डा. भरतकुमार भट्टराईव्यङ्ग्यको मूल : विसङ्गति
विसङ्गति औचित्यमाथि अनौचित्यको प्रभाव, समताको मार्गमा विषमताको विघ्नता, सिलसिलामा बेसिलसिलाको प्रवेश सत्यतामा असत्यताको अतिक्रमण आदिले जन्मन पुग्छ । विसङ्गति जीवन र मनुष्यका बीचमा रहन्छ तापनि यो मानवगत वा जीवनगत उपलब्धि र प्राप्ति नभई अस्वीकार्य र उपेक्षणीय पक्ष हो ।

भरतकुमार भट्टराई :
यथार्थ र आदर्शमा पाइने अन्तरविरोध वा विसङ्गतिद्वारा नै व्यङ्ग्यको प्रादुर्भाव हुन्छ । अतः व्यङ्ग्य सिर्जनाका निमित्त परम आवश्यक तत्त्व विसङ्गति नै हो । विसङ्गतिलाई असङ्गति, अनौचित्य, असम्बद्धता, बेमेलपन, विषमता, असमानता आदि पर्यायवाची शब्दद्वारा पनि बुझ्न सकिन्छ । विसङ्गतिहरू जीवन र मनुष्यका मूलमा हुन्छन् । विसङ्गतिको संसार अतिसामान्य स्थितिदेखि लिएर गहन-गम्भीर समस्याहरू र मानवीय यन्त्रणाहरूसम्म फैलिएको हुन्छ । विसङ्गति औचित्यमाथि अनौचित्यको प्रभाव, समताको मार्गमा विषमताको विघ्नता, सिलसिलामा बेसिलसिलाको प्रवेश सत्यतामा असत्यताको अतिक्रमण आदिले जन्मन पुग्छ । विसङ्गति जीवन र मनुष्यका बीचमा रहन्छ तापनि यो मानवगत वा जीवनगत उपलब्धि र प्राप्ति नभई अस्वीकार्य र उपेक्षणीय पक्ष हो । त्यसैले साहित्यमा व्यङ्ग्याभिव्यक्तिको शस्त्रास्त्र विसङ्गतिको उद्घाटन, चिरफार र अन्तरावेक्षणका निमित्त उपयोग गरिन्छ । जीवनका विविध पाटाहरूमा पाइने विसङ्गतिहरू अर्थात् व्यक्ति, व्यक्तित्व, समाज, धर्म, नैतिकता, राष्ट्रिय- अन्तर्राष्ट्रिय राजनीति वा शासन आदिमा पाइने विसङ्गतिहरूलाई व्यङ्ग्यकारले आफ्ना अन्तश्चक्षुले अवलोकन गर्दछ र त्यसलाई सार्वजनिक रूपले उदाङ्ग्याइदिन्छ । यसरी जीवनमा विविध रूपमा व्याप्त विसङ्गतिले जब कलाकारका चेतनामा दुन्दुभि बजाउन थाल्दछ, तब त्यो व्यङ्ग्यका माध्यमले कौशलपूर्वक विशिष्ट ढङ्गमा साहित्य वा कलामा अभिव्यक्त हुन पुग्दछ । अर्थात् विसङ्गति वा मानवीय दुर्बलताहरूको घोर आलोचना गर्दै सुधारको उद्देश्यसमेत राखेर गरिने तीव्र घृणाको कौशलपूणर् विशिष्ट साहित्यिक अभिव्यक्तिका रूपमा व्यङ्ग्य देखा पर्दछ ।
समाजमा देखा पर्ने विसङ्गतिका आयाम विविध क्षेत्रमा फैलिएका हुन्छन् । विसङ्गतिका ती विविध आयामहरूलाई निम्न प्रकारहरूमा विभाजित गरेर हेर्न सकिन्छ-
(१) सामाजिक विसङ्गति
सामाजिक क्षेत्रमा व्याप्त विसङ्गतिहरू विभिन्न ढङ्गले प्रस्तुत भइरहेका हुन्छन् । विशेषतः जाति-पाती, उँच-नीच, सामाजिक अन्धविश्वास आदि जस्ता समाजमा प्रचलित अत्यन्त घृणित मानवीय विसङ्गतिनै सामाजिक विसङ्गतिका रूपमा रहेका हुन्छन् । यस्ता सामाजिक विसङ्गतिहरूलाई भिन्न-भिन्न समाजमा तिनका क्रूरता, निर्ममता अनि पीडाको पहिचान निजी सन्दर्भलाई ध्यानमा राखेर गर्न सकिन्छ ।
(२) धार्मिक विसङ्गति
धर्म अथवा सम्प्रदायलाई आधार बनाई गरिने अत्यन्त पाखण्डी क्रियाकलापहरू यस प्रकारका विसङ्गतिअन्तर्गत पर्दछन् । आफ्नो स्वार्थ पूर्ण गर्नका निमित्त राक्षसी व्यवहार गर्ने समाजका व्यक्तिहरूले पनि धर्मशास्त्र पल्टाउनु, धर्मपरायण भई परहित गर्न सम्झाउनेहरूले आफ्नै दुनो सोझ्याउनलाई धर्मलाई आड बनाउनु आदि जस्ता विसङ्गतिले धार्मिक वा साम्प्रदायिक विसङ्गतिलाई झल्काइरहेका हुन्छन् ।
