साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लागेको, लगाइएका र जिम्मा लिइएका दागहरू

न्यायिक निर्णयद्वारा निरुपित गरी सजाय तोकी पठाइएका दोषी र दागीहरूको जिम्मा सरकारले लिएर कार्वाही गर्नुको सट्टा रातो गलैँचा ओछ्याएर दाग मेटाएर औँसीको रातलाई पूर्णिमामा बदल्ने दुस्साहसले समाजको गति कता जान्छ ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

मानिस चिज वस्तुमा झट्ट हेर्दा देखिने खत अर्थात दाग । फलफूल वा तरकारीमा किराहरूले रस चुस्दा बन्ने टाटो । मानिसका अङ्गमा चोटपटक लाग्दा वा घाउ खटिरा निस्केर निको भएपछि बन्ने फरक खालको आकार प्रकार । सङ्ग्लो शरीरमा देखिने छुट्टै चिन्ह । अरुले देख्दा हेर्दा नराम्रो देखिने गरी बनेको दाग । यस्ता दागहरू विभिन्न किसिमबाट बन्न सक्छन् । हिँड्दा हिँड्दै लडेर, उछिट्टिएर, ठेस लागेर, रुखबाट वा भिरबाट लडेर बन्न सक्छन् । घरभित्रै पनि कहिलेकाहिँ नजानिँदो पाराले ठोक्किएर बन्न सक्छन् । स्नान गृहमा शौचालयमा लडेर खुट्टा भाँचिएको गम्भीर चोट लागेको पनि त सुनिन्छ, देखिन्छ, भोगिन्छ र दाग बन्छ ।

दाग कसलाई पो राम्रो लाग्छ र ! दागरहित हुन, राम्रो हुन कसलाई मन हुदैन संसारमा । सुन्दरताको बखान कसले गर्दैन ? को चाहन्न सुन्दर हुन ? यो सुन्दरतामा कति ग्रन्थहरू रचिएका छन् । कति कथा, कविता, निबन्ध र आख्यानहरू लेखिएका छन् । तिनै सुन्दरताको बखानमा खर्चिएर लेखिएका रचनाहरू पढेर जाँच पास गर्नु पर्छ मानिसहरूले । विश्वविद्यालयका पुस्तकालयहरू भरिएका हुन्छन् यस्ता रचनाका चाङ्ले । बुककेसहरूमा खप्टिएर बस्नु पर्छ यी रचानहरू । पुस्तकका दोकान र मानिसका मस्तिष्कमा भरिन नपर्ने भए त किन लेखिन्थे र ? सुन्दरताको बखान गर्दै यी पुस्तकाकारहरू । धेरेले धेरै खर्चेका छन् मसी । अनगिन्ती कलमका निभहरू बुच्चिएका छन् । प्रसस्त कापीका पानाहरू खपत भएका छन् र किताबमा परिणत भएका छन् यो सुन्दरताको लालित्यमा । टाइपराइटर, कम्युटर र छापाखानाहरूले काम पाएका छन् । मानिसहरूका दिमाग तनक्क तन्क्याउनलाई पनि त खुराक भएका छन् लेखिएका अनगिन्ती समाग्रीहरू ।

भौतिक दागहरू चाहेर हुने कहाँ हुन् र ? यिनीहरू त अकस्मात् आइलाग्छन् । हो, कतिपय जन्मजात पनि हुन् सक्छन् । भौतिक दागहरू निष्कलंक हुन्छन् । भौतिक दागहरूको उपचार पनि सम्भव छ । मलमले काम गर्छ । ओखती लाग्छ । घर आगन खेतपाखा, बारी र वनजंगलतिरका घरस्पति, वनस्पति, जडिबुटीहरूको सहायताले निको भएका थुप्र प्रमाणहरू छन् । खाएर, लगाएर निको भएनन् भने विज्ञानले सर्जरीको व्यवस्था पनि गरिदिएकै छ । विद्वान विज्ञ डाक्टरहरूले मस्तिष्क र ज्ञानको प्रयोगले अस्पतालका अपरेशन गृहमा भौतिक औजारहरूको सहायताले यी भौतिक दागहरू निमिट्यान्न पारेकै छन् र पार्छन् । राम्रो हुन प्लाष्टिक सर्जरीको पनि व्यवस्था भइसकेको छ । निको हुने दाग अर्थात भौतिक दाग । कसैको नबिगार्ने दाग । रोक्न नसकिने दाग । आफ्नो हातमा नभएका दाग । आफ्नो कारणले नहुने दाग । आफु कर्ता नभएको दाग । प्राकृतिक वा अकस्मात् परिस्थितले बन्ने दाग । कसको के बिगार्छन् र यस्ता दागले । केवल सुन्दरतामा थोरै असर गर्छन् । के फरक पर्छ र त्यो बाहिरी खोल नराम्रो हुँदा पनि ।

