छविलाल आचार्यमालाको अपमान
जस्ले राम जपेर भित्र मनमा, धस्छन् छुरा बर्बर । रच्छन् स्वाङ अनेक बाह्य तहमा, साखिल्य बन्छन् तर ॥ त्यस्ताले अपमान गर्दछ अझै माला दिई गाथमा । थाहै हुन्न भिरेर हेर्नु कसरी टेक्तैछ कि माथमा ॥

छविलाल आचार्य :
माला उत्सवमा कतै विजयमा, चढ्थे कतै मन्दिर ।
भिर्दैछन् किन हो ? कलङ्कित हुँदै, तोड्दै यहाँ जञ्जिर ॥
भ्रष्टाचार गरेर देश थलियो, छाती सधैं दुख्दछ ।
भोग्यो जेल सजाय निस्कन पुग्यो, माला त्यही पुग्दछ ॥१॥
मालाले अनुहार छोप्न जसरी, लाग्छन् कतै होडमा ।
नेता मोहित छन् तथापि जनता, हुन्छन् सधैं रोडमा ॥
मालाको अपमान हुन्छ किन हो ? दोषी स्वयम् भिर्दछ ।
भ्रष्टाचार गरेर नित्य जनता, सामु सधैं गिर्दछ ॥२॥
उन्दै फूल सयौँ किलो जब यहाँ, झुन्डिन्छ माला बनी ।
पैह्रेका जसका, विरुद्ध जनता, बल्छन् सधैँ दन्दनी ॥
पैसाकै डसना बनाइ जसले, माला सधैँ ओड्दछ ।
उस्ले नै विधिको विधान सब यो, हाँस्दै सबै तोड्दछ ॥३॥
पैसाले मत किन्दछन् ती अगुवा नेत्रित्व किन्छन् तर ।
पार्टीकै बदनामका सब कुरा चल्छन् सधैँ घर्घर ॥
माला कुर्लन पुग्छ मन्चहरुमा देखावटी चाल छन् ।
जस्तै कुर्लिरहुन् परन्तु किन हो ? रित्ता झनै थाल छन् ॥४॥
माला भिर्छ बनाइ न्याय लङ्गडो झुट्टा अनेकौ कुरा ।
धोकेवाज बनेर सर्तहरु जो, गर्दैन कैल्यै पुरा ॥
धोती खुस्किसक्यो न लाज उसमा, माला गलामा सधैँ
वाणी हीन समाजमा नकचरो, नाच्ने कलामा सधैँ ॥५॥
पैसाकै भरमा छ मुख्य अतिथि पैसा सबै बोल्दछ ।
के के बोल्नु थियो न बोल्छ सहजै ढाँटी कुरा खोल्दछ ॥
माला टन्न भिरेर बस्छ बिचमा साटेर पैसासित ।
जो जो बौद्धिक ज्ञान पुञ्जहरू छन्, हुन्छन् सबै कुण्ठित ॥६॥
जस्ले राम जपेर भित्र मनमा, धस्छन् छुरा बर्बर ।
रच्छन् स्वाङ अनेक बाह्य तहमा, साखिल्य बन्छन् तर ॥
त्यस्ताले अपमान गर्दछ अझै माला दिई गाथमा ।
थाहै हुन्न भिरेर हेर्नु कसरी टेक्तैछ कि माथमा ॥७॥
छर्छन् पुष्प सुवास किन्तु सब यी हुन्छन् सबै निर्जीव ।
मान्छेको मति बिग्रियो कि किन हो ? बन्छन् महा निर्जीव ॥
माला दङ्ग परेर ब्यङ्ग्य सहजै, गर्दैछ कि मै तिर !
भन्दै हेर्नु अघी पछी अबुझ हो ! टेक्नु सधैँ भैँतिर ॥ ८॥
०००
पोखरा १६, कास्की
Subscribe
Login
0 Comments
Oldest











































