साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैँसका बेबी

दौँतरी अवयवहरूले भौतिकरूपले सामिप्यता बढाउन नपाउने हुँदा यो बढी आनन्दित र अतृप्त हुन्छ कि । अतृप्तताको भोकले बेबीहरूलाई अझ बढी प्रेमालापका लागि आकर्षित गर्छ होला कि ।

Nepal Telecom ad

शिवप्रसाद जैँसी :

बेबी र बैँस भर्‍याङ जस्तै-तल्लो पाइटो (खुड्किलो) र माथिल्लो पाइटो हो । बेबीबाट बैँसमा पुग्दा त अर्को बेबी पाउने बेला हुन थाल्छ । बैँस पहिलाकी बेबी पहिला विवाद गर्न जरूरी छैन । बेबी विनाको बैँस र बैँस विनाको बेबी कसरी सम्भव होला र ! हो, सँगै त्यही बेबी र त्यही बैँस हुन सक्दैन । बेबीको परिपक्व अवस्था हो सायद बैँस । बैँस उत्ताउलो मात्र हुदैन यो त तागतिलो, भरसिलो, वर्गतिलो र जाँगरिलो हुन्छ । यो सृजनशील पनि हुन्छ । दुई वटा सृजनशील विपरित बैँसहरूको आकर्षण, सम्मिलन, अर्पण, समर्पण र घर्षणले बेबीको सृजना हुन्छ । बेबी अर्थात सबैलाई मनपर्ने घर उज्यालो पार्ने भविष्य हो ।

बेबी हुँदा उस्तै समान लाग्ने तङ्रिएर, हुर्केर बैँस हुँदा त चुम्बकका विपरित ध्रुवहरू आकर्षित भए जस्तै आफै तानिन्छन्- नजिकिन्छन्, जोडिन्छन् र मिसिन थाल्छन् नदी दोभान जस्तै विपरित बैँसहरू पनि । रोक्न को सक्दो हो । रोक्न खोज्दा कहिलेकाहीँ अप्रिय घट्ना घटेका पनि त होलान् । भौतिक रुपले रोकेका त होलान् तर भावनात्मक र मानसिक रूपले सायद सम्भव छैन र हुँदैन । विपरित बैँसहरू भौतिक बार, तार र दुरीले रोक्न छेक्न खोजे पनि मनभित्रका प्रेमिल तारहरू पवनरुपी यान र काल्पनिक जहाज चढेर जोडिन पुग्छन्- चाहे अधुरा हुन् वा पुरा, चाहे छुट्टिउन वा जोडिइ रहुन् । तोड्नेहरूका पनि त एकातिर तोडेर अर्कोतिर जोडी दिने योजना हुन्छन् । जति छुट्टिए पनि कहीँ न कहीँ जोडिएकै हुन्छन् । भौतिक रूपले नजोडिए पनि भावनामा त को चाहिँ चोखो होला र पृथ्वीमा झरिसकेको समान्य प्राणीरुपी मान्छे बैँसका तारमा जोडिनबाट ।

आजकाल त टिनिनिनि फोनको घण्टी बज्छ । अँ, बेबी भन, घण्टी रोकिन्छ । संवाद शुरु हुन्छ । संवाद चलिरहन्छ । फोनमा तागत अर्थात् अन्न भए सम्म । फोन भोकाएको खबर आउँछ । टिङटिङ आवाज । फोन कटेको महसुस हुन्छ । पुनः डायल गर्छन् । कृपया तपाईंको ब्यालेन्स सकिएकोले पुनः रिचारज गर्नु होला । भएन बर्बाद ! भावनाहरूका लहराहरू उकालो लागि रहेका बेला अकस्मात थाँक्रो ढल्दाको लहराको हरिबिजोग कसलाई थाहा छैन र ! यो अवस्थालाई कुन चाहिँ लेख्छु भन्नेले गर्न सक्छ व्यक्त उसका शब्दमा । अँह, त्यही भोग्नेहरूको तड्पन बाहेक अरुले के सक्थे र महसुस गर्न । कस्को तागत छ र ठ्याक्क उतार्न । बोध फरक भए पनि भाव भने एउटै हुन्छ होला तर अव्यक्त । के यो कामको छट्पटाहट हो र वा भोक को वा कुनै सर सम्बन्धको । होइन, हुँदै होइन । के समयसँग नापेर घण्टा, मिनेट, सेकेण्डको भौतिक र आर्थिक प्रगति विवरण जस्तो हुन्छ । अँह, हुँदैन । अस्तित्व विहिन अस्थित्व बोधको अनन्त यात्रा जहाँ नापसाप, दुरी, दर्शनको कुनै सिमा हुँदैन, सायद त्यही स्थिति होला बैँसका अतृप्त भवानाहरू पोख्दा पोख्दै तार रहित टेलिफोनले अन्नको निहुमा धोका दिनु ।

