साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले कविता लेख्नै बिर्सेँ

असन्तुष्टी, आक्रोश र अन्यौलको पिरो खारले आत्तिएका सिँहदरबारहरूका हाच्छ्यूँ र खोकीहरू स्यानिटाइजरको लिपिष्टिक दलेर छिमेकी भैयाको न्यू सुपर्हिट गानामा हाउभाउ र नखरा गर्दैछन् ।

Nepal Telecom ad

भोजराज रेग्मी “मुखाले” :

हाम्रा बज्यैहरूले बात्ती कातेझैँ
खुरुखुरु खतरनाक आविष्कार गर्ने,
हाम्रा आमा, दिदी र भाउजूहरूले
दुनाटपरी गाँसेझैँ
निष्फिक्री आणविक हतियारहरू बनाउने
धुन्धुकारी मिष्टर साइन्स ७ ब्रदर्स
यतिबेला
लकडाउनमा भद्रो हेरेर बसेको छ
त्यसैलाई उल्ल्याएर, गिज्याएर बस्दाबस्दै
मैले कविता लेख्नै बिर्सेँ ।

ईश्वर मरिसकेको ठोकुवा गर्दागर्दै
आँफै मरेको नीत्शेको प्रेत
सुगरप्रेसर, बाथ र दमले थलिएको बूढो “प्रभु” को
लहरेखोकीको क्यारिकेचर गर्दागर्दै
अहिले भाइरल भएको छ
त्यही फन्टुसको युट्युब हेर्दाहेर्दै
मैले कविता लेख्नै बिर्सेँ ।

ठाउँ कुठाउँ निःसङ्कोच
चुम्माचाटी गर्ने कामदेव र रतीहरू
यत्तिखेर,
मुखमा लगौंटी लगाएर कोरोनालाई सरापिरहेछन्
तिनलाई नै खुच्चिङ् भन्दाभन्दै
मैले कविता लेख्नै बिर्सेँ ।

सत्रदिनदेखि अलपत्र
भोकबहादुर र निराशमायाहरूलाई
एक प्याकेट चाउचाउ राहत बाँड्न
एक दर्जन “देखाउने दाँत” हरू
मिडियामा ङिच्च गर्न हानाथाप गरेको देखेर
मैले कविता लेख्नै बिर्सेँ ।

कहिलै पनि सिकाएर नसिक्ने ,
भोगेर नचेत्ने भेडाहरूलाई
धर्मको हरियो घाँस देखाएर
भुत्ला काटेर नाङ्गै पार्ने
छाला काडेर बुङ्गै पार्ने
छट्टू महापुरुषहरूले
पर्दाफास हुने पीरले
चिट्चिट पसिना काढेको देखेर
मज्जा मान्दामान्दै
मैले कविता लेख्नै बिर्सेँ ।

अकुत सम्पत्ती र अलओल्ले शानमानको
चङ्गा उडाएर रमाउने चङ्गेज आखाँहरू
यतिबेला
सुनको पिंजडाभित्र हिराको गलैंचा ओछ्याएर
ईम्युनिटी बढाउन कपालभाँती गर्दैछ्न्
तिनैको हविगत हेर्दाहेर्दै
मैले कविता लेख्नै बिर्सेँ ।

मन्दिर, मस्जिद, गुम्बा र चर्चमा
भगवानहरूलाई कैद गरेर
तिनका नाममा बेहिसाव सिदाखान्की लुँड्याएर
मनपरी गरिरहेका मनुवाहरू
निरुपाय लाचार आफैँ डल्लिएको देखेर
मैले कविता लेख्नै बिर्सेँ ।

असन्तुष्टी, आक्रोश र अन्यौलको
पिरो खारले आत्तिएका
सिँहदरबारहरूका हाच्छ्यूँ र खोकीहरू
स्यानिटाइजरको लिपिष्टिक दलेर
छिमेकी भैयाको न्यू सुपर्हिट गानामा
हाउभाउ र नखरा गर्दैछन्
तिनैको टिकटक हेर्दाहेर्दै
मैले कविता लेख्नै बिर्सेँ ।

०००
२०७६ चैत्र २८
खाँदबारी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x