(३) सांस्कृतिक विसङ्गति
सांस्कृतिक क्षेत्रमा उत्पन्न विकृतिले सांस्कृतिक विसङ्गतिको जन्म गराउछ । । कुनै पनि राष्ट्र वा समाजमा बाह्य संस्कृति वा अन्य देशको संस्कृतिद्वारा स्वसंस्कृतिमाथि अतिक्रमण हुँदा अनि कुनै एक जातिको संस्कृतिले अर्को जातिको संस्कृतिमा विकृतिपूर्ण प्रभाव पार्दा सांस्कृतिक विसङ्गति उत्पन्न हुन्छ। वस्तुतः सांस्कृतिक विसङ्गतिहरूले कुनै पनि राष्ट्रको स्व-संस्कृतिलाई क्षीण र गडबड तुल्याउने अनि कृत्रिम संस्कृतिको हास्यास्पद स्थिति तयार गर्ने खतरा रहन्छ ।
(४) राजनीतिक विसङ्गति
राजनीतिक अवसरवादिता, धूर्त्याई र चालबाजी, चुनावी विजयका महत्त्वाकांक्षी कुत्सित भावनाद्वारा अभिप्रेरित भई गरिने अनेक षड्यन्त्र, धोका, छलकपट आदि र प्रजातन्त्रको नाममा गरिने अनेक अन्याय, अत्याचार र सत्ता हत्याउन गरिएका अनेक मानवीय हितविरोधी उग्रताहरूले राजनीतिक विसङ्गतिलाई प्रदर्शन गरिरहेका हुन्छन् । आजको विश्वराजनीतिमा देखा परेका अनेक विकृतिहरू पनि राजनीतिक विसङ्गतिका सीमाभित्रै पर्दछन् । आधुनिक साहित्यमा राजनीतिक विसङ्गति व्यङ्ग्यका लागि अति उर्वरभूमि मानिन्छ ।
(५) प्रशासनिक विसङ्गति
कुनै पनि शासनअन्तर्गत रहेका प्रशासनतन्त्रका अनेक विकृति, असमानता, त्रुटि, त्रास र मनपरीतन्त्र, भोलिवाद, ढिलासुस्ती, चाकरी र चाप्लुसीका विडम्बनाहरू, नातावाद, कृपावाद र भ्रष्टाचारहरू, तल्लाले माथिल्लोलाई र माथिल्लाले तल्ला एकाइलाई दोष दिएर आफ्ना उत्तरदायित्वबाट पन्छिने प्रवृत्ति, योजना र कार्यान्वयन वा सिद्धान्त र व्यवहारमा पाइने विषमताहरू आदि प्रशासनिक विसङ्गतिभित्र पर्दछन् । सचेत व्यङ्ग्यकारहरू यस्ता विसङ्गतिहरूप्रति कठोरतापूर्ण व्यङ्ग्यको घुएँत्रो हान्न कहिल्यै पछि पर्दैनन् ।
(६) आर्थिक विसङ्गति
हरेक मुलुकका अर्थतन्त्रसँग सम्बन्धित विसङ्गतिहरू आर्थिक विसङ्गतिका रूपमा पर्दछन् । आर्थिक विषमताले समाजमा ल्याएको धनी- गरिबबीचको अन्तर, समाजमा आर्थिक न्यायको अभाव, मजदुरवर्गको शोषण, दीन-हीन विपन्नहरूमाथिको शोषण आदि जस्ता आर्थिक पक्षहरू आर्थिक विसङ्गतिका जनक मानिन्छन् । आर्थिक विसङ्गतिलाई रेखाङ्कित गर्ने व्यङ्ग्य मर्मस्पर्शी हुनाका साथै समाजको हरेक वर्गलाई वैचारिक रूपले प्रभावित तुल्याउन पनि सक्षम हुन्छ ।
(७) वैयक्तिक वितगति
व्यक्तिविशेषको निजी अनौचित्य, दुर्भाग्य र विपत्तिको सिकार बघु परेका मनुष्यका निजी पीडा आदिलाई वैयक्तिक विसङ्गति भन्न सकिन्छ । यस प्रकारको विसङ्गतिले समाजलाई प्रभाव नपारी रहन सक्दैन । मानिसका वैयक्तिक विडम्बनाहरू, व्यक्तिगत दोष र दुर्बलताहरू आदिले एकातिर समाज दिनहुँ अधोगतितर्फ जानु परिरहेको हुन्छ भने अर्कातिर समाजमा गलत प्रोत्साहन पाइरहेका त्यस्ता केही व्यक्तिहरू पनि हुन्छन् जसबाट एक प्रकारको विसङ्गति वा विरोधाभास परिलक्षित भइरहेको हुन्छ । यी सबै वैयक्तिक विसङ्गतिभित्रै पर्दछन् ।
वस्तुतः उपर्युक्त सबै विसङ्गतिहरू एकअर्कामा अन्योन्याश्रित रहन्छन् । यिनै विसङ्गतिहरूलाई व्यङ्ग्यकारले आफ्नो व्यङ्ग्यरचनाको मूल साध्य बनाएको हुन्छ ।
०००
हास्यव्यङ्ग्य सिद्धान्त (२०५७)
Subscribe
Login
0 Comments
Oldest







