भित्री दागबाट पो बच्नु पर्‍यो । आफैबाट सिर्जना हुने आफैबाट जन्मने आफैकर्ता भएको आफ्नै कारणले बन्ने दागबाट बचे खुबै राम्रो । अल्पकालका आवश्यकता पुर्तीका लागि भविष्यमा बन्ने भित्री दाग, मनका दाग, आन्तरिक दाग, अभौतिक दाग, मानसिक दाग, भावनात्मक दाग त कता कता असजिला अफ्ठ्यारा पो हुन्छन् त । यी दागहरूको उपचार हुँदैन । ओखति लाग्दैन । झारफुकले काम गर्दैन । जडिबुटी त यस्ता दाग सुन्दा लुक्छ पो त । सर्जरी गर्ने हातहरू काँप्छन् औजारहरू बाङ्गिन्छन् । अपरेशनका थियटरहरू अन्धकारमय हुन्छन् । नर्सिङ् गर्ने मनमस्तिष्कमा चट्याङ परेको आभाष हुन्छ । आँखाहरू देख्न छोड्छन् । धर्ती आकाश मलिन भएर निष्क्रिय भएको निस्प्राण भएको अनुभूति हुन्छ । सेता मनहरू कालीन पुग्छन् । सुन्दर अनुहारहरूमा कालो मोसो पोतिन्छ ।

भौतिक दागको आकारै सानो । बिन्दु जस्तो तर अभौतिक दागको आकार भिमकाय हुन्छ । हुँडारको मुख जत्रो । अनकण्टार काल्पनिक भूतहरूको बासस्थान जस्तो । भौतिक दाग जाबो मानिसको शरीरको कुनै भागको पनि सानो थोप्लो । अभौतिक दागले मानिसलाई खर्लप्पै अजिङ्गरले जस्तो निल्छ । समाज र राष्ट्रलाई बडेमानको अजिङ्गरको अखण्डी शरीरले बेरेर छुट्टिन नसक्ने गरी निशास्सिएर श्वासप्रश्वास बन्द गरिदिन्छ । बन्धक बनाइदिन्छ । सन्तानहरूलाई स्वाभिमानपूर्वक जिउन दिँदैन । यो अभौतिक, सृजित, आर्जित, बनाइएको, निर्मित दाग बडो खतरनाक हुन्छ ।
भ्रम छ, आर्जित दागको उपचारमा । धनादेशबाट निको पारेको, दाग मेटाउन नयाँ दागहरू लगाएको, दागको दागबाट क्षतिपुर्ति गराइएको । कहिलेकाहीँ हुकुम प्रमाङ्गिबाट उपचार गरेको । कानूनलाई नून ख्वाएर शुद्ध बनाइएको । सुरक्षा कर्मीहरूलाई लुगा भोटोको व्यवस्था गरिदिएर । समाजलाई बोका उपलब्ध गराएर । निर्धनलाई अलिकति दानापानीको व्यवस्था गरिदिएर । कसैलाई मनोरन्जन गराएर । ऐन नियमका धाराहरू निरर्थक बनाएर । कलमका निभहरू बङ्याएर । सिफारिस र अनुमोदन गरेर । सत्ता साक्षी बसेर । सत्ताको चरम दुरुपयोग गरेर । दागीहरूका गलामा माला लगाएर । निधारमा अक्षता र अविरले सजाएर । बाजा बजाएर । सडक घुमाएर । समाजमा ल्याएर । घरमा भित्र्याएर ।

