रमेश व्यङ्ग्यचरीकु-विचार फल्छ केका लागि ?
तिमीले दुस्मनी ठान या हितैषी तिमीले भरेको मेमरी भन्दा फरक हुँला या नहुँला बन्न सकूँ म सत्यवान, निर्विकल्प, निर्दोषी उसैगरि गइन्छ रित्तै भएर यी दुवै चिज पनि छोडेर ऐठनको हिक्क- हिक्क साथ लिई ।

रमेश व्यङ्ग्यचरी :
सूर्य उदाउँछ, हाम्रो लागि
चन्द्र उदाउँछ, हाम्रो लागि
हावा बहन्छ, हाम्रो लागि
पानी पर्छ, हाम्रो लागि
सबै रुपैयाँमा किन्न सकिँदैन
तर पनि घमण्ड केका लागि…. ?
फूल फुल्छ, हाम्रो लागि
फल फल्छ, हाम्रो लागि
अन्न फल्छ, हाम्रो लागि
साग बन्छ, हाम्रो लागि
सबैले खाने एकै न हो
तर पनि कु-विचार फल्छ केका लागि… ?
देश बन्छ, हाम्रा लागि
समाज बन्छ, हाम्रा लागि
आफन्त, नाता बन्छ, हाम्रा लागि
दिदीभाइ, दाजुबहिनी बन्छ, हाम्रा लागि
सबैलाई चाहिने सम्मान, आदर न हो
तर अपमान र अनादर केका लागि … ?
फूल सबैलाई सुन्दर लाग्छ,
हजार थरिको फूल एउटै भाँडोमा रहे तापनि
फूल-फूलमा झगडा भएको कसैलाई थाहा छैन
पानी सबैको आवश्यकता हो,
समुन्द्रको पानी, गङ्गाको पानी, खहरेको पानी
एउटै भाँडोमा रहे तापनि
पानी-पानीमा भेदभावको कलह कसैले सुनेका छैनन् ।
आँखाले विशुद्ध हेरि दिएको छ, हाम्रो लागि
मुटुले शुद्ध रगत फिल्टर गरेको छ, हाम्रो लागि
फोक्सोले शुद्ध हावा फिल्टर गरेको छ, हाम्रो लागि
कानले ध्वनि सचेतना बोकेको छ, हाम्रो लागि
एक अर्काप्रति विद्रोह छैन, रिसराग छैन, भेदभाव छैन
मानिस मेरो-मेरो भनेर दावी गर्छ
एकअङ्ग बन्द भएमा, खोल्न सक्ने कुनै चावी छैन
सहन गर्न सक्दैनौ त, अत्याचार किन… ?
बहन गर्न सक्दैनौ त, भ्रष्टfचार किन… ?
मानिसहरू हो सबैले सुन….!
जन्मदै के लिएर आएका हौ…? सोच
एउटा खालि मेमरी ल्याएका छौ
(जे भर्न, जति भर्न सक्छौ)
के बोकेर ल्याएका छौ… ? सोच
आफैलाई सिध्याउने क्रोध बोकेर आएका छौ
(जुन जन्मन बित्तिकै रुएर देखाउँछौ)
तिमीले जे भरेका छौ मेमरीमा जीवन उसरी नै चल्छ
विचार गरौँ त, घमण्ड, कुविचार, अनादर, भेदभाव, विद्रोह र रीसराग ।
जीवन शान्त र खुसी नै खुसीमा चल्नु पर्नेमा
अशान्त भइ जलेको जल्यै मर्नु पर्ने हुन्छ
मैले तिमीलाई चिनिसकेको छु
त्यसैले तिम्रो भेद खोलेको छु
तिमीले दुस्मनी ठान या हितैषी
तिमीले भरेको मेमरी भन्दा फरक हुँला या नहुँला
बन्न सकूँ म सत्यवान, निर्विकल्प, निर्दोषी
उसैगरि गइन्छ रित्तै भएर यी दुवै चिज पनि छोडेर
ऐठनको हिक्क- हिक्क साथ लिई ।
भन, भन याे कु-विचार फल्छ केका लागि… ?
०००
कटारी न.पा.-६, उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































