साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुमिफिरी रुम्जाटार

यो हिंस्रक खेलमा प्रहरी प्रशासन पनि सक्रिय रूपमा सहभागी हुन्छ । आनन्दित हुन्छ । नेताहरूका झोले र भरौटेहरू सबै मिलेर आदिम ढुङ्गेयुगको राम्रो सफल नाटक प्रदर्शन गर्छन् ।

Nepal Telecom ad

मुकुन्द आचार्य :

मैले आफ्नो जीवनका स्वर्णिम झन्डै चार दशक जति आलाकाँचा भुराभुरीलाई लठ्ठी प्रहार र वाक् प्रहारले तर्साएर सुयोग्य नागरिक बनाउने असफल प्रयास गरेँ । त्यसैले अझ पनि कक्षामा पढाएको दृष्य सपनामा आएर मसँग जिस्किरहन्छन् । म पटमूर्ख पनि त्यसैमा रमाइरहन्छु ।

हालसालै एउटा रमाइलो सपना देखेँ । रमाइलो बाँड्यो भने बढ्छ र दुखेसो बाँड्यो भने घट्छ, भन्छन् । त्यसैले मैले देखेको ताजा सपना साझा गरौँ भन्ने सद्विचार आयो अनि फुत्त यो सुलेख जन्म्यो । जन्मना साथ तपाईंहरूको हातहातमा पुग्यो ।

कक्षाकोठामा अटाई नअटाई भविष्यका कणर्धारहरू हल्ला गर्दै चल्दै आफ्नो र देशको भविष्य उज्ज्वल पार्दै थिए । मलाई पनि पढाउने खासै मुड थिएन । तैपनि नुनको सोझो त गर्नै पर्‍यो भनेर कक्षामा पस्नासाथ मैले एउटा उखान फलाकेँ —घुमिफिरी रुम्जाटार । लौ यस उखानलाई कसले उदारहणसहित अथ्र्याउन सक्छ ? सक्नेले यहाँ आएर राम्ररी सबैले बुझ्ने गरी विस्तारमा बताउनुपर्‍यो ।

कक्षा एकैछिन लाटो भयो । एउटी छात्रा जसलाई एउटा सुन्दर युवती भन्दा पाप लाग्ने छैन होला, आएर निकै आत्मविश्वासका साथ बोल्न थालिन् । पछि महिला नेत्री होलिन् जस्तो लाग्यो । बोल्नुभन्दा पहिला उनले सारा कक्षामा नजर घुमाइन् । उनले आफ्नो ब्वाय फ्रेन्डलाई मनमनै भनिन् — तिमी पो मलाई पत्याउँदैनौ हेर, म कति जिनियस छु । ब्वाय फ्रेन्ड नि दङ्ग परेकै होला ।

ती सुकन्याले आँखाको चस्मालाई ठीकसँग मिलाएर एकपल्ट केश सम्याइन् र बोल्न थालिन् : हाम्रा बुज्रुक मानवशास्त्रीहरू भन्छन्, मानवको विकास क्रम पाषाण युगबाट आरम्भ भयो रे त्यसलाई ढुङ्गे युग पनि भन्छन् । मान्छे गुफा र ओढारमा बस्थे, ढुङ्गा हानेर शिकार गर्थे अनि त्यै सिकार आहार हुन्थ्यो । कृषि र व्यापार धेरैपछि आए । फलामे युग आएपछि मानव विकासमा ठूलो क्रान्ति नै आयो । यसरी क्रमशः विकास गर्दै जाँदा मानिस विकासबाट विनाशतिर लम्क्यो । घातक हात हतियार बनाउन तँछाडमछाड सुरु भयो । आणविक युद्धले भयङ्कर विनाश लीला देखाइसकेको छ । हाम्रो एक हातमा विकास र दोस्रोमा विनाश रहन थाल्यो ।

हाम्रो विकास गर्व गर्न लायक भएन । मानिस दुईखुट्टेबाट चारखुट्टेमा परिणत भयो । अनि हामी सम्पूणर् विनाशको ज्वालामुखीमाथि बसेका छौँ । मान्छे गर्वका साथ पशु वनिदिन्छ । ती सुकन्याले यति भन्दा उनको मुखकमलमा पसिनाका ससाना झिल्का मोती झैँ टल्कन थालेका थिए । युवावस्थातिर लम्किरहेका केटाहरू चैँ लठ्ठ परेर उनलाई हेरिरहेका थिए । उनीहरूको यो चर्तिकलालाई चै मेरो ज्ञान चक्षुले सिसिटिभीको कामगरेर आत्मसात् गर्दै थियो । त्यति पनि नबुझ्ने ग्वाँज त म पनि कहाँ हुँ र । हामी पनि जमानामा विद्यार्थी थियौँ ।

कक्षाका कन्या साथीहरू र केटाहरू सबैलाई मैले प्रभावित पार्दै छु भन्ने भाव ती सुकन्याको चेष्टाले परिलक्षित हुँदै थियो । मैले प्याच्च भनिहालेँ— अनि उखान कसरी चरितार्थ भयो त ? उनी झन् चम्कीचम्की बोल्न थालेकी थिइन् । ती सहासी प्रवक्ताले छट्टु वकिल झैँ पुनः कुरोको सूत्र समातिन् र भन्न थालिन्— तर हामी सभ्य सुशिक्षित समुन्नत भयौँ भनेर आज नाक घोक्राए पनि हाम्रो पशुत्वले हामीलाई पछारेको छ । हामी पुनः ढुङ्गे युगतिर फर्कदै छौँ । कसरी भन्नु होला ?

देश बनाउने जिम्मेवारी बोकेका बोकाहरूले लघुशङ्का र दीर्घशङ्का गरेर सिङ्गो नेपालनै डुङ्ग गन्हाउन थालेको छ । त्यति मात्रै हो र विश्व नै दुर्गन्धित भयो । नेपाल सुन्नासाथ सबैले नाकमुख खुम्च्याउन थालेका छन् । संसारको रङ्गमन्चमा नेपाल शानदार ढङ्गले असफल मुलुक भएकोछ ।

नेतृत्व बोकेका बोकाहरू दिनरात सत्ता र भत्ताका लागि सिँङौरी खेल्छन् । दिनहुँ जसो सडकमा ढुङ्गामुढा भइरहेको छ । सडकमा ढुङ्गा हानाहान गर्न खुल्लमखुल्ला चुनौती दिइन्छ । कति निर्दोष कति यात्रुहरू पीडित भएका छन् भनेर साध्य छैन । कहिलेकाहीँ त ढुङ्गा हान्नेकै आफन्तलाई ढुङ्गा लागे पनि त हुन्थ्यो नि !

यो हिंस्रक खेलमा प्रहरी प्रशासन पनि सक्रिय रूपमा सहभागी हुन्छ । आनन्दित हुन्छ । नेताहरूका झोले र भरौटेहरू सबै मिलेर आदिम ढुङ्गेयुगको राम्रो सफल नाटक प्रदर्शन गर्छन् । जुनसुकै सरकार आओस् जाओस् देश कसरी लुट्ने एक मात्र यही मूलमन्त्रले सञ्चालित हुने र देशलाई मलमूत्रको थलो बनाउने काम मात्र भएको छ ।

कन्या सुकुमारीले अतिरिक्त जोश देखाउँदै कुर्लिन थालिन्— कुनै विद्वान्ले भविष्यवाणी गरेका छन् रे अब विश्वयुद्ध भयो भने त्यसपछि पुनः पाषाण युग सुरु हुन्छ । त्यसको अभ्यास अचेल प्रायः सबैजसो देशमा देखा पर्न थालेको छ । यसैलाई भनिन्छ घुमिफिरी रुम्जाटार ।

सिङ्गो कक्षाकाले के के न बुझेजस्तो गरी भयङ्कर तालीबाजी गरे त्यो हल्लाले म ब्युँझिएछु । कतिले भन्छन् कहिलेकाहीँको सपना साँचो हुन्छ रे ! भगवान्ले गरुन्, यो सपना, कहिल्यै विपना नबनोस् । जसले जे सुकै भनोस्, हामी नेपाली कति भाग्यमानी छौँ भने अन्य देशको चै आफ्नो सपना साकार होस् भनेर प्रार्थना गर्छन्, हामी चैँ भगवान्लाई गुहार्छाैँ —हे प्रभु ! मेरो सपना साकार नहोस् ।

०००
काठमाडौं

सुलेख पूर्णाङ्क १३५, हास्यव्यङ्ग्य विशेषबाट जस्ताकाे तस्तै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x