मेटियो त दाग । मेटिएन । बरु फैलियो । व्यक्तिको दाग टोल, समाज हुँदै राष्ट्रमा फैलियो । गन्हायो डुङ्डुङ्ति । व्यक्तिमा छउञ्जेल सफा गर्न सजिलो भए पनि तक्माद्वारा राज्यले विभूषित गरेर गन्हाउने जिम्मा जब शासकले लिन्छन् तब यो लिपिबद्ध भएर राज्यको जीवनमा प्रवेश पाउछ । इतिहासका पानामा दर्जा हुन्छ । दाग कानूनका धारामा घुस्छ । मानिसका मन मस्तिष्कमा पस्छ । अराजकता र अपराध फैलिएर दागैदागको माला बन्छ । दाग सिक्रीको रुप लिन्छ । दाग समान्यीकरण हन्छ । दागहरूको सङ्ख्यामा बढोत्तरी हुन्छ । दाग झाङ्गिन्छ । दागरहित समाजको निर्माणमा अवरोध सिर्जना हुन्छ । मानिसहरूलाई अन्धा बनाउँछ । अन्धो समाज कहाँ सक्छ र गति लिन । वेदाग कर्महरूमा पनि दाग देख्ने संस्कार र संस्कृतिको निर्माण हुन्छ ।

लागेका दाग भन्दा लगाइएका दाग बढो सकसपूणर् हुन्छन् । निर्दोष मानिसलाई दोषी बनाउने । दोषी प्रमाणित गर्ने । खुराफाती गर्ने । तानाबाना बुन्ने । लाञ्छना लगाउने । नभएका आरोप लगाउने । इमान्दारितामाथि खेल्ने । आफ्ना अपराध अरु माथि थोपर्ने । यस्ता परपिडक दागहरू खोतल्न कसलाई पो फुर्सद हुन्छ र ? हुल त हल्लाका पछि कुद्छ । सत्ता, शक्ति र द्रव्यको प्रयोग गर्ने वा साम, दाम, दण्ड र भेदको नीति अवलम्बन गर्ने नरपिचासहरूले दाग लगाइदिन्छन् । अरुलाई दाग लगाउन प्रेरितहरूको चेन प्रणालीमा आधारित समुह हुन्छ । बलियो सञ्जाल सहित उपस्थित हुन्छन् । यस्ता दागले मानिसमा मनोवैज्ञानिक असर मात्र पर्दैन शारीरिक र मानसिक रुपले विक्षिप्त गराउछन् । आर्थिकरूपले सर्वस्वहरण हुन्छ । पारिवारिक हिसावले परिवार छेदविच्छेद बनाइदिन्छन् पिपासुहरूले ।

न्यायीक निणर्यद्वारा निरुपित गरी सजाय तोकी पठाइएका दोषी र दागिहरूको जिम्मा सरकारले लिएर कार्वाही गर्नुको सट्टा रातो गलैँचा ओछ्याएर दाग मेटाएर औँसीको रातलाई पूर्णिमामा बदल्ने दुस्साहसले समाजको गति कता जान्छ । अझ डरलाग्दो त के भने आफ्नो सरकारी दागलाई सामाजिकीकरण गर्न विभिन्न हत्कण्डा तयार गर्छ सरकारले । स्वागत गर्ने जमात तयार गर्छ । त्यो जमातको हवाला दिदै आफ्नो बचाउका लागि प्रयत्नशील हुन्छन् दागी पक्षका सरोकारवालाहरू । त्यसैले दार्शनिक थोरो भन्छन्, ‘जहाँ अन्यायी कानून हुन्छ त्यहाँ सच्चा नागरिकको निवास जेल हुन्छ ।’ दागीहरू दाग देख्दैनन् बरु आफूले गरेको अन्यायी कार्य प्रति गर्व गर्छन् । दागीहरूको गर्वले बेदाग सज्जनहरूको ठुलो हिस्सा निरास हुन्छ र पाखा लाग्छ । किशोरहरूको जमातले त्यसलाई सहज वा भनौ मानिसले गर्ने कर्मको रुपमा ग्रहण गर्छ र अपराधमा संलग्न हुन्छन् । अपराधको दायारा फराकिलो हुँदै जान्छ । समाजले नयाँ मोडलिन्छ । कालान्तरमा यो दाग नै शासकहरूको अन्तिम मलामी बन्न पुग्छ । शासकहरूलाई चेताना भया !

०००
कैलाली
हाल थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x