छुट्टै कोठामा अन्तरजालयुक्त एकान्त रातमा लाजको सप्को ओडेर एकअर्काका चम्किला यौवनका पोटिला अङ्गहरूको मोबाइलबाट दर्शन गर्दै हरेक अङ्गहरूले आआफ्ना दौँतरी अङ्गहरूसँग स्पशर् गरेको कल्पनामा उन्मुक्तरूपले बातमार्दा रात गुज्रिएको पत्तै नपाएर कैयौँ रातहरू अनिदा हुँदा पनि कहाँ गल्तीको महसुस हुँदो हो र ! बरु रात सकिएकोमा पो छोटो रात किन भइस् भन्ने गुनासाका मालाहरू बुन्दा बुन्दै उज्यालो पनि सकिएर अर्कोरात आएको थाहै नपाइँदो हो । झाप्प बिजुलीले धोका दिँदा वा इन्टरनेटको डोरो चुडिँदा कस्तो हुँदो हो परेकाले पो लेख्न सक्लान् अरुको लेखाई कसरी सक्कली हुन सक्छ । सक्कली हुन त भोग्नेले लेखे पो हो । अरुले लेख्दा त माटोको तिलहरीमा सुनौलो रङ्ग पोते जस्तो पो होला। यो लेखाई पनि सक्कली हुदै होइन । यो तार जोडिने र छुट्टिने क्रमले पुराना भावनाहरूका पात सुकेर, झरेर वा बिर्सिएर नयाँ भावनाका पालुवाहरू पलाएर नयाँ खोज गरिसकेका हुँदा हुन् ।

व्यासले बैँसकी बेबीसँग नदीमाथिको डुङ्गाको यात्रामा आत्मीयतालाई उत्कर्षमा पुर्‍याउन घाम लागिरहेको बेला कुहिरो लगाएर तृप्तताको अनुभूति प्राप्त गरे । महादेव सतिदेवीको लास बोकेर पागल जस्तै हिँडे । जहाँहिँडे त्यहाँ त्यहाँ शक्तिपीठ बनेको कुरा त कसलाई थाहा छैन र ! प्रेमप्रतिको अगाध आस्थाको कडि हैन र त्यो ! महादेवले पनि कुनै शब्द प्रयोग गरेका थिए की त्यस्तै ? भए विद्वानहरूले बताइदिए जाती हुने । व्यासको पनि कुनै कोण भाषा थियो कि ? बच्चालाई बेबी भनेर माया गर्ने औपचारिक शब्दको अनौपचारिक रुप बैँसमा प्रेमि प्रेमिकाले एक अर्कालाई भौतिक माया दर्शाउन बेबी भनून् भनेर नैँ राखिएको हुनु पर्छ । अरु शब्दहरूको लिङ्ग छुट्टयाउने डिक्सेनरीले यो प्रणयशील शब्दको भने युवा युवती दुवै बैँसालुका लागि एउटै बनाएर अनौपचारिक रुपमै भएपनि न्याय चाहिँ भरपुर गरेको छ । बेबी, बेबे राखेको भए यो न्यायसंगत हुन्थेन त्यसैले यो शब्दकोश निर्माताले या आफ्नो विगत सम्झेर न्याय गरे वा लिङ्ग छुट्टयाउन बिर्से ।

