बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

आगे सम्धीज्यूको जो विचार !

निबन्धहरूमा प्रकृतिको मिठो वर्णन छकतै भने कतै त्यो प्रकृतिलाई विनास गर्ने मानवरूपी दानवको चर्तिकलाको उछितो काडिएको छ । केही निबन्धभित्र यात्रा संस्मरण र यदाकदा समाचार पनि घुसाएका छन् देवीले ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

एक बेलुका देवी सम्धीको फोन आयो । उनले भने ‘नयाँ डाक्टरको दैवी भाँडोमार्फत नाक, कान, घाँटी पठाएको छु । तीन दिनभित्रमा खर्लप्प खाइसकेर अरू तीन दिनभित्रमा त्यसको स्वादबारे लिखित प्रतिक्रिया पाऊँ ।’ मैले के कसो भनेर बुझ्न नपाउँदै उनले ‘अरू कुरा थाहा छैन, ‘भनेअनुसार नगरे सम्धीसँग पारपाचुके होला’ भनेर फोन राखे ! साँझपख सम्धीले यसरी थर्काएपछि दैवी भाँडोको बिर्को खोलें, कवि देवी नेपालको इमेलमार्फत देवी घिमिरेका निबन्धहरूको सँगालो आएको रहेछ । केको नाक, कान, घाँटी मात्र हुन्थ्यो, त्यहाँ त मुख, टाउको, तिघ्राे, करङ, कलेजो, भुँडी, फोक्सो, पैतालो सबै थोक रहेछ। शरीरका अङ्ग मात्र होइन, देश विकासको खुइलिँदो रङ्ग, नेताहरूका आलुपाँडे ढङ्ग, जनताका सपनाको मोहभङ्ग आदि अनेक भावभङ्गिमाका तेत्तिस थान निबन्धहरू पोको पारेर कम्प्युटरको ढ्वाङमा खसालेका रहेछन् ।

यो सम्धी भन्ने सम्बन्ध पनि असाध्यै संवेदनशील । अलिकति तलबितल पर्यो कि सम्बन्धै गडबड हुने डर। कुटुम्बेली साइनो भन्छन् साह्रै कोमल, खतरनाक। यस्तो संवेदनशील साइनो भएका सम्धी देवी घिमिरेले मलाई गृहकार्य दिए एकदमै अपजसे । हुन त आफ्ना सम्धीले कथेका जे जस्ता भए पनि राम्रै राम्रा भनेर गुणगान गरेर शुभकामनाका दुई शब्द यहीँ समाप्त गर्दछु, धन्यवाद, भन्दा पनि हुन्थ्यो तर सम्धीको धम्की मापाको छ । दोहोऱ्याई तेहेऱ्याई पढ्ने, नमिलेका ठाउँमा चिन्ह लगाइदिने, कमी कमजोरी छन् भने औँल्याइदिने, सच्याउन वा फ्याँक्न पनि सघाउने । पछि कसैले जेठो सन्तानकै नाक चुच्चो भो, मुख बाङ्गो भो वा कान लोप्रे भयो भनेर कुरा काटे भने त्यसको सम्पूर्ण जिम्मेवारी म सम्धीको हुने । कस्तो कडा शर्त !

कार्यक्रम संयोजन, व्यवस्थापनमा बढी लाग्थे तर सिस्नुपानीको सदस्य भएको नाताले पनि देवी घिमिरेलाई हास्यव्यग्य लेख्नुपर्ने बाध्यता थियो । लेखिरहेका पनि थिए। बल्ल यसले पोस्तकको रूप लियो, सिस्नुपानी नेपाल परिवार नै गदगद भयो। सिस्नुपानी नेपालका संस्थापकहरूमध्ये पुस्तक निस्कन बाँकी थरेन्द्रजी मात्र हुनुहुन्छ कि क्या हो । देवीजीको यो कृतिले उनलाई पनि प्रेरणा प्रदान गरोस् ।

