विदेशी न्यारले स्वदेशी मल उत्पादन होला र !
भाउरे कुनामा घुमिरहेको त्यो लोभी मानिसले बचाउ बचाउ भनेको सुनेर बाँध्नेहरु अलिकति थोरै थोरै न्यार तड्पाई तड्पाई दिन्छन् । आफै त कसरी निस्कोस् त्यो भुँवरिबाट ।
शिवप्रसाद जैशी :
न्यार मध्यपश्चिम र सुदुर पश्चिमतिर बोलिने शब्द । जुन घरमा गाईवस्तु हुन्छन् त्यो घरमा हरेक दिन प्रायः बेलुका झाँट (उज्यालो गएर अँध्यारो नआइ सकेको बीचको मधुरो अवस्था) पर्ने बेला बोलिने भाषा- गाई भैंसीलाई न्यार हाल्यौ ! न्यार गाईवस्तुको भोजन, रात्रीकालीन खाना-घाँसपात नलपराल खर वा अन्य कुनै चिज । न्यार दिने मानिसलाई देख्ने बित्तिकै कुनै न कुनै रूपले वस्तुभाउहरू अभिवादन गर्छन् । भैंसीले जुरुक्क उठेर खुसी हुँदै पुच्छर हल्लाउँछ र मसिनो स्वरमा वाई गरेर टाउको तलबाट माथितिर फट्कार्छ । अनुहार चम्किलो बनाउँछ । एपिटाइट् भएको सन्देश दिन्छ । खाना चाहिएको निवेदन हाल्छ । खाना दिन आएको चाल पाउँछ । सायद दिँदैन कि भन्ने पो हुन्छ की त्यसैले माग राखे जस्तो अनुभूति गराउँछ । गाईबाच्छाले पनि आफ्नो भाषामा मालिकले बुझ्ने गरी अपिल गर्छन् । रमाउँछन् । बाच्छा बाच्छी त बुर्लुक्क उफ्रिन्छन् ।
यो उनीहरूको लागि रात्रिकालीन भोजको समय हो । यही पशु भोजनको नाम हो न्यार ! न्यार खाएका पशुहरू आफ्नो मालिक अर्थात न्यार खुवाउने प्रति अति धेरै बफादार हुन्छन् । खुबै माया गर्छन् । मायालु किसिमले चोटपटक नलाग्ने गरी मालिकका शरीरमा सिङौरी खेल्छन् । पुछले हिर्काउछन् । जिब्रोले चाटछन् । निधारले मालिकको शरीरमा घर्षण गर्छन् । मालिकलाई खुसी पार्न सिपालु हुन्छन् यी पशुहरू । उनीहरूको माया गर्न तरिका हो यो ।
उसैले बानेर (बाँधेर) राखेको दाम्लोमा छौ भन्ने पनि बेला बेला बिर्सिँदा हुन् । सायद भोजनले बन्धनलाई बिर्साइ दिन्छ । कमको हुन्छ र यो न्यार । न्यार खाने बानी लागेका पशुहरू दिउसो चर्न पनि अल्छि गर्छन् अरे ! हो नि, निःशुल्क भोजनमा पल्किए पछि त्यो उकालो ओरालो भिरपाखा गरेर कसले पो चर्छ । श्रम गर्न के को मन लाग्नु । केही केही गुण त मानिसका पनि सर्दा हुन् नि ति पशुहरूलाई । बाघलाई पशु भनिँदैन । सिंह, हात्ती, गैँडा, बँदेल, हरिण, मृग जस्ता जङ्गली जनावरलाई पशु भनिँदैन । किनभने तिनिहरूको घाँटीमा गलेउँ (दाम्लो) हुँदैन ।
