साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओझेलमा अतिपाका महिलाका समस्या !

‘आफ्नै कर्मले दुखपाएको’ भन्दै अतिपाका महिलाहरू रोग पालेर बसिरहेको पाइन्छ भने परिवारका निर्घिणी सदस्यहरू र समाजका निकृष्ट व्यक्तिहरू पहेँला अक्षेता खानेबेलाकालाई के उपचार भनेर बेवास्ता गरिरहेका छन् ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

Dr Mukesh Kumar Chalishe

पाका मान्छेका कुरा चल्दा साठी वर्ष नाघेका प्राय पुरुषका समस्याका धेरै कुरा हुन्छन् । शायद यसअघि पुरुष बाहिरी कामकाजमा गई आर्थिक उपार्जन गर्ने र महिलाहरू धेरै घरकाजमै रहनेभएर कामको मूल्याङ्कन नहुनेहुनाले पनि हुनसक्छ । धेरै मुलुकमा पुरुषप्रधान सामाजिक व्यवस्था भएका कारणले पनि पुरुषको कमाईकेन्द्रित धारणाले पुरुष अग्रचासोमा रहेकाले चर्चामा हुन्छन् होला । यसअघिको आर्थिक र राजनीतिक पाटोले निर्धारण गरेको सामाजिक हैसियत र गतिविधिकोे कारण प्राथमिकतामा पारिएको हुनसक्छ । पाका मान्छे भन्नाले पाका महिला अनिवार्य पर्छन्नै तर महिलालाई बढि ग्राह्यता दिएर पुरुषभन्दा महिलाको सन्दर्भमा एकल महिलाको उल्लेख गरेको पाइन्छ । यो प्रचलन समाजको हरेक क्षेत्र र प्रतिष्ठानमा पाका मान्छेबारेमा लागु भइरहेको देखिन्छ । ज्येष्ठ नागरिक अर्थात पाका महिलाको अवस्था विभिन्न कारणले पुरुषको तुलनामा झन सोचनिय र विकराल रुपमा सबैतिर देखिएको छ । ज्ञानविज्ञान र सेवा विषयमा पनि महिलाहरूको उपस्थिति र प्राथमिकतामा कमी रहेको छ ।

संयुक्त राष्ट्र सङ्घमा उमेरिदाको बहसमा प्रसिद्ध ज्येष्ठ नागरिक विज्ञ के.एम.क्याठे भन्छन, ‘हुनत महिला र पुरुष प्राकृतिक कारणलेनै अलगअलग हुन्, त्यसैले स्वभावैले शारीरिक र मानसिक भिन्नता पाइन्छ । दुबै लिङ्गमा भावनात्मक विविधताले सोचाई, योजना, स्विकारोक्ती र विषयानुरुप अनुभूतिनै फरकफरक भएको पाईन्छ । त्यसैले महिलापुरुषमा गरिने मानसिक, भावनात्मक र शारीरिक हेरबिचार स्वभाविकैले फरकफरक हुनै पर्दछ ।’ यसै अवधारणालाई आत्मसात् गरेर हार्वाड चिकित्सा समुहले महिला स्वास्थ्य रेखदेख समुह बनाएको छ । यसले प्राथमिकतामा रहेर महिला विशेषतायुक्त समस्यामा सिधा सम्पर्क गर्दछ । आविस्कार, औषधोपचार विकल्प, घरायसी समस्या निराकरण, उपचार प्रविधि, स्वास्थ्य प्रतिरक्षा सल्लाह, अनुसन्धानका विषयबस्तु लगायत समाजका सबै संबन्धित क्षेत्रमा महिलाजन्य विषयलाई खुट्ट्याउँछ ।

पाका महिला विशेष समस्या :
बजारमा पाइने विभिन्न सहयोगी सामानमा महिलाहरूको लागिनै तयार पारिएका सरसामानको उल्लेख गरेर पनि मद्दत पुग्दछ । महिलाहरूमा पाको उमेरमा पुगेपछि स्तनको समस्या प्राय हुन्छ, बेलाबेला स्तनको अवस्था पत्ता लगाई प्रष्टपार्ने मेसिन बजारमा उपलव्ध छन् । कुन कम्पनिका के नाम गरेका औजार पाका महिलालाई उपयुक्त र हानीरहित छन् भन्ने पनि सूचित गर्न सकिन्छ । यसले छाती चर्केर, दुधको फाँचो गान्निएर, गाँठागुठी आएर, सुकेर र ठूलोसानो भएर बारम्बार परामर्श लिन चिकित्सक कहाँ धाउने क्रमलाई बेलैमा थाह पाई निराकरणमा सहजता हुन्छ । धेरै पाका महिलामा हाडजोर्नी खिइने, जोर्नी चलाउन गाह्रो हुने, घुँडा दुख्ने, पाइताला चस्कने, क्याल्सीयम र भिटामिन डि जति खाए पनि फाइदा नहुने हुनसक्छ ।

