डा. मुकेशकुमार चालिसेओझेलमा अतिपाका महिलाका समस्या !
‘आफ्नै कर्मले दुखपाएको’ भन्दै अतिपाका महिलाहरू रोग पालेर बसिरहेको पाइन्छ भने परिवारका निर्घिणी सदस्यहरू र समाजका निकृष्ट व्यक्तिहरू पहेँला अक्षेता खानेबेलाकालाई के उपचार भनेर बेवास्ता गरिरहेका छन् ।

डा. मुकेश चालिसे :

पाका मान्छेका कुरा चल्दा साठी वर्ष नाघेका प्राय पुरुषका समस्याका धेरै कुरा हुन्छन् । शायद यसअघि पुरुष बाहिरी कामकाजमा गई आर्थिक उपार्जन गर्ने र महिलाहरू धेरै घरकाजमै रहनेभएर कामको मूल्याङ्कन नहुनेहुनाले पनि हुनसक्छ । धेरै मुलुकमा पुरुषप्रधान सामाजिक व्यवस्था भएका कारणले पनि पुरुषको कमाईकेन्द्रित धारणाले पुरुष अग्रचासोमा रहेकाले चर्चामा हुन्छन् होला । यसअघिको आर्थिक र राजनीतिक पाटोले निर्धारण गरेको सामाजिक हैसियत र गतिविधिकोे कारण प्राथमिकतामा पारिएको हुनसक्छ । पाका मान्छे भन्नाले पाका महिला अनिवार्य पर्छन्नै तर महिलालाई बढि ग्राह्यता दिएर पुरुषभन्दा महिलाको सन्दर्भमा एकल महिलाको उल्लेख गरेको पाइन्छ । यो प्रचलन समाजको हरेक क्षेत्र र प्रतिष्ठानमा पाका मान्छेबारेमा लागु भइरहेको देखिन्छ । ज्येष्ठ नागरिक अर्थात पाका महिलाको अवस्था विभिन्न कारणले पुरुषको तुलनामा झन सोचनिय र विकराल रुपमा सबैतिर देखिएको छ । ज्ञानविज्ञान र सेवा विषयमा पनि महिलाहरूको उपस्थिति र प्राथमिकतामा कमी रहेको छ ।
संयुक्त राष्ट्र सङ्घमा उमेरिदाको बहसमा प्रसिद्ध ज्येष्ठ नागरिक विज्ञ के.एम.क्याठे भन्छन, ‘हुनत महिला र पुरुष प्राकृतिक कारणलेनै अलगअलग हुन्, त्यसैले स्वभावैले शारीरिक र मानसिक भिन्नता पाइन्छ । दुबै लिङ्गमा भावनात्मक विविधताले सोचाई, योजना, स्विकारोक्ती र विषयानुरुप अनुभूतिनै फरकफरक भएको पाईन्छ । त्यसैले महिलापुरुषमा गरिने मानसिक, भावनात्मक र शारीरिक हेरबिचार स्वभाविकैले फरकफरक हुनै पर्दछ ।’ यसै अवधारणालाई आत्मसात् गरेर हार्वाड चिकित्सा समुहले महिला स्वास्थ्य रेखदेख समुह बनाएको छ । यसले प्राथमिकतामा रहेर महिला विशेषतायुक्त समस्यामा सिधा सम्पर्क गर्दछ । आविस्कार, औषधोपचार विकल्प, घरायसी समस्या निराकरण, उपचार प्रविधि, स्वास्थ्य प्रतिरक्षा सल्लाह, अनुसन्धानका विषयबस्तु लगायत समाजका सबै संबन्धित क्षेत्रमा महिलाजन्य विषयलाई खुट्ट्याउँछ ।
पाका महिला विशेष समस्या :
बजारमा पाइने विभिन्न सहयोगी सामानमा महिलाहरूको लागिनै तयार पारिएका सरसामानको उल्लेख गरेर पनि मद्दत पुग्दछ । महिलाहरूमा पाको उमेरमा पुगेपछि स्तनको समस्या प्राय हुन्छ, बेलाबेला स्तनको अवस्था पत्ता लगाई प्रष्टपार्ने मेसिन बजारमा उपलव्ध छन् । कुन कम्पनिका के नाम गरेका औजार पाका महिलालाई उपयुक्त र हानीरहित छन् भन्ने पनि सूचित गर्न सकिन्छ । यसले छाती चर्केर, दुधको फाँचो गान्निएर, गाँठागुठी आएर, सुकेर र ठूलोसानो भएर बारम्बार परामर्श लिन चिकित्सक कहाँ धाउने क्रमलाई बेलैमा थाह पाई निराकरणमा सहजता हुन्छ । धेरै पाका महिलामा हाडजोर्नी खिइने, जोर्नी चलाउन गाह्रो हुने, घुँडा दुख्ने, पाइताला चस्कने, क्याल्सीयम र भिटामिन डि जति खाए पनि फाइदा नहुने हुनसक्छ ।