पशु शब्द संस्कृतबाट आएको हो । दाम्लो अर्थात पासो लगाइने भएर पशु भनिएको हो । मानिसले आफ्नो वशमा पार्नका लागि यो डोरी घाँटीमा भिरेर किलोमा बाँधेको हुनु पर्छ । ताकी जनावर उम्किन नपाओस् । तर न्यारको अभावमा भोक लागेमा कहिलेकाहीँ पशुहरू दाम्लो चुँडालेर किलो उप्काएर सरु (खेतिपाती) खान हिँडी दिन्छन् । पशुको इमान्दारीतामा पनि भर पर्छ । इमान्दार भोक भोकै पनि बसिदिन्छन् । बेइमान पशु भने उप्कार बिठ्याई गर्न भ्याइ दिन्छन् । पशुहरूमा राँगो भने स्वतन्त्र रूपले छोडिएको हुन्छ । सायद खान दिएपछि किन स्वतन्त्रता चाहियो भन्ने पनि हुन सक्छ ।
आजकाल पशु स्वास्थ्य तथा पशु सेवा ऐनले जङ्गली जनावर र माछालाई पनि पशुमा समावेश गरेको छ । सायद जङ्गली जनावरलाई पनि घरपालुवा सरह दाम्लोले बाँध्ने, पिँजडामा राख्ने, चिडियाखानामा थुन्ने, अनि माछाहरूलाई दाम्लोरूपी पोखरीबाट नदीमा जस्तो निर्वाध विचरण गर्न नमिल्ने गरी आफ्नो भोजनका लागि पाल्ने भएर होला । न्यारको परिभाषा पनि बदल्नु पर्ने भयो । चरालाई हाल्ने चारो र माछाको आहारलाई पनि न्यारमै समावेश गर्नु पर्ने देखियो । माछा पशुमा समावेश भए पछि त्यसको खाना न्यार भएन त ! मानिसको आहार वा आहारका लागि सघाउन पालिएका र मानिसले बन्धक बनाइने सबै प्राणी जीवजन्तुलाई पशु भन्नु पर्ने देखियो ।
मानिसले पनि त्यसै न्यार त के दिन्थे । कम्तिका हुन्छन् र मानिसहरू । जे दिन्छन् त्यसबापत त्यो भन्दा बढी नमिल्ने भए लगानी गर्छन् र यी मानिसहरू । निस्वार्थी त कहाँ हुन्छन् र मानिसहरू । पशुलाई त्यसै न्यार दिएका हुन् र गाईलाई दुध खानका लागि दिएका होलान् । गोबरका लागि दिएका होलान् । बाच्छाबाच्छीका लागि दिएका होलान् । भैँसीको पनि त्यही होला । जति जति पशु पालेका हुन्छन् जुन जुन प्रयोगले मानिसहरुले आफ्नो धर्म संस्कृति अनुसार पालेका हुन्छन् त्यही प्रयोजनका लागि लगानी भन्दा बढी नलिएर के छोड्थे यी मानिसहरू । घाटाको व्यापार मानिसहरुले कहाँ गर्छन् र ?
प्रयोजन जे सुकै भए पनि पशुहरु भने न्यार दिनेलाई बिछट्टै माया गर्छन् । अनि मानिस आफै के होला ? यो कसैको बन्धनमा छ कि छैन । यसलाई दाम्लो लगाएको त हुँदैन तर अदृश्य दाम्लोले कसरी कसिएको हुन्छ बुझ्न हजार जिब्रा भएको शेष नागले भन्न सक्ला ? चमेराका कानहरूले सुन्न सक्लान् ? ट्यारजिएरले आँखाले देख्लान् ? अफ्रिकन हात्तीले गन्ध पाउलान् ? मानिस बाँधिएको । आजकाल पाउन गाह्रो छ । उहिले पाउथे किनभने मानिसलाई पनि पशुलाई जस्तै बाँधिएको हुन्थ्यो । अँह, आजकाल पाउँदैनन् किनभने आजकाल मानिस बाँध्ने उहिलेको जस्तो सिक्रिरुपी दाम्लो कहाँ प्रयोग हुन्छ र ? भौतिक दाम्लो त मानिसले आफ्नो वर्गत, साहस, बुद्धि र बलिदानले चँुडालि सक्यो । आजकाल मानिस बाँध्न पशुहरुको जस्तो भौतिक दाम्लोको प्रगोग हुँदैन । अभौतिक दाम्लोको प्रयोग हुन्छ । अन्तरजाल प्रयोग गरिन्छ । मानिस बाँधिएको थाहै नपाइ बाँधिएको हुन्छ ।