व्यास जस्तो कुहिरो लगाउन त कहाँ सक्छन् र ? तर उन्मुक्त तन्नेरी बैँसालुहरूको बैँसले सायद आफू वरिपरी आफू बाहेक कोही छैन भन्ने सोच्दा हुन् वा बैँसको तागतले रतन्धो लगाई दिँदो हो । सूर्यलाई लुकाएर रात पारे जस्तो बनाउँदो हो । त्यो क्षणमा सायद मानिसहरू हराउँदा हुन् वा लुक्दा हुन् । प्रणयशीलहरू आफ्ना आँखाले कुहिरो मात्र पो देख्छन् कि ! एउटै कोठामा सुतेका अरु मानिसहरूले पो कहाँ छेक्न सक्छन् र यो विपरित बैँसालुहरूको बेबी वार्तालापलाई । बिजुली बन्द गरेर सपक्क सिरगको सप्कोभित्र श्रव्यदृश्य सहितको आधुनिक यन्त्रद्वारा भावनाका भेलहरूलाई वार्तामार्फत साँटासाट गर्दा हुन् । विस्तार बोली नफुत्कियोस अरुले नसुनुन् भनेर सचेत बन्दा हुन् । बेबी मनका उद्दरणहरू फर्काउँदा हुन् । उद्दरणहरू थोरै बाङ्गोटिङ्गा भए जस्तो लागे कहिलेकाँही वार्ता झगडामा परिवर्तन हुँदो हो । दुवै आगो आगो हुँदा च्वाट्ट बढी आगो भएकाले अन्तरजालको तार काट्दा हुन् ।

अर्कोलाई छटपटी हुँदो हो । कुनै नराम्रो घटनाका लागि पनि जिम्मेवार भएर सोच्दा हुन् । एक दुई दिनको ब्रेक अफ पछि फेरी संवाद शुरु हुन्छ होला । एक आगो र अर्को पानी भएको अवस्थामा यो बेबी शब्दको भरपुर उपयोग पानी हुनेले आगो हुनेलाई गर्दा रहेछन् । आफू जस्तै पानी बनाउन । केही गरी पानी बनाउन र मनाउन नसके फेरी आगोको झिल्को माथिमाथि पुगेर ननिभ्ने भए पछि केही समयको लागि संवाद कट्टी हुँदो हो । दुवै पानी हुँदा भने यो प्रणयशील शब्द अर्थात बेबीको साँच्चैकै समउपयोग र समउपभोग हुँदोरहेछ । त्यतिबेला यो बेबी शब्दले उच्च अदालतले दिने भन्दा बढी न्याय पाउदो रहेछ ।

सायद यो बेबी शब्दमाथि न्याय भौतिक रूपमा उपस्थित हुँदा त्यति हुदैन की जति दुरभाषबाट हुन्छ । भौतिक उपस्थितिले भौतिक स्पर्श गराउन सक्छ जुन लामो नहुन सक्छ । नजिकको तिर्थ हेला भने जस्तो पो हुन्छ कि । टाढाको वार्तलापलापको लम्बाई र गहिराई भौतिक स्पर्शको अभावमा अलि बढी हुन्छ कि । दौँतरी अवयवहरूले भौतिकरूपले सामिप्यता बढाउन नपाउने हुँदा यो बढी आनन्दित र अतृप्त हुन्छ कि । अतृप्तताको भोकले बेबीहरूलाई अझ बढी प्रेमालापका लागि आकर्षित गर्छ होला कि ।

लोक साहित्यलाई पनि बैँसालु बेबीले कहाँ छोडेको छ र ! मध्यपश्चिम र सुदुरपश्चिमतिर बैँसालु बेबीहरूले उच्च सम्मानका साथ गाउँदा,
रहेछन् अरुथोक हाम्रो के छ र प्रिती बाहेक
भदौरे भलले लैगो ठाकुरको सेरो
धन राजाको जिउ कालको प्रिती तेरो मेरो ॥
धन राजाको, जीउ कालको । मात्र प्रिती हाम्रो भन्ने शाश्वत् सत्यलाई ओकल्दा रहेछन् पाखा पखेराहरूमा झ्याउकिरीहरूको संगितमय धुनसँगै । बैँसालु बेबीहरूका सपनाहरू नच्यात्तिउन्, नभाँचिउन्, दिगा बनून् र अमर रहून् ।

०००
कैलाली, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x