागबाट पो बच्नु पर्‍यो । आफैबाट सिर्जना हुने आफैबाट जन्मने आफैकर्ता भएको आफ्नै कारणले बन्ने दागबाट बचे खुबै राम्रो । अल्पकालका आवश्यकता पुर्तीका लागि भविष्यमा बन्ने भित्री दाग, मनका दाग, आन्तरिक दाग, अभौतिक दाग, मानसिक दाग, भावनात्मक दाग त कता कता असजिला अफ्ठ्यारा पो हुन्छन् त । यी दागहरूको उपचार हुँदैन । ओखति लाग्दैन । झारफुकले काम गर्दैन । जडिबुटी त यस्ता दाग सुन्दा लुक्छ पो त । सर्जरी गर्ने हातहरू काँप्छन् औजारहरू बाङ्गिन्छन् । अपरेशनका थियटरहरू अन्धकारमय हुन्छन् । नर्सिङ् गर्ने मनमस्तिष्कमा चट्याङ परेको आभाष हुन्छ । आँखाहरू देख्न छोड्छन् । धर्ती आकाश मलिन भएर निष्क्रिय भएको निस्प्राण भएको अनुभूति हुन्छ । सेता मनहरू कालीन पुग्छन् । सुन्दर अनुहारहरूमा कालो मोसो पोतिन्छ ।

भौतिक दागको आकारै सानो । बिन्दु जस्तो तर अभौतिक दागको आकार भिमकाय हुन्छ । हुँडारको मुख जत्रो । अनकण्टार काल्पनिक भूतहरूको बासस्थान जस्तो । भौतिक दाग जाबो मानिसको शरीरको कुनै भागको पनि सानो थोप्लो । अभौतिक दागले मानिसलाई खर्लप्पै अजिङ्गरले जस्तो निल्छ । समाज र राष्ट्रलाई बडेमानको अजिङ्गरको अखण्डी शरीरले बेरेर छुट्टिन नसक्ने गरी निशास्सिएर श्वासप्रश्वास बन्द गरिदिन्छ । बन्धक बनाइदिन्छ । सन्तानहरूलाई स्वाभिमानपूर्वक जिउन दिँदैन । यो अभौतिक, सृजित, आर्जित, बनाइएको, निर्मित दाग बडो खतरनाक हुन्छ ।
भ्रम छ, आर्जित दागको उपचारमा । धनादेशबाट निको पारेको, दाग मेटाउन नयाँ दागहरू लगाएको, दागको दागबाट क्षतिपुर्ति गराइएको । कहिलेकाहीँ हुकुम प्रमाङ्गिबाट उपचार गरेको । कानूनलाई नून ख्वाएर शुद्ध बनाइएको । सुरक्षा कर्मीहरूलाई लुगा भोटोको व्यवस्था गरिदिएर । समाजलाई बोका उपलब्ध गराएर । निर्धनलाई अलिकति दानापानीको व्यवस्था गरिदिएर । कसैलाई मनोरन्जन गराएर । ऐन नियमका धाराहरू निरर्थक बनाएर । कलमका निभहरू बङ्याएर । सिफारिस र अनुमोदन गरेर । सत्ता साक्षी बसेर । सत्ताको चरम दुरुपयोग गरेर । दागीहरूका गलामा माला लगाएर । निधारमा अक्षता र अविरले सजाएर । बाजा बजाएर । सडक घुमाएर । समाजमा ल्याएर । घरमा भित्र्याएर ।