पशुहरू बाँधिएपछि लोभिन्छन् । बाँधिनु अगाडि फुक्काफाल प्रकृतिका काखमा खेल्दै रमाउँदै लम्पसार परिरहेका हुन्छन् ।
आनन्दित हुन्छन् । आफ्नो भोजन र वासको व्यवस्था आफै गर्छन् । उनीहरूलाई चाहिएको जम्मा दुई थोक- खाना र बास । न भूत न भविष्य । वर्तमानमा बाँच्ने प्राणी । अनि मानिस नि- लोभिएर बाँधिन्छ । पहिले लोभिन्छ अनि त्यही लोभको कारण बाँधिन्छ । मानिसलाई बाँध्ने दाम्लो अभौतिक अर्थात मानिसिक हुन्छ । कहाँ किलो देखिनु । बाँध्ने पनि त मानिसनै हुन्छ ।
न्यारमा के के दिइन्छ होला, मानिसलाई । गरिबीको कार्ड फ्याँकिन्छ । ऐंश आरामको सूचना चुहाइन्छ । क्षितिजको ढोका फराकिलो भएको दिव्य दर्शनको वाणीले मन्त्रमुग्ध पारिन्छ । सन्तान दरस्नतानको दीक्षाको ठेक्का लिइन्छ । महलको बासको परिकल्पाना सिर्जना गराएर वास्तविक जीवन रुपान्तरण गर्न तिखारिएका औजारहरू प्रयोग गरिन्छ । आभुषणहरू पहिराइन्छ । भौतिक सुखको समुद्रमा पौडि खेलाइन्छ । मानिस, मानिस मानिसका समुहहरू जात धर्म संस्कार र संस्कृतिलाई उछाल पछार गरेर द्वन्द्वको भुँमरीमा छिराइन्छ । सलल नदी जस्तै बगिरहेको समाज बिथोलेर नदीको भाउरे
कुना बनाइन्छ जहाँ पानी बग्दैन घुमिरहेको देखिन्छ ।
दाम्लो चुँडाल्न खोज्दा चुँडिँदैन । किलो उप्काउन खोज्दा उप्किँदैन । न्यार किन चाहियो र आफैमा काटाकाट गरे र मरेपछि । मरेकालाई किन खाना भन्दै बाँध्नेहरुको सौदाबाजी बढन् थाल्छ । भाउरे कुनामा घुमिरहेको त्यो लोभी मानिसले बचाउ बचाउ भनेको सुनेर बाँध्नेहरु अलिकति थोरै थोरै न्यार तड्पाई तड्पाई दिन्छन् । आफै त कसरी निस्कोस् त्यो भुँवरिबाट । के त्यो सनपाटको दाम्लो हुन्छ र चुँडाल्न । के त्यो काठको किलो हुन्छ र उप्काउन । त्यो भुँवरी हो जहाँ डुङ्गा पनि घुमि रहन्छ पार लाग्न सक्दैन । घुम्दा घुम्दै भुँमरीको पानी छिरे जस्तो देखिने प्वालमा डुङ्गा छिरेको पत्तै हुँदैन । माझीहरूले पनि त्यो भुँमरीलाई छेकेर पो डुङ्गा चलाउन सक्छन् । माझीहरु पर छालबाट डुङ्गा छिरेर हराएको हेरिरहन्छन् । कतै तल देखा पर्छ कि भनेर छालैछाल दौडिन्छन् पनि ।
मानिसलाई दिइने विदेशी न्यार गोमन र करेतको विष भन्दा पनि खतरा हुन्छ । गोमन र करेतको विषको ओखति हुन्छ । बेलैमा ओखति गरे मानिस बाँच्छ । विदेशी न्यार अमृत जस्तै पस्छ र ओखति मुलोले निको नहुने गरी शरीर समाज र राष्ट्रका जीवनमा प्रवेश गर्छ । स्वाहा पार्छ । विदेशी न्यारले स्वदेशी मल उत्पादन गर्न तम्सिएकाहरूलाई खहरे खोलाले
बगाएको पत्तै हुँदैन । कहाँ हुन्छ र विदेशी न्यारले स्वदेशी मल उत्पादन !
०००
कैलाली, हाल थानकाेट, काठमाडाैं