कुरा फेरि जोड्छु । सम्धीको धम्की टार्न नसकेपछि मैले पनि टुपी कसेर टुपीदेखि पैतालासम्मका व्यङ्ग्य बखानहरू पढ़ें। उसो त पहिला पनि कति त पढिसकेर ‘लु सम्धी किताब निकाल्नुपर्छ’ भनेर उक्साउनेमध्ये एकजना म पनि थिएँ । उमेरले दाजु, सम्बन्धले मित्र, नाताले सम्धी नै भइसकेपछि मैले लेखी दिएको शुभकामना मन्तव्यलाई बूढाले रद्दीका टोकरीमा नखसाउलान् भन्ने ठान्दै सम्धीको आग्रहलाई स्वीकार गर्नु आफ्नो कर्तव्य ठान्छु र सम्धीको यो पहिलो पोस्तकमा आफ्नो नाउँ टाँस्ने ठाउँ दिनुभएकोमा कृतज्ञता ज्ञापन गर्छु। आगे सम्धीज्यूको जो विचार।

देवी घिमिरेले हतार नगरी वर्षौंदेखि आँखाले देखेका, कानले सुनेका, नाकले सुँघेका, दिमागले पढेका, खप्परले भोगेका, ज्यानले भेटेका, हातले लेखेका र पुर्पुरोले सँगालेका अनेक अनुभव र अनुभूतिका गर्भबाट जन्माएको यो सन्तान एकदमै सुन्दर छ, लायक छ, स्वस्थ्य, रहरलाग्दो र ईर्ष्या लाग्दो पनि छ। मान्छेका अङ्ग अङ्गका विषयमा तलबाट, माथिबाट, वरबाट, परबाट, बाहिरबाट भित्रबाट हर तरिकाबाट विश्लेषण, व्याख्या गर्दै मनोरञ्जक र व्यङ्ग्यात्मक शैलीमा तयार गरिएका निबन्धहरू साँच्चै पठनीय छन् । एउटा कुराको ग्यारेन्टी म दिन सक्छु, यिनका निबन्धहरू पढ्न थालेपछि छोड्न मन लाग्दैन। तानेको तानेकै गर्छ यिनको शैलीले । विशेष गरी विभिन्न मानव अङ्गका विषयमा उनले गरेका सकारात्मक वा नकारात्मक टिप्पणीहरू, छेडपेच, स्तुति, वर्णन र व्याख्याहरू साँच्चै रमाइला र बेजोडका छन् । मान्छेको शरीरका बाह्रवटा प्राकृतिक अङ्ग,

दुईवटा वनावटी अङ्ग (टुपी र थप्पड) र एउटा काल्पनिक अङ्ग (पुच्छ गरी पन्ध्रवटा अङ्गलाई यी डाक्टरले मज्जैले उधारेका छन्। उधारेर बेस्स उधिनेका छन्, केलाएका छन्, ओल्टाएका छन्, पल्टाएका छन् । अ अङ्गका सबल पक्ष र दुर्बल पक्ष बारे रिपोर्ट बनाएका छन् । देव निबन्धहरू पढ्दा तपाईंलाई एउटा द्विविधा हुन सक्छ, शरीरको कुन चा अङ्ग सबैभन्दा महत्त्वपूर्ण हो त ? हरेक अङ्गलाई यहाँ उत्तिकै महत्त्व साथ प्रस्तुत गरिएको छ। तपाईं जुन अङ्गको बारेमा पढ्न थाल्नुहुन्छ तपाईंलाई लाग्छ, हो त, सबैभन्दा महत्त्वपूर्ण अङ्ग यही त हो नि