मेटियो त दाग । मेटिएन । बरु फैलियो । व्यक्तिको दाग टोल, समाज हुँदै राष्ट्रमा फैलियो । गन्हायो डुङ्डुङ्ति । व्यक्तिमा छउञ्जेल सफा गर्न सजिलो भए पनि तक्माद्वारा राज्यले विभूषित गरेर गन्हाउने जिम्मा जब शासकले लिन्छन् तब यो लिपिबद्ध भएर राज्यको जीवनमा प्रवेश पाउछ । इतिहासका पानामा दर्जा हुन्छ । दाग कानूनका धारामा घुस्छ । मानिसका मन मस्तिष्कमा पस्छ । अराजकता र अपराध फैलिएर दागैदागको माला बन्छ । दाग सिक्रीको रुप लिन्छ । दाग समान्यीकरण हन्छ । दागहरूको सङ्ख्यामा बढोत्तरी हुन्छ । दाग झाङ्गिन्छ । दागरहित समाजको निर्माणमा अवरोध सिर्जना हुन्छ । मानिसहरूलाई अन्धा बनाउँछ । अन्धो समाज कहाँ सक्छ र गति लिन । वेदाग कर्महरूमा पनि दाग देख्ने संस्कार र संस्कृतिको निर्माण हुन्छ ।

लागेका दाग भन्दा लगाइएका दाग बढो सकसपूणर् हुन्छन् । निर्दोष मानिसलाई दोषी बनाउने । दोषी प्रमाणित गर्ने । खुराफाती गर्ने । तानाबाना बुन्ने । लाञ्छना लगाउने । नभएका आरोप लगाउने । इमान्दारितामाथि खेल्ने । आफ्ना अपराध अरु माथि थोपर्ने । यस्ता परपिडक दागहरू खोतल्न कसलाई पो फुर्सद हुन्छ र ? हुल त हल्लाका पछि कुद्छ । सत्ता, शक्ति र द्रव्यको प्रयोग गर्ने वा साम, दाम, दण्ड र भेदको नीति अवलम्बन गर्ने नरपिचासहरूले दाग लगाइदिन्छन् । अरुलाई दाग लगाउन प्रेरितहरूको चेन प्रणालीमा आधारित समुह हुन्छ । बलियो सञ्जाल सहित उपस्थित हुन्छन् । यस्ता दागले मानिसमा मनोवैज्ञानिक असर मात्र पर्दैन शारीरिक र मानसिक रुपले विक्षिप्त गराउछन् । आर्थिकरूपले सर्वस्वहरण हुन्छ । पारिवारिक हिसावले परिवार छेदविच्छेद बनाइदिन्छन् पिपासुहरूले ।

न्यायीक निणर्यद्वारा निरुपित गरी सजाय तोकी पठाइएका दोषी र दागिहरूको जिम्मा सरकारले लिएर कार्वाही गर्नुको सट्टा रातो गलैँचा ओछ्याएर दाग मेटाएर औँसीको रातलाई पूर्णिमामा बदल्ने दुस्साहसले समाजको गति कता जान्छ । अझ डरलाग्दो त के भने आफ्नो सरकारी दागलाई सामाजिकीकरण गर्न विभिन्न हत्कण्डा तयार गर्छ सरकारले । स्वागत गर्ने जमात तयार गर्छ । त्यो जमातको हवाला दिदै आफ्नो बचाउका लागि प्रयत्नशील हुन्छन् दागी पक्षका सरोकारवालाहरू । त्यसैले दार्शनिक थोरो भन्छन्, ‘जहाँ अन्यायी कानून हुन्छ त्यहाँ सच्चा नागरिकको निवास जेल हुन्छ ।’ दागीहरू दाग देख्दैनन् बरु आफूले गरेको अन्यायी कार्य प्रति गर्व गर्छन् । दागीहरूको गर्वले बेदाग सज्जनहरूको ठुलो हिस्सा निरास हुन्छ र पाखा लाग्छ । किशोरहरूको जमातले त्यसलाई सहज वा भनौ मानिसले गर्ने कर्मको रुपमा ग्रहण गर्छ र अपराधमा संलग्न हुन्छन् । अपराधको दायारा फराकिलो हुँदै जान्छ । समाजले नयाँ मोडलिन्छ । कालान्तरमा यो दाग नै शासकहरूको अन्तिम मलामी बन्न पुग्छ । शासकहरूलाई चेताना भया !

०००
कैलाली
हाल थानकोट, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बैँसका बेबी

बैँसका बेबी

शिवप्रसाद जैशी
खान्छौँ त, जे बाँकी छ !

खान्छौँ त, जे बाँकी...

शिवप्रसाद जैशी
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी