अस्तित्व
जहाँ अभाव हुन्छ– त्यहाँ म हुन्छु जहाँ म हुन्छु– त्यहाँ अभाव हुन्छ अभाव मेरो जीवनको पर्याय तर आज सोच्दैछु दुनियाँमा कतै खुशीको अस्तित्व हुनुपर्छ र त म यति दुःखी छु ।
राजु स्याङ्तान :
यो चर्को घाम
रुखहरु तिर्खाएर मरेका छन भकाभक
चराहरु बस्दैनन् यहाँ पिरती गाँसेर
म हिडिँरहेछु एक्लै यही बाटो
तिर्खाएको छु असाध्यै
म सोच्दैछु
यहाँ कतै पानीको अस्तित्व हुनुपर्छ
र त म तिर्खाइरहेछु
हिँडदा हिँडदै यो गोरेटोमा
आफैँले टेक्दै आएको
पाइतलाका डामहरु नै लडला जस्तो
ओरालो भेटियो
सोंच्दैछु
यहाँ पक्कै शिखरको अस्तित्व हुनुपर्छ
र त ओरालो भेटियो
हेर्दाहेर्दै माकुराको जालमा परि
मरे कयौं निर्दोष पुतलीहरु
त्यो नराम्रो भयो
म विचार गर्दैछु
यहाँ पक्कै राम्रोको अस्तित्व हुनुपर्छ
र त मलाई त्यो नराम्रो लाग्यो
हेर्दाहेर्दै भन्ज्याङमाथि
घाम टुक्रुक्क बसेर निदायो
अब अँध्यारो हुन्छ
देखिन्न कतै
उडदाउडदै आत्महत्या गरेको विरही चरा
देखिन्न कतै
शिकार खोजिरहेको बुढो बाज
म सोच्दैछु
यहाँ कतै उज्यालोको अस्तित्व हुनुपर्छ
र त अँध्यारो भइरहेछ
यस्तो लाग्छ कहिले काँही
जहाँ अभाव हुन्छ– त्यहाँ म हुन्छु
जहाँ म हुन्छु– त्यहाँ अभाव हुन्छ
अभाव
मेरो जीवनको पर्याय
तर आज सोच्दैछु
दुनियाँमा कतै
खुशीको अस्तित्व हुनुपर्छ
र त म यति दुःखी छु ।
०००
काठमाडाैं