पुरुषको दाँजोमा पाका महिलामा लक्षणहरू घनिभूत नहुँदै चाँडै बिर्सने, समस्या पहिल्याउन नसक्ने र डराउने हुनसक्छ भने समयको उपचारमा पुरुषको दाँजोमा छिटै सञ्चो हुन पनि सक्छ । चिन्ता, अबसाद र मानसिक विचलनमा रासायनिक ओखतीको सट्टा लगातारको बैकल्पीक मनोबैज्ञानिक सल्लाहहरूले बढि कामगर्ने हुनसक्छ । पाका महिलामा महिनावारी हुन छोडेपछि शरीरमा उत्पन्न हुने जैविक रसको कमी र नयाँ खालका जैविक रस उत्पादनले झर्कोफर्को गर्ने स्वभावले पुरुषको तुलनामा पाका महिला फरक हुन्छन् । पाका महिलामा छालाको चाउरी, बोसो र मासु थुप्रिने, भ्यात्त पर्ने समस्या, काला र राता कोठी, चाया, निलडाम (बोक्सीले चुसेको भनिने) पुरुषको तुलनामा पाको उमेरमा महिलामा बढि हुन्छन् ।
हार्वाडमा पाका महिला बारेकी विज्ञ जेनिफर वाल्सका अनुसार पाका महिलालाई पहिले त्यति ध्यान दिइँदैन थियो, पाका पुरुषलाई जेजस्तो स्वास्थ्य समस्या हुन्छ त्यसैमा आधारित स्वास्थ्यउपचार गरिने प्रचलन थियो । हिजोआज हरेक उमेरसमुहलाई लैङ्गिक आधारमा पनि फरक किसिमले उपचार गर्ने प्रचलन बढ्दै छ । औषधोपचारको परीक्षण र अनुसन्धानबारेमा नयाँ विकशित भइरहेका हजारौँ लेखहरू प्रकाशित भइरहेछन् । पाका महिलाहरूका स्वास्थ्य, खानपान र रहनसहनबारेमा गर्नुपर्ने र गर्न नहुने धेरै विज्ञानसम्मत सरसल्लाहहरू अचेल पढन पाइन्छन् । जस्तोः पाका महिलामा धेरै प्रक्रिया गरिएका, पुनर्पकाइएका र धेरैपटक तताइएका तैलिए पदार्थ भएका खानेकुराले शरीरको रासायनिक सन्तुलन बिगारेर रोगव्याधहरू सल्किएको देखिएको छ । काम गराई र अतिकामको बोझले अस्थिपञ्जर प्रणाली कमजोर हुने र अतिपाको उमेर पुग्दा पाका महिलाको हिँडाई बिग्रने, हाड खिइने जोर्नी बिग्रने आदि समस्याले ग्रसित भएको पाइन्छ ।
त्यस्तो सँगसँगै मांसपेशीले भर नदिएर बङलङ्ग जहाँ पनि लडने, अप्ठ्यारोमा बाटो हिँड्दा घुस्मुटिने, हाडलाई मासुले छोडेजस्तो देखिने र कहिँ मासुनै गाँठा परेजस्तो कैँडालाग्ने भइरहेको हुन्छ । चिन्ता र भविष्यप्रतिको निराशाले मुटुरोग लागेर आउने, चिन्ता बृद्धिको कारण मधुमेहको जस्तो अनौठा लक्षण्हरू देखिने, असमान दैनिकी, असन्तुलित खानपान र कामको मात्राले छाती र नितम्बमा बुढो मासु थुप्रिने जस्ता अप्राकृतिक शारीरिक अवस्था आउँछ । घरको सामुहिक कामले व्यक्तिगत सुघ्घरसफाईमा समय नपाउँदा छालाका रोग, पिसाबको संक्रमण हुनु सामान्य हुन्छ भने एकैखालको नियमित कामले सन्तुलित व्यायामको अभावमा शरीर कमजोर बन्दछ । महिनावारी सुक्नु भनेको समस्या नआउने दिन आएकोमा महिला आफैँ दङ्ग परेको देखिन्छ, जबकी त्यसपछि आउने पाका महिलाका शारीरिक समस्याबारेमा चासोनै धेरैले राख्तैनन् । यो पाका महिलाको अज्ञानता हो भने औषधि बिज्ञानले पनि छायाँमा पारेको गम्भीर समस्या हो ।
महिनावारी :