पुरुषको दाँजोमा पाका महिलामा लक्षणहरू घनिभूत नहुँदै चाँडै बिर्सने, समस्या पहिल्याउन नसक्ने र डराउने हुनसक्छ भने समयको उपचारमा पुरुषको दाँजोमा छिटै सञ्चो हुन पनि सक्छ । चिन्ता, अबसाद र मानसिक विचलनमा रासायनिक ओखतीको सट्टा लगातारको बैकल्पीक मनोबैज्ञानिक सल्लाहहरूले बढि कामगर्ने हुनसक्छ । पाका महिलामा महिनावारी हुन छोडेपछि शरीरमा उत्पन्न हुने जैविक रसको कमी र नयाँ खालका जैविक रस उत्पादनले झर्कोफर्को गर्ने स्वभावले पुरुषको तुलनामा पाका महिला फरक हुन्छन् । पाका महिलामा छालाको चाउरी, बोसो र मासु थुप्रिने, भ्यात्त पर्ने समस्या, काला र राता कोठी, चाया, निलडाम (बोक्सीले चुसेको भनिने) पुरुषको तुलनामा पाको उमेरमा महिलामा बढि हुन्छन् ।

हार्वाडमा पाका महिला बारेकी विज्ञ जेनिफर वाल्सका अनुसार पाका महिलालाई पहिले त्यति ध्यान दिइँदैन थियो, पाका पुरुषलाई जेजस्तो स्वास्थ्य समस्या हुन्छ त्यसैमा आधारित स्वास्थ्यउपचार गरिने प्रचलन थियो । हिजोआज हरेक उमेरसमुहलाई लैङ्गिक आधारमा पनि फरक किसिमले उपचार गर्ने प्रचलन बढ्दै छ । औषधोपचारको परीक्षण र अनुसन्धानबारेमा नयाँ विकशित भइरहेका हजारौँ लेखहरू प्रकाशित भइरहेछन् । पाका महिलाहरूका स्वास्थ्य, खानपान र रहनसहनबारेमा गर्नुपर्ने र गर्न नहुने धेरै विज्ञानसम्मत सरसल्लाहहरू अचेल पढन पाइन्छन् । जस्तोः पाका महिलामा धेरै प्रक्रिया गरिएका, पुनर्पकाइएका र धेरैपटक तताइएका तैलिए पदार्थ भएका खानेकुराले शरीरको रासायनिक सन्तुलन बिगारेर रोगव्याधहरू सल्किएको देखिएको छ । काम गराई र अतिकामको बोझले अस्थिपञ्जर प्रणाली कमजोर हुने र अतिपाको उमेर पुग्दा पाका महिलाको हिँडाई बिग्रने, हाड खिइने जोर्नी बिग्रने आदि समस्याले ग्रसित भएको पाइन्छ ।

त्यस्तो सँगसँगै मांसपेशीले भर नदिएर बङलङ्ग जहाँ पनि लडने, अप्ठ्यारोमा बाटो हिँड्दा घुस्मुटिने, हाडलाई मासुले छोडेजस्तो देखिने र कहिँ मासुनै गाँठा परेजस्तो कैँडालाग्ने भइरहेको हुन्छ । चिन्ता र भविष्यप्रतिको निराशाले मुटुरोग लागेर आउने, चिन्ता बृद्धिको कारण मधुमेहको जस्तो अनौठा लक्षण्हरू देखिने, असमान दैनिकी, असन्तुलित खानपान र कामको मात्राले छाती र नितम्बमा बुढो मासु थुप्रिने जस्ता अप्राकृतिक शारीरिक अवस्था आउँछ । घरको सामुहिक कामले व्यक्तिगत सुघ्घरसफाईमा समय नपाउँदा छालाका रोग, पिसाबको संक्रमण हुनु सामान्य हुन्छ भने एकैखालको नियमित कामले सन्तुलित व्यायामको अभावमा शरीर कमजोर बन्दछ । महिनावारी सुक्नु भनेको समस्या नआउने दिन आएकोमा महिला आफैँ दङ्ग परेको देखिन्छ, जबकी त्यसपछि आउने पाका महिलाका शारीरिक समस्याबारेमा चासोनै धेरैले राख्तैनन् । यो पाका महिलाको अज्ञानता हो भने औषधि बिज्ञानले पनि छायाँमा पारेको गम्भीर समस्या हो ।

महिनावारी :

महिनावारी सुक्ने कारणले पाका महिलाहरूमा उत्पन्न गर्ने मनोवैज्ञानिक र शारीरिक असरबारे अचेल क्रमबद्ध अध्ययन र उपायहरू पत्ता लागिसकेको छ । अब पाकी महिलाहरू दुखमा आफ्नो बाँकी जीवन बिताउनु पर्नेछैन । उमेरिदा महिलाको मासिक प्रजनन् प्रणालीको महत्वपूणर् प्रक्रियानै अबरुद्ध हुनजान्छ । यसले सबैभन्दा बढि पाकी महिलाको स्वास्थ्य प्रणालीमा नै असर गरेको देखिन्छ तर पनि उमेरिदाका समस्या बारेको अध्ययनमा ९९ प्रतिशत यसबारेमा उल्लेख हुँदैनथ्यो । यसै कमीलाई पूरा गर्न हार्वाड मेडिकल स्कूलका सहप्राध्यापक डाक्टर फ्याब्रिसो अब्रोसीयोले स्पाउल्डिङ पुनस्थापना अस्पतालको सहयोगमा पिटसबर्ग विश्वविद्यालय, मिनेसोटा विश्वविद्यालयका प्राध्यापकहरूसँग मिलेर महिलाजन्य र विशेष पाकी महिलाका आधारभूत स्वास्थ्य अवस्था सपार्न अनुसन्धानको पक्षमा काम गर्न थालेका छन् । त्यस अवस्थाको उजागर गर्न उचित अन्य प्रयोगशाला परीक्षण जीव कम पाइनु यस समस्याको ठूलो कमीको रुपमा देखिएको छ । अब परीक्षण पाकी महिलामानै सोझै गर्नुपर्ने आवश्यक्ता छ, तर आफूमाथि परीक्षण गर्न पाकी महिलाहरू कत्तिको राजी होलान्, यो गम्भीर प्रश्न हल हुन केहि समय अझै लाग्नेछ ।

स्पाउल्डिङमा स्थापित मांसपेशी र अस्थिपञ्जर पुनस्र्थापना केन्द्रकी निर्देशक अम्ब्रोसियोले बृहत्तररुपमा उमेरिदा पाका महिलाबारेमा अहिलेकोभन्दा राम्रो बुझाई पहिल्याउन वर्तमान चिकित्सा विज्ञानको चुनौती र अवशर दुबै भएको छलफल चलाउँदै आएकी छिन् । पाकी महिलाहरूमा उमेरजन्य रोगहरूको विश्लेषण गर्दा ७५ प्रतिशत रोगमा मासिक रजश्वला सुक्नुनै कुनै पनि कारणले प्रभावित गर्ने कारण भेटिन्छ । चिकित्सा विज्ञानमा औषधि उत्पादन भएपछि मानिसलाई प्रयोग गर्नु पूर्व परीक्षणमा उमेरिएका महिलाको यो पक्षलाई सम्बोधन गरिएको त्यति पाइँदैन । वास्तवमा महिनावारी सुक्ने, गर्भधारण, स्तनपान र सन्तान उत्पादन जस्ता प्रक्रियाले महिलाहरूको उमेरिनुमा के असर पारेको हुन्छ त ? महिनावारी सुक्नुले महिलामा उमेरिनुलाई हटाउनै नसकिने सम्बन्ध रहेको हुन्छ । प्राय जीवनको एकतिहाई भाग महिलाहरूले प्रजनन् प्रक्रिया नभएको र महिनावारी सुकेको उमेर हुन्छ । यति महत्वपूणर् अवधिमा महिनावारी सुकेर हुने रोग र उमेरिदाका थप रोगबारे चाहिँ प्रष्ट कुनै पनि आँकडा छैन । त्यसैले उपचारअघिको औषधि परीक्षणमा यस्ता कुरालाई राम्ररी उल्लेख गरिएकै हँुदैन र अध्ययन भएकै छैन ।

त्यस्तै किसिमले, जब हामीले गर्भधारणका बारेमा कुरा गर्छौँ, के हेक्का राखौँ भने उस्तै उमेर पुग्दा धेरैजसो (८६ प्रतिशत) महिलाले बच्चा पाएका हुन्छन् । स्वास्थ्य केन्द्रमा गरिने गर्भधारण, शिशुजन्म र स्तनपान गराउँदाका उपचार विधिले महिला स्वास्थ्यमा दीर्घकालिन प्रभाव पारेको हुन्छ । कतिपय बेला ती स्वास्थ्य उपचार महिला स्वास्थ्य सुरक्षामा उपयोगी छन भने कतिपय प्रभाव रोग निम्त्याउने कारक बनेका हुन्छन् । किनभने मानिसमा पर्ने स्वास्थ्य-प्रभाव बारेमा कुरा हुन्छ तर औषधि परीक्षणमा प्रयोग हुने जनावरहरू कहिल्यै बच्चा पाएका वा पाउने हुँदैनन् । सैयौँ वर्षदेखि भएको चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान धेरैजसो भाले जीवजन्तु र पुरुष मान्छेमा गरिएकाले पनि मानव समाजमा गरिने औषधोपचारमा महिलाजन्य गरिने उपचारलाई केन्द्रित गर्दा अनुभवको कमिले कतै हामी अँध्यारोमा दौडिरहेका छौँ कि भन्ने लाग्छ ।

पाका महिलाका स्वास्थ्य सम्बन्धी उपरोक्त कमीलाई कसरी पुर्ताल गर्ने त ? अम्ब्रोसिओ भन्छिन्, ‘उमेरिदा पाका महिलामा आइलाग्ने रोगहरूलाई कसरी ठिक उपचार गर्न सकिएला भन्नेमा नै ठोस सूचना छैन । ठ्याक्कै मिल्ने गरेर स्वास्थ्य केन्द्रमा प्रभावकारी उपचार सोचेजस्तो हुन असफल भइरहेका छौँ भने उपचार गर्ने विधि र तरिका सबै औशतमा चलाइरहेका छौँ । स्नायु विज्ञानको अनुसन्धानमा पोथी मुसामा गरिएको परीक्षणले भाले मुसामाभन्दा बढि प्रकारका आनीबानी देखाएको पाइएको छ । भाले मुसामा गरिएको परीक्षणमा नदेखिएका आश्चर्यका प्रतिक्रिया पोथी मुसामा पाइनु आफैँमा अचम्भ बनाउने घटना हुन् जुन उपचारमा विविधता अपनाउनुपर्ने मार्गदर्शन पनि हुन् । धेरै प्रजातिका पोथीको आयु बढि हुन्छ तर उनीहरू उमेरिदा शारीरिक-मानसिक ह्रास तथा भित्र्याँसका समस्याले ग्रसित भएका पाइन्छन् । उदाहरणको लागिः हामीलाई थाह छ, पाका पुरुषको दाँजोमा महिलाहरूमा हृदयघात र मुटुरोगका लक्षणहरूको बेठिक निदान भएको पाइन्छ’ ।

अनुसन्धानहरूकाे निचाेड :

त्यस्तै अमेरिकामै पाका महिला र पुरुषमा गरिएको अनुसन्धानमा हाडेबाथ पुरुषको दाँजोमा पाका महिलालाई बारम्बार बढि मात्रामा हुने र महिनावारी सुकेसँगै सुरु हुने देखिएको छ । यसले पाका महिलामा शारीरिक गतिविधिमा कमी आउने र अति पाको उमेरमा त चलहलमानै समस्या देखाएको छ । पाकी पोथी मुसाको अनुसन्धानले देखाएको छ, जति उमेरिदै जान्छे मुसाकी पोथीमा कुडकुडे हाड खिइने र बाथका समस्यामा सापेक्षित बचावटका लक्षण देखाउने गर्दछ । अल्ज्हाईमर र उन्मादको लक्षण पनि पाका पुरुषको दाँजोमा पाका महिलामा बढि भएका घटनाहरू छन् । तर जन्तुमा देखिएका यस्ता परीक्षणलाई मानिसको हितमा र विशेषगरी उपचारमा लैङ्गिक विविधता कसरी उपयोग गर्ने भन्ने चाहिँ समस्यानै छ । त्यसैले अहिलेसम्म उपचार प्रक्रिया र सिफारिस गरिने ओखतीमा लैङ्गिक विभेद नगरी गरिने हुनाले पाका महिलाजन्य उपचार प्रभावकारी बन्न सकेको छैन ।

