शम्भु गजुरेलमुक्तिको गोरेटो र नियतिको रोइलो
प्रश्न चिन्ह वर्जित हुन्छ त्यहाँ वर्णकाे ड्याङ जातको ग्याङ मुक्तिको भर्याङ घडीको पेण्डुलम झैँ झुलिरहेका हुन्छन्, एउटा भिमकाय अदृश्य शक्तिको ।

शम्भु गजुरेल :
नियतिको 
निर्मम निर्णयमा
निन्याउरो भएका
अनुहारलाई
आस्थाको
अल्झो भिराएर
अमरावती प्राप्तिको
मन्त्र बिक्थ्यो
बिक्दैछ
बिकिरहनेछ !
कल्पनाको सागरमा
समर्पणको मदानीले
भक्तिको मन्थन गर्दा
उम्रने अलौकिक
अप्राप्य शक्ति
प्राप्तताको आशीर्वचन
किन्नेको लाइन
लमतन्न हुन्छ
क्षितिजसम्म ।
प्रश्न चिन्ह
वर्जित हुन्छ त्यहाँ
वर्णकाे ड्याङ
जातको ग्याङ
मुक्तिको भर्याङ
घडीको पेण्डुलम झैँ
झुलिरहेका हुन्छन्,
एउटा भिमकाय
अदृश्य शक्तिको
हजारौँ खेतालाहरू
दिलको अँगारलाई
रंगीन वस्त्रले ढाक्दै
आफ्ना उदर पुष्ट्याउछन्,
बालिस्टामा ढल्केर ।
तल
बलेँसीको भक्त
जोहो गर्छ दशांसको
हो हो गर्छ वाक्यांशको
एक ताउलो
खोले खोज्दा
एक ब्रह्माण्ड स्वर्ग
बादल पारी हल्लिएको
देखेर
बन्द नेत्रले
किर्तनमा रल्लिन्छ
गोब्रे किरा भई डल्लिन्छ
तर्क विहीन
नागलोकको
झिलिमिली
माणिक्यको
रौनकता कल्पेर ।
उता
क्रस
च्यादर
दियो
मैनबत्ती
घण्ट
बनाइदिने
ग्रन्थ खातिर
कापी कलम
मसी
प्रभु राख्ने तसी
आकृति परमेश्वरको
समृद्धि ईश्वरको
पत्थरमा
लौहमा
ताम्रहरूमा उकेर्छ
भौतिक दर्शन ओकल्नेले,
चुपचाप
चिराइतो चिरेर
सिटामोल पार्छ
कौशिकी थुनेर
बिजुली उमार्छ
उखु थिचेर
मधु निकाल्छ,
नक्षत्र र तारामा
अर्घ छ्यापेर होइन
मृत्तिका च्यापेर आउँछ !
आध्यात्मको बजारमा
वैज्ञानिक लवेदा बेचिन्छ
आशीर्वाद थाप्ने भाडो
दान गरिने प्रतिमा
ज्योति वा धोती
वरदान होइनन्
निर्मित हुन्छन्
भौतिक यन्त्रशालामा,
पसिनाको
स्वाद जस्तै
रंग जस्तै
मूल्य पनि
विभेद रहित
हुनुपर्छ
साझा वायु
साझा जल
ग्रहण गर्ने
मानव मुरतमा
बग्ने रगत
उस्तै छ भने
नियतिको निणर्य किन ?
दर्शन दुई
दुवैको चाहना मुक्ति
एक दर्शन तपस्या गराउँछ
एक दर्शन सिर्जना गराउँछ
भिन्नता थोरै छ
भौतिक दर्शनमा
आलोचनाको पटाङ्गिनी छ
तार्किक बहस
ऊर्जा मानिन्छ
तर
आध्यात्म दर्शनमा
प्रश्न वर्जित छ
तर्क निषेधित छ
जिज्ञासालाई
मानिन्छ रोइलो
देखाइन्छ
पापको सोइलो
सौर्य कान्तिमा
ईश शक्ति खोजेर
तर्कबाट तर्किन्छ
एउटा दर्शन
सारमा
उत्पादन देखाउने
भौतिक दर्शन
कल्पना उराल्ने
आध्यात्मिक दर्शन
वारीपारी उभिन्छन्
अनुयायीको लर्को हेरेर ।
०००
नुवाकोट, हाल- काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest






































