चूडामणि रेग्मीबत्तिएकै बत्तिस !
पढाउने विद्यावाट आफू भाग्नेहरू पढाइको स्तर खोज्छन्, यहाँ शिक्षा क्षेत्रका योग्य पदाधिकारीहरू हटाइन्छन्, परिवर्तनका नाममा नयाँ थोत्रा कुराहरू थुपारिन्छन् । यहाँ परिवर्तनको अर्थ विचित्र लगाइन्छ, यो हुन्छ- सिन्को नभाँच्नेहरूवाट ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
हाउ ! हाउ ! हाउ !
सानामा गफडीलाई ‘गुजी’ ले तर्साउँथ्यो जसरी यहाँ आज आचारसहिंताले तर्साउँछ । कतिलाई नियम-कानुन ठुलो हाउ छ भने कतिलाई केहीका ठाँगेले पनि छुदैन । कतिलाई दुई ढुङ्गाका बिचको तरुल किचिएला भन्ने डर छ भने कतिलाई झन्डा हल्लाउन पाए र बिल्डिङ ठड्याउन पाए भयो ! बाँकी मतलव छैन । कति शिक्षकलाई मूल्याङ्कनका हाउले छोएको छ भने कतिलाई हस्ताक्षर गर्ने मात्र दाउ छ जसबाट मासिक वेतन सरक्क थाप्न पाइयोस् । गफडी देख्छ कति पत्रकारलाई पत्रकारिताको पवित्रता बिग्रिने, कलङ्कित हुने हाउले छुन्छ भने कतिलाई येन-केन प्रकारेण जेव गरम गर्ने दाउले छुन्छ र यसका लागि तरह-तरहका उनै हाउ देखाउँछन् । गफडी अघि पनि तर्सन्थ्यो अहिले पनि तर्सन्छ । हुन त कतिपयले त यति हाउ पालेको हुन्छ- सिनेमामा जस्तै एक जना स्मगल हातमा ब्याग लिएर हिँडेको हुन्छ- पछाडि उसको शत्रु लागेको हुन्छ र कति बेला उसका ढाडमा छुरी धस्ने हो- भन्ने हाउले दर्शक सन्न हुन्छन् । यस्तै हाउ पाल्ने यहाँ छन् । यस विषयमा गफडी ढुक्क छ र गीत गाउँछ- दुई दिनको जिन्दगानी घामछायाँ !
हल्ला ! हल्ला ! हल्ला !
यो हल्लै-हल्लाको देश हो । भन्ने प्रसिद्ध कुरामा दुई-चार महिनाअगाडि गफडीले के बुझेको थियो भने होइन है नपत्याउने खोलाले पनि बगाउँछ, यहाँ हल्ला मात्र हुँदैन, मौकामा हल्लखल्ल पनि हुन्छ । यहाँ आएर गफडी विचार गर्छ- वास्तवमा यहाँ हल्ला नै धेर हुन्छ । कसैमा कुनै बानी लाग्यो भने त्यो भाँडामा लागेको दाग हो, जाँदैन- भने झै हल्लामा कुद्नेहरू हल्लैमा कुद्छन् । गफडी देख्छ यहाँ हल्ला गर्ने र हल्लामा कुद्ने वेसी छन् । ‘प्रजातन्त्र’ मा कुट्टेले प्रजातन्त्र बुझ्दैन, ‘प्रगति’ पढ्नेले अगतिमा डुब्दैन, ‘सुधार’ ले उधारो गुन्दैन । गफडी ग्वाँजे भएर हो कि क्या हो, खालि ऊ हल्ला देख्छ र हल्लामा कुदाइ देख्छ । आज एउटा हल्ला हुन्छ- ‘वामपन्थीको ठुलो चकचकी छ’ । भोलि अर्कै हल्ला ‘प्रजातन्त्रवादीहरूको चहलपहल बढेको छ’ भन्ने हुन्छ । अझ पर्सिको हल्ला झन् अचम्मको हुन्छ, ‘यो देशमा सुधारप्रिय निर्दलीयहरूले सव लफन्ड्याइसके !’
यहाँ बाहिर-बाहिर सदा-सर्वदा हल्ला हुन्छ । यस हल्ला हुने थलोको भित्र के छ ? जान्नेले जानोस् ! गफडीलाई त यहाँ हल्ला हुन्छ भन्ने जान्न पनि धौधौ परिरहेको छ ।
सिन्को भाँचिदैन !
यहाँ हाउ चल्छ, चलाइन्छ । यहाँ हल्ला चल्छ, चलाइन्छ । यसभित्र छ सिन्को नभाँच्नेहरूको नराम्रो नियत । यहाँ कामले भन्दा मुखको तर मार्ने धेरै छन् । यहाँ मुखका क्रान्तिकारी र कामका ठगको बोलवाला छ । जनताका शत्रुहरू अझै यहाँ जनहित हुन्छन् । बेलायत उड्ने र सोल्टीमा डुब्नेहरू वनियानीको आमसभामा जनतालाई सम्बोधन गर्छन् । किसानका दैलोमा गएर देशका समस्या बखानिन्छ- यहाँ तैपनि के-के-न गर्दैछौँ भनेर मख्ख पर्नेहरू नै पघिता छन् ! पढाउने विद्यावाट आफू भाग्नेहरू पढाइको स्तर खोज्छन्, यहाँ शिक्षा क्षेत्रका योग्य पदाधिकारीहरू हटाइन्छन्, परिवर्तनका नाममा नयाँ थोत्रा कुराहरू थुपारिन्छन् । यहाँ परिवर्तनको अर्थ विचित्र लगाइन्छ, यो हुन्छ- सिन्को नभाँच्नेहरूवाट ।
पातमा पात ! बातमा बात !
गफडी पातमा पात हुँदा बातमा बात गर्दै बहस मात्र गरिरहेको छ । यसमा गफडी पनि सिन्को नभाँच्नेहरूकै ताँतीमा पर्न सक्छ । गफडीलाई त के छ र पातमा पात भए झै बातमा बात गर्नु त हो । उसलाई अरुकै सिन्को नभाँचेको कैरन गर्दा गर्दा फुर्सद छैन । हेरौँ । गफडी पनि कुनै-कुनै बेला सिन्को भाँचेर अरुका अघि एक नयाँ उदाहरण बनिहाल्ला कि ? अहिलेलाई यति । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क ९, (२०३६)
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