महिनावारी सुक्ने कारणले पाका महिलाहरूमा उत्पन्न गर्ने मनोवैज्ञानिक र शारीरिक असरबारे अचेल क्रमबद्ध अध्ययन र उपायहरू पत्ता लागिसकेको छ । अब पाकी महिलाहरू दुखमा आफ्नो बाँकी जीवन बिताउनु पर्नेछैन । उमेरिदा महिलाको मासिक प्रजनन् प्रणालीको महत्वपूणर् प्रक्रियानै अबरुद्ध हुनजान्छ । यसले सबैभन्दा बढि पाकी महिलाको स्वास्थ्य प्रणालीमा नै असर गरेको देखिन्छ तर पनि उमेरिदाका समस्या बारेको अध्ययनमा ९९ प्रतिशत यसबारेमा उल्लेख हुँदैनथ्यो । यसै कमीलाई पूरा गर्न हार्वाड मेडिकल स्कूलका सहप्राध्यापक डाक्टर फ्याब्रिसो अब्रोसीयोले स्पाउल्डिङ पुनस्थापना अस्पतालको सहयोगमा पिटसबर्ग विश्वविद्यालय, मिनेसोटा विश्वविद्यालयका प्राध्यापकहरूसँग मिलेर महिलाजन्य र विशेष पाकी महिलाका आधारभूत स्वास्थ्य अवस्था सपार्न अनुसन्धानको पक्षमा काम गर्न थालेका छन् । त्यस अवस्थाको उजागर गर्न उचित अन्य प्रयोगशाला परीक्षण जीव कम पाइनु यस समस्याको ठूलो कमीको रुपमा देखिएको छ । अब परीक्षण पाकी महिलामानै सोझै गर्नुपर्ने आवश्यक्ता छ, तर आफूमाथि परीक्षण गर्न पाकी महिलाहरू कत्तिको राजी होलान्, यो गम्भीर प्रश्न हल हुन केहि समय अझै लाग्नेछ ।
स्पाउल्डिङमा स्थापित मांसपेशी र अस्थिपञ्जर पुनस्र्थापना केन्द्रकी निर्देशक अम्ब्रोसियोले बृहत्तररुपमा उमेरिदा पाका महिलाबारेमा अहिलेकोभन्दा राम्रो बुझाई पहिल्याउन वर्तमान चिकित्सा विज्ञानको चुनौती र अवशर दुबै भएको छलफल चलाउँदै आएकी छिन् । पाकी महिलाहरूमा उमेरजन्य रोगहरूको विश्लेषण गर्दा ७५ प्रतिशत रोगमा मासिक रजश्वला सुक्नुनै कुनै पनि कारणले प्रभावित गर्ने कारण भेटिन्छ । चिकित्सा विज्ञानमा औषधि उत्पादन भएपछि मानिसलाई प्रयोग गर्नु पूर्व परीक्षणमा उमेरिएका महिलाको यो पक्षलाई सम्बोधन गरिएको त्यति पाइँदैन । वास्तवमा महिनावारी सुक्ने, गर्भधारण, स्तनपान र सन्तान उत्पादन जस्ता प्रक्रियाले महिलाहरूको उमेरिनुमा के असर पारेको हुन्छ त ? महिनावारी सुक्नुले महिलामा उमेरिनुलाई हटाउनै नसकिने सम्बन्ध रहेको हुन्छ । प्राय जीवनको एकतिहाई भाग महिलाहरूले प्रजनन् प्रक्रिया नभएको र महिनावारी सुकेको उमेर हुन्छ । यति महत्वपूणर् अवधिमा महिनावारी सुकेर हुने रोग र उमेरिदाका थप रोगबारे चाहिँ प्रष्ट कुनै पनि आँकडा छैन । त्यसैले उपचारअघिको औषधि परीक्षणमा यस्ता कुरालाई राम्ररी उल्लेख गरिएकै हँुदैन र अध्ययन भएकै छैन ।
त्यस्तै किसिमले, जब हामीले गर्भधारणका बारेमा कुरा गर्छौँ, के हेक्का राखौँ भने उस्तै उमेर पुग्दा धेरैजसो (८६ प्रतिशत) महिलाले बच्चा पाएका हुन्छन् । स्वास्थ्य केन्द्रमा गरिने गर्भधारण, शिशुजन्म र स्तनपान गराउँदाका उपचार विधिले महिला स्वास्थ्यमा दीर्घकालिन प्रभाव पारेको हुन्छ । कतिपय बेला ती स्वास्थ्य उपचार महिला स्वास्थ्य सुरक्षामा उपयोगी छन भने कतिपय प्रभाव रोग निम्त्याउने कारक बनेका हुन्छन् । किनभने मानिसमा पर्ने स्वास्थ्य-प्रभाव बारेमा कुरा हुन्छ तर औषधि परीक्षणमा प्रयोग हुने जनावरहरू कहिल्यै बच्चा पाएका वा पाउने हुँदैनन् । सैयौँ वर्षदेखि भएको चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान धेरैजसो भाले जीवजन्तु र पुरुष मान्छेमा गरिएकाले पनि मानव समाजमा गरिने औषधोपचारमा महिलाजन्य गरिने उपचारलाई केन्द्रित गर्दा अनुभवको कमिले कतै हामी अँध्यारोमा दौडिरहेका छौँ कि भन्ने लाग्छ ।