स्पाउल्डिङ, पिटसबर्ग, मिनेसोटाका चिकित्सकहरू ग्याब्रिएले गिल्मर, जाचेरी हेटिन्जर, जुली सिल्भर, यत्सा टुकीवसर्नु एलिजावेथ स्कीडमोरे, रेवीका थुर्सटन डान ए लवे सबैको धारण छ, ‘औषधि उपचारको प्रथम चरणमा परिक्षण गरिने जीवजन्तु मानिसको शारीरिक र मानसिक अवस्था अनुसारका हुँदैनन् । सामान्य अवस्थामा रहेका ससाना भाले मुसाहरूमा ओखतीको परीक्षण, फापअफाप हेरिने गरिन्छ ।’ धेरै विश्वसनिय हुन्छ भनेर बिभिन्न बाँदर प्रजातिमा परीक्षण गरिन थालिएको छ, तर बाँदर प्रजातिमा मानिसहरूमा जस्तै शारीरिक विकास र सबै जैविक प्रक्रिया नभएकाले ठ्याम्मे मिल्ने त हुँदैहुँदैन । अझ महिनावारी सुक्ने प्रक्रिया र प्रजनन् क्षमता हरेक जीवमा फरकफरक हुन्छन् अनि कसरी पाका माहिलाका स्वास्थ्य समस्या सम्बोधन गर्न सकिएला ?

नेपालमा २०७८ को जनगणनाको आँकडा हेर्दा कुल जनसङ्ख्यामा १,४९,०१,१६९ जना महिला (५१.०४%) रहेका छन् र यो लैङ्गिक अनुपातमा दाँजिदा प्रति १०० महिलामा पुरुषको सङ्ख्या ९५.९१ रहेको छ । विधवा महिलाहरुको संख्या ८ लाख २६ हजार १४७ अर्थात दश वर्षमाथिका कुल महिलाको ६.६ प्रतिशत रहेको पाइएको छ । विवाहित भएका ती महिलाहरूमा रोगव्याधले गाँज्ने सम्भावना एकल भएको मानसिक तनावका कारण पनि बढन जाने हुन्छ । दीर्घजीवनको आँकडा अर्थात ९५ वर्ष माथिका पुरुष ६८१० हुँदा महिला १०४२४ भेटिएका हुनाले दीर्घजीवनको रहस्य र अति पाका महिलाको स्वास्थ्य उपचारको विधि अनुसन्धान गरी अरु महिलामा उपचारको थालनी गर्नु नेपालका चिकित्सकको दायित्व भित्र पर्दछ । नेपालमा पाका महिलाहरूमा दुख दिने रोगहरूमा मुटुरोग, हृदयघात, मस्तिष्कघात, मस्तिष्क रोग, स्नायुरोग, हाडेबाथ, अबुर्दरोग, मधुमेह, मोटोपन, आङझर्ने जस्ताबाट आक्रान्त प्रशस्त भेटिन्छन् । यसकारण पनि पाका महिलाको स्वास्थ्य उपचार सम्बन्धमा सम्बन्धित क्षेत्रले विशेषगरी सरकारले व्यवहारिक स्वास्थ्य नीति र कार्यक्रमनै ल्याई बढि ध्यान पुर्‍याउनु पर्ने देखिन्छ ।

अन्त्यमा,
नेपालमा सामान्य स्वास्थ्य उपचारमा गुणस्तर बृद्धिसँगै महिलाहरूको स्वास्थ्यमा पनि पुरुषको दाँजोमा अपेक्षाकृत प्रगतिनै भएको छ । हिजोआज सरकारी र गैरसरकारी विभिन्न मातृशिशु कल्याणका योजना र प्रशुती सेवाले प्रशुती मृत्युदरमा कमिआएको छ भने गर्भवतीको हेरबिचारमा पनि काम भएका छन् । त्यसैले प्रशवकाल र त्यसको असरबाट मृत्युसमेत हुने घटनामा उल्लेखनिय कमी भएको छ । तरपनि सामान्यतया पाका महिलामा महिनावारी रोकिएपछि लाग्ने रोगहरूको नियन्त्रण उचित निदान गरी भइरहेको छैन । अझ भर्खरका पाका महिला त अलि पछिका भएर केहि उपाय गर्लान् तर अतिपाका महिलालाई भने उपचारको प्रबन्ध भएको छैन । ‘आफ्नै कर्मले दुखपाएको’ भन्दै अतिपाका महिलाहरू रोग पालेर बसिरहेको पाइन्छ भने परिवारका निर्घिणी सदस्यहरू र समाजका निकृष्ट व्यक्तिहरू पहेँला अक्षेता खानेबेलाकालाई के उपचार भनेर बेवास्ता गरिरहेका छन् । यस्तो जघन्य अपराधिक मनोबृत्ति त्यागेर हरेक चेतनशील मानिसले अहिलेको मानव समाजका शारीरिक-मानसिक सबैभन्दा बढि दुख खपेका अति पाका महिलाहरूको उचित स्याहारसुसार र सक्दो उपचार गरेर लामो ऐतिहासिक ज्ञान र अनुभवको जगेर्ना गर्नुपर्दछ ।

०००
माघ १२, २०८०
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x