जाबो पैतालाका विषयमा सिङ्गै निबन्ध आजसम्म कसले लेखेको थियो होला र ! मेरै सम्धीले लेखे। पैतालालाई धेरैले हेप्छन् तर पैतालाको सम्मानमा घिमिरेको मन्तव्य बेजोडको छ । विशेष गरी भमक घिमिरेका पैतालाको सम्झना गरेर देवीले पैतालालाई प्रणाम गरेका छन्। पृथ्वीनारायण साहले सपना देखेका थिए रे, कुनै जोगीले सपनामा दही दिएको, दही खान खोज्दा पोखिएको, पोखिएर उनका पैतालामा परेको। सपनामा जोगीले भन्यो रे, तिमीले दही खाएको भए मनले सम्झे जति धर्तीको भाग तिम्रै हुने थियो तर दही पैतालामा पयो त्यसैले तिमीले टेकेको जति भाग तिम्रो हुने छ। अतः पृथ्वीनारायणले धावा बोलेका जति भूभाग जितेर हालको नेपाल बन्यो रे। पैतालाको महत्त्व हेर्नुस् सम्धीज्यू । पृथ्वीका तिनै साहसी पाइतालाका कारण नेपाल छ, हामी नेपाली छौं र यसरी तपाईं नेपाली भाषामा निबन्ध लेख्दै हुनुहुन्छ। आगे सम्धीज्यूको जो विचार ! अङ्गहरूबाहेक घिमिरेले राजनीति, शिक्षा, प्रशासन, पर्यावरणलगायत विविध क्षेत्रका विकृति र विसङ्गतिहरूलाई व्यङ्ग्यका मुङ्ग्राले ठोकेर थिलथिलो बनाएका छन्। कुनै कुनै बाहेक अधिकांश निबन्धहरू व्यङ्ग्यात्मक छन् । हास्यको खित्खित् अलिक कमै छ तर व्यङ्ग्यको ऐया आत्था कति छ कति ! राष्ट्रप्रतिको प्रेम, समाजप्रतिको दायित्ववोध मानवताप्रतिको दया र विगति र विकृतिका वाहक नेता, प्रशासकलगायत

समाजका भँडुवाहरूप्रतिको आक्रोश देवीका निबन्धका विषेशताहरू हुन् । निबन्धहरूमा प्रकृतिको मिठो वर्णन छकतै भने कतै त्यो प्रकृतिलाई विनास गर्ने मानवरूपी दानवको चर्तिकलाको उछितो काडिएको छ । केही निबन्धभित्र यात्रा संस्मरण र यदाकदा समाचार पनि घुसाएका छन् देवीले । आफूले गरेका कतिपय समाजसेवी कार्य उल्लेख गरेका छन् । उनको कर्म क्षेत्रका प्रभावहरू निबन्धमा छन्, शिक्षा क्षेत्र, बनजङ्गल बचाऊ अभियान आदि । जुन विषय उठान गरे पनि उनले निबन्धहरूलाई पढौँ पढौँ लाग्ने बनाएका छन् । यो देवीको विशेष क्षमता हो।

व्यङ्ग्य निबन्धका विशेषता जस्तै मानिने अनुप्रासयुक्त शव्दहरूको चयन, ग्रामीण तथा बोलीचालीका भाषाको प्रयोग, उखानको बखान आदि अनेक विषेशता देवी घिमिरेका निबन्धमा पनि पर्याप्त पाइन्छन् । त्यसले निबन्धहरूलाई थप सशक्त बनाएका छन् । देवीले थुप्रै मौलिक उखानहरू पनि जन्माएका छन् ।

– औंला ठड्याए खबरदार ! औँला बङ्ग्याए भ्रष्टाचार ! युवा जोस विदेशलाई, वृद्धवृद्धा स्वदेशलाई ।

– एक छाक मकै अर्को छाक भोकै ।

अन्तमा, देवीले एक ठाउँ भनेका छन्, ‘मेरा हजुर बाले बाबै ! सधैं सत्मार्गमा लागेर आफ्ना पुर्खाको नाक राख्नुपर्छ है ! भन्दै मेरो ढाड थपथपाएको मलाई भखरै जस्तो लाग्छ। मैले नाक राखें कि नाक काटें त्यो त मलाई थाहा छैन ।’

तिमीलाई थाहा नभए हामीलाई थाहा छ सम्धी, तिमीले बाको नाक राम्रैसँग राख्यौ र हामी सारा आफन्त जनको पनि नाक ठूलो पार्यौ । तिमीलाई साधुवाद छ । अर्को सन्तान पनि चाँडै देख्न पाइयोस् भन्ने शुभकामना पनि । आगे सम्धीज्यूको जो बिचार।

०००
सिनामङ्गल, काठमाडौँ
देवी घिमिरेकाे थप्पड (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ) माथिकाे भूमिकास्त्र ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
देशको इस्…थितिले गर्दा

देशको इस्…थितिले गर्दा

लक्ष्मण गाम्नागे
दाजुभाउजूको देशमा

दाजुभाउजूको देशमा

लक्ष्मण गाम्नागे
कीराका कुरा

कीराका कुरा

लक्ष्मण गाम्नागे
मेरा बा

मेरा बा

लक्ष्मण गाम्नागे