पाका महिलाका स्वास्थ्य सम्बन्धी उपरोक्त कमीलाई कसरी पुर्ताल गर्ने त ? अम्ब्रोसिओ भन्छिन्, ‘उमेरिदा पाका महिलामा आइलाग्ने रोगहरूलाई कसरी ठिक उपचार गर्न सकिएला भन्नेमा नै ठोस सूचना छैन । ठ्याक्कै मिल्ने गरेर स्वास्थ्य केन्द्रमा प्रभावकारी उपचार सोचेजस्तो हुन असफल भइरहेका छौँ भने उपचार गर्ने विधि र तरिका सबै औशतमा चलाइरहेका छौँ । स्नायु विज्ञानको अनुसन्धानमा पोथी मुसामा गरिएको परीक्षणले भाले मुसामाभन्दा बढि प्रकारका आनीबानी देखाएको पाइएको छ । भाले मुसामा गरिएको परीक्षणमा नदेखिएका आश्चर्यका प्रतिक्रिया पोथी मुसामा पाइनु आफैँमा अचम्भ बनाउने घटना हुन् जुन उपचारमा विविधता अपनाउनुपर्ने मार्गदर्शन पनि हुन् । धेरै प्रजातिका पोथीको आयु बढि हुन्छ तर उनीहरू उमेरिदा शारीरिक-मानसिक ह्रास तथा भित्र्याँसका समस्याले ग्रसित भएका पाइन्छन् । उदाहरणको लागिः हामीलाई थाह छ, पाका पुरुषको दाँजोमा महिलाहरूमा हृदयघात र मुटुरोगका लक्षणहरूको बेठिक निदान भएको पाइन्छ’ ।
अनुसन्धानहरूकाे निचाेड :
त्यस्तै अमेरिकामै पाका महिला र पुरुषमा गरिएको अनुसन्धानमा हाडेबाथ पुरुषको दाँजोमा पाका महिलालाई बारम्बार बढि मात्रामा हुने र महिनावारी सुकेसँगै सुरु हुने देखिएको छ । यसले पाका महिलामा शारीरिक गतिविधिमा कमी आउने र अति पाको उमेरमा त चलहलमानै समस्या देखाएको छ । पाकी पोथी मुसाको अनुसन्धानले देखाएको छ, जति उमेरिदै जान्छे मुसाकी पोथीमा कुडकुडे हाड खिइने र बाथका समस्यामा सापेक्षित बचावटका लक्षण देखाउने गर्दछ । अल्ज्हाईमर र उन्मादको लक्षण पनि पाका पुरुषको दाँजोमा पाका महिलामा बढि भएका घटनाहरू छन् । तर जन्तुमा देखिएका यस्ता परीक्षणलाई मानिसको हितमा र विशेषगरी उपचारमा लैङ्गिक विविधता कसरी उपयोग गर्ने भन्ने चाहिँ समस्यानै छ । त्यसैले अहिलेसम्म उपचार प्रक्रिया र सिफारिस गरिने ओखतीमा लैङ्गिक विभेद नगरी गरिने हुनाले पाका महिलाजन्य उपचार प्रभावकारी बन्न सकेको छैन ।
स्पाउल्डिङ, पिटसबर्ग, मिनेसोटाका चिकित्सकहरू ग्याब्रिएले गिल्मर, जाचेरी हेटिन्जर, जुली सिल्भर, यत्सा टुकीवसर्नु एलिजावेथ स्कीडमोरे, रेवीका थुर्सटन डान ए लवे सबैको धारण छ, ‘औषधि उपचारको प्रथम चरणमा परिक्षण गरिने जीवजन्तु मानिसको शारीरिक र मानसिक अवस्था अनुसारका हुँदैनन् । सामान्य अवस्थामा रहेका ससाना भाले मुसाहरूमा ओखतीको परीक्षण, फापअफाप हेरिने गरिन्छ ।’ धेरै विश्वसनिय हुन्छ भनेर बिभिन्न बाँदर प्रजातिमा परीक्षण गरिन थालिएको छ, तर बाँदर प्रजातिमा मानिसहरूमा जस्तै शारीरिक विकास र सबै जैविक प्रक्रिया नभएकाले ठ्याम्मे मिल्ने त हुँदैहुँदैन । अझ महिनावारी सुक्ने प्रक्रिया र प्रजनन् क्षमता हरेक जीवमा फरकफरक हुन्छन् अनि कसरी पाका माहिलाका स्वास्थ्य समस्या सम्बोधन गर्न सकिएला ?
नेपालमा २०७८ को जनगणनाको आँकडा हेर्दा कुल जनसङ्ख्यामा १,४९,०१,१६९ जना महिला (५१.०४%) रहेका छन् र यो लैङ्गिक अनुपातमा दाँजिदा प्रति १०० महिलामा पुरुषको सङ्ख्या ९५.९१ रहेको छ । विधवा महिलाहरुको संख्या ८ लाख २६ हजार १४७ अर्थात दश वर्षमाथिका कुल महिलाको ६.६ प्रतिशत रहेको पाइएको छ । विवाहित भएका ती महिलाहरूमा रोगव्याधले गाँज्ने सम्भावना एकल भएको मानसिक तनावका कारण पनि बढन जाने हुन्छ । दीर्घजीवनको आँकडा अर्थात ९५ वर्ष माथिका पुरुष ६८१० हुँदा महिला १०४२४ भेटिएका हुनाले दीर्घजीवनको रहस्य र अति पाका महिलाको स्वास्थ्य उपचारको विधि अनुसन्धान गरी अरु महिलामा उपचारको थालनी गर्नु नेपालका चिकित्सकको दायित्व भित्र पर्दछ । नेपालमा पाका महिलाहरूमा दुख दिने रोगहरूमा मुटुरोग, हृदयघात, मस्तिष्कघात, मस्तिष्क रोग, स्नायुरोग, हाडेबाथ, अबुर्दरोग, मधुमेह, मोटोपन, आङझर्ने जस्ताबाट आक्रान्त प्रशस्त भेटिन्छन् । यसकारण पनि पाका महिलाको स्वास्थ्य उपचार सम्बन्धमा सम्बन्धित क्षेत्रले विशेषगरी सरकारले व्यवहारिक स्वास्थ्य नीति र कार्यक्रमनै ल्याई बढि ध्यान पुर्याउनु पर्ने देखिन्छ ।
अन्त्यमा,
नेपालमा सामान्य स्वास्थ्य उपचारमा गुणस्तर बृद्धिसँगै महिलाहरूको स्वास्थ्यमा पनि पुरुषको दाँजोमा अपेक्षाकृत प्रगतिनै भएको छ । हिजोआज सरकारी र गैरसरकारी विभिन्न मातृशिशु कल्याणका योजना र प्रशुती सेवाले प्रशुती मृत्युदरमा कमिआएको छ भने गर्भवतीको हेरबिचारमा पनि काम भएका छन् । त्यसैले प्रशवकाल र त्यसको असरबाट मृत्युसमेत हुने घटनामा उल्लेखनिय कमी भएको छ । तरपनि सामान्यतया पाका महिलामा महिनावारी रोकिएपछि लाग्ने रोगहरूको नियन्त्रण उचित निदान गरी भइरहेको छैन । अझ भर्खरका पाका महिला त अलि पछिका भएर केहि उपाय गर्लान् तर अतिपाका महिलालाई भने उपचारको प्रबन्ध भएको छैन । ‘आफ्नै कर्मले दुखपाएको’ भन्दै अतिपाका महिलाहरू रोग पालेर बसिरहेको पाइन्छ भने परिवारका निर्घिणी सदस्यहरू र समाजका निकृष्ट व्यक्तिहरू पहेँला अक्षेता खानेबेलाकालाई के उपचार भनेर बेवास्ता गरिरहेका छन् । यस्तो जघन्य अपराधिक मनोबृत्ति त्यागेर हरेक चेतनशील मानिसले अहिलेको मानव समाजका शारीरिक-मानसिक सबैभन्दा बढि दुख खपेका अति पाका महिलाहरूको उचित स्याहारसुसार र सक्दो उपचार गरेर लामो ऐतिहासिक ज्ञान र अनुभवको जगेर्ना गर्नुपर्दछ ।
०००
माघ १२, २०८०
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest



































